स्वतन्त्रता
–विद्या सापकोटा
यो कालो अँध्यारो सानोकोठा । चारदिवार वीचको फलामे ढोका र त्यसमा झुण्डिएको बडेमानको ताल्चा ।
ढोकैनेर उभिएको त्यो सिकुटे प्रहरी । अनि यो सानो विछ्यौना माथी बितेका अनौठा लामा रातहरु । साँच्चै कति दिन र रातहरु यहाँ भित्र गुजारे एकपल्ट गन्न पाएको भए ………सानीले विचार गरी ? उसको संसार भन्नु नै चारदिवार भित्रको चार पाइला नाप्न मिल्ने चिसो भुइँ, आहा ! यहि पनि आजकल कति ठूलो सुन्दर र मनमोहक लाग्न थालेको छ । भोलि यो जेलबाट बाहिरिने दिन, खुसीले/उन्मत्तताले मात्तिनु पर्ने झन् नरमाइलो मानिरहेकीछ । साँच्चै, यो चारदिवारसँगको नाता कति गहिरिइसकेछ ।
मनमा अनेक कुराहरुले भैचालो ल्याइरहेकाछन् । मन अस्थिर छ । उ पिडाबोध गर्दैछे ।
“ए सानी बाख्रा लिएर जाने होइन ?”
“जाने जाने एकछिन पख न । ए आमा अलिकति सातु र मोहि ल्याइदिनुस है, स्याउला लिन आउँदा ।“
“लल जा, पाठ पनि गरेस नि, खालि दुइटी भएर खेली बसौला । अनि बाख्रा अरुको वालीमा जाला । उता मास्टरसापले कान पनि निमोठ्नुहोला ।”
“लल आमा पनि ।“
कति रमाइला थिए दिनहरु ? आमासँग लाडिँदै गाँउका पाखापखेरामा बस्तुभाउ चराउँदै संगीसँग भुलेका पलहरु सम्झँदा आज पनि कत्ति रमाइलो लाग्ने । गाँउको स्कुलबाट ५ कक्षा पास गरेपछि उ सदरमुकाम झरी । उसका बुबा गाँउका मुखिया । हुनेखाने कहलिएकोले छोरीलाइ पढाउन सदरमुकाम पठाए । नत्र त सानीका साथीहरुको घरजमको क्रम शुरु भैसकेको थियो । पढाइमा पनि अब्बल थिइ सानी । त्यही भएर पनि छिट्टै उ सबैको प्यारी भइ । सदरमुकाम वसाइ, परिवारसँग छुट्टिएर बस्नु पर्दाको पिडा त एकातिर छदैथियो । बिस्तारै उसको बढ्दो उमेर र उमेरसँगै मौलाउँदै गएका चाहानाहरुले क्रमशः थिच्दै गइरहेका थिए । उ गाँउको इज्जत राख्न चाहन्थी । उसको बुबाको नाम अझ माथी पु–याउन चाहन्थी । त्यसैले उ एक ध्यान लगाएर पढि्थी ।
‘सानी, तिम्रो भविष्य उज्जल छ‘ ।
‘अँ म तिमीलाइ सकेसम्म सहयोग गर्छु‘
‘तिमीले अझ राम्रो गर्नुपर्छ ‘ ।
उसका गुरुहरु उसलाइ हौस्याउँथे । विशेष सविन सर उसलाइ सदैव उत्प्रेरित गरिरहन्थे । भर्खरै एसएलसी सकाएका सविन सर उमेरगत हिसावले पनि उस्तै भएकाले होला विद्यार्थीहरु वीच लोकप्रिय बनेका थिए । सानी त झन् मिहिनेती विद्यार्थी, गुरुहरुको प्यारी हुने नै भइ ।
एसएलसी सकेपछि एउटा प्रोजेक्ट मार्फत महिला र वालबालिकाको क्षेत्रका काम गर्न थाली सानी । दिनहरु बित्दै थिए । उसका सपनाहरु अझै उजागर हुँदैथिए । सपना हो देख्न पाइन्छ । पुरा हुनु नहुनु फरक कुरा हो ।
