चिनियाँ केटी (कथा)

  • किशोर सापकोटा / लुइभेल, अमेरिका

kishor-sapkotaहिमपात थामिएको केही दिनमा नै चेरी फुली सकेका थिए । म कलेज अगाडि वाटो किनारमा लहरै फुलेका चेरीको तस्विर खिच्दै थिए । सय वर्ष अगाडि मात्रै जापानवाट ल्याउन सुरु गरिएका चेरीका प्रजातिहरुले अमेकिकाका थुप्रै शहरहरुलाई ढाकेर सुन्दर वनाएको थियो । म जापानीज चेरीहरुसंग रमाइरहेको वेला जापानीज जस्तै लाग्ने एउटी युवती मेरो सामुन्ने आइपुगेकी थिइ । तर जापानीज होइन रहिछे । उसले तुरुन्तै आफ्नो परिचय दिइ ।

लुसी ।

ऊ अमेरिकामा नयां थिइ । मेरो छिमेकी देश चीनवाट ।
केही क्षणमा नै म लुसीसंगै कलेजको कक्षामा थिए । केही परिचित र केही अपरिचित अनुहार थिए मेरा लागि । लुसीका लागि यी सवै अनुहारहरु अपरिचित थिए । कक्षामा उसको परिचय गराउने जिम्मेवारी मेरो कांधमा आयो ।

अहिले विश्वको सवैभन्दा ठुलो अर्थतन्त्र भएको मुलुक चीनवाट विश्वको सवैभन्दा शक्तिशाली मुलुक अमेरिकामा उदाएकी हामीवीचकी सवैभन्दा सानी र राम्री यी केटी हुन् लुसी । मैले उसको परिचय गराउंदा यतिमात्रै भने । आफ्नो शोखको वारेमा उसैले भनी ।

मेरो वारेमा धेरै मन दिएर परिचय गराइदिएकोमा धन्यवाद – पहिलो कक्षा सकिएर निस्कने क्रममा लुसीले भनी ।

एक त तिमी मेरो छिमेकी देशवाट हौ, दोश्रो तिमी यति राम्री छ्यौ – मैले भने – यति राम्री केटीको वर्णन गर्न मैले अझै सकिन जस्तो लागिरहेको छ ।

प्रशंसा गरेकोमा म खुसी भए – ऊसले भनी – तिमी अरुलाई पट्याउन सिपालु रहेछौ ।

यति राम्री केटीलाई पट्याउने हिम्मत मसंग कहांवाट हुनु ? ठट्टा गरे – मौका पाउने भए यो जीवन तिम्रो प्रशंसा गर्नमा नै विताउने थिए, म मनको कुरा वोली हाल्छु । तिमी त्यो भन्दा वढी प्रशंसाको लायक छ्यौ भन्ने लागि रहेको छ ।

ऊ मुस्कुराउँदै वाटो लागी ।

मन पर्नु मात्रै पर्छ भेट्ने वहाना कति कति ?

कक्षा कोठा, ल्याव, क्याफेटेरिया, पार्किङ यत्रतत्र सर्वत्र लुसी र मेरो भेटघाट भइरह्यो । कक्षामा लगातार प्रेजेन्टेशनहरु दिइरहनुपर्ने हुंदा प्रेजेन्टेशनको तयारीका लागि सधै सहयोग माग्न ऊ मसंग आइरहन्थी । नयां थिइ । कम्प्युटर थिएन, प्रिन्टर थिएन, क्यामेरा थिएन, गाडी थिएन । थियो त केवल एकथान मलाइ मनपर्ने अनुहार । थियो त केवल एउटा साट्न मिल्ने मन । थियो त केवल मायाको न्यानोपन । थियो त केवल एउटा मलाइ भुलाउने सपनाको प्याकेज । अनि के चाहियो मलाई ? आफ्नो काम छाडेर उसको काममा समाहित हुन्थे । कक्षामा सधै मेरोभन्दा उसको प्रेजेन्टेशन राम्रो हुन्थ्यो ।

जसको सहयोग लियो, उसलाई पनि जित्ने ?

