नेपालमा भूकम्प जाँदापनि कतिपयलाई त भगवान भेटिए जस्तो
भूकम्प ? थरर हुन्छ मान्छेको मन । नहोसपनि किन ? दुई चार मिनेटमै यसले धेरैको उठिबस बनाएको छ । करोडौंको मूल्य तोकिएका भवन गर्ल्याम्मै ढालेर माटो बनाइदिएको छ । हजारौंको काख खोसिदिएको छ । हजारौंको रुवाबासी बनाएको छ । देशमै संकट उत्पन्न गरिदिएको छ । अहिलेपनि जमिन यस्सो काप्यो कि मानिसहरु डरले त्रास हुन्छन् । भागाभाग शुरु हुन्छ । तर सबैलाई यस्तो हुन्न । कतिपयलाई यहि भूकम्प आउँदा देउत्वा भेटिएजस्तो हुन्छ । यहि भूकम्प पिडितका आसुमा कतिको इज्जत बढ्छ । भूकम्प पिडितका दुख र अप्ठेरालाई नगदि गरेर कतिले सामाजिक हैशियत बनाउँछन् ।
कसैले राजनिति गर्छन् । कोहि मोलमोलाई गर्छन् पदमा पुग्न । यहाँ उल्लेख गर्न खोजेको प्रसंग भने सुन्दर देश भनेर चिनिएको स्विजरल्याण्डका नेपालीको हो । भूकम्प पिडितका नाममा स्विजरल्याण्डवासी नेपाली र नेपालप्रेमी स्विसहरुलेपनि म फुकाएर दान दिए । सहयोग जुटाए । तर अचम्म लाग्ला, भूकम्प गएको एक वर्ष पुग्न लाग्दापनि राहतका नाममा बटुलेको रकम यतै छ । उता भूकम्पमा घाइतेहरुको घाउ निको भैसक्यो । मर्नेका आफन्तले वार्षिकि गर्ने दिन आउन थालिसक्यो । तर जसको नाममा उठाएको हो रकम तिनका नाममा एक सुकोसम्म नपठाउनेपनि छन् । भलै बहाना, कारण, गाह्रा र अप्ठेरा होलान् । आफूलाई मिल्नेगरि बताउलान् ।
स्विजरल्याण्डमापनि नेपालीहरु जुटे भूकम्प पिडितलाई राहत र सहयोग जुटाउन । त्यो बेला एन आर एन स्विजरल्याण्डका अध्यक्ष धर्म गुरुङ थिए । केन्द्रसित पूल जोड्ने, समन्वय गर्ने पद (आइसिसि) मा थिए, शिव रिजाल । यिनले एन आर एन स्विजरल्याण्डका तर्फबाट तत्कालै दश लाख रुपिया रहतको घोषणा गरे । रकम हार्हुर्रै उठ्यो । त्यो रकम तत्कालै एन आर एन केन्द्रलाई बुझाए । एन आर एनको टोली नेपाल गएर राहत बाँड्यो बिभिन्न जिल्लामा ।
स्विजरल्याण्डमा धेरै संस्थाले रकम उठाए । त्यो बेला स्विजरल्याण्डमा स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियान भन्ने अर्को संस्था खुल्यो तत्कालै । नेपाललाई माया गर्ने स्विस, अन्य नेपाली र समितिका ब्यक्तिहरु मिलेर करिब ६३ लाख (करिब ६३ हजार स्विस फ्र्यांक) उठाए । त्यसको संयोजकमा थिए, प्रितम गुरुङ । ‘राहत अभियान कार्यलाई चुस्त र दुरुस्त बनाउन र काम गर्न सजिलो होस्’ भन्दै प्रितम गुरुङ, विनय श्रेष्ठ र राम कुमार महतोको सयुक्त नाममा स्विस क्रेडिट बैंकमा खाता खोलेर त्यो रकम राखियो । पछि फेरि संस्थाकै नाममा राख्ने भनियो । संस्थाको सदस्य सचिव पत्रकार गुणराज शर्मालाई तोकियो । तरपनि संस्थाले आजसम्म भूकम्प पिडितलाई न त राहत दिएको छ नत पूनर्निर्माणमा लगानी गरेको छ ।
