नरेन्द्र प्रसाइँ र चरित्र हत्याबारे – १

  • ज्यो रत्ननिधि रेग्मी शुक्राचार्य

Untitled-1केहीदिनअघि हामी सनक सिंह राई, केर्मिला राई र म बाअच ५७५२ नंको गाडीबाट विराटनगर गयौं । यो गाडी राईजीको निजी हुनाले हामी रोकिंदै र दौडिंदै हिंडेका थियौं । राईजीको हेटौंडामापनि जग्गा रहेछ । हामी त्यहाँपनि केहीबेर अल्मलियौं । यताबाट हामी हिंड्दा पौने ७ बजिसकेको थियो । थानकोटको बाटो जाँदा ढिलो हुने भएकाले हामी दक्षिणकालीको बाटो हुँदै भीमफेदी निस्कियौं । त्यो बाटोमा बढी सुमोगाडी चल्दारहेछन् । बाटो निकै साँघुरो भएकाले सुमोको नै बढी दबदबा चल्दो रहेछ । धन्न हाम्रा राईजी शान्त र मिजासिला व्यक्ति भएकाले झगडामा फस्नु परेन । अहिलेपनि पूर्व–पश्चिम राजमार्ग अव्यवस्थित रहेछ । ठाउँ ठाउँमा बिग्रे–भत्केको र साँघुरो बाटोले बेला–बेला गाडी जाम हुँदा रहेछन् । बाटामा कुकुर, गाई र हाँस, कुखुराहरू तथा बाख्रा–पाठाहरू बग्रेल्ती छाडा छोडिएका हुँदारहेछन् ।

नभन्दै हामी चढेको गाडीले फर्किंदा एउटा कुकुरक च्याक्कै पारिदियो । ठाउँ–ठाउँमा प्रहरीहरू त थिए तर यात्रु बाहककालागि व्यवस्था चाहिँ राम्रो थिएन । हेटौंडामा सुरुङ्मार्गपनि बन्दैरहेछ । यो पूरा तयार भएपछि काठमाडौं एक, डेढ घण्टामा आउजाउ हुनेरहेछ । यसरी विभिन्न ठाउँको अवलोकन गर्दै हामी इटहरी पुग्यौं । मभने विराटचोकमा ओर्लिएँ र राई दम्पती चाहिँ दमकतिर लाग्नुभो । केर्मिलाजीको टाउकाको बिमार भएकाले ४ गते शनिबार सिलिगुडीको च्याङ्स् अस्पताल जानुभयो । यो अस्पताल च्याङ नाम गरेका चिनियाँ व्यक्तिले खोलेका रहेछन् । उनी चिनियाँ मूलका भारतीय नागरिकहुन् । यो अस्पतालमा प्रायः सबै किसिमको उपचार हुन्छ ।

मभने विराटनगरतिर बरालिंदै थिएँ । यो फेसबूक भन्नेले जताततै मार्केट लिएको रहेछ । त्यहाँ साथीहरूले यसबारे निकै रोमाञ्चक कुराहरू देखाए । एउटा चाहिँ आफ्नै विषयमा नकारात्मक लेखिएको लेख पढ्दा म छाँगाबाट खसेजस्तै भएँ । नरेन्द्रराज प्रसाइँको नामबाट लेखिएको त्यो आर्टिकलको शीर्षक थियो ‘परपीडक र परजीवी दुई निधिहरू १’

