आफ्नै नेताको हत्या गराउन उक्साउने को को रैछन् कांग्रेसका नेता
सत्तामा पुग्न, कुर्सी हत्याउन र पार्टीमा आफ्नो हैसियत बलियो बनाउन के मात्रै गर्ने रहेनछन् त नेताहरु ? नेपाली कांग्रेस होइन सबैभन्दा हत्या हिंसाको बिरोध गरेझैं गर्ने ? देशमा शान्ति हुनुपर्यो भन्दै सबैभन्दा बढि कुर्लनेमा कांग्रेस बाहेक अर्को कुनै पार्टी छ ? अझ त्यसका नेताहरु खासगरि शुसिल कोइराला, अर्जुननरसिं केसी, रामशरण महत, शेरबहादुर देउवा र खुमबहादुर खड्का झन बढि कुर्लन्छन् होइन ? तर हेर्नुस त यि नेताहरुले संकटकालका बेला आफ्नै पार्टीका एक नेताले अर्को नेतालाई हत्या गर्न माओवादीलाई उक्साउने, अनुरोध गर्ने गरेका रहेछन् । कोहि आफ्नै नेतालाई मारेर फाईदा खोज्ने रहेछन् । अनि माओवादीलाई सोध्ने रहेछन्-मलाई के फाईदा हुन्छ यो नेतालाई मारेर भन्दै । कांग्रेस कति हत्या हिंसा बिरोधी पार्टी रहेछ भन्ने हिजो जनआस्था साप्ताहिकमा प्रकाशित एउटा लेखले देखाउँछ । त्यसका बरिष्ठ नेता आफ्नै सहकर्मीको हत्या गराएर पदमा पुग्न कति मरिमेटेका रहेछन् भन्ने एउटा लेख छापिएको छ ।
गत संकटकालमा काठमाडौं उपत्यकामा काम गरेका तत्कालिन नेकपा (माओवादी) का नेता (हाल केन्द्रिय सदस्य) अनिल शर्माको लेख छपिएको छापिएको छ हिजोको जन आस्थामा । त्यसमा उनले संकटकालका बेलापनि नेपाली कांग्रेसका केन्द्रिय नेताहरुसित निरन्तर भेट हुने गरेको उल्लेख गरेका छन् । त्यस्ता भेटघाटका क्रममा कांग्रेसका नेता अर्जुन नरसिं केसीले डा राम शरण महतको हत्या गरिदिन आग्रह गरेका रहेछन् माओवादीलाई । अनि उनको हत्याको लागि ‘हामीले कस्तो सहयोग गर्नुपर्छ भन्नुस‘ भन्दै सहयोगको प्रस्ताब गरेका रहेछन् । फेरि रम शरण महत पो के कम ?महत पक्षले अर्जुन नरसिं केसीको हत्या गरिदिन आग्रह गर्दै त्यस्तै सहयोगको प्रस्ताब गर्ने रहेछन् ।
त्यतिमात्रै हो र ? संकटकालकै समयमा एक पटक माओवादीको जनसेनाको काठमाडौंको कार्य दलले कांग्रेस नेता सुशिल कोइरालाको घरमा चेतावनी स्वरुप बम हानेको रहेछ । त्यो बेला पटक पटक प्रधानमन्त्री भैसकेका शेरबहादुर देउवाले उनको हत्या गर्नुपर्ने बताउँदै माओवादीलाई भनेका रहेछन् “सफाया गर्नुपर्थ्यो, बेकारमा जिस्काउनु मात्रै भयो” ।
संबिधान सभाको निर्वाचन अघि जनमुक्ति सेनालाई प्रचण्डले दिएको प्रशिक्षणको भिडियो टेपलाई शान्ति संझौता भंग गर्ने हिसाबले नेपाली कांग्रेसले निकै प्रचार प्रसार गरेको भन्ने अर्थमा लिएको रहेछ माओवादीले । माओवादीले कटुवाल गूटको योजनामा माओवादी बिरुद्द भण्डाफोर चलाएको भनेर बुझेको रहेछ । यदि अर्काको उक्साहटमा माओवादी बिरुद्द त्यसरि भण्डाफोर गर्ने हो र बिगतका गोप्य कुरा खोल्ने हो भने आफुहरुसित पनि कांग्रेस नेतहरुका अपराधका थुप्रै पोका भएको र ति सबै खोल्ने चेतवानी दिएका छन् आफ्नो लेख मार्फत माओवादी केन्द्रिय सदस्य अनिल शर्मा ले ।
