पोर्तुगलमा सोसियल खरिद बिक्रि गर्ने १२ जना पक्राउ, ५० हजार यूरो भन्दा बढि बरामद

  • गणेश पाण्डेय / पोर्तुगल

पोर्तुगलको न्यायिक प्रहरीले अबैध रुपमा सोसियल खरिद बिक्रि गर्ने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । ति मध्ये ६ जना सोसियल सेक्युरिटी अफिसरहरू रहेका छन् । उनीहरुले गैर कानुनी तरिकाले सोसियल नम्बर प्रदान गरेर पोर्तुगलमा अबैध रुपमा बसोबास गरिरहेका आप्रवासीहरुलाई सहयोग गरेको आरोप लागेको छ । यस्तो कार्यमा नेपालीहरुपनि परेको स्रोतको दाबी छ ।

पोर्तुगलको न्यायिक प्रहरीद्वारा न्युजडेस्कको लागि जारी गरिएको बिज्ञप्तिमा भनिएको छ

“सोसियल नम्बरकोको अबैध धन्दामा सोसियल सेक्युरिटी ग्राहक व्यवस्थापन टिमका ६ जना सहित दक्षिणी एसियाली मुलुकका अन्य ६ जना संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।”

पक्राउ पर्नेहरुलाई प्रतक्ष वा अप्रतक्ष रुपमा भ्रस्टाचार गरेको, पद र शक्तिको दुरुपयोग गरेको, नक्कली कागजात प्रयोग गरेको र गलत सुचनाहरु प्रवाह गरेको आरोप लगाईएको छ । पोर्तुगल सरकारको भ्रस्टाचार बिरुद्धको राष्ट्रिय अभियान इकाईले डीआइएपी लिस्बोनको सहयोगमा सो अप्रेशन गरेको थियो ।

पक्राउ परेका आरोपीहरुले बिदेशी नागरिकहरुलाई गैर कानुनी तरिकाले वा नक्कली सोसियल सेक्युरिटी नम्बर प्रदान गर्न सोसियल सेक्युरिटी कम्प्युटर सिस्टमलाई फेरबदल गरेको, कम्प्युटर सिस्टममा डाटाहरु फेरबदल गरेको र नक्कली डाटाहरु सिर्जना गेरको आशंका गरिएको छ । त्यसो गरेवाफत उनीहरुले हजारौ यूरो लिने गरेको तथ्यहरु सार्वजनिक भएको छ ।

न्यायिक प्रहरीले लिस्बोनको २६ आवासीय र २२ गैर आवासीय गरी जम्मा ४८ ठाउँहरुमा सर्च अप्रेशन गरेको थियो । यसै क्रममा प्रहरीले कयौ कम्पनीहरु र सोसियल सेक्युरिटी सर्भिसेजहरुमा समेत छापा मारेको थियो । प्रहरी अप्रेशनका क्रममा अपराध क्रियाकलापमा प्रयोग गरिएका कयौ कागजातहरु सहित पचास हजार यूरो भन्दा बढी रकम बरामद समेत गरिएको छ ।

सोसियलको गैर कानुनी खरिद बिक्रीको धन्दामा लिस्बोनमा रहेका अधिकांस साइबर र रेमिट्यान्स व्यवसायीहरु संलग्न रहेका छन् । केही नेपाली व्यवसायीहरु सहित सामाजिक अभियन्ताहरु र गैर आवासीय नेपाली संघ पोर्तुगलका पदाधिकारीहरु समेत संलग्न रहेको बिशेष श्रोतको दाबी छ । सामाजिक संस्थाको आवरणमा कयौ नेपालीहरुले सोसियलको गैर कानुनी खरिद बिक्रिलाई आफ्नो कमाइखाने भाडो बनाएको  श्रोतको भनाई छ । त्यस्तै, नेपालीका खेतीमा म्यानपावर सप्लाई गर्ने एजेन्ट कम्पनीहरुले पनि कामदार खोज्दै सोसियल सेक्युरिटी अबैध तरिकाले बनाउने र त्यसवाफत मोटो रकम असुल्ने कृषिमा रहेका कामदारहरु बताउँछन । तर क्रिषीमा काम गर्नेहरुले कामबाट निकालिदिने त्रासले हत्त पत्त आफ्नो नाम भने बताउँदैनन् । कयौं कामदारहरुले कृषिका एजेन्ट कम्पनीहरुलाई सोसियल नम्बर निकाल्ने भनेर पैसा बुझाएको महिनौसम्म पनि सोसियल नम्बर नआएपछि पैसा फिर्ता पाउन पनि निकै कसरत गर्नुपरेको बताउँछन ।

नाम उल्लेख नगरिदिने शर्तमा एक समुहमा भएका नेपाली बताउँछन  “मैले ८०० यूरो तिरेर तीन दिनमा नै नेपालीको साइबरबाट सोसियल नम्बर निकालेको थिएँ । उसको त झन् १००० यूरो लिएछ, जब कि मेरो एउटा साथीको ५०० यूरोमा एक महिना लग्यो । अब छानबिन भयो भने हाम्रो के हुने होला ? पेपर बन्छ कि बन्दैन अब ?” उनीहरु अलि हतास देखिन्थे ।  यत्तिकैमा अर्कोब्यक्तिले भन्यो ” एक जना एन आर एनको दाईले म निकालिदिन्छु भनेर ३०० यूरो लगेको तर ६ महिनासम्म बेपत्ता नै भए । बल्ल बल्ल अरु दाईहरुलाई भनेर लगभग नौ महिनामा पैसा फिर्ता पाएँ । पछि आफैंले खोजेर काम पनि पाएँ अनि पछि कामबाट नै सोसियल आयो ।”

पक्राउ परेका आरोपीहरुलाई चाडै नै थप प्रमाण सहित अदालतमा उपस्थित गराईने न्यायिक प्रहरीले बताएको छ ।

तपाइँको प्रतिक्रिया