कथा : लेखककी स्वास्नी

  • छबिलाल सापकोटारातामाटे ” / योकोहामा, जापान    

chhabilal-sapkota-japanभित्तामा झुन्ड्याएको ठुलो भित्तेघडीले साँझको छ बजाउन अझै बिस मिनेट बाँकी छ भन्ने जानकारी दिन तिन प्रतिष्पर्धी खेलाडीलाई चक्रपथको घेरा भित्र प्रोत्साहन दिइरहेको थियो । कहिले दम दिएर त कहिले ब्याट्री स्वरुप आत्मबलमा शक्ति थप्दै । मैले यिनीहरुको संयुक्त्त नाम ‘समय’ राखिदिएको छु ।  मेरो आँखाले संसार चिन्न थाले देखि नै यिनीहरुको प्रतिष्पर्धा मैले पनि एकोहोरो हेरिरहेको छु । यिनीहरुको खेल अझै पनि प्रतिष्पर्धामा नै चलेको छ । थाहा छैन बाजी कसको हातमा पर्छ ।  म पनि यिनीहरुकै खेलको दर्शक बन्दै जिन्दगीका हरेक मोडमा साहसको दम दिदै यिनैलाई पछ्याईरहेको छु ।  

दिनभरी हरिहरजी को किताब बिमोचन कार्यक्रममा सहभागी भएको ज्यान टेन्टको तातो र भोकले आलस्य भएको थियो । थकित ज्यानसँग घरभित्र छिर्दा छुट्टै आनन्दको महशुस भयो । ज्यानले अझै आरामको महशुस गरेको अनुभव सँगाल्दै बैठक कोठामा ज्यानलाई थाँति राखे । गजबार लगाउन बिर्सेको मूलढोकामा ढ्याक ढ्याक आएको आवाज सँगै ढोका घर्याक्क खुल्यो ।

घरमा को हुनुहुछ ?

एउटा अपरिचित  आवाज संगै मेरी श्रीमती अगाडी बढीन ।

सबै जना छौ । भन्नुस कस्लाई खोज्नु भयो ?

हजुर म हुलाकी । चिट्ठी आछ ।

ए ….. ।

मेरी श्रीमतीको हातमा चिट्ठी थमाउँदै हुलाकी बाटो लाग्यो ।

चिट्ठी आछ महाशयको ।

हुलाकीबाट हात परेको चिठ्ठी तिर पुर्लुक्क हेर्दै अनुहारको रंगमा थोरै मलिनता थप्दै म तर्फ हेरेको हेराइमा अनेकौ अभाब र गुनासोको गन्ध मिसिसकेको छर्लंग पाउदा पनि हातमा भएको किताबलाई बन्द गर्दै सोधे ।

कहाँ बाट ? कसले  है  छ ?

झोला भिरेर जानी नि फेरी, कबिता वाचन गरिदिनु पर्यो कबि जी भन्ने निम्तो त होला नि ?

कहाँ बाट कसको हो ? झोला भिरेर नि जाने कहाँ ? ठेगाना त थाहा पाउनुपर्यो ।

मैले जिस्किँदो स्वरमा भने ।

ऊनले चिठ्ठी म तिर फ्याँक्दै बाघको हेराईमा घुर्न थालिन ।

मैले  खाम खोलें,  खाम भित्र एऊटा निमन्त्रणा कार्ड थियो, साहित्यिक कार्यक्रम बिशेषको । मैले कार्ड्लाई टेबलको घर्रा भित्र राख्दै पुनः किताब पल्टाउन थालें ।

त्यतिबेलासम्म पनि ऊनी एकोहोरो बाघे नजर कार्ड माथि फ्याँकिरहेकी थिइन् ।

सधैं…कबिता… कबिता । हैन कविताले मात्र जिबन चल्छ कि क्या हो ?

घर ब्यबहार, केटाकेटी, इष्टमित्र सबैको ख्याल गर्नु पनि त पर्यो नि ।

बिबाह गरेको नि बाह्र बर्ष बितिसक्यो । कहिले संगै बसेर मिठा मिठा माया, प्रेम र जीवनका कुरा गर्नु छैन ।  ब्यबहारिक छलफल गर्नु छैन ।  केटाकेटी नजन्मदै त कहि गईएन गईएन  अब त यसो कहिले काही सपरिवार घुम्न पाए कति रमाईलो हुँदो हो ।  केटाकेटी पनि कति खुशी हुँदा हुन्  यो जमानाको मान्छे पनि कस्तो ……हरे शिव !!