एउटा निधि यज्ञनिधि र अर्कोचाहिँ म रत्ननिधि । यो पढेपछि नरेन्द्रराजप्रति मेरो जुन आस्था र विश्वास थियो त्यो सबै गयो । किनकि सबैलाई थाहा छ यज्ञनिधि दाहाल अहिले जीवनमरणको दोसाँधमा छन् । २०५६ तिर फेरेको मिर्गौलाले काम गर्न छाडेर उनी २, ४ वर्षदेखि ओछ्यानको ओछ्यानछन् । उनी रेडियो नेपालमा साहित्य संसार चलाउँथे भने भानु माविमा नेपाली विषयको शिक्षकपनि थिए । वास्तवमा उनको घरको आर्थिक स्थिति त्यति बलियो थिएन । आफूले जागिर खाएपछि त्यसैको पैसाले सुधा आचार्यसित विवाह गरेका थिए । सुधाजी राम्रो भजन गायक र जर्मन प्रोजेक्टमापनि कामगर्ने भएकाले राम्रो कमाइ थियो । दुवै जनाले खटेर काम गरेको पैसाले घर बनाएका हुन् । फेरि नरेन्द्रजी काठमाडौं आउँदा केही थिएन । उनका जेठो दाजु दीर्घराज प्रसाइँ रापंस भएकाले भाइलाईपनि यतै खुट्टा टेकाइदिएका हुन् । हाल नरेन्द्रजीको घर भएको जग्गा खूदै दीर्घराजकी धर्मपत्नी सानोबाबू प्रसाइँका नाममा थियो । केही पैसा नलिई त्यो जग्गा देवरलाई दिएको बुझिन्छ ।

अझ घर बनाउन समेत दीर्घराजजीले प्रशस्त पैसा दिएका थिए । नरेन्द्रजीको उषा जोशीसित प्रेम भएको थियो । उषा जब गर्भवती भइन्, तब नरेन्द्रजीले त्याग्न लागेपछि दीर्घराजजीले बिहा गराइदिएका हुन् ।

यदि यो घटना उनले थाहा नपाएको भए यो प्रेम वियोगान्त हुनसक्ने थियो । वास्तवमा दरबारदेखि विभिन्न ठाउँमा दाइ रापंस भएकै नाताले नरेन्द्रजीको पहुँच बढेको थियो । पछि यिनै नरेन्द्रले दाइलाई सुन चोरेको आरोपसमेत लगाए । यिनले आफ्नै दाइलाई पनि गुनको बदला नूनचूक छर्केका छन् ।

एक समय अच्युतरमण अधिकारी, डा तुलसी प्रसाद भट्टराई, दाहाल यज्ञनिधि र नरेन्द्रराजबीच राम्रो दौंतरी थियो । उनीहरू उन्नयन परिवारमा थिए । अच्युतरमण अधिकारीले नरेन्द्रजीलाई राष्ट्रिविभूति मोतीराम भट्ट पुरस्कारकालागि सिफारिसगरेबापत यो परिवारमा फूट आयो । त्यो परिवारमा नरेन्द्रजीबाहेक सबै वीपी कोइरालाका अनुयायी थिए । नरेन्द्रजी पञ्चायतकालभरि महेन्द्रवादी, पछि कहिले कांग्रेस, कहिले एमाले र कहिले माओवादीपनि भए । उनले गिरिजाबाबूदेखि माधव नेपाल र प्रचण्डसम्म गरेको प्रशस्ति पत्र–पत्रिकाहरूमा पढिएकै हो । त्यसको प्रमाणस्वरूप माओवादीकी शान्ता श्रेष्ठलाई सम्बोधनगरिएर लेखिएको चिठीलेनै बोल्छ ।

उनी यसरीनै चाकडी गरेर वा गुलाम भएर रोजीरोटीको गुजारा चलाउँछन् । उनले पहिले खिड्खिडे बाइक कुदाउँथे, देवकोटा शताब्दीमा नाफा गरेको पैसाले अहिले कार चढेर हिँड्छन् । उनलाई साहित्य खूब फापेको छ । अभावमा बितेका देवकोटाका नाममा खानुलाई उनी अधर्म मान्दैनन् । उनको जीवनबारे छानवीन गर्न अख्तियार तयार छैन । किनकि उनले लोकमानलाईपनि पट्ट्याउन भ्याएका छन् । उनलाई सबै दलले पत्याउँछन्, प्रायशः दलहरू जसले घूस दिन सक्छ, त्यसैकापछि लाग्छन् ।

यसर्थ उनलाई लोकतन्त्रपनि फापेको छ । पञ्चायतकालमा बनेको बद्नाम मण्डले छविपनि लोकतन्त्रमा धोईपखाली चोखो बनाएका छन् । उनकोमा अहिले क्रान्तिकारी प्रश्रितदेखि शान्तिवादी नरहरिसम्म धाउँछन् । पुरस्कार त कतिले खाए खाए । नैतिकता नभएको ठाउँमा उनी ‘हुने बिरुवाको चिल्लो पात’ भएका छन् ।

