सिक्किममा ईनास अवार्ड कार्यक्रम : बिरोध गर्नेहरुलाई यस्तो छ आयोजकको जवाफ

inas

भारतको सिक्किममा नोभेम्बर ९ मा चौथो ईनास अवार्ड कार्यक्रम भएको थियो । त्यो आयोजना हुँदा अभिन्त्रि तथा नयाँ शक्ति पार्टीकी अभियन्ता करिस्मा मानन्धरले आलोचना गरेकि थि ईन । बिचल्लीमा पारे, आफैंले भाडा हालेर फर्कियौं । बस्ने ठाउँको चाँजो थिएन । सोधखोज गर्ने र जिम्मेवारी बहन गर्ने कोहि भेटिएन जस्ता आरोप लगाएकि थि ईन । केहि मेडियामा सकारात्मक र केहि नकारात्मक समाचार, लेखपनि आए । तर आयोजकहरुले भने सानातिना कमजोरी रहेपनि आरोप लगाएको जस्तो कमजोरी नभएको बताएका छन् । आयोजकले कार्यक्रममा केहि कमजोरी भएको स्विकार्दै बिज्ञप्तीमार्फत ईनास अवार्ड कार्यक्रम भब्यरुपमा सफल भएको बताएका छन् । आयोजकले प्रेषित गरेको बिज्ञप्ती हेर्नुस्।

आदरणिय सञ्चारकर्मी, कलाकार, साहित्यकार, कलाकारितामा चासो राख्ने प्रवुद्ध वर्ग र  मित्रहरु,

भारतको सिक्किममा आयोजित पामाकेयर चौथो इनास अवार्ड– २०१६ (२४ कार्तिक, नोभेम्बर ९) भब्यरुपमा सम्पन्न भएको समाचार सुनाउन पाउँदा हामी हर्षित छौं ।

चलचित्रकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका एक सय पचास जना ब्यक्तिहरु अवार्डमा सरिक हुन नेपालवाट सिक्किम पुग्नुभएको थियो । झापाको काँकडभिट्टामा भेला भएका सबै  निम्तालु हरुलाई सिक्किम सरकारले पठाएका तीन दर्जन सेतो रंगका इनोभा गाडीमा एकैपटक सयर गराउँदाको क्षण निश्चयनै रोमांचक थियो ।

सिक्किम सरकारको न्यानो आतिथ्यतापछि भएको अवार्ड कार्यक्रममा चर्चित चलचित्रकर्मी मनिषा कोइराला, राजेश हमाल, विनोद प्रधान, करिष्मा मानन्धर, उगेन छोपेल, रन्जीत गजमेर, धनपाल गुरुङ, निरुता सिंह, उत्तम प्रधान,सुन्दर श्रेष्ठ, सञ्चिता लुईटेल, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतलाई विशेष सम्मान गरिएको थियो । पछिल्लो समय ऐतिहासिक रेकर्ड राख्न सफल चलचित्र छक्का–पञ्जाको लागि अभिनेता दिपकराज गिरी र निर्देशक दीपाश्री निरौलालाई विशेष सम्मान प्रदान गरिएको थियो ।

अवार्ड कार्यक्रममा अभिनयका बादशाह डेनि डेनजोङपालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो भने सिक्किमका मूख्यमन्त्री तथा कवि पवन चाम्लिङ ‘किरण’ लाई हरेक तीन वर्षमा एकपटक प्रदान गरिने ‘इनास विश्व सम्मान’ बाट सम्मानित गरिएको थियो ।

