कविता : पुराना खतहरू
– रन्जु मार्ग
तिमी बितेर गएको पनि
धेरै बर्ष भएछ
तर माफ गर
म अझै
गाउँ गएको छैन !
+++++++++++++
तिमी भन्थ्यौ,
एक पटक गाउँ जानु
त्यहाँको सुन्दरता हेर्नु
सुम्सुमाउनु त्यहाँका कान्लाहरू,
खोल्साहरू
अनि आलीहरू,
पन्छाउनु ढुङ्गा,काँढा र डालीहरू !
+++++++++++++
कोशिस गरें
धेरै पटक,
तर मन भित्रको त्यो गाँठो
फुकाउन सकिन,
मैले भुल्न सकिन
तिम्रा ती आँखाबाट झरेका आँशुहरू,
तिम्रा ती नीला पुराना खतहरू,
तिम्रो त्यो सेतो पहिरन
फुकाउन नसकेका रितहरू !
+++++++++++++
त्यो पल तिमी
चोट सहदा सहदै पत्थर भएकी थियौ
र सह्यौ
तर म कसरी भुल्न सक्थें र
तिम्रा ती आफ्नो भन्नेहरूले
घरबारबिहिन बनाएका क्षणहरू
+++++++++++++
हो ,यही कारण
तिम्रो नावालक छोराले गाउँ छोड्नु पर्यो
तिमीबाट बिछोड हुनु पर्यो
अब तिमी नै भन आमा
के त्यो गाउँले
तिम्रो यो छोराको पच्चीस वर्ष
फिर्ता दिन सक्छ ?