पूर्व सैनिकहरुपनि कटुवाललाइ कारवाही गर्नुपर्ने पक्षमा
प्रधानसेनापति रुक्माङ्गद कटवालले नागरिक सर्वोच्चतालाई अस्वीकार गरी सरकारको आदेश नमानेकाले उनलाई कारबाही गर्नुपर्नेमा नेपाली सेनाका केही पूर्व सैनिकले जोड दिएका छन्। जनसञ्चार अभियानमा आज आयोजित साक्षात्कार कार्यक्रममा नेपाली सेनाका पूर्व मेजर देवीबहादुर लिम्बुले नागरिक सर्वोच्चता अस्वीकार गरेकाले प्रधानसेनापतिलाई सिपाहीमा घटुवा गरेर बर्खास्त गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले सैनिक ऐनअनुसार रक्षामन्त्रालयको अनुमतिबिना कुनै पनि जर्नेलले राजदूत र नेतालाई भेट्न नपाउने प्रावधान हुँदाहुँदै प्रधानसेनापति कटवालले सो प्रावधानको उल्लङ्घन गरेको बताउनुभयो।
पूर्व मेजर लिम्बुले प्रधानसेनापति कटवालले सरकारले हालै बताएको तीन विषयको मात्र उल्लङ्घन नगरी यस अघिदेखि नै राजनीतिक गतिविधि बढाएको टिप्पणी पनि गर्नुभयो।
नेपाली सेनाका पूर्व मेजर भरत खड्काले प्रधानसेनापतिको अटेरीले अहिलेको सरकारलार्इं मात्र नभई पछि बन्ने सरकारलाई पनि असर पार्ने बताउँदै प्रश्न गर्नुभयो–सेनापतिले नै सबै कुरा गर्ने भए जननिर्वाचित सरकार किन चाहियो। उहाँले प्रधानसेनापति कटवालको सनकमा मुलुक चल्न नसक्ने भएकाले सिङ्गो सेनालाई नभई व्यक्ति कटवाललाई कारबाही गर्दा कुनै असर नपर्ने पनि बताउनुभयो। पूर्व मेजर बोधबहादुर अधिकारीले यो सरकारले सेनापतिलाई कारबाही गर्ननसके यसपछिका कुनैपनि सरकारलाई सेनाले नटेर्ने दाबी गर्नुभयो।
उहाँले विगतमा सेनाले डोल्पाको दुनै घटनामा तत्कालीन काङ्ग्रेस सरकारको आदेश नमानेको नजिर पेस गर्दै अहिले काङ्ग्रेसले सरकारको आदेश पालन नगर्न प्रधानसेनापतिलाई उक्साउनु दुःखद भएको बताउनुभयो। कार्यक्रममा नेपाली सेनाका पूर्व सुवेदारहरू पशुपति मैनाली, कविराज खड्का र मोहन थापाले नेपाली सेनाले ‘कु‘ गर्ने कोसिस गरेमा तल्लो तहका जवानहरूले विद्रोह गर्ने दाबी गर्नुभयो। (विक्लीनेपाल डटकमबाट)




