यस्तो पो रैछ ‘सर्सर्ति संसार’

सर्सर्ति संसार

चिनाईराख्नु पर्दैन, जीवा लामिछाने को हुन् । करिब २५ लाख आप्रवाशी नेपालीको संगठनका पूर्व अध्यक्ष । सफल ब्यवशायी । साहित्य अनुरागी । समाजिक अभियन्तापनि । संसार डुलेका एक फिरन्ते । तर लेखकमा नदरिएका । कस्तो लेखे होलान त यिनले किताब ? उनको किताब निस्किँदै छ भन्ने जानकारि यो पुस्तक ननिस्किँदै अनौपचारिक भेटघाटकै क्रममा मैले उनैबाट जानकारि पाएको थिएँ । अहिलेसम्म स्वच्छ छबीमा टिकिरहेका र बेला बखत मिठा लेखहरु प्रस्तुत गर्दै आएका उनले सिंगो पुस्तकमा के समेटेका होलान् ? पुस्तकको भाषा कस्तो होला ? लेखकका रुपमा उनको प्राथमिकता कस्तो होला ? के देलान् उनले आम पाठकलाई ? खुल्दुली थियो ।

आफूपनि भ्रमण निकै गर्ने र पुस्तकहरु यात्राको क्रममा वा कसैलाई पर्खेर बस्दाको समय सदुपयोग गर्दै पढ्ने बानी । एक लेखकलाइ स्नेहले उनले पठाएको पुस्तक प्राप्त गर्नासाथ मैले यात्रा गर्ने समय पर्खेर बस्नै सकिन । आधा पुस्तक तत्कालै पढें । बाँकि अंश मिलान, जेनेभा र पेरिस यात्राका क्रममा पढें ।

पुस्तक पढ्दै जाँदा मलाइ धेरै कुरा सामान्य लागे । किनकि उनी पुगेका धेरै ठाउँ मपनि पुगेको रहेछु । तर पुस्तकमा उनी पुगेका सबै मुलुक पुग्नेलेपनि मज्जा लिन सक्ने, सिक्ने र पुस्तक मुस्कुराउँदै पढ्ने रहेछ । आफैं पुगेका क्षेत्रका कहानी र वर्णन उनले जसरि गरेका छन् त्यो प्रशंसनिय छ । पुस्तकमा उनले हरेक देश, गाउँ, क्षेत्र तिनको विशेषतालाई नेपालसित गाँसेका छन् । कहिँ न कहिं नेपालको हित, विकास र प्रविधीसित जोडेका छन् । संभवत पुस्तकको सबैभन्दा सकारात्मक पाटो यहि नै हो ।

एकाध नागरिक मात्रै आर्थिक सम्पन्न भएर हुन्न । आफू आर्थिक रुपले सम्पन्न भएपनि निर्धन मुलुकको नागरिक हुनुको पिडा, निर्धन मुलुकका नागरिकले अपमान कसरि सहनुपर्छ भन्ने उनको भोगाई तितो छ । जापानका आफ्नै ब्यवशायिक साझेदारको ब्यवहार र विमानस्थलमा नेपाली गरिब देशको नागरिक भएका नाताले अन्य ब्यापारीलाई महँगो होटेल र उनलाई सस्तो होटेलमा कोठा बुक गरिदिएको, पासपोर्ट बोक्दा विमानस्थलमा सहेको झमेलाले मन चसक्क पार्छ ।

उनी साहित्य अनुरागी हुन् । बेला बखत आफ्ना भ्रमणका अनुभवलाई उनले लेखका रुपमा पस्कँदै आएकाले उनको भाषाको स्तर जानकारि भएकै हो । यस पुस्तकमापनि उनले आफ्नो त्यो स्तरलाई बचाएर मिठोसित प्रस्तुत गरेका छन् ।

आफू ब्यवशायिक रुपमा सफल भैसकेपछि आफूले बिगतमा पाएका दुख, गरेका कमजोरी र भोगेका दुखका सास्तिहरु औंल्याउनेहरु कमै भेटिन्छन् । तर जीवाले भने आफ्नो पुस्तकमा बिध्यार्थी कालमा बिदेशी वस्तुहरु भित्राउन नपाइने रसिया (यु एस एस आर) मापनि मस्कोदेखि बर्लिनसम्म २० घण्टाको रेल यात्रा गरेर थोरै सामान किन्ने । ति सामान लगेर रसियाका पसल चहार्दै बेचेर केहि पैसो जोगाउने । त्यस्ता लामा यात्रा र ति सामान बिक्रि गर्दा रसियामा भोग्नुपर्ने कानुनी बन्देजलाई कसरि जोखिम लिए । यो सास्ति कति पटक भोगे, रेल र विमानस्थलमा भन्ने उनको अनुभवले उनलाई ईमान्दार लेखकको रुपमा उभ्याउँछ । उनले सफल ब्यवशायी बन्न भोगेको त्यो सस्तिले एक सफल ब्यवशायी बन्न कति दुख र हण्डर खानुपर्छ, कति मेहनत र लगनशिलता चाहिन्छ भन्ने शिक्षा मिल्छ ।

