पारसलाई पेरिसमा कालो झण्डा किन?

-ददी सापकोटा, ९ चैत २०६२, पेरिस  

 पारस जस्ता हत्याराले लोकतन्त्रिक युरोपेली भूमिमा टेक्दा बुद्धको जन्मभूमि नेपालको बेइज्जतीमात्र हुन्छ। त्यसैले यिनका एक-एक पोल खोलेर लोकतन्त्रप्रेमी फ्रान्सेलीहरूबीच नंग्याउनुपर्छ यिनलाई 

आफ्नो देशको युवराजलाई विदेशी मुलुकमा आउँदा स्वागत गर्नुको साटो कालो झण्डा देखाएर बेइज्जत गर्ने ? आफ्नै युवराजलाई विदेशीका सामु कालो झण्डा देखाएर कसको बेइज्जत हुन्छ ? शाही निरंकुशभक्त नेपालीहरूले यसै भनेर भ्रम छर्ने गरेका छन् अथवा उनीहरू आफैँ भ्रममा परेका छन् यतिखेर पेरिसमा। अघिपछि लोकतन्त्र र मानव अधिकारका ठूल्ठूला गफ हाँक्ने तथा ज्ञानेन्द्रहरूलाई हत्यारा भन्दै जमघटहरूमा क्रान्तिकारी कुरा गर्नेहरू स्वयं तिनै “हत्याराहरू”को सेवा गर्नतिर लागेका छन्। नेपाली लोकतान्त्रिक मञ्चको आयोजनामा १३ चैत २०६२ (२६ मार्च २००६) का दिन फ्रान्सको राजधानी पेरिसमा पारसलाई कालो झण्डा देखाइने भएपछि शाही नेपाली राजदूत , दूतावासका कर्मचारी तथा फ्रान्समा बसोबास गर्ने केही “प्रजावादी” नेपालीहरू अत्तालिन थालेका छन्।

 नेपालको राजतन्त्रले नेपाली जनताको हित गरेको भए , नेपालीका मनमा बस्न सकेको भए, नेपाललाई एउट गर्व गर्न लायकको राष्ट्र बनाएको भए, सम्पूर्ण नेपाली एकढिक्का भएर स्वागत गर्न सकिन्थ्यो। तर वर्तमान राजतन्त्रले निरंकुशता लाद्‌ने, जनता मार्ने र राष्ट्रको ढुकुटीको दोहन गर्नेशिवाय केही गरेको छैन २ करोड ६० लाख नेपालीका लागि।

हामी ती नेपालीहरूलाई प्रश्न गर्छौं , पृथ्वीनारायण शाहको मृत्युपछि कुन चाहिँ राजाले नेपाल र नेपालीको इज्जत बढाउने काम गरे ? नेपाललाई विश्वकै एक निर्धन मुलुकका रुपमा चिनाउने काम कसले गर्‍यो? हामी नेपाली जनताले कि राजतन्त्रले? के आफ्न दाजु , भाउजू, भतिजा को वंश सत्यानाश गरेर शासन गरेको आरोप लाग्दा नेपालीको इज्जत विश्वभरी नै बढ्यो? तिनका अपराध छोपेर इज्जत बढाइदिनुपर्ने हामीले ?

 

अधिकांश नेपाली एक गोली सिटामोल तथा एक पाकेट नुन-चिनी-पानी नपाएर मरिरहेका छन्। तर “घरले जा-जा र वनले आइज-आइज” उमेरका दरबारियाहरूलाई राष्ट्रको करोडौं रूपैयाँ रकम खर्च गरेर विदेशी अस्पताल पुर्‍याइन्छ। जनताका छोराछोरी एकछाक खान नपाएर आत्महत्या गर्नुपरेको छ। तर निरंकुश दरबारियाहरू भने आफ्ना छोरा छोरीको न्वारन र पास्नीमा जनताको करको लाखौ-लाख रूपैयाँ खर्च गरेर भोज-भतेर गरिरहेका छन्। कति नेपाली जनतालाई नगरिकताको प्रमाणपत्र लिन लगातार तिनदिन हिँड्दा पनि सदरमुकाम आइपुग्न मुश्किल पर्छ , तर दरबारिया शोषकहरू चाहिँ देशमा एउटा सियो कारखानासम्म खोल्ने कुरा सोच्दैनन्। बरु ५०औं लाख रूपैँया पर्ने मर्सिडज , बीएमडब्लू र पजेरो चढेर जनताका छोरा-छोरी किचेर मार्दै हिँड्छन। नेपाली जनताले आफूले हुर्काएको वनमा दतिवन टिप्दा जेलमा बस्नुपर्छ तर यी भ्रष्ट शाहीहरू चाहिँ आफैँले सही गरेको अन्तर्राष्टिय कानूनको समेत धज्जी उडाएर मन खुशी दुर्लभ जनावर बाँड्दै हिँड्छन्।

