विदेशिँदाको पिडा
-लालीगुराँश
मुटुभरि मातृभूमिको याद सँगालेर
आँखा चिस्याउँदै
अबेर राती बल्लतल्ल निदाउँछु म
सपनामा उकाली ओराली गर्न पुग्दा
आधारातमा निद्रामै बर्बराउँछु म ।
वरपरका डाँडा-काँडा अनि भन्ज्याङ चौतारी सम्झेर
मन कूँड्याउँदै
घरि ओल्लो-घरि पल्लो कोल्टो फेर्छु म
कहिले र कसरी पुगिएला प्यारो मातृभूमि
मनमा गुन्दै
आकासका तारा हेर्न थाल्छु म ।
बाख्राका पाठालाई साथी मान्दै उफ्री उफ्री खेलेको
परेवा कै आवाज निकाली आ-आ भन्दै
चारो खान डाकेको अनि
पिपलको फेदमुनि चौतारीमा गर्मी छल्न सुस्ताएको
सबै यादहरुलाई हृदयमा ताजा पार्दै पुनः निदाउँछु म
सपनामा पल्लाघरे मिठ्ठु र शान्तिलाई देख्दा
निद्रामै मिठा मिठा बात मार्न थाल्छु म ।
टलक्क टल्कीने सेता हिमाल अनि हरिया पहाड हेर्दै
ढकमक्क फूलेका लालीगुराँस सँग भुल्दै
छम्छमी नाच्ने डाँफे र मुनाल सँग नाच्दै
सपनाको नगरी छाडी खाटबाट खस्दा
आधा रातमा विपनामै सुक्सुकाउँछु म ।
मुटुभरि मातृभूमिको याद सँगालेर
आँशु पुछ्दै
अबेर राती बल्लतल्ल निदाउँछु म
सपनामा लेक बेसी गरेको देख्दा
निद्रामै भर्याङ्ग उक्लने-ओर्लने गर्छु म ।
यि सबै यादहरु हृदयमा ताजा भइदिँदा
बिदेशको भाग्यलाई धिकार्दै
बिपनामै छाती पिट्दै रुन्छु कराउँछु म ।
मुटुभरि मातृभूमिको याद सँगालेर
आँखा चिस्याउँदै ।
अबेर राती बल्लतल्ल निदाउँछु म ।
सपनामा उकाली ओराली गर्न पुग्दा
निद्रामै बर्बराउँछु म ।
(साथीहरु, नेपालप्लसलाई यति धेरै गजल, कविता र गित प्राप्त भएका छन् कि ति सबै तत्कालै राख्न सक्ने कुनै संभावना छैन । पहिलो पटक पठाउने पाठकको हकमा भने एक पटककालागि तत्कालै राखिदिने नेपालप्लसको नीति छ रचना स्विकार्य भएको अवस्थामा । पहिलो पटक पठाउने पाठकको हकमा बाहेक अन्य मित्रहरुलाई आफ्ना रचना प्रकाशित हुनको लागि पालो कुर्नु हुन आग्रह गर्छु । कविता, गित र गजल मात्रै नभएर साहित्य वा अन्य बिधाका विषयमापनि कलम चलाउनुहुन आग्रह छ । त्यस्ता लेख रचना छिटो प्राथमिकतामा पर्छन्-नेपालप्लस) ।