सदस्य सचिव गुणराज शर्मालाई नेपालप्लसले सम्पर्क गर्दा उनले यो संस्थामा करिब ६३ लाख जम्मा भएको तर राहतका लागि नभै भूकम्प पिडितको पूनर्निर्माणकालागि भएको बताए । तर गत नोभेम्बर एक का दिन स्विजरल्याण्डको ओल्टनमा संयोजक प्रितम गुरुङको संयोजकत्वमा बसेको स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियानको बैठकले भने “नेपालमा गएको भूकम्पबाट महाविपतिमा परेका नेपालिका लागि अल्पकालीन र दिर्घकालिन सहयोग गर्नका लागि योजना तर्जुमा सहित स्विजरल्याण्डमा रहेका नेपाली र नेपाललाई माया गर्ने सबैलाई अधिकतम सहभागी गराई सहयोग संकलन गर्ने” निर्णय पास गरेको थियो । आपतकालिन भन्नुको अर्थनै तत्कालै रहत दिने हो, आपतमा परेकालाई त्यसबाट जोगाउनु, मुक्ति दिलाउनु हो । तर स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियानले भने हाल आएर पूनर्निर्माण मात्रै भनेर बैठककै निर्णयलाई अनादार गरेको देखिएको छ ।
त्यहि नोभेम्बर एकमा बसेको बैठकले “अभियानलाई अझै व्यवस्थित तरिकाले अगाडी बढाउन साथै अन्य कार्यका लागि सहज होस्” भन्ने उल्लेख गर्दै सदस्य सचिवमा गुणराज शर्मा र कोषाध्यक्षमा प्रमोद भट्टलाई नियुक्त गरेको थियो । कोषाध्यक्ष भट्टलेपनि यसका बारेमा मुख खोलेका छैनन् । बैठक पटक पटक बसेर अनेक निर्णय गरेपनि, अझ प्रभावकारि बनाउने भनिएपनि दश महिनासम्म राहत दिन नसक्ने र पूनर्निर्माणमा हात हाल्नपनि नसक्ने अवस्थासम्म मुख खोल्न नसकेको देख्दा धेरैले औंलो उठाएका छन् ।
स्विजरल्याण्ड निवासी शुभ एल्मर लामाको एक्लो प्रयासमै ३१५५० स्विस फ्र्यांक सहयोग जम्मा भएको थियो । लामाले यो रकमपनि यहि अभियानलाई दिएकि थिइन् । यत्रो रकम जुटाएर अभियानलाई दिने तर काम केहि गरेको नदेखिएको अवस्थासम्मपनि उनले सार्वजनिक रुपमा केहि टिप्पणी गरेकि छैनन् ।
किन गएन त रकम ? के भन्छन् अभियान कर्ता र एन आर एनका पदाधिकारीहरु ?
स्विस-नेपाली भुकम्पपिडित पुनर्निर्माण अभियानका सदस्य सचिव गुणराज शर्मा भने आफूहरुले यो रकम पूनर्निर्माणका लागि उठाएको र एन आर एन केन्द्रसित समन्वय गरि पूनर्निर्माणकालागि दिने निर्णय गरेकाले एन आर एन केन्द्रले पूनर्निर्माणनै नथालेको हुँदा रकम थन्किएको दाबी गरे । भने “हामीले तत्काल राहत् भन्दापनि भूकम्प पिडितका लागि पूनर्निर्माण भनेर उठाएका हौं । त्यो रकम एन आर एन केन्द्रले गर्ने पूनर्निर्माणमा दिने भनिएको हो । अब केन्द्रलेनै पूनर्निर्माण शुरु नगरेपछि हामीले कसरि दिने ?”