 

नेपाली जनताले शान्ति चाहेका छन् तर शाही हत्याराहरू जनताको पैसाले बन्दुक खरिद गर्दै हरेकदिन गरिब नेपालीको हत्या गरिरहेका छन्। जनताले चुनेका प्रतिनिधिहरू र नागरिक समाजका प्रतिष्ठित ब्यक्तित्वहरूलाई जेलमा कोचेर हत्यारा , लुटाहा , भ्रष्टाचारीका हातबाट शासन चलाइएको छ। जनताद्वारा बनाइएको संबिधान र कानूनलाई मिल्काएर १ सय ५० भन्दा बढी अध्यादेशका भरमा हुकुमी शासन चलाइएको छ।

 

राज्यकोषको ६ करोड रुपैयाँ खर्चमा पारस शाहको युरोप भ्रमण निजी भ्रमण सिवाय केही होइन। तरपनि जनताको पैसा दुरुपयोग गरेर सञ्चालन गरिएका सरकारी सञ्चार माध्यमले भने पारस दम्पतिको भ्रमण “अष्ट्रियाका चान्सलर वुल्फग्याङ सुसलको मैत्रीपूर्ण निमन्त्रणामा अष्ट्रियाको औपचारिक भ्रमणका लागि सवारी होइबक्सको” भनेर लाजै बिना प्रचार गरेका छन्। तर ढाँटेको कुरा काट्टे कहाँ मिल्छ र ? राससको सोही बुलेटिनको तल्लो पंक्तिमा “मौसुफहरूमा भियनाको अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा अष्ट्रियाका लागि शाही नेपाली राजदूत डा. मदनकुमार भट्टराई र श्रीमती अम्बिका भट्टराई तथा जर्मनीस्थित शाही नेपाली राजदूतावासका पदाधिकारीहरूले हार्दिक स्वागत अभिवादन चढाउनुभयो” भनिएको छ। कस्तो लाजैमर्दो- बोलाएको राष्ट्रपतिले , तर स्वागत गर्ने चाहिँ आफ्नै “भाटदूतहरू”ले ? शायद अब सरकारी संचार माध्यमले “लौ हेर्नुस विदेशीहरूले पारस दम्पतिलाई कसरी स्वागत गरे” भनेर नक्कली हौवा पिटेर निरंकुशतालाई मलजल गर्न कोसिस गर्ने छन्।

 

नेपाली जनताको करको पैसाले पालेका यिनै राजकुमारले जनताका कलाकार प्रविण गुरुङ र गरिब ट्याक्सी चालका सानुभाइ डंगोललाई ढुकुर मारे झैँ हत्या गरेका थिए। यिनैले एउटा राजाको वंश नै सखाप पारेर सत्तासमेत हत्याए। यिनीहरू कानूनका आँखामा अपराधी होइनन् ? यिनले हदैसम्मको सजायँ पाउनुपर्ने हो कि होइन ?

 पारस जस्ता हत्याराले लोकतन्त्रिक युरोपेली भूमिमा टेक्दा बुद्धको जन्मभूमि नेपालको बेइज्जतीमात्र हुन्छ। त्यसैले यिनका एक-एक पोल खोलेर लोकतन्त्रप्रेमी फ्रान्सेलीहरूबीच नंग्याउनुपर्छ यिनलाई। अनि यहाँको सरकारलाई युरोपको १८औं शताब्दीको तानाशाही दब्‌दबाको इतिहास बिर्साउने यी तानाशाहहरुलाई सबै सहयोग बन्द गर्न आग्रह गर्नुपर्छ।

यी सीमाबिहीन अत्याचारीहरूको बिरोध गर्न पाउँदा गर्व लागेको छ हामीलाई। नेपालमै भएको भए यिनलाई कालो झण्डा देखाउने साहस गर्नु सजिलो थिएन। तर आज हामी लोकतान्त्रिक विदेशी भूमिमा छौं र यसै बेला आफ्ना नेपाली दाजुभाइहरूप्रति सहानुभूती देखाउँदै यी अत्याचारीहरूलाई कालो झण्डा देखाउनेमात्र होइन , नांगेझार पार्ने मौकासमेत पाएका छौं हामीले। यसले पारस मण्डलीको चेतना भए हिनताबोध , त्रास र आत्मग्लानीले उनीहरूको शिर झुकिसकेको हुनुपर्छ।

 

