क्यालिफोर्नियामा मेरो निम्ति बाँचिरहेकी आमालाई

  • काव्या

writer_iconयो जाडो मौसमको गोधुली साँझ अनि डम्म बादलले ढाकेको उपत्यकामा आज अरु बेला भन्दा छिट्टै अँध्यारो छाएको छ ।  चराहरु आफ्नो बचेराको पेट भर्ने चारो बोकेर आफ्नो गूँड तिर उडिरहेका छन् । साँझको अँध्यारो संगै शित पनि उस्तै गरि द्रुत गतिमा पर्न थालिरहेका छन् । उपत्यकाको राजनीति जस्तै मौसम पनि छिनछिनमा परिवर्तन भईरहेको आभास हुने गर्छ ।

उसै पनि चिसो अनि त्यसमा पनि पुषको सहनै नसक्ने जाडो मलाई दिनको ५/६ पटक चिया नपीई धितै मर्दैन । मौषमलाई च्यालेन्ज गर्न अरुले मदिरा पिउँछन् भन्छन् म भने चिया पिउनेगर्छु । दिउँसोको पढाई अनि दुई घन्टाको विशेष ट्रेनिङ गर्दै दिनहरु पनि त्यसै त्यसै वितिरहेका छन् । हप्ता दिन अघि देखि पढ्न थालेको पाउलो कोहेलोको द विनर स्ट्यान्ड एलोन उपन्यास पढिरहँदा फेसबुकको एउटा स्टाटसले मेरो ध्यान खिच्यो । लेखिएको थियो – ” आफ्नै आयु घटाएर मेरो दृघायु पठाईदिने आमाहरुको कथा आँशुको मसिले हृदयमा मात्र लेख्न सकिन्छ । “

मन छोयो अनि सम्झनामा आईन ! क्यालिफोर्नियामा मेरै लागि दुख गरिरहेकी मेरी आमा ! उमेरले ४५ वरिपरी पुगेकी मेरी आमा अझैपनि कस्सिएर काम गर्छिन् । इन्टरनेट देखि छोटो दुरीसम्म नै सहि क्यालिफोर्नियाका गल्लीहरुमा गाडी मज्जासंग हुईक्याउने भईसकेकी छिन् ।

प्रिय आमा !

तिमि सुखमा छौ की दुखमा छौ ? मैले जस्तै तिमीले पनि हरक्षण मलाई सम्झिरहेकी हुन्छौ होला ।

आजभोली भाईभर र म्यासेन्जरमा बज्ने टिंग टिंग आवाज पनि तिमीले छोरी …छोरी …भनेर बोलाएको जस्तै लाग्छ । तिमी नै त हौ मेरो जीवनको संगीत अनि म नै त हुँ नि तिम्रो आशा र भविष्य ।

तिमी बिनाका घरका बलेनी अनि बार्दली सुनसान सुनसान लाग्छ । तिमीले बजाउन नपाएको पुजाको घन्टी शोकाकुल देखिन्छन् । तिमीले नमुछेको केशरी मिश्रित अक्षताको थालि पनि विरानो विरानो लाग्छ । बार्दलीका फुल, आमा बिनाका परेवाका जोडीहरु जस्तै तिमी विनाको भान्साघर सबै सबै सुनसान सुनसान लागिरहेका हुन्छन् ।

कहिलेकाहिँ त आमाको हत्केलालाई सिरानी बनाएर एक रात सुत्न पाए नि हुँदो हो जस्तो पनि हुन्छ । तिमी विहानको घन्टीको आवाज देखि बेलुकाको आमा-छोरीको गुनगुन सम्मको सम्झनाले मलाई धेरै सताउने गर्छ । आमा ! सम्हाल्नै सक्दिन आमा !

आफैलाई सोध्छु – मलाई यति धेरै माया गर्ने आमा मेरै लागि किन परदेशिन पर्ने होला ? यो कस्तो नयाँ व्यवस्था बनिरहेको छ देशमा जहाँ म जस्ता कैयौं छोरीहरुले टाढा बसेर आमालाई हेर्नुपर्ने ? आमा ! चन्द्रमामा धेरै पहिले मान्छे पुगेका हुन् तर तिमी चन्द्रमा जस्तै जस्तै टाढा बसेकी छौ । म तिम्रो उज्यालो हेरेर आफुलाई रंगिन बनाईरहेको छु । तिमीले यो पढिरहेको छौ भने टाढाको देशको एक कोठाबाट मलाई निष्ठुरी छोरी नभन्नु न है ?