उनको एकोहोरो संवाद्लाई भंग गर्न बिच बिचमा मैले प्रतिकारात्मक शब्द प्रक्षेपण गरे पनि सबै बिफल हुन्थे ।

कोट लायो । दौरा सुरवाल लायो । टोपी लायो ।  धन्न हात्तीछाप चप्पल छोडेर जुत्ता लाऊन थाल्नु भएछ ।  चालिस पुग्न अझै दुई बर्ष बाकि छ भर्खर अठ्तीस बर्षको मेरो बुढो लवाई खवाई हेर्दा  पैसठ्ठी बर्षको जस्तो ।

ठ्याक्कै हाम्लाई क्याम्पसा नेपाली पढाउने गुरु बा जस्तै लाग्छ । अझ एउटा मोट्टो सिसा भएको चश्मामा धागोले बाँधेर घाटीमा बेरे हुन्छ नि । आफ्ना संगैका साथि संग नि कस्तो लाज लाग्ने लवाई हेर्दा बाऊको ऊमेरको जस्तो । वरिपरी साथीभाई हेर्नु नि कस्तो टिप् एण्ड टप भएर हिड्छन ।

बिसौ बर्ष लाएर कबिता लेखेनी किताब बेच्दा कलमको र कापीको पैसा उठदैन ।

धन्न अहिलेको जमाना दोश्रो दर्जाको स्पेलेनडरको त जोहो गर्नु भएछ । यो पनि कहाँ घरको लागि हो र ? कबिता वाचन गर्न टाईम्मै पुगीदैन की भनेर होला नि ।

संगैका साथि स्यान्ट्रो चढ्ने भैसके तपाई भने रातभरी कबिता लेख्ने, दिनभरी कबिता वाचन , कबि गोष्ठी, के …जति साहित्यिक गोष्ठी … पुस्तक बिमोचन रे ….ऊस ! अनि दश बर्ष लाएर पुस्तक प्रकाशन गर्यो । जे गरे नि जसो गरे नि हुनी के हि हॊईन ।

त्यहि भको एउटा खटारा मा तेल हाल्न नसकेर कहिले हिँडेर आउनुहुन्छ ।

ऊस प्रभु जे लेख्यो त्यहि ब्योहोर्नु पर्दो रैछ । नारीको भाग्य नि कस्तो हुँदो रहिछ कुन्नि दुलाहाको भाग्य संग मिल्नु पर्ने .. ।

हेर …। हेर … मेरी साथि फलानी आहा कति राम्रो जिन्दगि छ ।  बिहान सात बजे उठे , च्या खाजा खाए, खाना खाए, केटा केटीलाई स्कुल पठाए अनि बुढा बुढी सर्र  स्यान्ट्रोमा  चढे आफ्नो ब्यापार गरे । स्कुलबाट केटाकेटी आऊने बेलामा ऊ आउँछे  खाजा खुवाउँछे । बेल्किलाई खाना बनाउँछे । बेल्की बुढो आउँछ अनि संगै बस्छन खान्छन ।

यिनको ए कोहोरो संवादले मेरो पठन कार्यमा पूर्ण् बिराम लगाई दियो । मैले हातको किताब टेबल माथि राख्दै भन्न थाले ।

आफ्नो जे छ, जस्तो छ त्यसैमा सन्तुष्ट हुन् सिक्नु एउटा असल गृहणीको गुण हो, खोई तिम्रा यि संवादले त तिम्रा कमजोरी प्रष्टाएको देखिन्छ नि ।

भयो अब चुप लाग भन्दा पनि ऊनले आफ्नो मेसो छोड्न मानिनन । ऊनी एक्लै कराउँदै थिइन् । मैले झ्यालको पलेटा खोल्दै एक खिल्ली चुरोट सल्काउन थाले । यतिबेला सम्म साँझको छ बजेर दश मिनेट गईसकेछ । पर आँगनको छेउमा छोराछोरी लुकामारी खेल्दै थिए । मैले उडाएको चुरोटको धुवाँ ऊनिहरुको आँखाबाट लुकाउन मैले पनि झ्यालको पलेटा बन्द गरे ।

ऊनको एकोहोरो संवादको खातिर थप मैले केहि बोल्न चाहिन, सट्टामा पुनः एउटा पानामा फुरेका नयाँ शब्दको टिपन तयार पारे ।

ऊनी आफ्नै मेसोमा व्यस्त थिइन्  ।

आफ्नो भने बेल्कि टाईम्मा खानु नि छैन । खाना खान बोलायो कहिले मध्यरात हुन्छ । बोलायो बोलायो एकछिन …है ।

यति लेखेर … ।

एकछिन है, यति पढेर ।  त्यहि दुई गास भात पनि टाईम्मा खानु  छैन ।

अनि रातभर चुरोट खायो …खोक्यो .. ।

एक पेज  लेख्दा एक डिब्बा चुरोट भ्याउँनी  .. ।

हरे …!  भगवान आफ्नो जिन्दगीको ख्याल नगरेनी भबिश्य र छोराछोरीको त ख्याल गर्नु पर्ने हो । ….ऊस ….!