त्यसैगरी, १९ विधामा प्रदान गरिएको अवार्ड तर्फ उत्कृष्ट चलचित्र पशुपति प्रसाद, निर्देशक दीपेन्द के खनाल (पशुपति प्रसाद), अभिनेता आर्यन सिग्देल (क्लासिक), अभिनेत्री नम्रता श्रेष्ठ (क्लासिक), सह अभिनेता नाजिर हुसेन (होस्टेल रिर्टन्स्), सह अभिनेत्री सूर्यमाला खनाल (सुन्तली), नव अभिनेता सुशिल सिटौला (होस्टेल रिर्टन्स्) नव अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह (ड्रिम्स ), हाँस्य कलाकार वील्सन विक्रम राई (अधकट्टी), खलपात्र विपिन कार्की (पशुपति प्रसाद), सम्पादक सुरेन्द्र पौडेल (क्लासिक), छायाँकार पुरुषोत्तम प्रधान र सञ्जय लामा (ड्रिम्स), लेखन खगेन्द्र लामिछाने (पशुपति प्रसाद), द्धन्द्ध हिमाल केसी (भैरव), संगीतकार अर्जुन पोखरेलको ‘म यस्तो गीत गाउँछु (प्रेम गीत), गीतकार डा.कृष्णहरी बराल ‘प्रकृतिको सुन्दर श्रृष्टी (क्लासिक), गायक युवराज चौलागाई ‘हारे हारे (क्लासिक), गायिका अञ्जु पन्त ‘सुर्के थैली (वडा नम्बर ६), नृत्य निर्देशक शंकर विसी ‘सुर्के थैली (वडा नम्बर ६) ले हासिल गरे । त्यसैगरी राजनराज सिवाकोटीलाई ‘वडा नम्बर ६ को सुर्के थैली… बोलको गीतको लागि लोकप्रिय अवार्ड प्रदान गरियो भने जुरी अवार्ड चलचित्र क्लासिकका निर्देशक दिनेस राउतलाई दिइयो ।

भब्य रुपमा सम्पन्न ‘इनास अवार्ड’ कार्यक्रममा सिक्किमका मूख्यमन्त्री पवन चाम्लिङले सिक्किममा सान्तर्भिक विषयवस्तुमा नेपाली चलचित्र निर्माण गर्ने निर्मातालाई लागतको ५० प्रतिशत रकम फिर्ता दिने घोषणा गर्दा सभा हल तालीले गुञ्जिएको थियो । मुख्यमन्त्री चाम्लिङको विविध विषय समेटिएको गहिरो र प्रेरक मन्तब्यले स्रोतालाई मन्त्रमुग्ध बनाएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा सिक्किमका गभर्नर श्रीनिवास पाटिलले नेपाली भाषामा दिनुभएको मन्तब्य वास्तवमै तारिफयोग्य रहयो । अभिनेत्री मनिषा कोइराला र अभिनेता राजेश हमालको सारगर्भित मन्तब्य सबैको प्रसंसाको विषय बन्यो । अवार्ड कार्यक्रमको भोलिपल्ट सम्माननीय मूख्यमन्त्री पवन चाम्लिङज्यूले दिनुभएको रात्रीभोजमा सवै कलाकर्मीको हँसिलो उपस्थितिले पनि कार्यक्रम भब्यरुपमा सफल भएको बुझिन्थ्यो । मूख्यमन्त्रीज्युले कलाकर्मी, सञ्चारकर्मी र कार्यक्रम सफल बनाउन योगदान गर्नेहरुलाई प्रदान गरेको मायाको चिनो विशेष महत्वको थियो ।

सञ्चारकर्मी मित्रहरु, ठूला कार्यक्रमहरुमा काम गर्दै जाँदा सामान्य कमी कमजोरीहरु नचाहँदा नचाहँदै पनि हुन्छन । सिक्किममा ईन्टरनेट कनेक्सनमा भएको समस्या र एक हजार तथा ५ सयका भारतीय नोटमा लागेको प्रतिबन्धले पनि आयोजकलाई केही अफ्ठ्यारो परेको सरोकार राख्नेहरुले बुझ्नु भएको विषय हुनुपर्छ । यसका साथै सिक्किमबाट फर्किने क्रममा ९ जना पत्रकार साथीहरु बसेको होटलमा उहाँहरुलाई लिन समयमा नै सवारी साधान नपुग्दा भएको प्राविधिक कठिनाइले हामीलाई पनि पक्कै दुखाएको छ । यस प्रकारको वृहत कार्यक्रम आयोजना गर्दा कहिं-कतै सानातिना कमीकमजोरीहरु भए होलान्, त्यसलाई अनुभवको रुपमा लिंदै आगामी कार्यक्रमहरुमा यस्ता कमी कमजोरीहरु हुन नदिने हाम्रो प्रयास रहनेछ । यस्तो कार्यक्रम सम्पन्न भैसकेपछि यसका सामान्य कमजोरी भन्दा उपलब्धि र प्रभावकारितालाई समेत प्राथमिकतामा राखिदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।

