कविता : वर्ष पुरुष

  • कपिल अधिकारी / ताइवान 

kapil adhikari-taiwan-11212

गौंडाबाट तल हेर्छ  गोबिन

टहरामा छैनन् स्कुले

टहरा पनि भर्खर बनेको ,भुइचालो पछी

भुरा भुरी , तन्नेरी आँगन अगाडी छन् मान्द्रोमा

बसीबियाँलो

++++++++++++++++++++

नजिकैको अस्पतालमा ओखती छैन

डाक्टर यसो भन्छन

तर बिमारीको लाइन भने छ

ओखती आउन पाएन रे

++++++++++++++++++++

बजारमा केहि छैन

केहि पाइंदैन

ढुंगेमा  फाट्टफुट्ट लरी , बस  देखिन्छ इन्टेकबाट

बरु केरुंगबाट झरेका केहि राताट्रक सुस्ताएका छन्

त्रिशुली दक्षीण बगी रहेछ

मान्छेका मन भने उत्तर तिर , र आँखा

भृकुटी बिदाईको बाटो, छ चहल पहल

++++++++++++++++++++

साततले ख्रीसिक्क परेको छ

लुगा फेर्न नपाएर होला दशैंमा

चिया दोकानमा चियाको राउण्ड छ

स्टक सकिनै लाग्यो  रे

++++++++++++++++++++

दोभान जाने मलामीको  मात्र दाउरा छ  अँगालो भरि

सुन जस्तो छ दाउरा

गोबिन सुन्छ

सब बन्द छ रे शहरमा झन्

भर्खरको हमलाले
पेरिस,बेरुत , केन्या छाएको छ समाचारमा

ब्रेकिंग न्युज छ

आतंक र आतंकबादीबारे टिभीमा बहस

++++++++++++++++++++

वर्ष सकिनै लाग्यो

यस वर्षको  शक्तिशाली व्यक्तित्व,वर्ष पुरुषको

लामै लिस्ट छ  म्यगाजिनमा

गोबिन सोच्छ

आतंककारी वर्ष पुरुष पनि हुने भएको भए

यस वर्षको कस्लाई दिँदा हुन् ?

++++++++++++++++++++

के सम्झेर उ मुसुक्क हाँस्यो

पोहर त हो, उसले उसको भासण टिभीमा हेरेर

मच्ची मच्ची टेबल ठोकेथ्यो
आज,
आँफैसंग लाज लाग्यो

“दि टेरोरिस्ट : म्यान अफ द इयर” |

तपाइँको प्रतिक्रिया