स्विजरल्याण्डमा करिब तिन सय मात्रै नेपाली रहेको अनुमान छ । यहाँ सबै प्रमुख राजनितिक दलका भात्रि संगठन छन् । त्यसबाहेक अन्य सामाजिक संस्थापनि छन् । सबै जोड्दा एक दर्जन भन्दा बढि संस्था छन् । ति सबैजसोले भूकम्प पिडितका लागि रकम उठाए । कसैले सिधै एन आर एन केन्द्रलाई दिए । धेरैले एन आर एन स्विजरल्याण्डलाई दिए । सबैको रकम जम्मा गरेर एन आर एन स्विजरल्याण्डले एन आर एन केन्द्रिय कार्यालयलाई पठायो । यहाँ भएका संस्थाहरुले एन आर एनलाई दिँदा किन एन आर एनले यो संस्थासित समन्वय गर्न सकेन र अर्को संस्थाको जरुरत पर्यो ? यो विषयमा एन आर एन स्विजरल्याण्डका निबर्तमान आई सिसि सदस्य शिव रिजाल, निवर्तमान अध्यक्ष धर्म गुरुङ र स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियानका सदस्य सचिव गुणराज शर्माको भनाई भिन्न छ ।
गुणराज शर्मा आफूहरुले एन आर एन स्विजरल्याण्डसित छलफल र सल्लाह गर्दा केहि बुँदाहरुमा फरक धारणा रहेको र एन आर एन स्विजरल्याण्डले यो राहतकै लागि भनेर उठाएको रकम प्रयोग गर्ने विषयमा अभियानकर्ताका जायज कुराहरुमा सहमती गर्न नसकेकाले अभियानले छुट्टै तरिकाले उठाएको बताए । आफूहरुले नेपालको कुनै गाउँमा पिडितहरुका लागि स्विस भिलेज जस्तो बनाउने की भन्ने सोचेकोपनि उनले जानकारि दिए ।
तर एन आर एन स्विजरल्याण्डका निवर्तमान आइ सिसि सदस्य शिव रिजाल भने शर्माको भनाईलाई ठाडै अस्विकार गर्छन् । ‘पूनर्निर्माण अभियानका अभियानकर्ताहरुले सिधै आएर एन आर एन स्विजरल्याण्डसित सिधा छलफलनै गरेनन् । कुनै कुनै रुजेका बिराला जस्ता दूत र चाकरीबाजहरु पठाएर पदको मोलमोलाई गर्न खोजे । किनकि तिनको उद्देश्य एन आर एनको अभियानलाई टक्कर दिने मनोभावनाबाट निस्किएको थियो । एन आर एन स्विजरल्याण्ड र अन्य नेपाली संस्थाले समेत दिएको रकम ३० लाख जति केन्द्रमा बुझाएपछि एन आर एनको काम देखेर अभियानकर्तको नाममा राजनिति गर्नेहरुलाई निन्द्रा लागेन र राजनिति गर्न, भूकम्प पिडितका नाममा उठाएको रकमले बार्गेनिङ गर्न खोजिएको थियो । उनीहरुको उद्देश्य एन आर एनमा छ्ट्टै कमिटि बनाएर त्यसमा पद लिने लोभ थियो । एन आर एन सबैको संस्था भएकाले कसैलाई पद दिलाउनैका लागि जेपनि स्विकार गर्ने कुरै भएन ” रिजालले भने ।
एन आर एन स्विजरल्याण्डका निबर्तमान अध्यक्ष धर्म गुरुङ पदको शर्त सहितको प्रस्ताब आफूले अस्विकार गरेको बताउँछन् । उनले स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियानकर्ताहरुले भूकम्प पिडितका नाममा उठाएको रकम एन आर एनलाई अन्य संस्थाले दिएझैं नदिएर पदको लोभ गरेको र आफूले त्यसलाई ठाडै अस्विकार गरिदिएको बताए । उनले भने “एन आर एनमा स्विजरल्याण्डका ६, ७ वटा संस्थाले पिडितलाई राहत स्वरुप उठाएको रकम कुनै शर्त नराखि दिए । हिजो एन आर एनमै बसेर काम गरेका प्रितम गुरुङ, बिनय श्रेष्ठ र गुणराज शर्मालाई चाहिँ अनेक शर्त राख्नुर्ने किन ? उहाँहरु गैह्र आवाशिय नेपाली होइन ? एन आर एनले पिडितका नाममा उठाएको रकममा राजनिति र कसैका शर्त मान्दैन भनेर मैले ठाडै अस्विकार गरिदिएको हुँ । आखिर जे बोलेपनि पिडितका नाममा उठाएको रकम त गएन नी ।”
ककसले दिए उठाएको रकम ?