जहाँसम्म मेरो विषयमा उनले लेखे, देवकोटाका नाउँमा खानुखायो भनेर । तर मैले आजसम्म देवकोटाको नाउँमा कतै १ रुपियाँसम्म खाएको कसैले प्रमाणित गर्न सके म अत्यन्त ठूलो सजाय भोग्न तयार छु । बरु देवकोटा अध्ययनमा ७ वर्ष बिताउँदा झण्डै ७० हजार मैलेनै खर्च गरेंहुँला । यसर्थ उनले मलाई देवकोटाको नाउँ बेचेर खायो भन्ने आरोप लगाएको एकरत्तिपनि सत्य नभएको उल्लेख गर्न चाहन्छु । मलाई उनले थोत्रा कपडा जडाउरी दिएको उल्लेख गरेका रहेछन् । म ६ वर्षभित्रै टुहुरो भएपनि परनिर्भर कहिल्यै बनिनँ । ११ वर्षको उमेरमा काठमाडौं आएको हुँ । मैले ३ वर्ष शिक्षण सेवा, ७ वर्ष भाषा सम्पादन, ६ वर्ष ज्योतिष सेवा, ७ वर्ष भन्दाबढी स्तम्भकार तथा १३ वर्ष भन्दाबढी पत्रपत्रिका, होजियरी, कपडा कारखाना आदिमा श्रम गरेर बिताएँ । यसका अलावा मानव अधिकार संगठनदेखि पत्रकार महासंघसम्म आवद्ध छु । मेरो आर्थिक हैसियत अहिलेसम्म के खाउँ र के लाउँकै हालतमा छ ।

तरपनि मैले आजसम्म कसैको जडाउरी चाहिँ लाउनु परेको छैन । भगवान्ले आजसम्म जसोतसो पुर्याइदिएका छन् । हो एक पल्ट म नरेन्द्रजीको घरमा पुगेको थिएँ । उनले मलाई तपाइँको बेग्लै तस्बिर बनाउनुपर्यो छ यी कपडा पहिरिनोस्त भनेर १ जोर कपडा दिएर फोटो खिचे, ल राम्रो आयो भनेर कपडा फुकाल्न लगाए । तर त्यो किन र के प्रयोजनकालागि गरियो भन्ने पत्तोसम्म मलाई भएन ।

२०५४ तिर म शान्ता श्रेष्ठको टहरोमा बसेको थिएँ । उनी बडो समाजसेवी ठान्थिन् आफूलाई । त्योबेला म असाध्यै ठूलो बिरामी परेको थिएँ । यो थाहा पाएर कवि मदन रेग्मीले नरेन्द्रराजजीलाई आग्रह गर्नुभएछ । त्यसबेला नरेन्द्रजी र इन्दिराजीको जोडी मकहाँ आइपुगेर रु १ हजार छोडी गए । त्यो पैसा मैले शान्ता दिदीलाई दिनुपर्दा म अस्पताल जान सकिनँ । जाबो रु १ हजार दिएर ४, ५ पल्ट बिलमा मलाई हस्ताक्षर गर्न लगाए । त्यसैलाई उनले विद्वत्वृत्ति दिएको थिएँ भनेर लेखेछन् । माफरहोस्, मैले सुनकोसी साहित्य प्रतिष्ठानले दिएको देवकोटा विद्वत्वृत्तिबाहेक अरु विद्वत्वृत्ति आजसम्म नलिएको घाम झैं छर्लङ्ग छ । उनले मलाई बिहे गरेर स्वास्नी खेद्यो भनेर हुँदै नभएको कुरापनि लेखेछन् ।

