झुक्क्याएर सहि गराउँदै कलाकारको संस्था, सामाजिक सञ्जालमा तात्तातो बहस

zurich

गत साता जुरिच स्पोर्ट्स क्लबले भेटघाट (एन आर एन मिट एण्ड ग्रिट) कार्यक्रम राखेको थियो । एन आर एन स्विजरल्याण्डका पदाधिकारीहरु जुरिचको उस्टरमा भेला भए । पुरानै नेपाली पारा र स्वादमा धेरैले उभिएर भकाभक भाषण ठोके । तर केहि बेरमा केहि मानिसहरुको प्रतिक्रिया सुनियो ‘अँहँ म त सहि गर्दिन ।’ कोहि भन्दै थिए ‘यसमा के लेख्या छ खै हेरौं त ?’ कागजमा सहि गराउन हिँड्नेले जवाफ दिए ‘क्यै होइन, यहाँ कार्यक्रममा उपस्थितहरुको सहि गराएको, उपस्थिति हुनेको दस्तखत ।’ केहिले उपस्थिति होला भन्ने विश्वासमा सहि धस्काए । तर केहिले ‘म त हेर्छु के लेख्या रैछ’ भन्दै कागजमा हेरेपछि झनक्क भए ‘यस्तो झुक्काएर सहि गराउने ? कलाकारको संस्था संगठन गर्ने भन्ने लेखेर उपस्थिति हो भन्दै झुकाएर सहि गराउने ? अँहँ म त सहि गर्दिन ।’ त्यसपछि त्यहाँ आयोजना गरिएको एन आर एन भेटघाट कार्यक्रममा यसैका बारेमा चर्चा चल्यो ।

nirajan-1सेप्टेम्बर २७ का दिन भएको त्यो कार्यक्रममा एन आर एन ए

स्विटजरल्याण्डका नव निर्वाचित आइ सी सी बिनय श्रेष्ठ,अध्यक्ष हिराबल गुरुङ, निबर्तमान अध्यक्ष धर्म गुरुङ लगायत जनसम्पर्क समिति स्विस, अन्तर्राष्ट्रिय ऐक्य बद्धता मंच स्विस,प्रबासी नेपाली मंच तदर्थ समितिका साथै अन्य संस्थाका  प्रतिनिधिहरु उपस्थित थिए । प्रतिनिधिहरुलाई आआफ्नै स्थानमा आसन ग्रहण गराएर मन्तब्य दिन लगाइयो । सबैले आआफ्नो मन्तब्य दिए । त्यसपछि नवगठित (त्यो बेला गठन भैसकेको थिएन) अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, स्विजरल्याण्डका कार्यकारी समितिका केहिले हातमा कागज लिएर केहि नेपालीलाई सहि गराउन कागज बँड्दै हिँडे । उनीहरुले एन आर एन स्विजरल्याण्डको आजको कार्यक्रमको उपस्थिति हो भन्दै सहि गर्न मागेका थिए । त्यसैलाई विश्वास गरेर केहिले सहि गरेपनि । तर केहिले भने पढ्न थाले । उनीहरुलाई थाह भयो, उपस्थिति भन्दै झुक्याएर कलाकार समाज पो गठन गर्न लागिएको र त्यसैमा सबैको लिखित समर्थन खोजिएको रहेछ । त्यो देखेपछि ‘कलाकार संस्था संगठन गर्ने उपस्थिति भनेर झुक्क्याउँदै ?’ भनेर धेरैले सहि गर्न मानेनन् ।

स्रोतका अनुसार यसरि झुक्क्याएर सहि गराउने कागज अनेकस स्विजरल्याण्डका नवगठित समिति अध्यक्ष धनसिं ठकुरीले गरेका थिए । उनले एन आर एन स्विजरल्याण्डका उपाध्यक्ष श्याम घलेलाई सहि गर्न लगाउँदा घलेले ठाडै अस्विकार गरेका थिए । त्यसैगरि झुक्काएर सहि गराउन लागेको मेसो पाएपछि अन्तर्राष्ट्रिय नेपाली ऐक्यबद्द्ता मञ्चका स्विजरल्याण्डका अध्यक्ष अशोक फुयाललेपनि अस्विकर गरे । तर एन आर एन स्विजरल्याण्डका कोषाध्यक्ष शुक्र श्रेष्ठ लगायतका ब्यक्तिहरुले भन्ने झुक्किएर सहि गरे ।