त्यसो त स्विजरल्याण्डमा रहेका धेरै संस्थाले उठाएको रकमले पिडितहरुले राहत पाए । इमान्दर संस्थापनि छन् । प्रवासी नेपाली मञ्च, ऐक्यबद्दता मञ्च, बेर्न समाज, वासेल समाज, नेपाली जनसंपर्क समिति, ग्लोबल नेपाली नेटवर्कलेपनि रकम उठाएका थिए । नेपाली जनसंपर्क समितिले गायककार मिलन लामा मार्फत पठायो र लामाले राहत दिएका ब्यक्तिको भिडियो सहित प्रमाण पठाइदिए । बाँकी संस्थाले एन आर एन स्विजरल्याण्डको कोषमा दिए । त्यसबाहेक श्याम दर्शनधारी र दूर्गा तामाङले ब्यक्तिगत तरिकाले नेपालीसित मिलेर रकम उठाए । तिनले नेपाली दूतावासको राहत कोषमा दिए ।
जेनेभाका पाकिस्तानी ब्यापारी गद्दाफी मोहमदले समेत जेनेभाका पाकिस्तानी समूदायसित नेपालका भूकम्प पिडितकालागि राहत उठाए । उनलेपनि त्यो रकम नेपाली दुतावासलाई दिए । स्विजरल्याण्डमा रकम उठाएर नदिनेमा स्विस-नेपाली भुकम्पपिडित पुनर्निर्माण अभियान देखिएको छ ।
दोहोरो भूमिका
अचम्म लाग्दो, रमाईलो र बुझिनसक्नु कुरो के छ भने भूकम्प पिडितका नाममा भनेर ‘स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियान’ खोले । तिनै अभियानकर्ताहरु संलग्न अन्य संस्थाले भने पिडितका नाममा रकम उठाएर सिधै एन आर एन स्विजरल्याण्डलाईनै दिएका छन् । स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियानका संयोजक तोकिएका प्रितम गुरुङ आफैंले एक हजार डलर एन आर एन एलाई दिएको जानकारि धर्म गुरुङले दिए । त्यस्तै, नेपाली जन संपर्क समितिका अध्यक्ष राम महतो स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियानमा छन् । तर नेपाली जनसंपर्क समिति स्विजरल्याण्डलेनै मिलन लामा मार्फत राहत दियो । नेपाली जनसंपर्क समित्ति स्विजरल्याण्डका संस्थापक अध्यक्ष हुन् गुणराज शर्मा । उनी स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियानका सदस्य सचिव छन् । एन आर एन स्विजरल्याण्डको बिधानका संयोजक हुन् प्रमोद भट्ट । उनी अभियानका कोषाध्यक्ष छन् । एन आर एन स्विजरल्याण्डको एक वर्ष उपाध्यक्ष र दुई वर्ष अध्यक्ष भए बिनय श्रेष्ठ । अहिले फेरि उनै आइसिसि सदस्य बने । यि श्रेष्ठ स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियानमा छन् ।
‘प्रितमजी आफैंले एन आर एनलाई रकम दिने तर उता अर्को अभियान खोल्ने एन आर एनले अभियान चलाउँदा चलाउँदै यो के हो ? यो दोहोरो भूमिका भएन ?’ हामी त काम गर्ने मान्छे, काम गरियो, उठाएको रकम पठाइयो । यस्तो दोहोरो भूमिका र पदकालागि किन राजनिति गर्ने ?’ धर्म गुरुङले भने ।
‘प्रवासी नेपालीहरुले उठाएको रकममा एन आर एनले चासो दिनुपर्ने होइन ?’ नेपालप्लसको प्रश्नमा उनले भने ‘हामीले आव्हान गर्यौं । पहिलो आव्हाननै एन आर एन स्विजरल्याण्डले गरेको हो । सबै संस्थाले दिए । ककसले कता कता कति केकेको नाममा उठायो हामीले किन सरोकार गर्ने ? हामीलाई सहयोग गर्ने सबैको हिसाबकिताब हामीसित छ । म दिन सक्छु एक एक । आफूले पिडितकालागि दिएको रकम नौ महिना हुँदासम्म प्रयोग नभएपछि ‘मैले दिएको रकम के भयो भनेर सोध्ने काम सहयोग दिनेको होइन ?’
‘भूकम्प पिडितले दुख र कष्ट झेलेको दश महिना भयो । एन आर एनले धेरै जिल्लामा धेरै स्वयंसेवक पठायो । राहत दुख र बिपतका बेला चाहिने हो । दुखि, ढलेका, रगत बगेको, सडकमा भौंतारिएका वालवालिकाको नाममा, तिनको फोटो देखाएर उठाएको पैसा अहिलेसम्म राख्ने ? आगो लाग्या घर खरानी भएपछि दमकल पठाएर हुन्छ ? राहत आनन्दले, मन परेको बेला, ढुक्कले दिन संकलन गरिन्छ ?’ शिव रिजाल तात्तिए ‘राहत दिने बेला आपत परेकाको नाममा संस्था खोल्दै हिँडिन्छ ? खै त आजसम्म राहत दिन सकेको ? पूनर्निर्माण त्यो ६० लाखले हुन्छ ? पिडितका नाममा रकम उठाएर यता पद माग्ने र उता केन्द्रमा यति उठायौं भनेर त्यो रकम देखाउँदै पदको बार्गेनिङ हो यो अरु केहि होइन । राहत दिनेले त उहिल्यै दिए नी, राहतका नाममा घिनलाग्दो राजनिति गर्नेले हो जम्मा गरेर बार्गेनिङ गर्दै बसेको ।’