नरेन्द्रजीको आमा भगीरथा हुँदा म बरोबर भेट्न जान्थें । उनकी आमाले मलाई छोराजस्तै ठान्ने गरेकालेपनि गएको हुँ । उहाँकै अनुरोधमा म एउटा दशैंमा टीका लगाउन पुगेको हुँ । त्यहाँ मैले नचिनेकी एक जना स्वास्नी मानिसपनि टीका लगाउन आएकी रहिछन् । नरेन्द्रजीको आमाले हामी सबैलाई एकै पल्ट टीका लगाइदिनुभयो । प्रसाइँ दम्पती भने तस्बिर खिच्दै थिए । उनले त्यही फोटो देखाउँदै फलानाकी स्वास्नी भन्ने गरेकोपनि सुनियो । तर ती महिलालाई म चिन्दै चिन्दिनँ । यसरी पटकैपिच्छे तस्बिर खिच्ने गरेपछि २०६५ देखि उनको घरमै जान बन्द गरिदिएँ ।

अहिले त उनको अनुहार हेर्नपनि मन लाग्दैन । उनले भूपालमान पुरस्कार दिलाइदिएकोपनि लेखेका रहेछन् । माफ रहोस् मलाई प्राज्ञ घटराज भट्टराईले धेरै ठूलो अनुनय गर्नुभएकाले मात्र त्यो पुरस्कार लिएको हुँ । तर त्यो पुरस्कार दिलाउन ककल्ले मद्दत गरे त्यो चाहिँ मलाई थाहा भएन । घटराजजी शिक्षासेवी र भाषासेवी पनि भएकाले उहाँको अनुरोध म अस्वीकार गर्न सक्दिनथें । यही बाध्यताले भूपाल पुरस्कार लिएको हुँ । सबैलाई थाहा छ, त्यो पुरस्कार नलिने मन भएकाले पहिलो समाचारमा मेरो नाम थिएन । पछि सबै विचारका साथीहरूसित सल्लाह हुँदा निवेदन नहाली चाहिँ लिए हुन्छ भन्ने अनुमति पाएर मात्र स्वीकार गरेको हुँ ।

त्यसपछि उनले मलाई भूपाल अर्चना लेखाउन निकै जोड गरे । तर भूपालमान सिंह कार्की स्रष्टा नभएकाले मैले ठाडै इन्कार गरिदिएँ । भूपाल अर्चना लेखिदिए ठूलो पुरस्कार दिने प्रलोभनसमेत दिएका थिए । पछि देवकोटा शताब्दीमापनि उनले मलाई देवकोटाका अप्राप्य कृति र प्रसंग ल्याइदिन आग्रह गरेका थिए । उनी पैसा दिएर अरुलाई लेख्न लाएर आफ्नो नाममा किताब छाप्न खप्पिस थिए । त्यो काम मबाट सम्भव थिएन । म आफ्नो लेखकस्व मार्ने कुराको विरोधी हुँ । उनका किताबमा गहिरिएर हेर्योभने अरुका सिर्जना प्रष्टै थाहा पाइन्छ ।

देवकोटाको आनीबानी खूदै घटराज भट्टराईले लेखेका हुन् । पछि त्यसैलाई थपघट गरेर यिनले आफ्ना नाममा छपाएका हुन् । उनका अधिकांश कृतिहरू यस्तै नियतिका उपज हुन् । यसर्थ म उनलाई लन्ठ्याङ्लुन्ठुङ् लेखकका रूपमा हेर्ने गर्छु ।

नरेन्द्रजीले मलाई मात्र होइन, ताना शर्मा जस्ता विद्वान्लाई जागिर लगाइदिएको तथा यज्ञनिधिले उनका जुत्तामा पालिस गरेकोपनि लेखेका छन् । वास्तवमा नरेन्द्रजी जस्ता २, ४ जना भाडाका मान्छे राख्ने यज्ञनिधिको आर्थिक हैसियत छ । उनले उस्ताद भैरब बहादुर थापाले महिलाको स्तन माड्दै संगीत सिकाएको जस्तो अत्यन्त घटियास्तरको चरित्रहीन लेखपनि लेखे । दीर्घराज प्रसाइँले सुन चोरेको फरेबपनि लगाएका छन् । किशुनजी जस्तो सच्चरित्रवान राजनेतालाईपनि नानाभाँती लेखेका छन् । हुँदाहुँदा महाकवि देवकोटाले किशुनजीलाई मुद्दा हालेको झुटो बयान दिएका छन् । देवकोटा र किशुनजी युगवाणीमा सँगै कार्य गरेका सहपाठी भएकाले यो किशुनजीलाई बद्नाम गर्न मात्र लेखिएको थियो । देवकोटाले जीवनमै कसैलाई मुद्दा हालेनन् । उनले स्व जननायक वीपी कोइरालाले महाकवि देवकोटालाई सार्है सताएका थिए भन्ने हुँदैनभएको आक्षेपसमेत लगाए ।