म जिस्क्याउँथे ।

यो चिनीया शैली हो ।
उसको जवाफ हुन्थ्यो ।

दिनहरु जस्तै मेरो मन पनि लुसीसंगै वगिरह्यो । नेपाल र चीनको भूगोल जसैगरी लुसीको र मेरो मन जोडियो तर त्यहां देशहरुको जस्तो कुनै सीमारेखाहरु थिएनन्, कुनै जंगे पीलरहरु रहेनन् ।

कलेजमा भ्याकेसनको समय आयो । उसले केही समय काम गर्न पाउने भइ ।

म पनि तिमीसँग काम गर्न जान्छु ल – ओहायो नदीको छेऊछेऊ एकसांझ हिँडीरहँदा उसले भनी ।

मैले उसलाई हेरे । ऊ मलाइ नै हेरिरहेकी थिइ । पछाडि नदीमा पानी जहाजहरु हुंइकिइरहेका थिए । घाम इण्डियानाको आकासभन्दा पनि पर रातो हुंदै विलाउंदै थियो । नदीमा पानी वगिरहेको थियो । मानिसहरु हतारिएर गन्तव्यतर्फ दौडिरहेका थिए । तर हाम्रो मन टक्क एकअर्कामा अडिएको थियो । कहिलेकांही मन थामिदा पनि साह्रै आनन्द आउंदो रहेछ ।

अर्को दिनवाट लुसी र म काममा पनि संगै थियौ । मैले उसलाइ काम सिकाएको थिए । उसले जीन्दगीमा कहिले पनि काम गरेकी छैन भन्ने मलाइ उसले काम गरेको हेरेर थाहा भएको थियो ।

कति माया गरेर काम सिकायौ है तिमीले ? – व्रेकको समयमा उसले भनी ।

काम सिकाएको वेला शायद तिमीलाई भन्दा कामलाई वढी माया गरे हुँला – मैले भने – हामी इमिग्रेन्टहरु कामलाई साह्रै माया गर्छौ ।

म धेरै कुरा वुझ्दिन – उसले प्रसंग मोड्दै सोधी – तिमीले मलाइ यति धेरै किन माया गरेको ?

म कुनै समयमा तिम्रा जस्तै चिम्सा आंखा भएकी एउटीलाई माया गर्थे – मैले भने – ऊ त अहिले मसँग छैन, त्यसैले उसको माया पनि तिमीलाई थपेको छु , त्यसैले तिमीलाई धेरै जस्तो महसुस भयो होला ।

ऊ मुस्कुराइ मात्र । मलाई स्वर्गीय आनन्द प्राप्त भयो ।

मैले फेरी भने – तिमी यति धैरै मायाको हकदार छ्यौ जति मेरो हृदयले अझै गर्न सकिरहेको छैन जस्तो लाग्छ ।

कामले व्यस्त वनाउंदै लग्यो । कामप्रति मेरो सम्मान थियो । तर व्यवस्थापनप्रति पुरै घृणा थियो । वाहिरी संसारवाट हेर्दा अमेरिकामा सवै काम एकदमै अप टु डेट हुन्छन् होला भन्ने अनुमान हुन्थ्यो तर भित्रवाट हेर्दा यहां भद्रगोल हुंदोरहेछ ।

एकदिन कामवाट फर्कदा गाडीमा लुसी घुंक्कघुंक्क गरेर रोइ ।

किन काम गाह्रो भयो ?

होइन ।

किन रोएको त ?

भेदभाव सहन नसकेर ।

कसले के गर्‍यो ? – मैले उसलाई सोधे ।

संविधानदेखि अफिसियल पोलिसी पेपरसम्ममा रंगभेद, जातिभेद, धार्मिक, लैंगिक भेदभाव नभएको कुरा उल्लेख छन् तर व्यवहारमा पाइला पाइलामा विभेद गर्छन – ऊ चिच्याइ – भनेर विभेद गरे हाम्रो देश होइन भनेर चित्त वुझ्यो तर कुरा र व्यवहार फरक हुँदा रिस उठेको हो ।

संविधान र कानुन एक ठाऊमा हुन्छ तर निकटता जहांपनि लागु हुन्छ, तिमी चित्त नदुखाऊ – मैले उसलाई सम्झाउंदै भने – मैले अमेरिकन केटी मन नपराएर तिमीलाई किन मन पराए भन त ? किन तिमीले मलाइ मन परायौ भन त ?

