आमा !

-लक्ष्मी सापकोटा, बेलायत

 

 

आमा

 

आमा, माता , जननी के भनौ तिमीलाई

 

तिम्रो ममताको कुनै सिमा छैन

 

मात्रिस्नेह र करुणाकी खानी तिमी

 

सन्तानकी प्रेरणा श्रोत बनिदेऊ । ।

 

 

 

आमा !

 

यस्ता सन्तान जन्माइ देऊ तिमी

 

जो आज भत्केर बिग्रदै गरेको संसारलाई

 

पुन: निर्माण गरिदिऊन् 

 

जिर्ण भएका भग्नावशेषलाई नयाँ रूप दिन

 

संसारमा नयाँ जग गरिदिऊन्

 

तिमी प्रेरणा रुपी खम्बा भएर उभिइदेऊ । ।

 

 

 

आमा !

 

आफ्ना सन्तानलाई सुसंस्कार र भाईचारा सिकाइदेऊ             

 

ताकी भाई भाई युध्दमा रगतको खोलो नबगोस्

 

सुन्तली र चमेलीहरुका सिउदो नपुछिऊन्

 

काले र पोक्चीहरु टुहुरा नहोउन्

 

तिमी सुसंस्क्रितीकि शिक्षिका बनिदेऊ । ।

 

 

आमा !

 

आफ्ना सन्तानलाई यस्तो बिद्या देऊ

 

जसले संसारको अन्याय र अत्याचार हटाउन  

 

गरीब र निमुखाको वकालत गरुन् अनि

 

अन्यायको बादल हटेर सुशासनको नयाँ बिहानी उदाओस्

 

तिमी न्याय मुर्ती भएर खडा भइदेऊ । ।

 

 

आमा !

 

सन्तानको मन मष्तिष्कहरु सद्भावले भरिदेऊ

 

जस्ले युध्दले क्षत् बिक्षत् भएका बस्तिहरुमा

 

सद्भाव र आशाका मैनबत्तीहरु बाल्न सकुन्

 

भत्किएका मनहरुमा आशाको दियो जगाईदिऊन्

 

तिमी सन्देशवाहक दूत बनिदेऊ । ।

 

(आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा विश्वभरिका आमाहरुको संझनामा लेखिएको हो यो गित-लेखिका)   

तपाइँको प्रतिक्रिया