बाटो हिँड्दा । आउँदा जाँदा अव उसले सविन सर मात्र भेट्थी । सधैंको उठबस र उमेरगत चञ्चलताले कता कता उसको मनमा पनि सविनप्रतिको चाह बढिरहेको आभास भैरहेको थियो । सविन पनि त उसैलाइ चाहन्थ्यो । सुदुर पूर्वको विकट गाँउमा ऊ अडिनुको एउटै कारण सानी नै थिइ ।
यो मन भन्ने पनि विचित्रको हुन्छ । सविनले उसलाइ कयौंपटक आफ्ना कुरा सुनाइसकेको हो । तर अहँ उसले मान्न सकिरहेकी थिइन । तर मन त मनै हो, बिस्तारै उसलाइ पनि नजिकको साथीको आवश्यकता भएको महसुस हुँदै गयो । घरमा पनि विहेको कुरालाइ लिएर दिनदिनै वहस हुन थालेको थियो । आखिर विवाह गर्नैपर्छ भने आफूले पहिलेदेखी चिनिआएको मान्छे । त्यसमा पनि खुला विचारका सविनभन्दा राम्रो को नै हुनसक्ला ? झन् उसले विवाह पछि पनि काम र पढाइलाइ निरन्तरता पनि दिने र हरपाइलामा एकसाथ हिँड्ने प्रण पनि गरेको थियो । फेरी आफूलाइ माया गर्ने मान्छेसँग विवाह गरे जीवन खुसी पनि त बन्ला । यस्तै सोचेर उसले सविनलाइ जीवनसाथीरुपमा स्विकारी ।
बिहे पछिका केही दिनहरु रमाईलोसँग बिते । तर अचानक सविनको व्यबहारमा वदलाव आउन थाल्यो । उसले मन लगाएर काम गर्न छाडेको थियो । घरमा पनि समयमा आउन छोडेको थियो । केही भन्यो कि रिसाउँथ्यो । सानी लोग्नेको फरक प्रवृती देखेर चकित भएकी थिइ । के भयो केही थाहा नै भएन । हुदाँहुँदा उ जे पनि खान थाल्यो । मातेर घर आउने र फोहर बोलीको वर्षा गर्नसमेत पछि परेन । किन र के भयो भन्दा उसको एउटै उत्तर हुन्थ्यो ‘म हुँदाहुँदै तैले किन जागिर खानुपर्ने ? ‘अहँ जत्ति सम्झाउँदा पनि उसले मानेन ।
जतिसुकै पढेलेखेको र बुझ्ने भनिएपनि लोग्नेमान्छे भित्रको अहम् बुझिनसक्नुको हुँदोरहेछ । आफ्नी श्रीमतीले केहि गर्दा आफ्नो लागि घरव्यबहार चलाउन सहयोग हुनु त छँदैछ, अझ अरुको लागि इज्जत र प्रेरणा बन्न सक्छे भन्ने पटक्क मान्न तयार हुन्न पुरुष प्रवृती । उसले मिहिनेत गरेर पढी । राम्रो जागिर पाइ । गाँउकै काममा आफूलाइ समर्पित गरि । सबैको उदाहरण बनी । तर यसबाट सवीन पटक्क खुसी हुन सकेन । स्वास्नीको नामबाट चिनिनुप–यो भन्दै ऊ रडाको मच्चाउँथ्यो । धेरै मान्छेसँग बोल्छस् भनेर मुखमा ताल्चा लगाउन खाज्थ्यो । बुझाउँदा बुझेजस्तो गर्थ्यो । अनि मातेर आइ तितो ओकल्थ्यो । सपनामा पनि सवीन त्यस्तो होला सानीले सोचेकै थिइन । उसका आवश्यकता पुरा गर्न अब सानीलाइ गाह्रो हुँदै गएको थियो । जागिर छाडेर गाँउकै घरमा गएर बसिदिए आफु सुध्रने बताएपछि उ गाँउ पनि गइ । आफ्नो लोग्ने त्यसमा पनि प्रेम गरेर विवाह गरेको, उसले लोग्नेलाइ सुधार्न सकेसम्म लागि परि ।
अँ सवीनले केही दिन राम्रो भएको नाटक ग–यो । उ खुसि भइ आफ्नो पती भन्दा ठूलो कुन नारीको लागि नाम र जागिर हनसक्छ ?