ऊ रुन छाडी । शायद मन वुझाइ ।

मैले अमेरिकामा चिनीयाहरुले तिमीले जस्तो अरुको कम्पनीमा काम गर्न गएको देखेको छैन, सवै आफ्नै व्यवसायमा रमाउंछन् – मैले एक दिन भने – तिमी पनि आफ्नो व्यवसाय सुरु किन गर्दिनौ ?

म त तिम्रो मनमा रानी भएर वस्ने हो, अव कुनै कुरा सोच्नु छैन – उसले जवाफ दिइ ।

म यसैयसै रमाए ।

एक दशकभित्र अमेरिकामा चाइनिज मनी र इण्डियन माइन्डको उपस्थिति उल्लेख्य रुपमा हुन्छ भन्ने वुद्धिजिवीहरुको विश्लेषण छ – मलाइ फुरुंग पारेपछि फेरी वोली – तर त्यो विश्लेषण मेरो जीवनका लागि भने अर्थहीन हुने भयो ।

अनि हामी नेपालीहरु कहां हुन्छौ नि ?

तिनै वुद्धिजिवीहरुलाई सोध – उसले चलाकीपूर्ण जवाफ दिएर उम्किइ ।

गफका विषय वदलिरहे । तर मन वदलिएन । मौसमहरु वदलिरहे । तर एकअर्काप्रतिको लगाव वदलिएन ।

मेरो रुचि किन सयौ वर्ष पुराना अमेरिकी कम्पनीहरु अहिले डुविरहेका छन् ? किन एप्पल लगायतका ठुला कम्पनीहरुले आफ्नो उत्पादन अमेरिकामाभन्दा चीन वा अन्य देशमा गरिरहेका छन् ? किन अमेरिकन कम्पनीहरुको नेतृत्व वा नामहरु लगातार परिवर्तन भइरहन्छन् जस्ता विषयहरुमा थियो, म यी विषयमा अध्ययन गर्थे र लुसीलाई पनि वुझाउंथे । हामीले काम गरिरहेको कम्पनीको ढांचा हेर्दा पनि यो धेरै लामो रेसको घोडा हो जस्तो लाग्न छाडिसकेको थियो । डिमान्ड अनुसारको सप्लाइ दिन कहिले सक्दैनथ्यो । मानिसहरुलाई दोव्वर र तेव्वर पैसा तिरेर ओभरटाइममा वोलाउंथ्यो तर उत्पादन भने कहिले पनि वढ्दैनथ्यो । समयमा मागलाई पुरा गर्न नसकेर पटकपटक हर्जाना तिथ्र्यो ।

शायद हाम्रो कम्पनीको भविश्य लामो थिएन तर लुसी र मेरो त पुरै भविश्य वाँकी थियो । त्यसैले आजकल हामी आफ्नै भविश्यको वारेमा पनि छलफल गथ्र्यौ । तर वीचवीचमा कम्पनीका कुरा उठिहाल्थे ।

मैले यसको नेतृत्व लिने हो भने एक सातामा सुधार गरिदिन्थे – एक दिन रिस उठेको वेलामा लुसीसँग भने ।

तिमीसँग त्यस्तो के प्लान छ ? – उसले सोधी ।

मैले केही दिन अगाडि कसरी हामीले काम गरिरहेको कम्पनीलाई माथि लैजान सकिन्छ भनेर तयार गरेको डकुमेन्ट देखाइदिए । ऊ छक्क परी ।

तिमी यसो गर – ऊसले मलाइ सुझाव दिन खोजी ।

कसो ? – मैले सोधे ।

वील गेट्सलाई भेट ।

उसले ठट्टा गरेकी रहिछे । मलाइ उल्याएर ऊ हांसी ।

एकछिन हांसेपछि उसले एउटा कुरा भने गम्भीरताका साथ भनी – तिम्रो यो डकुमेन्ट किन कम्पनीमा दिंदैनौ ?

