गजल
–प्रकाश सापकोटा
तिमी पनि त्यै पुरानो सुकुटीमा रमायौ कि
झण्डै–झण्डै रित्तिएको ढुकुटीमा रमायौ कि
काँधै हाली उठाउने लाखौं जनता बिर्सिएर
डोली बोक्ने दुई डोलेको झ्याइँकुटीमा रमायौ कि
बिर्सेका त छैनौ होला खोलो रगत–पसिनाको
रातो गद्दा, तातो कुर्सी लुट्पुटीमा रमायौ कि
गरिवी र महङ्गीले आच्छु–आच्छु पारेको छ
मुटु भित्रै निमुखाको कुट्कुटीमा रमायौ कि
कुन्नी के–के आशाहरु देखाउँथ्यौ हिजोसम्म
बाचाहरु घुट्क्याउँदै घुटघुटीमा रमायौ कि
झाँक्रीहरु सिमापारि तन्त्रमन्त्र लगाउँछन् रे
झुण्ड्याएर घाँटीहुँदी त्यै बुटीमा रमायौ कि
तिमी पनि त्यै पुरानो सुकुटीमा रमायौ कि
झण्डै–झण्डै रित्तिएको ढुकुटीमा रमायौ कि
बनेपा काभ्रे, (हालः दोहा) ।