‘ए सानी आज तिमी र म बाहिर जाउ ।‘
धेरै दिनपछि लोग्नेको मायालु साथ पाएर उ मख्ख पर्दै पछि लागि ।
कस्तो दर्दनाक सत्यता । पढेलेखेकी, महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएकी सानी, आफ्नै माया र विश्वासको डोरिमा बाधिएर बेचिइछ । बन्द कोठाबिच उसलाइ उसकै मायालुले बन्दि बनायो र केही पैसा लिएर पराइ अंगालोमा हुत्याइदियो । तर खै किन हो आफु बेचिएकोमा सानिलाइ पटक्कै दुख लागेन । बरु कुनै नरपशुलाइ आफूलाइ भन्दा बढि माया र विश्वास गरेकोमा आफैप्रति घृणा लागेर आयो । बिवशतामा एकथोपा आशु खसेनन् बरु ऊ मनमनै कठोर देखिइ ।
एकाविहानै जिल्ला प्रहरी कार्यालयमा एउटी महिला हाजीर भइ ।
‘जेलर साप मलाइ गिरफ्तार गर्नुस् ।‘
‘को हो तँपाइ–अनि यो के भन्दै हुनुहुन्छ ?’
‘म कानुनको लागि एक अपराधी हुँ, तर वास्तवमा मैले मुक्ति दिए उसलाइ अनि मुक्त गराए आफैलाइ ।‘ ‘सिधासिधा भन्नुपर्दा मैले मेरै लोग्नेको हत्या गरिदिए ।‘
प्रहरी कार्यालयमा हल्ला खल्ला मच्चिएको थियो । सबैले अनौठो मानेर हेरिरहेका थिए । कसैकसैले यो पागल रहिछ यत्तिकै भनेकी भनेर वचाउ पनि गर्न खोजेका थिए । तर अँह ऊ त्यो भन्दा बढी बोलिन, मात्र भनिरही ‘मैले मेरो सवीनलाइ मेरै हातले मारेकी हुँ र यसमा मलाइ कुनै पश्चाताप छैन । मलाइ गिरफ्तार गर्नुस् ।‘
भोलिपल्ट गाँउशहर एकसाथ हल्ला फैलियो । त्यो हत्यारा आइमाइ अरु नभएर उही सानी थिइ । बर्षौपछि आज यही जेलको कुनामा बसेर सानीले आफ्ना पुराना दिनहरु सम्झिई । कुनै चलचित्र हेरेजस्तै आफ्नै विगतका पानाहरु ओल्टाइपल्टाइ पारेर हेरी ।
आज उसको विदाइको दिन । उ सवैभन्दा अचम्मकी अपराधी । कहिल्यै उभित्र पश्चाताप मडारिएको देखिएन । न कसैसँग गुनासो गरेको नै सुनियो । जेल भित्रका अरु कैदीहरुसँग पनि उसले आफ्नो जीवनकथा सुनाइन । बरु अन्य अनुभूतीका कुराहरु, ज्ञानगुणका कुराहरु साटासाट मात्र गरी ।आज त्यही सानी स्वतन्त्र हुने दिन । सबैजना भेट्न उत्सुक देखिन्थे । तर ऊ सधै झै तटस्थ ।
हिजोमात्रै उसलाइ यस चार दिवारभित्रको सानो संसारमा ठाँउ दिने जेलर धेरै घुमीफिरी त्यही आइपुगेका छन् ।
‘बहिनी तिमी यहाँ भित्र छिर्ने बेलामा पनि मै यहाँको प्रमुख थिएँ । संयोगवश धेरै ठाँउ चाहारेर तिम्रो रिहा हुने वेलामा पनि मै आइपुगकी छु ।‘
‘तिम्रा गुनासाहरु केही भए भन । जीवन निर्वाहको लागि हामीबाट केही सहयोग चाहन्छौ भने निर्धक्क भन ।‘
उ केही बोलीन । उसको मौनता चिर्दै एउटा ओजपूर्ण आवाज निस्क्यो ‘स्वछन्द संसारमा तिमीलाई नयाँ दिनको शुभकामना ।‘
सानीले सट्टामा शुक्क हाँसो हासी अनि भनी ‘सहयोग नै गर्न सक्नुहुन्छ भने मलाइ यहाँबाट रिहा नगरीदिनुस् । मलाइ बाहिरको स्वतन्त्रता भन्दा यहाँ कै लगाम स्वछन्द लाग्छ ।‘ अचम्म ! ऊ आमासँग छुट्टाइएको दुधेबालक झै गरी घुक्कघुक्क रोइरहेकी थिइ ।।
कल्याणपुर–७, नुवाकोट
–हालः शंकरदेव क्याम्पस (काठमाडौं)




