कथा : बुझाई

किशोर सापकोटा / अमेरिका

kishor-sapkota-usa-2123धुवा फाल्दै गुडिरहेको टाटा मोवाइल रोकियो ।
कल्पना अगाडिको सिटवाट ओर्लिइ । खाली भएको सीटमा वस्न रमेश गयो ।
तपाईले मलाई अगाडिको सिट छोडिदिएकोले मेरो आयु एक महिना थपियो –कल्पनाले रमेशलाई धन्यवाद दिदै भनी – पछाडि पट्टिको धुलो र धुवामा वस्नु परेको भए म स्वभाविक आयु भन्दा एक महिना चांडो मर्ने थिए ।

रातको समयमा उनीहरु कार्यालयवाट फर्कदै थिए । कर्मचारी पुर्‍याउने गाडी कवाडीमा वेच्नुपर्ने खालको थियो । पछाडि पट्टी वस्नेहरुको धुलो र धुवाले श्वास प्रश्वास नै रोकिएला जस्तो हुन्थ्यो । यस्तो अवस्थामा रमेशले कल्पनालाई आफु वसिरहेको सिट छोडिदिएर पछाडिको सिटमा वस्न गएको थियो ।

मेरो कारणले तिम्रो तीस दिन आयु थपियो भने मलाई केवल तिम्रो एक दिन देऊन त – रमेशले ठट्टा गर्यो ।
कल्पना गंभीर भइ ।
मेरो जीवनका अन्तिम दिनमा दिउला नि हुन्न ? – उसले कुरा टारी ।
मैले तिमीलाई अहिले सहयोग गर्ने, तिमीले जीवनका अन्तिम दिनमा ऋण तिर्ने कसरी न्यायोचित हुन सक्छ ? – रमेशले तर्क गर्यो ।

उनीहरुको तर्क वितर्क अरु कर्मचारीलाई रमाइलो भयो । ख्याल ख्यालमा सुरु भएको विषय गंभीर जस्तो भइदियो ।

म तत्कालै त मर्ने थिइन, मेरो आयु जोगिएको त जीवनका अन्तिम दिन पटीवाटै हो नि, त्यसैले म त्यतावाट एक दिन दिन्छु – कल्पनाको तर्क नाजायज थिएन । अरु कर्मचारीलाई अलि विस्मात भएको जस्तो देखियो । मान्छे प्रतिक्षा गर्न गाह्रो मान्छ । जे हुन्छ अहिले नै होस् भन्छ, प्रायस अप्रिय घटना वाहेक ।
अहिले नै एक दिन दिदा के विग्रन्छ ?
रमेशले कल्पनाको अनुहार हेरेर सोध्यो ।
अहिले नै मैले तपाईलाई एक दिन दिए भने मसंग त्यसपछिका दिनहरु मेरा हुने छैनन्, म अहिलेको एक दिन तपाइसंग व्यतित गर्न सक्दिन ।
कल्पना दृढ निश्चयी भई ।

कल्पनाले व्यतित भनी । रमेशले एक दिन देऊ भनेको थियो । व्यतित गर भनेको थिएन ।
रमेश हांस्यो । मैले के प्रयोजनका लागि एक दिन मागे भन्ने पनि नवुझी निश्कर्षमा पो पुगी भन्यो मनमनै । जीवनका अन्तिम दिनवाट एक दिन दिने कल्पनाको प्रस्तावलाई स्वीकार गर्यो ।

त्यो एक दिन कहिले दिने त ? रमेशले प्रश्न गर्यो ।
कल्पनाले आफ्नो उमेर संझी । अहिले २५ भइछे । अवको ३५ वर्ष पछि ऊ ६० पुग्छे । त्यो वेला रमेशले त्यो एक दिनको माग गर्छ भन्ने उसलाई लागेन । एउटी महिलासंग पुरुषले यौवनको समय माग्छ, वृद्धावस्थाको माग्दैन भन्ने कल्पनालाई लाग्दो हो ।
म ६० वर्ष पुगेको दिन – कल्पनाले निश्कर्ष सुनाइ ।
सवै आफ्नो वाटो लागे ।

कल्पनाले आफ्नो ६० औ जन्मदिनको अघिल्लो दिन रमेशलाई फोन गरी । रमेशलाई यो दिनको वारेमा वास्ता समेत पनि थिएन । जन्मदिनको दिन रमेशलाई दिन तयार भएको वताई ।

क्याफेमा भेट भए ।
जीवन कसरी विते भनेर समिक्षा गरे ।
मैले त्यो एक दिन पहिला नै दिनुपर्ने रहेछ, गल्ती गरेछु –
जीवनको समिक्षा गर्ने क्रममा कल्पनाले भनी ।
किन ? – रमेशको स्वभाविक प्रश्न थियो ।

त्यो दिन मैले यत्रो जीवनमा भोग्न पाइन र अव त भोग्न संभव पनि छैन ।
रमेशको आंखामा आंखा जुधाएरै कल्पनाले भनी ।

आज पनि यसले मैले त्यो एक दिन के का लागि मागेको थिए भनेर सोधिन र आफै अर्थ लगाई – रमेशले मनमनै भन्यो – भो म पनि कमसे कम उसको मीठो कल्पनावाट विमुख गर्न चाहन्न ।

तपाइँको प्रतिक्रिया