यो कार्यक्रमले वर्षौं भेट नभएका कलाकारबिच पूनर्मिलन गराएको  छ । नयाँ र पुराना कलाकारहरुलाई प्रत्यक्ष देख्ने, सुन्ने र भेट्ने अवसर जुराएको छ । यो क्षेत्रका विविध विषयमा गम्भिर छलफल, बहस र संभावनाको लागि ढोका खोलेको छ । अत: भारत सिक्किम सरकारको विशेष आतिथ्यमा भएको चौथो इनास अवार्ड नेपाली चलचित्रको इतिहासमा कोशेढुंगा हुने हाम्रो बुझाई रहेको छ । सामान्य कुरालाई वृहत्तीकरण गर्ने प्रबृत्ति यस अवार्डका सम्बन्धमा पनि पुनराबृत्ति भएको खण्डमा भने नेपाली चलचित्र उद्योगले पाउनै लागेका उपलब्धि समेत गुम्न सक्छन् जस्तो लाग्छ । त्यसकारण नेपाली चलचित्रलाई माया गर्नेहरु यस विषयमा सचेत हुन जरुरी छ । हामीले ईनास अवार्ड वा हाम्रा अन्य कार्यक्रमहरुलाई समेत कुनै लोभ, लालच वा संस्थागत प्रचारको प्राथमिकतामा कहिले पनि राखेनौं र राख्दैनौ पनि । यो अवार्ड गर्नुको हाम्रो प्रमुख उद्देश्य हाम्रा भावी पुस्ताहरुलाई नेपाली चलचित्र प्रति आकर्षित गर्ने तथा नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने सम्बन्धित निकायहरुको पहलमा टेवा पुर्याउने एउटा संस्थागत प्रयास हो, जसलाई हामीले आफ्नो तर्फबाट निर्वाह गर्ने प्रयास गरेका छौं र सकेसम्म आउदा दिनहरुमा समेत गरिनै रहने जानकारी गराउन चाहान्छौं।

यस अवार्डलाई भब्यरुपमा सम्पन्न गर्न सिक्किम पुग्नुभएका चलचित्रकर्मी, सञ्चारकर्मी, प्रायोजक, विभिन्न ओहोदाका ब्यक्तित्वहरु, जुरी पदाधिकारीहरु, इनासको छातामुनी रहनुभएका विभिन्न देशबाट आउनु हुने पदाधिकारी तथा प्रतिनिधि साथीहरु, कार्यक्रम संयोजक धन्यवादका हकदार हुनुहुन्छ । त्यसै गरी सिक्किम सरकार, संस्कृति मन्त्रालय, कला संस्कृति तथा चलचित्र बिकास बोर्ड सिक्किमलाई विशेष धन्यवाद नदिइरहन सकिन्न । त्यसैगरी, इनास सिक्किम र कार्यक्रम ब्यवस्थापक अन्तरा इन्टरनेसनलको सक्रियता विना यो कार्यक्रम संभव नै थिएन भन्ने हाम्रो बुझाइ छ । पामाकेयर, नेपाल चलचित्र विकास बोर्ड, नेपाल टेलिकम, नेपाल पर्यटन बोर्ड लगायतका संस्थाले कार्यक्रम सफल बनाउन खेलेको भूमीका सराहनीय छ ।

अन्त्यमा, विभिन्न प्रत्यक्ष–अप्रत्यक्ष अवरोधका बाबजुद पनि पामाकेयर चौथो इनास अवार्ड सफल भएको जानकारी गराउन चाहान्छौं ।

धन्यवाद !

पुष्प बरुवाल

अध्यक्ष

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ग्लोबल समिति।

International Nepalese Artist Society (INAS), Global Committee

०५/०८/२०७३

तपाइँको प्रतिक्रिया