चन्द्रमाको प्रकाशमुनी अन्तर्राष्ट्रिय दौडमा मेरो अनुभव
- मनिकला राई
गएको बिहिबार सिसिसि (CCC) भन्ने अन्तर्राष्ट्रिय स्तरको दौड प्रतियोगिता भयो । ईटालीको कुमाएर (Courmayeur) देखि दौगेरर स्विजरल्याण्डको सेँपेक्स (Champex) हुँदै फ्रान्सको हिमाली क्षेत्र सामोनी आइपुग्नुपर्ने । यो एक सय एक किमी लामो दूरीको दौड प्रतियोगिता हो । यसमा दुई हजार एक सय २९ जना प्रतियोगीहरु थिए । मैले नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकि थिएँ । हामीले ईटालीको कुर्माएर बाट बिहान नौबजे दौड शुरु गर्यौं ।
मैले चाहिँ अलिकति धेरै छिटो दौडिन शुरु गरें । तेत द ला थँस (Tête de la Tronche) भन्ने यो दौडको गाह्रो ठाउँ मैले चौथो स्थान बनाएर पास भएँ । मैले यहि गतिलाई कायम राखें । म लेइया कान (Laia Canes.) को साथमा थिएँ र हामीले गँ कोल फेरे (grand col ferret i) भन्ने ठाउँ पार गर्यौं । सँपेक्स (Champex) को मनमोहक तालमा आइपुगियो । यो तालमा आइपुग्नुअघि आधा बाटोसम्म दौडिने मार्ग सम्मनै थियो । यो सँपेक्स तालमा आइपुग्दा बाटो आधा हुन्छ ।
यो ठाउँमा हामी चार जना महिलाहरु एकैसाथ आइपुगेका थियौं । हामी अलिकति अलमलमा पर्यौं । तर पनि अन्य दुई जना महिलासँगै फेरि दौडिन शुरु गरें । घाम झमल्ल्ल लागेको थियो । प्रक्रिति सफा देखिन्थ्यो । द्रिश्यहरु खुला देखिएका थिए । वरिपरिको वातावरण रमणिय थियो । मैले अरु भन्दा फरक देखाउन आफ्नो उत्प्रेणालाई उच्च नै राखें । आफैं उत्प्रेरित भैरहें ।
हिमाल त यसै सुन्दर, राम्रा हुने भैहाले । हामीले दगुरेको यो पैदल मार्गपनि एकदमै राम्रो छ । पछिल्लो पटकको भन्दापनि राम्रो । म ट्रिएन्ट (Trient) आइपुग्दा त दावा र आनी मलाई पर्खेका रहेछन् । उनीहरुलाई देख्दा अचम्म परें । यहाँ आइपुग्दा साँझ पर्न लागेको थियो । म थकित थिएँ केहि । भोक लागेको थियो अलिअलि । त्यसैले त्यहाँ सुस्ताउन खोलिएको सानो होटेलमा अलिकति सुप मगाएर पिएँ । टाउकोमा पैदल मार्ग हेर्ने बत्ती (हेड लाईट) बाँधें । म फेरि आफ्नो बाटो लागें । ८२ किमी दगुरेर वालोर्सिन (Valorcine) पुग्दा त रातले झ्याप्पै आक्रमण गर्न लाग्यो । वरिपरिका सबै चिज अँध्यारोले ढाकिँदै आए । यो ठाउँ अन्तिम चेक पोइन्टपनि हो । दगुर्न गाह्रो हुन लाग्यो । वरिपरिका चिज देख्न मुस्किल पर्न लाग्यो । केहि खान पनि गाह्रो हुनलाग्यो । यति हुँदापनि म अझै चौथो स्थानमै छु ।
झपक्कै रात परेको छ । पुरै अन्धकार । यस्तै अवस्थामा फेरि दगुर्न शुरु गरियो । ला तेत ओ भँ (la tête aux vents) भनेतिर दौडिन थाल्यौं । यो दौड प्रतियोगिताको सबैभन्दा गाह्रो ठाउँ भनेकै यहि रहेछ । तर खुशि हुनुपर्छ किनकि पूर्ण चन्द्रमा झलल बलेको थियो । चन्द्रमाको चमक्क चमक्क चम्किएको प्रकाश हामीलाई बाटो देखाउन बसे जस्तो थियो । त्यहि प्रकाशले साथ दियो हामीलाई । जूनको प्रकाश यस्तरि चम्किएको की हामीले युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ नियाल्न पायौं । जूनको बत्तीमुनि चम्केको मों ब्लँ कति मनमोहक !
मैले यो हिमालको घाँटी (Pass) पार गर्न आफ्नो सम्पूर्ण क्षमता र शक्ती लगाएँ । त्यो घाँटी पारगरिसकेपछि त एकदमै गाह्रो भयो । समय त्यहि गाह्रो अवस्थाको सामना गर्दा बित्यो । दौडिन गाह्रो भो । त्यत्रो बाटोमा उछिनेकी मैले त्यो घाँटी पार गरेर पहाडबाट तल ओर्लिँदा दुई जना महिला मभन्दा अगाडि लागे । तरपनि आशा कायमै राखें । दगुरीराखें । हामी पुग्ने अन्तिम थलो सामोनी अब नजिक होला भन्ने आशा गरेर म अगाडि बढिरहें ।
मैले १०१ किमी लामो यो दौड १५ घण्टा १७ मिनेटमा पूरा गरें । यहाँ मेरा मित्रहरु मलाई पर्खिएका थिए । मेरा प्रशंसकहरु थिए । मध्य रात भैसकेको थियो यात्रा सकिँदा । म थकित छु । तर खुशि छु । किनकि अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा हो यो । हर्षित छु । मैले अझै अनुभव लिनुछ । अझ धेरै कोसिस गर्नु छ ।