वास्तवमा वीपीले नै महाकवि देवकोटालाई राष्ट्रिय सम्मान दिएको यथार्थ मैले जनतासामु राखेको हुँ । देवकोटा शताब्दीमा उनले देवकोटाकी श्रीमती मनदेवीलाई समेत कवि प्रसादकी प्यारीका रूपमा चित्रण गरेकाले महाकविकी स्व अर्धाङ्गिनीको अपमान नहोस् भनी मैले प्रतिवाद गरेको थिएँ । देवकोटाकी धर्मपत्नीका विषयमा नचाहिँदो लेखिएकाले मात्र मैले प्रसाइँको आलोचना गरेको हुँ । उनी सित मेरो व्यक्तिगत कुनै रिसइबी छैन । तैपनि उनले फेसबूकमा किन हाम्रो चरित्रहत्या हुने लेख राखे ?

यसपल्ट विराटनगर नगएको भए यो कुरा थाहा हुने थिएन । यतिका वर्षसम्म रहेको त्यो चरित्र हत्याको लेखबारे कतै कुनै प्रतिक्रिया पनि पाइएन । मलाई लाग्छ, यसलाई हाम्रो बौद्धिक समाजले खासै महत्व दिएन । नत्र त ठूलो चर्चा हुन्थ्यो होला ।

वास्तवमा यो लेख यसकारण लेख्नुपर्यो कि हालैमात्र उनले फेसबूकमा ‘परजीवी र परपीडकः दुईनिधि, रत्ननिधि र यज्ञनिधि’ भनेर राखेका छन् । यसले मेरा पाठक, दाहाल यज्ञनिधिका श्रोता सबैमा भ्रम सिर्जना गरेकाले हामी दुई निधिको महाकवि देवकोटाउपर रहेको भक्तिभावको अवमूल्यन नहोस् भनी आम पाठकवर्गमा जानकारी दिने उद्देश्यले यति लेख्न बाध्य भएको हुँ । भनिन्छ, गुहूलाई चलायो भने गन्ध मात्र फैलिन्छ । तर कहिलेकाहीँ गुहूपनि चलाउनु पर्दोरहेछ । जब सरकारमा बस्ने, पुरस्कारमा आँखा नदेख्ने अन्धाहरूको जमात हुन्छ, तब यस्तो गुह्ये र तुच्छ व्यक्तिबारे लेख्न बाध्य होइँदो रहेछ । अन्तमा मैले जीवनमा जुन त्याग, तपस्याग गरें, हण्डर भोगें, त्यस विरुद्ध नरेन्द्रराज प्रसाइँले जुन लाञ्छना लगाए त्यसको पाप कसैलाई नलागोस् । नरेन्द्रमा सद्बुद्धि पलाओस् भनी ईश्वरसित अपेक्षा गरेको छु । साथै बद्नाम मण्डलेहरू पाल्ने पोष्ने सबैको नास होस् । शुद्ध मान्छेको दिन आओस् भनी श्री पशुपतिनाथसित प्रार्थना गर्दछु । साँच्चै गहिरिएर पढे भने नरेन्द्रराजजी समेतलाई आफ्नो लेख्ने क्षमता देखेरपनि लाज लाग्नु पर्थ्यो । अस्तु ।

(लेखक महाकवि देवकोटा आश्रम तथा महाकवि देवकोटा साहित्य प्रतिष्ठान काठमाडौंसित संवन्धित छन् । यहाँ ब्यक्त बिचारहरु लेखकका नितान्त निजी हुन्, तिनले नेपालप्लससित कुनै सरोकार राख्दैनन् )

तपाइँको प्रतिक्रिया