जनआस्था साप्ताहिकमा हिजो प्रकाशित अनिल शर्माको लेख तल हेर्नुस–
हामीसँग पनि छ भण्डाफोरको हतियार
–अनील शर्मा ‘विरही‘
नेपाली क्रान्ति यसवेला फेरि एकपटक क्रमभंगता र नयाँ छलाङ हान्नुपर्ने चरणमा प्रवेश गरेको छ । कतिपय विश्लेषकले यसलाई हाम्रा लागि असजिलो वा प्रतिकूल स्थिति पनि भन्न थालेका छन् । निरन्तरतामा क्रमभंगता एकप्रकारको असजिलो वा प्रतिकूल हुन्छ नै । क. किरणले बालाजु विस्तारित बैठकमै ‘अबको क्रमभंगता विपत्तिमय हुनेछ‘ भन्नुभएको थियो । तर, यो क्रमभंगता प्रतिक्रान्तिकारी शक्तिको पहलमा होइनकी क्रान्तिकारी शक्तिको पहलमा सृजना गरिएका कारण नेपाली क्रान्तिले अग्रगामी छलाङ हान्नेछ । यसलाई ठीकस“ग बुझनका लागि जनयुद्धका विपत्तिमय दिनलाई फर्केर हेर्न जरुरी छ ।
जनयुद्धको सुरुवात नेपाली क्रान्तिकारी आन्दोलनको निरन्तरतामा क्रमभंगता थियो । निरन्तरता आफैमा सुधारवाद हो । निश्चित समयसम्मको मात्रात्मक विकासले गुणमा फड्को हान्ने माग गर्छ । ०५२ फागुनमा जनयुद्धका रूपमा गरिएको क्रमभंग अग्रगामी छलाङ त थियो नै, त्यो विपत्तिमय पनि थियो । निर्मल लामासहितका पुराना नेता पार्टीबाट अलप भएका थिए । कतिपय पुराना सशस्त्र जनयुद्धको राजनीतिलाई स्विकार्दै आएका नेता–कार्यकर्ता निस्क्रिय वा पलायन भएर गए । क्रान्तिकारी पंक्ति जुझारु र उच्च मनोबलको त थियो, तर त्यो साह्रै सानो आकारमा थियो । दक्षिणपन्थी संशोधनवाद र सुधारवादी विर्सजनवाद शक्तिशाली थियो । प्रतिक्रियावादी शक्ति सुदृढ थियो । त्यस्तो अवस्थामा जनयुद्ध सुरु गर्नु सामान्य विषय थिएन । पुरानो सत्ता र दक्षिणपन्थीले सुरुमै व्यापक वैचारिक र भौतिक हमलालाई तीव्र पारे । सामूहिक हत्याकाण्ड मच्चाएर जनतालाई आतंकित पारे । भयवादको प्रचार गरियो ।
तर, कैयौं प्रतिकूलता, असजिलो भए पनि जनयुद्धले उठाएका नारा नेपाली समाजको बदलिएको चेतना र वस्तुगत आवश्यकता अनुकूल थिए । ती नीति र कार्यक्रम प्रगतिशील विचारका थिए । त्यसैले जनयुद्धप्रति नेपाली जनताको तल्लो तहको समर्थन र सहभागिता बढेर गयो । त्याग, तपस्या र किर्तेमानका कथा शिखर चढ्दै गए । त्यसले निम्न पूजीपती वर्ग हुँदै मध्यमवर्गलाई आफूतिर तान्दै, घिसार्दै ल्यायो । प्रतिकूलताहरू अनुकूलतामा बदलिए । जसका कारण पुरानो सरकार विद्रोही पक्षसँग वार्ता गर्न र जनयुद्धका मागस“ग छलफल गर्न बाध्य भयो । वार्ताप्रक्रियासँगै जनयुद्ध अकल्पनीय रूपले स्थापित भएर गएको थियो ।