तिम्रो स्वाभिमानको रगत मेरो शरीरमा आज पनि दौडिरहेको छ । ढुक्क हुनुस् आमा ! तिम्रो विश्वासमा मैले कुनै घात गरेको छैन । अँध्यारो कोठाको ओसिलो छल्न पारिलो घाम ताप्न अमृतासंगै बाहिर निक्लेको थिएँ । उचाईनै नभएका मान्छेहरुले सगरमाथाको उचाईमा शंका गर्ने दुस्साहस गरेका छन् । यहाँ दौडिन खोज्दा झेल गरेर पछाडी बाट लडाउन खोज्नेहरुको कमि छैन । युद्दको मैदानमा लडिरहेकी छापामार जस्तै म आफ्नो मर्यादा र उत्तरदायित्व बोध गरिरहेको छु । ढुक्क हुनुस् आमा ! तिमीले मेरो लागि बनाएको सीमारेखा मैले तोडेको छैन । किनकि त्यो सीमारेखामा तिम्रो रगत, पसिना र आँशुको आलो गन्ध मैले दिनरात अनुभूत गरिरहेको हुन्छु । त्यो मेरो निम्ति प्रेरणा हो जसलाई मैले पुजा गरिरहेको छु ।

आमा ! आफ्नै पत्नी सिता प्रति अविश्वास राखेर अग्निपरीक्षा लिने रामलाई भगवान मान्ने अनि लंकाको दरवारको सुन्दर बंगैचामा सौखिन तरिकाले सीतालाई बस्न दिने रावणलाई घृणा गर्ने समाज हो यो । यो समाजको चित्र र विम्व धेरै पहिले देखि निर्माण गरिएको हो । तसलिमा नसरिनले आईमाईको कुनै देश हुँदैन भनेर लेखेको जस्तो जस्तो आभास आजभोली मलाई हुनेगर्छ आमा !

महान लेखक म्याक्सिम गोर्कीले एक दिन लेखे – मलाई आमा र विजय मन पर्छ । आमाको माया र प्रेरणाबाट जीवनमा विजय प्राप्त गर्न सकिन्छ भन्ने आशय थियो त्यो । मेरी आमा क्यालिफोर्नियामा मेरो निम्ति रातदिन काम गर्दै सपना देख्छिन् होलि । म अस्ताउँदै गरेको सुर्योदय संगै हरिया पातहरु खसिरहेका रुखहरुलाई आफ्नो साथि बनाउन खोजिरहेको हुन्छु । प्राकृतिक सजिवतामा म जीवनको मोल खोजिरहेको हुन्छु । स्वतन्त्र अग्निपंक्षी जस्तै म पनि खुल्ला आकाशमा उडान भर्न चाहन्छु आमा । मलाई यो सामाजिक बन्धनमा रम्ने मन नै छैन जहाँ निस्सासिँदो जुलियस फ्युचिकलाई(हिटलरले बन्धक बनाएको सामान्य नागरिक ) थुनिएको कारागारको बोध गराउँछ ।

मैले आफ्नो स्वतन्त्रतालाई तिम्रो सीमारेखा भन्दा बाहिर जान दिएको छैन । तिमीले रोपेर वर्षौ लगाएर हुर्काएको निर्भिक फुलिरहेको फुल हुँ म । मेरो रातो रंग र तिम्रो मायाको आहाटमा कुनै नक्कल र फिक्का जीवन छैन । यहाँ अनगिन्ति तिम्रा विश्वास र सपनाहरुको जीवन छ जसलाई तिमीले जोगाउनु भनेर मलाई बचन दिएर म बाट धेरै टाढा गएकी छौ ।

सहरका गीतहरुमा तिम्रो लोरिको आत्मियता खोजिरहेको हुन्छु । पाउँदिन आमा ! त्यसैले त तिम्रो सम्झनामा मैले दैनिक गाईरहेको हुन्छु – अरुणा लामाको ” एक्लै बस्दा संधै मलाई …….”

लस एन्जल्सको जमघट र धपेडीमा तिमीलाई निष्ठुरी छोरीको याद आउँदो हो । हिउँ परेको त्यहाँको बाटोमा हिडीरहँदा तिमीलाई छुँदै गएको सिरेटोले पनि छोरी कहाँ होलि ? के गर्दै होलि भन्ने चिन्ता पनि लाग्छ होला ।

पुष १५ होस् या माघेसंक्रान्ति तिम्रा सम्झनाहरु मेरा निम्ति जीवन जिउने प्रेरणा बनेका छन् । आमा ! तिमीले भोगेर केहि वर्षको लागि मुक्ति पाएको यो समाज बदलिएको छैन । रुप मात्र फेरिएको छ अन्तर्यमा झनै कहालीलाग्दो बर्बरताबाट यो समाज गुज्रिरहेको छ । म माथि उठ्ने गरेका अनेकन प्रश्नहरुले तिमीलाई उद्देलित बनाईरहेको हुँदो हो । अनगिन्ति प्रश्नहरुको उत्तर दिंदा दिंदा थाकेकी तिमीलाई मैले पनि अनायासै दुख दिन पुगेछु । निष्ठुरी छोरी सम्झेर माफ गरिदेउ । तिम्रो न्यानो माया र विश्वास मेरा अग्निपरीक्षा हुन् । म पराजित भएर तिमीलाई हार्न दिने छैन । जीवनको कुनै दिन तिमीलाई म प्रति गर्व गर्ने समय उपहार दिनेछु । यतिवेला बगिरहेको खोलाको उल्टो बहावमा पौडिने शक्ति देउ आमा मलाई ।

आमालाई सम्झिरहेकी काव्याले अन्त्यमा पाउलो कोहेलोको एउटा भनाई डायरीमा लेखेर सुरक्षित राखेकी छे  – ” We can never judge the lives of others, because each person knows only their own pain and renunciation. It’s one thing to feel that you are on the right path, but it’s another to think that yours is the only path.”

 

तपाइँको प्रतिक्रिया