उनले अन्य मुलुक पुगेका बेला त्यहाँको समाज, संस्क्रिति, सामाजिक स्तर नाप्ने तौरतरिका, जनतालाई शासकहरुले गर्ने ब्यवहार, इमान्दारिता र समाजका विविध पाटामा आफ्नो देशसित तुलना गर्दै कडा सुरक्षामा बस्ने शासकहरुमाथि बलियो प्रहारपनि छ । जापान भ्रमणका क्रममा उनी  इम्पेरियल दरबार पुग्छन् । अकिहितो यामातो राजवंशका २५ औं सम्राट बस्ने त्यो दरबार नहरले घेरिएको हुन्छ । प्राचिनकालमा सुरक्षाका कारणले त्यसरि बनाइएको हुन्छ । ‘संसारमा सबैभन्दा बढि असुरक्षाको भय शासकहरुलाईनै हुने रहेछ । कस्तो अचम्म ! जसलाई सबैभन्दा बढि सुरक्षा दिईएको हुन्छ, उसैलाई सबैभन्दा बढि असुरक्षाको अनुभूति हुन्छ । आकाशलाई छानो र धर्तिलाई घर बनाएर बस्नेलाई केको डर ?’ उनले पुस्तकमा प्रहार गरेका छन् ।

ग्रिसको एथेन्सदेखि स्विजरल्याण्डका पहाड हेरेर कसरि रेल वे सेवा बनाउन सकिन्छ । पहाडी हिल रेसर्टहरु यता जस्तै हाम्रो मुलुकमा किन बनेनन् ? कोरियालीहरुले कसरि आफ्नो मुलुक पचास वर्षमै विश्वमै आर्थिक नमूनाको बनाए । यस्ता थुप्रै चासो र अक्किलहरु, संभावना र चुनौतिहरुको खोतलखातल पारेका छन् । त्यति मात्रै होइन, भ्रमणकर्ताहरुले कस्ता कुरामा ध्यान दिनुपर्छ । भ्रमण गर्दा कस्ता समस्या आइपर्छन् भन्ने बुझ्नपनि उनको पुस्तकले भरपुर मद्दत गर्छ ।

jiba-lamichhane

ति धेरै मुलुकका जानकारि समेटेर लगभग ति देशको ईतिहास र जानकारि दिँदा उनी हत्तपत्त नचुकेको देख्दा गज्जब लाग्छ । यति हुँदा हुँदैपनि उनी कतै कतै चिप्लिएका छन् । स्विजरल्याण्डमा जर्मन भाषा, फ्रान्सेली र ईटालियाली भाषा आधिकारिक छन् भनेर उनले दिएको जानकारि यथार्थपरक लाग्दैन । स्विसहरुले आफ्नै स्वोइच भाषा बोल्छन् जुन जर्मन भाषासित मिल्दैन । अर्थात् स्विसहरुले स्वोइच अर्थात् स्विस जर्मन बोल्दा जर्मनहरुले बुझ्दैनन् तर जर्मन भाषाभने स्विसहरुले बुझ्छन् । र स्विजरल्याण्डमा रोमान्च भनिने चौथो आधिकारिक भाषापनि छ । तिनको आफ्नै भाषामा रेडियो र टिभी कार्यक्रमसमेत चल्छ ।

कतिपय ठाउँमा बिज्ञानसम्मत हिसावले सहमत नहुने ठाउँपनि जिवाले आफ्नो पुस्तकमा छोडेका छन् । मासाईमारा राष्ट्रिय निकुञ्ज भित्रै होटेलहरु राख्न दिएर प्रशस्त बिदेशी मुद्रा आर्जन गरेको उदाहरण दिँदै उनले चितवन राष्ट्रिय निकुञ्जबाट टाइगर टप्सलाई हटाएकोमा दुख मानेका छन् । बिज्ञानको मूल ध्येय पैसा कमाउने भन्दापनि प्राक्रितिक जिवजन्तु, वनस्पतिको भण्डार गरेर पुस्तौं पुस्तालाई जोगाई राख्ने भण्डारणस्थल (भकारि जस्तै) मूल उद्देश्य हो । अरबौं डलर कमिएपनि कुनै एक प्रजाति बिनास भएर गयो भने त्यसलाई बिज्ञानले विश्वकैलागि एक ठूलो नोक्सान, आपत्ती र क्षति मान्छ । राष्ट्रिय निकुञ्जहरु त्यहि उद्देश्यले बनाइन्छ । पर्यटन विकासकालागि त शिकार आरक्ष, बन्यजन्तु आरक्ष, सफारी पार्क जस्ता निकुञ्जले जस्तै सेवा दिनसक्ने अलग क्षेत्र छुट्ट्याएर विकास गरिने हो । चितवन राष्ट्रिय निकुञजभित्र निजि होटेलले पुर्‍याएको क्षतीको हिसाव किताबबाट नाजायज देखिएरै विश्व समूदायकै यस्ता स्थलहरु निगरानी गर्ने संस्थाकै सुझाव र अनुगमनको निचोडका आधारमा चितवन राष्ट्रिय निकुञ्जबाट होटेलहरु हटाइएका हुन् ।