मलाइ नमागेको सुझाव दिन मन थिएन । तर उसको जिद्दी अगाडि टिक्न सकिन । उसैले हुलाकवाट पठाइदिइ । तर मेरो एउटा शर्त मानी । त्यहां मेरो नाम थिएन ।

हरेक महिनाको दोस्रो वुधवार वस्ने समीक्षा वैठक सुरु भयो । मलाइ यस्ता वैठकमा वस्न मन नै हुंदैन । अमेरिकीहरु तथ्यांकसंग मात्रै खेल्छन्, काम र उत्पादनसंग खेल्दैनन् भन्ने खालको मान्यता मेरो मनमा वसिसकेको थियो ।

ह्युम्यान रिसोर्स अफिसर एन्जीले केही सामान्य जानकारी गराइसकेपछि भनिन् – हुलाकवाट एउटा अत्यन्त राम्रो प्लानिङ हामीलाई प्राप्त भएको छ, त्यो प्लानिङ जसले वनाएको हो, उसैले यहां थप व्याख्या गरिदिए अझ आभारी हुनेथियौ ।

मलाइ त्यो प्लानिङ कार्यान्वयन हुन्छ भन्ने विश्वास नै थिएन । त्यसैले व्याख्या गर्नु पनि थिएन । तर स्त्रीहठको कारण केही लागेन । छेऊमा वसेकी लुसीले भनी – मेरो लागि त्यति गरिदेऊन । मलाई तिमीले प्रेजेन्टेशन दिएको मन पर्छ ।

केवल लुसीका लागि मैले प्रेजेन्टेशन सुरु गरे । सांच्चै भन्ने हो भने मैले वनाएको योजना कति प्रभावकारी थियो, मैले नै मूल्यांकन गरेको थिइन तर सवै सहभागीहरु मौन भए । मैले आधाघण्टा लामो प्रेजेन्टेशन दिँदा कोहीपनि अलिकति हलिएको पनि देखिन । मैले पटकपटक लुसीलाई हेरे, उसका आंखा ट्युव लाइटझै चम्किएका थिए ।

मैले आफ्नो प्रेजेन्टेशन सिध्याउंदा तालीको गड्गडाहट आएको थियो । पहिलो ताली लुसीले वजाएकी थिइ । म आफ्नो कुर्सीमा फर्कने क्रममा अघिल्लो दिनसम्म हाइसम्म नभन्ने कतिपय अमेरिकनहरुले हात वढाएका थिए । म आफ्नो कुर्सीमा राम्रोसम्म वस्न पनि नपाइ जुन घोषणा कानमा प¥यो, त्यसले मलाइ नराम्ररी हल्लायो । एचआर अफिसर एन्जीले म प्लान्ट म्यानेजरमा नियुक्त भएको घोषणा गरेकी थिइन, जसको लागि कम्पनीले मसंग अनुमति माग्ने कामसम्म पनि गरेन । पहिलो वधाइ पनि लुसीले नै दिएकी थिइ । वधाइ दिनेहरु वरीपरी आइरहे र म अल्झिरहे । मैले वधाइहरु ग्रहण गरिरहेका वेला वैठकलाई सम्वोधन गर्न कम्पनीको मालिक तथा अध्यक्षलाई निम्त्याइयो । मैले अगाडि आँखा डुलाए । लुसी हातमा माइक वोकेर उभिएकी थिइ ।

उसले मपट्टी नै हेरेर भनी – मैले तिम्रो भरमा यो कम्पनी आजदेखि आफ्नो वनाएकी छु, कहिलेदेखि तिमी अफिसियल्ली आफ्नो वन्छौ ?

तालीको गड्गडाहट सुरु भयो । मैले जवाफ दिनै सकिन ।

म तिम्रो जवाफको प्रतिक्षामा छु – ऊ अगाडि वढ्दै वोली ।

हलमा फेरी तालीको आवाज चर्को भयो ।

तपाइँको प्रतिक्रिया