ऊनको मेसो नसिध्दै पुनः ढोका घर्याक्क भयो । बाहिर अँ ध्यारोले सन्नाटा छाईसकेछ । केटाकेटि मम्मी भोक लाग्यो भन्दै सताऊन थाले ।  ऊनी पुनः जर्किन ।

कथा खान्छौ कि कविता ? बाबा संग मागाओ ।

छोराछोरी मरी मरी हाँसे । मैले ऊनका कुनै शब्द संग प्रतिबाद गरिन ।

साँझको साडे छ बजिसकेछ ।  लोडसेडिंग्को ख्यालै भएन । मिठा शब्दहरु टिपन टापन गर्दा गर्दै अर्धबिराम मै कलम बन्द गर्नुपर्यो ।

मोबाईलको लाइटले सिरानी मुनि राखेको बिस रुपैया लगि मैनबत्ती किन्न चोक तिर लाग्दा छोराछोरीले हामी पनि जान्छौ भन्दै  पछि  लागे | साँझको बेला सबैजना दुई चार जनाको थुम्का खडा गर्दै कोहि राजनैतिक बिषयमा, कोहि व्यापारको बिषयमा , कोहि के को बारेमा छलफल गर्दै होहल्ला गरिरहेका थिए ।

अरुको सोचाई संग मेरो कुनै दुश्मनी भएन, साथी भाईको बीचबाट कोहिले  ओ….  हो …. कबि जी भन्दैथे । कोहिले ओ …. हो …. साहित्यकार जी भन्दैथे ।

यिनीहरुको बोलाईमा हासो मिसिएको थियो ।  बिचारको सम्मान गर्ने शक्ति न्यून थियो, अर्काको आत्मसन्तुष्टि माथिको हस्तक्षेप थियो ।

ऊनिहरुको हाईमा हाई थपे झोलामा तीनवटा मैनबत्ती बोक्दै घर तिर लागे । घर आउँदा सुनसान अध्यारो भैसकेको हुँदा श्रीमती मुलढोका अगाडी मैनबत्तीको पर्खाईमा मेरो बाटो कुरिरहेकि थिइन् ।

म घरमा आईपुग्दा ऊनी पुनः बाँकि भागको प्रसारण गर्दै थिइन् ।

ओ … हो … कति ढिला गर्नु भएको ? चोक मै कबिता सुनाउन थाल्नु भयो कि क्या हो ?

ल… ल …. हिड भित्र जाउ खाना पकाऊ , बरु म पनि पकाउन सहयोग गर्छु ।

भन्दै  फकाउने प्रयास गरे | एउटा बत्ती बैठक कोठामा, एउटा भान्छा कोठामा र एउटा बाहिर बरण्डामा बालि खाना बनाउन थालियो । आखिर माया  हो, प्रेम हो , बिश्वास हो  अनि लोग्नेस्वास्नीको आजन्मको चोखो नाता हो ऊनको दुईटा  शब्दलाई मनमा लिएर मनमा तुस पालेर बस्न पो कहाँ  सक्छु र अनि लोग्नेको सहि बिचार र खुशीको खातिर मेरो कलम माथि किन तगारो बन्न सक्थिन र  ।

केटाकेटीको कुरा चल्यो, परिक्षा आईसकेछ । तिन महिनाको फी सहित दुईजनाको बिल बिस हज्जार नागी सकेछ ।

तपाईलाई न त घरको बारेमा थाहा छ, न त केटाकेटीको पढाईको बारेमा ।

भन्दै नमिठो गुनासो पोखिन ।

रातको साडे आठ भैसकेछ ।  दुई घण्टाको लोडसेडिंग पार गरी पुनः केहि घण्टाको लागि बिजुली चम्क्यो । यहि मौकाको फाईदामा खाना खाँदै कहिले ठुस्किदै त कहिले हस्किँदै ऊनी भान्साको चुलो चौका गर्न थालिन म छोरा छोरीलाई होमवर्क गराऊन लागे ।

रातको साडे नौ बजी सक्यो अब सबै जना सुत्ने तर्खर गर्दै थिए  ।

ऊनीहरु सुत्न कोठा तिर लागे । म कापी र कलम बोक्दै बैठक कोठा तिर लागे । एक खिल्ली चुरोट सल्काउँदै बार्दलीबाट आकाश तिर धुवाँ उडाउँदै थिए । ऊनी एउटा हातमा पानीको अङ्खरा त अर्को हातमा रेड्लेबलको बोत्तल सहित बैठक कोठामा पस्दै टेबल माथि डङ्ग्र्याङ्ग  राख्दै भनिन् ।

कबि महाशयको लागि त सिँगै रात बाँकी छ के रे अझै ।

म त  सुत्न गए …. ।

भन्दै बैठक कोठाबाट बाहिरिईन ।

मैले  हातमा ठुटो मात्र बाँकी रहेको चुरोटलाई रेलिङमा धस्दै पुनः अर्को चुरोट्को साथ टेबलमा भएको रेड लेबल  संगै प्याक लगाउँदै  कलम चलाउन शुरु गरे ।

ऊहि हिजोको झैँ ।

तपाइँको प्रतिक्रिया