पुरानो सत्ता र माओवादीका बीचमा वार्ता चलिरहेका वेला शाही सेनाले आफ्नो हर्कतलाई बढाएर लग्यो । उसले पहलकदमी लिने रणनीति बनाएर बसेको थियो । त्यस्तो अवस्थामा ०५८ सालमा शाही सेनाको दाङस्थित ब्यारेकमा हमला गरेर हामीले पहल लियौं । दाङमा शाही सेनामाथिको कारबाही ०५२ सालमा सुरु गरिएको जनयुद्धको निरन्तरतमा वैचारिक र भौतिक दुवै रूपमा क्रमभंगता थियो । क्रमभंग आफैंमा विपत्तिमय हुने गर्छ । शाही सेनामाथिको आक्रमणलाई राजधानीका कतिपय दिग्गज ठान्नेहरूले ‘बारुलाको गोलामा ढुंगा हान्ने‘ आरोप लगाए । तर, इतिहासले के पुष्टि गर्यो भने शाही सेनाको दाङ ब्यारेकमाथिको कारबाही ०५२ पछिको अर्को महान् छलाङ थियो । त्यसले जनमुक्ति सेनाको विकासमा निर्णायक भूमिका मात्र खेलेन, जनयुद्ध र माओवादी नेपाली राजनीतिको केन्द्रीय विषय बन्यो । जनयुद्धका नीति र कार्यक्रमको पछिपछि प्रतिक्रिया जनाउनेबाहेक पुरानो सत्ता र संसदीय पार्टीको हैसियत बांकी रहेन ।
शाही सेनासँग लड्नु र जित्नु सहरिया बुद्धिजीवीको कल्पनाबाहिरको विषय थियो । दाङ आक्रमणपछि कतिपय जिम्मेवार नेतासमेत पलायन भएका थिए । केन्द्रीय कार्यालय र तल्लो तहको सम्पर्क कैयौं महिनासम्म विच्छेद भएको थियो । संगठन देशव्यापी अस्तव्यस्त भएर गएको स्थिति थियो । शाही सेनाको हत्या अभियान र प्रचार युद्धबाट प्रभावित जनता ‘जनयुद्ध सकिने हो कि‘ भन्ने स्थितिमा थिए । त्यसको प्रभाव कार्यकर्तातहमा पनि परेको थियो । आत्मसमर्पण र पलायनका घटना चुनौतीपूर्ण बनेका थिए । जनयुद्ध न्यायपूर्ण युद्ध हुनु, माओवादीसँग अग्रगामी विचार हुनु र हरक्षण पहलकदमी आफ्नो हातमा लिएका कारण प्रतिकूलताहरू अनुकूलतामा बदलिनु अनिवार्य थियो । विस्तारै शाही सेनाको आक्रमणलाई निस्तेज पारियो ।
०५९/६० को तेस्रो वार्तापछि जनयुद्ध रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गर्यो । जनयुद्धको रणनीतिक प्रत्याक्रमणलाई रोक्ने शक्ति नेपालको पुरानो सत्तामा थिएन । त्यसैले उसको रक्षाका लागि भारतीय विस्तारवाद अगाडि आयो । भारतीय विस्तारवादले आवश्यक परे नेपालमा उसको सेना हुल्ने तयारीसहित सीमा क्षेत्रमा अर्धसैन्य बल परिचालन गर्यो । भारतमा किरण, गौरव, मातृकासहित पटनामा महत्वपूर्ण नेता गिरफ्तारीमा परेका थिए । ती गिरफ्तारीले पार्टी निराशा, अन्योल र आशंका बढेर गए । अन्तरविरोध शत्रुतापूर्ण बनेर गयो । एकातिर भारतीय विस्तारवादका विरुद्ध सुरुङयुद्धको घोषणा गरिएको थियो, अर्कोतिर आन्तरिक एकता कमजोर बन्दै गएको थियो । पार्टी फूटका हल्ला चलेका थिए । वर्गसंघर्ष र अन्तरसंघर्ष समानान्तर रेखामा चलिरहेका थिए ।
द्वन्द्ववादका अनुसार एक समयमा एउटा मात्रै मुख्य हुन्छ । एकै समयमा दुवै मुख्य बन्न सक्दैनन् । आन्तरिक एकता कमजोर पार्ने, मनोवैज्ञानिक युद्ध तीव्र पार्ने, फौजी घेरा कस्ने र दमन गर्ने रणनीति पुरानो सत्ताले बनाएको थियो । त्यसैवेला शाही सेनाले अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक प्रशिक्षणमा अन्तरविरोधका विषयमा राखेका धारणाको टेप सार्वजनिक गर्यो । त्यसले आन्तरिक एकता अरू कमजोर भएर गयो । फुन्टिवाङ बैठकमा बाबुराम भट्टराई, दीनानाथ शर्मालगायतका नेतामाथि कारबाही भएपछि त अन्तरविरोध उत्कर्षमा पुग्यो । त्यही कठिन क्षणमा शाही सेना र भारतीय विस्तारवादले घेरा कस्दै लगे । पार्टीभित्र दुई लाईन संघर्ष र वर्ग संघर्षमा नया“ कार्यदिशाको विकासको आवश्यकताले पैदा भएका चुनौती थिए, ती समस्या । चुनवाङ बैठकले ती समस्याको तत्कालीन समाधान गर्यो । पार्टी नयाँ ढंगले अगाडि बढ्यो । फेरि दुस्मनका घेरा तोडियो ।
०६४ को बालाजु विस्तारित बैठकसम्म आइपुग्दा फेरि नयाँ समस्या पैदा भएको महसुस गरियो । ०६५ को खरिपाटी भेलासम्म आइपुग्दा आन्तरिक एकता चुनौतिपूर्ण बनेर गएको थियो । पार्टीमा फूटका खतरा देखिए । तर, खरिपाटी भेलाले नयाँ कार्यदिशाद्वारा समस्याको समाधान गर्यो ।
०६६ वैशाखमा कटवाल कारबाही प्रकरणले पार्टीलाई फेरि अर्को अप्ठ्यारो परिस्थितिमा पुर्याएको छ । कटवाललाई कारबाही नगर्दा माआवादी पार्टी संसदको निरीह गुलाम बन्ने खतरा थियो । कारबाही गर्दा शान्तिप्रक्रिया भंग हुने स्थिति थियो । अगाडि बढ्नु विपत्तिमय थियो भने पछाडि हट्नु आत्मघाती हुन्थ्यो । पार्टीभित्र विपत्तिको सामना गर्न खोज्दा अथाह संसदीय दलदलमा फसिने खतरा छ । त्यसैले संसद् र संसदीय प्रक्रिया बाहिर दुवैतिरबाट यसको खतरा छ । त्यसैले, दुबैतिरबाट यसको निकास खोज्ने चुनौती हामीसामु छ ।
हाम्राअगाडि असजिलो परिस्थिति पैदा भइरहेकै वेला कांग्रेस तथा पुराना सत्ताधारीले माओवादीविरोधी भण्डाफोर अभियानलाई तीव्र पारेका छन् । प्रतिक्रियावादीका अपराध र षड्यन्त्रका पोका हामीस“ग पनि नभएका होइनन् । संकटकाल चलिरहेका वेला कांग्रेसका उच्च नेताहरूसँग हाम्रो भेटघाट चलिरहेको हुन्थ्यो । अर्जुननरसिंह केसीले हामीस“ग रामशरण महतको सफाया गरिदिनूस्, हामीले के कति सहयोग गर्नुपर्छ गर्छौं‘भन्थे । रामशरण महत पक्षले अर्जुननरसिंह केसीको सर्न्दर्भमा त्यसै भन्थे ।
संकटकालकै समयमा बागमती उपत्यकाको जनमुक्ति सेनाको विशेष कार्यदल (एसटिएफ) ले सुशील कोइरालाको निवासमा चेतावनी स्वरूप सामान्य कारबाही गर्यो । त्यो कारबाहीलगत्तै शेरबहादुर देउवापक्षले ‘सफाया गर्नुपथ्र्यो, बेकार जिस्काउनु मात्र भयो‘ भन्थे । हरेक राजनीतिक छलफलमा खुमबहादुर खड्का भने ‘मलाई के फाइदा हुन्छ ?’ भनिरहन्थे । यस्ता अपराधीले के माओवादीका विरुद्ध रणनीति बनाएका थिएनन् ? विरोधीका विरुद्ध हावी हुने रणनीति कसले बनाउ“दैन ? त्यसैले कटवाल गुटको योजनामा माओवादीका विरुद्ध भण्डाफोर चलाइन्छ भने विगतका कथाहरू, पुरानो संरचनाका अपराधका पोकाहरू खोल्ने अधिकार हामीसँग पनि छ । तर, हामी पुराना सन्दर्भ खोतल्न भन्दा वर्तमानका चुनौती र निकासका विषयमा केन्द्रित हुनुलाई कर्तव्य ठान्छौं । (लेखक माओवादीका केन्द्रीय सदस्य हुन् ।)
(३० वैशाख २०६६ बुधबार, Wednesday, May 13, 2009 को जनआस्था साप्ताहिकबाट साभार) ।