यसरि एउटा कार्यक्रममा बोलाएर झुक्क्याउँदै अर्कै संस्था गठन गर्न लागेपछि ‘फटाहाहरुको काम’ भन्दै केहि ब्यक्तिहरु रिसले चुर्रिएका छन् । यो विषयले अहिले स्विजरल्याण्डमा झन बहस स्रिजना गरेको छ । सामाजिक सञ्जालहरुमा बहस चलेको छ । ति बहसहरु हेर्दापनि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) को स्विजरल्याण्ड शाखा गठन गर्दा झुक्काएरै गर्न खोजिएको तर्क सहि हो भन्ने देखिन्छ ।

सामाजिक सञ्जालमा स्विस नेपाल डट कमका प्रतिनिधी आशिस स्विसले स्विजरल्याण्डमा अन्तररास्ट्रिय नेपाली कलाकार समाज (ईनास) स्विटजरल्याण्ड गठन गर्दा कहाँ, कसरि, कुन मितिमा, ककसको उपस्थितिमा केहि नखुलाई गठन गरेको उल्लेख गरेका छन् । उनको त्यो भनाईपछि यो बहस झनै तानिएको छ । त्यसमा दर्शन आचार्यले एउटा कागज लुकाएर अर्कै कागज देखाउँदै कलाकारको संस्था गठन गरेको सामाजिक सञ्जालमा आरोप लगाएका छन् । उनले भनेका छन् ‘लुकाएर पेपरमा सहि गराउने अनि त्यसैलाइ अधिकारिक्ताको मन्त्र जप्ने हो भने मेरो पनि भन्नु केहि छैन । केहि गर्नु छ भने खुलस्त गर्नु राम्रो हुने थियो होला । सामाजिक काममा लागेको मान्छे खुल्ला कागज हुनु पर्ने भन्ने मेरो बुझाइ हो । सायद यस्को स्विस समाजले छिटै छिनोफानो गर्ने नै छ ।’

त्यसमा गुणराज शर्मालेपनि प्रतिवाद भने गरेका छन् । उनको भनाई छ ‘दर्शनजी तपाई भ्रममा हो कि ? ईनास गठन लुकेर गरेको भन्ने स्वीसका मिडियामा बकाइदा सुचना सहित आएको छ । गठन हुँदै छ । ईच्छुक सबैलाई सम्पर्कका लागि भनेर । को के, के हुँदै छ, के गरिंदै छ त्यसको मुल्यांकन गर्न स्विसको नेपाली समाज सक्षम छ । तसर्थ छिनोफानो हिजो पनि लगाएको छ । भोलि पनि लगाउने नै छ । त्यसकालागि हामी सबै तयार हुनै पर्छ ।’ शर्मा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को युरोप सह संयोजक भएको कुरापनि यहि सामाजिक सञ्जालको बहसबाट स्वार्जनिक भएको छ । सायद उनी त्यहि पदका हिसाबले बहसमा उत्रिएको हुनुपर्छ ।

त्यसो त, ईनास गठनको प्रक्रिया झुक्काएर गर्न लागिएको प्रसंगको समाचार स्विजरल्याण्डमा चलिरहेको स्विस नेपाल डट कममापनि प्रकाशित छ । त्यसका सञ्चालक निराजन श्रेष्ठले आफ्नो फेसबुकमा लेखेका छन् ‘स्विटजरल्याण्डको उस्टरमा जुरीख स्पोर्टस क्ल्व र एन आर एन ए स्विटजरल्याण्डद्वारा आयोजना गरिएको कार्यक्रममा आफ्नो कार्यक्रम भनि उपस्थित व्यक्तिहरुलाई झुक्याउँदै ‘कलाकारको संस्था “अनेकस” गठन गर्ने निर्णय गरियो’ भनेर लेखिएको कागजमा “अनेकस” का सदस्य भनिएकाले बिना जानकारी कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई हस्ताक्षर गराएका छन् ।

केहि उपस्थित व्यक्तिहरुले भने ‘हस्ताक्षर केका लागि’ भनेर प्रश्न गर्दा ‘कार्यक्रममा उपस्थित भएको’ भनेर हस्ताक्षर गर्न अनुरोध गरेका थिए । तर कागज पढ्दा “अनेकस” गठन गरिएको भन्ने देखेपछि ‘बिना जानकारी हस्ताक्षर नगर्ने’ भन्दै प्रतिबाद गरेका थिए ।’