अफ्रिकाको भ्रमणमा जाँदा आफ्ना गाईड जोसेफको विवाह ५० वटा गाई बेहुलीलाई दिनुपर्ने र २५ वटा गाई किन्न आर्थिक अभावले विवाह गर्न नसकेको दुखेसो पोखेपछि जिवाले गाई किन्न आर्थिक सहयोग गरेको प्रसंगले मन चस्स छुन्छ र जीवा साँच्चै मनका दयालु रहेछन् भन्न करै लाग्छ ।

बाथरुममा राखिदिएका मन्जन, ब्रस जस्ता साधन नचाहिँदा नचाहिँदैपनि प्रयोग गरेबापत तिर्नु परेको चर्को मूल्य, ईजिप्टमा उँट चढ्दा पैसा लाग्दैन भन्दै पर्यटकलाई लोभ्याएर उँट चढाएको तर ओर्लिने बेला ‘चढेको पो लाग्दैन भनेको त, ओर्लिएको त लाग्छ नी’ भन्दै पैसा असुलेको प्रसंग,  हट डग भन्ने खानाको नाम देखेपछि कुकुरकै मासु हो की भनेर हट डग खान हिच्किचाएको प्रसंग, साथीहरुले युक्रेनका केटीहरु यति राम्रा हुन्छन् की ति देखे ढल्नुहुन्छ । तपाईलाई पानी छम्किनुपर्छ’ भनेकाले युक्रेन जान लाएको लालसा लगायतका धेरै प्रसंग छन् जसले पेट मिचिमिचि हसाउँछ ।

पुस्तक सलल बगेको छ । पढ्दा अप्ठेरो जस्तो महसुस हुन्न । तर जीवा साहित्य र लेखनका पारंगत भएकाले भाषा प्रयोगमा प्यालेस लेख्नु भन्दा दरबार, चेक इन लेख्नुभन्दा होटेलमा दर्ता गरेपछि, अराइबल भन्नुभन्दा आगमन भनेर सकेसम्म नेपाली भाषामै लेखिदिएको भए हाम्रो भाषानै प्राथमिकतामा पर्थ्यो की की भन्ने महसुस हुन्छ । तर संसार छिचोलेर एक नेपालीले यति गहकिलो पुस्तक जुन दिएका छन् त्यसका अगाडि उनको पुस्तकमा भएका त्रुटि नगण्य हुन् । यो पुस्तक लेखेर प्रवाशी नेपालीहरुलाई बाटो खोल्ने, झक्झकाउने कामपनि गरेका छन् । विभिन्न देशमा बसेका नेपालीले जीवाको पुस्तकका हरेक देशका सामाग्रिलाई पछ्याएर तन्काउँदै लगेपनि देशनै पिच्छे पुस्तक बन्न सक्छ । यो अर्थमा जीवाले धेरैलाई गुन लगाएका छन् । पहिलो पुस्तक यति राम्रो पस्किएकाले बरु उनैमाथि चुनौति थपिएको छ ‘आगामि पुस्तक कस्तो लेख्लान् ?’

उनले सारा संसार घुमे, देखे र भोगे । धेरै कुरा सिके । सफल ब्यवशायी बने, लेखक बने । तर उनी जस्ता सयौंले यसरि बिदेश घुम्छन् । तिनले चाहिँ के उपयोग गर्छन् त विदेश भ्रमणलाई ? जीवाले गहकिलो प्रश्न सोधेका छन् ‘आजकाल कुनैपनि ट्रान्जिटमा नीति निर्मातादेखि मजदूरी गर्न गएका दर्जनौं ब्यक्तिसँग भेट हुन्छ । अध्ययनमा जाने तथा फर्किनेसितपनि त्यत्तिकै भेट हुन्छ । मलाई आश्चर्य लाग्छ, ‘तिनिहरुले बिदेशबाट लिएर जाने सिप र ज्ञान किन विमानमै बिर्सिन्छन् ?’

-पुस्तक परिचय-

पुस्तकको नाम -सर्सर्ति संसार

लेखक- जीवा लामिछाने

प्रिष्ठ संख्या -२२०

प्रकाशक – नेपालय

मूल्य -रु ३४५

विधा – यात्रावर्णन

तपाइँको प्रतिक्रिया