यो हाम्रो अभियानमा हामी नेपाली एक्लै छैनौं। नेपालप्रेमी फ्रान्सेली पत्रकार , मानवाधिकारकर्मी तथा सर्वसाधारणसमेत छन्। फ्रान्सका मात्रै नभएर इटालीका पत्रकार साथीहरूले समेत साथ दिएका छन्। हामी विरोध कार्यक्रमलाई पूर्ण सफल बनाउने छौं। देशको ६ करोड रुपैँया रकम भष्म पारेर घुमफिर गरिरहेका पारसको फ्रान्समा गरिने स्वागतमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्न लगाएको छ , नेपाली दूतावासले यहाँका नेपालीहरूलाई। सो मण्डलीलाई हामी के भन्छौं भने पारसको नाउँमा पैसा उडाउनुभन्दा बरु नेपालको एउटा गरिब बच्चालाई पढाउनुहोस्। कम्तीमा एउटा बच्चाको भविष्य त सप्रिन्छ। अनि तपाईंहरू फ्रान्स जस्तो लोकतान्त्रिक मुलुकमा बस्नुभएको छ , अब त निरंकुशताको निद्राबाट ब्युँझनुहोस्। तपाईंहरू आफू लोकतान्त्रिक मुलुकमा बसेर निशुल्क स्वास्थसेवा, निशुल्क शिक्षा, बेरोजगारी भत्ता, मानवअधिकार तथा कानूनी शासनको उपभोग गर्ने तर आफ्नो मुलुकका लागि त्यसैको बिरुद्द लाग्ने ? आफ्नो देश धर्धरी रोएको बेला उल्टो आत्याचारिहरूलाई मलजल गरेर बस्नेको भोलि के नैतिक अधिकार रहन्छ, नेपाल मेरो मातृभूमि हो भन्ने?

 

त्यसैले पारस मण्डलीको स्वागत गर्न तम्सिएका मित्रहरूलाई हामी एकपटक सोच्न आग्रह गर्छौं। यहाँ बसेर नेपालका आत्याचारीहरूको समर्थन गर्नेहरूको एक एक अभिलेख राखेर अहिलेदेखि नै नांगेझार पार्दै लानेमात्रै होइन , तिनलाई लोकतान्त्रिक ब्यवस्था आएपछि कानूनी कार्वाहीको लागि सिफारिससमेत गर्न पछिपर्ने छैनौं। यो आजको धम्की होइन , भोलिको यथार्थता हो। शाहीतन्त्र डाँडाको घाम भइसकेको छ र लोकतन्त्रिक गणतन्त्रप्रेमी नेपालीको जित सुनिश्चत छ।

फ्रान्समा रहेका लोकतन्त्रप्रेमी नेपालीहरूले नेपाली लोकतान्त्रिक मञ्च गठन गरेका छन्। यसको उद्देश्य पारस मण्डलीलाई कालो झण्डा देखाउनेमा मात्रै सीमित छैन , भविष्यमा शाही परिवारका लागि भिसा बन्द गराउन तथा शाही सरकारलाई सहयोग रोक्का गर्न युरोपेली राष्ट्रहरूलाई दबाब दिने तथा शाही परिवारको वास्तविकता बारे जानकारी दिने र समय-सयममा बिभिन्न बिरोधका कार्यक्रमहरू आयोजना गर्नु पनि रहेको छ।

 

पारसलाई कालो झण्डा देखाउने कार्यक्रम यहाँको विश्वप्रसिद्ध आइफल टावरको अगाडि राखिएको छ , जहाँ हरेकदिन विश्वभरिका हजारौं पर्यटकहरूको घुइँचो लाग्छ। प्रेस स्वतन्त्रताको सुनिश्चित गर , मानवाधिकारको रक्षा गर, गोली होइन आहारा देऊ , लगायतका नाराहरू छन्। त्यस्तै नेपालमा अझै छुवाछुत बाँकी छ , राष्टिय निकुञ्जहरू दरबारको निजी सम्पत्ती बनाइदै छ, राजा संविधानले होइन १ सय ५० भन्दा बढी अध्यादेशले शासन चलाउँछन् , हामी निरंकुश राजा होइन पूर्ण लोकतन्त्र चाहन्छौ , पत्रकारहरूका लागि नेपाल जेल घर हो , जस्ता जानकारीहरू र राजपरिवारले गरेका अत्याचरहरू दर्शाउने कार्टून तथा कलाहरू प्रदर्शित हुने छन्।

 

नेकपा एमालेका नेता प्रदीप नेपालसँगै पञ्चायत कालमा नख्खु जेलबाट सुरुङ् खनेर भागेका बामपन्थी नेता अशोक न्यौपाने , यहाँका स्थापित नेपाली हेमन्त उपाध्याय , नेपाली कांग्रेसका फ्रान्स प्रतिनिधि तथा साहित्यकार हरिहर अर्याल , लोकतन्त्रका लागि यहाँ क्रियाशिल कबिन्द्र कायस्थ र किरण प्रधान जस्ता व्यक्तिहरूले नेतृत्व गरेका छन् , नेपाली लोकतान्त्रिक मञ्चको उक्त कार्यक्रम।  (गणतन्त्र नेपाल डट कम मा प्रकाशित)

तपाइँको प्रतिक्रिया