ईनास गठन गर्ने विषयमा नवगठित ईनासको स्विजरल्याण्ड शाखाकै सदस्यहरुलाईपनि जानकारि नदिइकनै राखेको समेत बहसमा छताछुल्ल पारिएको छ । आशिस स्विसले आफ्नो फेसबूक सञ्जालमा त्यो आरोप लगाएका छन् । भनेका छन् ‘यहिँ स्विस इनासका एक सदस्यसँग मेरो अनौपचारिक कुरा हुँदा उनलाई पनि आफुलाई गठन बारे थाहा नभएको र फोनबाट नाम राख्न अनुमति मागिएको कुरा बताएका छन् ।’

गुणराज पौडेलको प्रतिबादलाईपनि दर्शन आचार्यले फेरि खण्डन गर्दै भनेका छन् ‘म भ्रम्ममा हुँदै होइन । तर कुनै एउटा कार्यक्रम आयोजना गर्ने अनि उपस्थितिको नाममा सहि गर्न लगाउने । अनि त्यस्को बारेमा सोधपुछ गर्दा ‘होइन सरी ईन्टरनेशल कन्भेन्सन हुँदै छ । त्यस्को लागि प्रतिनिधि पठाउनुपर्ने । प्रोग्राम नै भएन । त्यसैले यहि प्रोग्राम मै सहि गरेर आधिकारिक्ता दिन सहि गराएको’ भन्दै सहि थप्दै जानुलाइ आधिकारिकता मान्नु कतिसम्म जायज हो गुणराज जी ? खुल्ला रुपमा कलाकारहरुको संगठन स्विसमा गठन् हुन नसक्ने कारण के थियो र ? येहाँ कर्फु त लागेको थिएन । न त सेना नै परिचालन भएको थियो । त्यस्तो भुमिगत रुपमा गठन् गर्नुपर्ने बिवशता नै बुझ्न सकिन ।’ यसको भरपर्दो तरिकाले खण्डन र जवाफ भने कसैलेपनि अहिलेसम्म दिएका छैनन् ।

पत्रकारको हुर्मत लिने प्रयास

binaya-shrestha

त्यसदिन भएको कार्यक्रममा एन आर एन स्विजरल्याण्डका आइ सी सी सदस्य बिनय श्रेष्ठले स्विसमा रहेका संघ संस्था र समाजका समाचार बढि जसो नकारात्मक तरिकाले लेखिएको र व्यक्तिगत मानहानी जस्ता समाचारहरु धेरै जसो आउने गरेको भन्दै स्विसका मिडियाहरुलाई आरोप लगाएका थिए । प्रफुल्ल मुद्रामा उभिएका उनले स्विजरल्याण्डबाट दुई वटा मेडिया सञ्चलित भएको र तिनले निजात्मक (पर्सनल) विषयलाई बढि प्राथमिकता दिएको र सकारात्मक कुरा नदिएको बताए । श्रेष्ठले स्विसमा रहेका संघ संस्था र समाजका समाचार बढिजसो व्यक्तिगत मानहानी जस्ता समाचारहरु धेरै जसो आउने गरेको भन्दै स्विसका मिडियाहरुलाई आरोप लगाएका थिए । तर उनले कुन कुन मेडियाले कुन खालको ब्यक्तिगत मानहानी गरेका हुन् भन्ने चाहिँ बताउन सकेनन् । स्वास्थ्य क्षेत्रका कर्मचारी उनले मेडियाका आम प्रचलन, प्रावधान, पद्दती र आचार संहिताका बारेमा भने कुनै ज्ञान बाँड्न सकेनन् । त्यस धरातलमा उभिएर आलोचनापनि गरेनन् । तर आफ्नो भन्दा भिन्न क्षेत्रको यस विषयमा ठूला ज्ञाता र उपदेशकका रुपमा बाणी सुनाउँदै यस क्षेत्रमा ज्ञान नभएका अन्यलाईपनि उत्साहित गर्ने र त्यहि हिसाबले मेडियाको उछित्तो काढ्ने प्रयास गरेका थिए । अन्यलाईपनि मेडियाबिरुद्द उत्रन प्रेरित गरेका थिए ।

