अँध्यारोमा गितान्जलिको माया

– सामरिक

in-the-darkकिर्तिपुरको अँध्यारो कोठा जहाँ दिउँसो टन्टलापुर घाममा पनि उज्याला किरणहरु छिर्न सक्दैनन् । त्यो अँध्यारो कोठा मेरो साथि हो, मैले आफैले बनाएको साथि ।यो अध्याँरो कोठामा अँध्यारो मात्र मेरो साथी होईन । यहाँ मेरा सबैभन्दा प्रिय साथीहरु छन्, वेवारिसे भएर लडिरहेका पुस्तकहरु, एउटा सानो टेबल अनि टेबल मुनी मलाई जिस्काईरहेका मदिराका बोतलहरु सबै मेरा साथी हुन् ।

अझै सबैभन्दा प्रिय साथी त मेरो दुई औंलाको काप्चामा थामिएर सानले बलिरहेको एक खिल्ली चुरोट । पहिले पहिले सुर्य नै पिउँथे तर सरकारले ट्याक्स बढाएपछि अहिले म संग पाईलटको एक डिब्बा नै सुरक्षित छ । कहिले सुर्य त कहिले पाईलटको कक्टेल भएर मेरा छातीभित्र तातो भरिदिने ती धुवाँहरु पनि आजभोली मेरा साथी बनेका छन् ।

मेरो अँध्यारो कोठामा उज्यालो दिने एउटा तस्विर छ त्यो चे ग्वेभाराको तस्विर हो । अनि मलाई साथ दिने अनि रोजी रोटि दिलाउने एउटा अर्को साथी छ – ब्याट्री कम टिक्ने थोत्रो भएर पनि मेरै लागि बाँचिदिएको जस्तो डेलको आई ३ ल्यापटप अनि पुरानो आईफोन ५ मोबाईल ।

बन्द पर्खाल भित्र मान्छे स्वतन्त्र हुँदैन भन्छन् तर म धेरै स्वतन्त्र छु । समय र बेला पनि कस्तो आईदियो अरु मान्छेहरु बन्द पर्खाललाई जेल भन्छन् तर म तिनीहरुले खुल्ला आकाशमा बाँचिरहेको समाज र वातावरणलाई जेल ठानिरहेको हुन्छु ।

मेरो अँध्यारो कोठामा त्यति अँध्यारो छैन जसरी आजभोली बाहिर अध्याँरो बनाईएको छ । भ्रम दिईएको छ, खसीको भनेर कुकुरको मासु बेचिएको जस्तै गरि दैनिक एउटा लुट राज्य चलाईएको अनौठो गणतान्त्रिक व्यवस्था । यस्तो लाग्छ वास्तविक मान्छेहरुलाई जेलमा हालिएको छ अनि बेईमान र ठगहरुलाई लुट्न बजारमा पठाईएको छ ।

मेरो अँध्यारो कोठाले मलाई त्यहि भएर पनि भनिरहेको हुन्छ – हे केटा तैंले मलाई उज्यालो नै दिने भए गाउँबाट ल्याएको शुद्द तोरीको तेल राखेर कोठामा दियो बालिदिनु ।

अध्याँरोलाई पनि मिसावट र दुई नम्बरी मन पर्दो रहेनछ ।अँध्यारोको पनि आफ्नै भाषा हुने रहेछ, केवल सुन्न र बुझ्न सक्नुपर्ने रहेछ ।

म अँध्यारोमा छु तर मलाई जिस्काउने एउटा अर्को साथी पनि छ, त्यो हो मेजरकी छोरी ।

जसको आफ्नै नाम छ तर मैले उसको नाम गितान्जली राखिदिएको छु । उसले अँध्यारोमा मेरो फोटो नराख्नु भनेर मात्र हो अन्यथा मैले मेरो कोठामा गितान्जलीको फोटो पनि राख्ने थिए होला ।

त्यसले पनि अँध्यारोमा उज्यालो दिन्थी होलि । अध्याँरो कोठामा कहिले काँही गितान्जली अनगिन्ति भावना र गुनासाहरु बोकेर मलाई भेट्न आउने गर्छे ।

मैले किताव पढ्छ भनेर होला उसले मलाई मण्डेलाबाट नयाँ अंग्रेजी पुस्तकहरु ल्याईदिन्छे । पछिल्लो समय फ्रिकोनोमिक्स, सुपरफ्रिकोनोमिक्स, ब्रेकिंग इण्डिया अनि फिक्सन, नन फिक्सन भए भरका एक झोला किताव बोकेर आएकी थिई गितान्जली । किताव किन्ने लहलहैमा उसले पनि चे ग्वेभाराका भोलुमहरु, पारिजात, क्लरा जेटकिन, रोजा देखि तसलिमा नसरिन सम्मका धेरै कितावहरु पढिसकेकि छे । पहिले मैले उसलाई पुस्तक उपहार दिन्थे आज भोलि उसले मलाई दिन्छे । पुस्तकले पनि मानिसको सम्बन्धलाई थप प्रगाढ बनाउने रहेछ ।

बन्द पर्खाल अँध्यारो कोठा खै मलाई मन पर्छ भन्ने थाहा पाएर नै होला संधै उसले हट स्पाईसी सी मम: पनि प्याक गरेर ल्याईदिन्छे ।

पारिवारिक झमेलामा परेर निराश भएकी गितान्जली छातिमा भर्भराउँदो आगो बोकेर जब त्यो मम: खाईरहेको मलाई हेरेर मन्द मुस्कुराउछे तव यस्तो लाग्छ कि त्यो भगवान हो ।

म जस्तै उ पनि दुध हालेको चिया भनेपछि हुरुक्क हुन्छे । चिया धेरै मिठो बनाउँछे उसले । उ आउने दिन मेरो कोठामा अरु नभएपनि चिनी, चियापत्ती र दुध भने पहिले नै राखेको हुन्छु । त्यो उसलाई पनि थाहा हुन्छ अनि मैले चिया बनाउ भन्न नभ्याउँदै उसले चिया बनाउँछे । उसले मायाले मेरो चियाको कपलाई पनि एक पटक सुरुप्प पार्छे अनि हामी संगै चिया खान थाल्छौ । काठमाडौंको चिसो मौषममा जब मन्द मन्द पानी पर्दछ त्यतिवेला मैले गितान्जलीलाई अनि उसले पकाउने मिठो चिया धेरै सम्झिने गर्छु । उसले पकाएको चिया त्यतिवेला मिठो हुन्छ जब उसले आफैले लाईटर सल्काएर एक खिल्ली चुरोट मेरो ओठमा च्यापिदिन्छे अनि सल्काईदिन्छे । अनि वर्षौ अघि छुट्टिएर भेटेको जोडी जस्तो हामी रमाईला कुराहरु गर्छौ । म अँध्यारोको कुरा गर्छु उसले उज्यालोको कुरा गर्छे ।

भावनामा बग्दै गर्दा उसले मलाई सम्झाउँछे, हप्काउँछे कहिले मायाले पिट्छे अनि फेरी तुरुन्तै सरी सरी …. भन्छे ।

एक छिन म रिसाएको जस्तै गर्छु अनि उसले मलाई फकाउन उसलाई ममीले अमेरिकाबाट पठाईदिएको झोलामा राखिएको चकलेट निकालेर आफ्नो ओठमा च्याप्छे अनि …

अंम अंम गरेर चकलेट खान भन्छे अनि हामीले एउटा चकलेट दुवैजना मिलेर खान्छौं ।

सानो छ तर भव्य छ हाम्रो दुनियाँ । यो पनि हामीले नै बनाएको दुनियाँ हो जहाँ उज्यालो पनि छ अनि अध्याँरो पनि छ ।

मेजरलाई पनि खबर नगरी विहानै आएकी गितान्जली छटपटाउन थालेकी छे । किन होला भनेको त

बाहिर अँध्यारो हुन थालेको रहेछ अब गितान्जलीको जाने बेला भयो । बाहिर अँध्यारो हुन लाग्दा आज मेरो कोठामा गितान्जलीले दियो बालेर गएकी छे ।

तपाइँको प्रतिक्रिया