मन्तब्यका क्रममा सबैभन्दा बढि उनी मेडियाप्रति आक्रामक देखिएका थिए । त्यसपछि स्विजरल्याण्डका मेडियालाई एकै स्थानमा उभ्याएर जवाफ दिन लगाउने उनले बताए । तर स्विस नेपाल डट कमका सञ्चालक निराजन श्रेष्ठले ‘तपाईहरुले बोलाउँदासाथ किन आउने ? के छ बाध्यता ? को हो तपाईहरु ? तपाईहरु मेडियाको कुन आधिकारिक संस्था हो र ?’ भनेर प्रतिकार गरेका थिए । तर मेडियाप्रति आक्रमक रहँदा बिनय श्रेष्ठको अन्य आरोपप्रति प्रतिबाद भने कसैले गरेनन् । यद्दपि त्यहाँ स्विस नेपाल डटकमका निराजन, फोटो पत्रकार शुक्र श्रेष्ठ र नेपाल स्विस डटकमका हिरालाल श्रेष्ठ थिए । उपस्थितहरुको आन्तरिक, अनौपचारिक छलफलमा बिनय श्रेष्ठले दुई वटा मेडियाको नाम लिएर अन्य सबै मेडियालाई तर्साउन खोजेको चर्चा चलेको छ । स्विजरल्याण्डका खबर नेपालप्लस डट कम र मेरो जिल्ला डटकमलेपनि निरन्तर लेख्दै आएपनि दुई मेडियालाई तर्साएर अन्यलाई संकेत गर्न श्रेष्ठले खोजेको टिप्पणी केहिले गरेका छन् । र अब बिनयको यो धम्कीलाई मेडियाले सामूहिकरुपमै प्रतिकार गर्ने बताएका छन् ।

आर्थिक पारदर्शित दिनु नपर्ने

कार्यक्रममा मन्तब्यकै क्रममा बिनय श्रेष्ठले आर्थिक पारदर्सिता एन आर एनले मात्र नभई स्विसमा भएका अन्य संघ संस्थाहरुलाई पनि देखाउन चुनौती दिए । उनले भने ‘स्विजरल्याण्डमा भएका अन्य संस्थाहरुलेपनि आर्थिक पारदर्शिता देखाउनु पर्छ । अरु संस्थाले किन नदेखाउने ? एन आर एनले मात्रै देखाउनुपर्ने भन्ने के छ ?’ एन आर एन ए स्विसका अध्यक्ष हिराबल गुरुङले भने जुरिच स्पोर्ट्स क्लबले गरेका सबै कामहरुलाई सहयोग गर्ने बताएका थिए । उनी भने भद्ररुपमा प्रस्तुत थिए । कसैलाई आरोप लगाउने तहमा उनी उभिएनन् । बिनय श्रेष्ठको पद आइसिसि भएकाले उनको जिम्मेवारी केन्द्रसित समन्वय गर्ने मुख्य हो । तर उनले एन आर एन स्विजरल्याण्डमा दबाब र पदिय जिम्मेवारीबाहिर गएर आफूखुशि चलाउन, संस्थाको निति बिरुद्द बोलेको टिप्पणी गरेका छन् ।

पटक पटक दिप प्रज्ज्वलन

Bern

(बेर्नमा भएको दिप प्रज्ज्वलन)

zurich-2

(यो चाहिँ जुरिचमा भएको दिप प्रज्ज्वलन)

नेपालको नयाँ संविधान २०७२ लाइ स्वागत गर्न एन आर एन ए स्विसले दिप प्रज्ज्वलन कार्यक्रम राखेको थियो । यो दोस्रो पटक थियो । यसबारे उपस्थित संस्थाका केहि व्यक्तिहरुलाई जानकारी नभएको बताएका थिए । किनभने यस अघि एक हप्ता अपहिले एन आर एन स्विजरल्याण्डका महासचिवको आव्हानमा दिप प्रज्ज्वलन भैसकेको थियो । त्यसैले दोस्रो पटक दिप प्रज्ज्वलन राख्दा बिरोध जनाएका थिए । किनभने स्विटजरल्याण्डको राजधानी बर्नमा एक हप्ता अगाडी दिप प्रज्ज्वलन गरिसकेको र फेरीपनि जुरिचमा गर्नु आवस्यक नरहेको उपस्थित केहिले बताएका थिए ।

(सबै तस्विरको क्रेडिट- स्विसनेपाल डट कम)

तपाइँको प्रतिक्रिया