केटीमाथि ‘एसिड हान्ने’ कर्याप्प ?
‘राँडीका छोरा, बढ्ता हुन्छस् † साले, तैँले मलाई चिनिनस् ? एसिड फ्याँकेर केटीहरुलाई ड्याम पार्न लगाउने मैँ हुँ ।’ केटोले मकवानपुरको चित्लाङ जाने बसको टिकट त लियो, तर सिटका लागि गलफत्ति हुँदा प्वाक्कै बोलिहाल्यो, यस्तो कुरा । आफ्नो थुतुनो भन्दैमा जथाभावी चलाउन बानी परेकाले होस् गर्नुपर्ने भएको छ । किनभने, ठूलै प्रलयमा परिन्छ आजकल ।
सोमबार बिहान राज्यव्यवस्था समितिको बैठकमा गृहमन्त्री वामदेव गौतम पीडित पक्षको सहयोग नपाउनाले बसन्तपुरमा तीन छात्रामाथि एसिड छ्याप्ने अपराधी हालसम्म पक्राउ नपरेको बताउँदै थिए । ठीक त्यहीबेला कलंकीबाट चित्लाङका लागि छुट्नै लागेको गाडीको ढोकामा उभिएर त्यो ठिटो बास्दै थियो । आजकलका जनता कति सचेत भने, प्रहरीको १०० नम्बरमा तुरुन्तै फोन गयो । भन्नेको हुलिया (२२–२५ वर्षको, तामाङ समुदायको), गाडी नम्बर, उसले बोकेको झोला, लुगाको रंग र ढाँचासमेत फोन गर्नेले टिपाएछन् । रानीपोखरीस्थित रिपिट टावरअन्तर्गत ‘मेट्रो कन्ट्रोल’ ले तुरुन्तै ‘इण्डिया कन्ट्रोल’ लाई खबर रिले गर्यो । खबर पाउनासाथ ‘इण्डिया थ्री’, अर्थात् ‘सुगर पापा’ (एसपी) मीरा चौधरीको टोली ज¥याकजुरुक उठ्यो र लम्कियो, कलंकीतिर ।
तर, बस हिँडिसकेको थियो । टोली थानकोटतिर हुँइकियो । बाटोबाटै नागढुंगा चेकपोष्टलाई आदेश गयो, ‘गाडी, त्यसमा सवार प्रत्येक मान्छे र गाडी स्टाफ, कोही पनि मिस नहोस् ।’ नागढुंगा प्रहरीले चेन बनाएर प्रत्येक गाडीको खानतलास लियो । तर, त्यो गाडी नागढुंगाबाट पनि उम्किएको पत्तो लाग्यो । न कतै बाटोमा हेर्न पो छुट्यो कि भनेर टोलीले कलंकीदेखि नागढुंगासम्म एकपल्ट ‘रिपिट फलो’ ग¥यो । फेला परेन । र, योजना बद्लियो । एउटा टोलीलाई फुटाएर तीनवटा बनाइयो र ‘अपरेशन चित्लाङ’ शुरु भयो । यसमध्ये गाडीलाई पिछा गर्दै इन्स्पेक्टर कमाण्डको टोली हिँड्ने भयो । केही समयको अनुसन्धानपछि पत्तो लाग्यो, त्यो गाडी नौबिसे काटेर नौघुम्तीतिर उक्लिसक्यो । इन्स्पेक्टरको टोली त्यतै हुँइकियो । टोली चित्लाङमै पुग्यो । त्यहाँ पुग्दा गाडी पत्ता लाग्यो । सोधखोज भयो, मान्छे कुन हो भनेर ।
संयोगबस शुरुमा १०० मा फोन गर्ने सुराकी पनि त्यही गाडीमा सवार रहेछन् । तिनकै सहयोगमा मान्छे फेला प¥यो, त्यहीँको एक खाजाघरमा । अरु सिसाको गिलासमा चिया पिउँदै थिए, ठिटोले चाहिँ स्टिलको गिलास बोकेको थियो । एकजना सादा पोसाकका प्रहरीले सोधे, ‘एक्लै दिने यार, हाम्लाई खोजखबर छैन ?’ ठिटोले ‘हान्दिम् न त हो, हान्दिम्’ भन्दै अर्को गिलास मगायो । ठिटोलाई रक्सीले लाग्दै गएपछि बल्ल सोधनी भयो, ‘एसिड त हाम्लाई नि चाहिया’छ यार । मिलाइदेऊ न साथी ।’ ठिटो हौसियो, ‘ह्या, केही गाह्रो छैन क्या !’ यसबाट प्रहरीले भेरिफाइ गरिहाल्यो, यो त्यही ठिटो हो, अघि कलंकीमा बर्बराउने । प्रहरीले च्याप्प समात्यो र लिएर हिँड्यो ।
काठमाडौं आइपुग्दासम्म रक्सीले छाडिसकेको थियो । आफूलाई प्रहरीले पक्राउ गरेको कुरा पनि उसले चाल पाइसकेको थियो । जब आइतबार साँझ हनुमानढोका लगियो, अनि भन्यो, ‘सर, रक्सीको तालमा मात्रै हो, मैले बोलेकै हुँ, तर गरेको होइन हजुर ।’ बोल्ने–बोल्ने, पछि होइन भन्ने । प्रहरी किन यत्तिकैमा मान्थ्यो र † रातभर केरकार गर्यो । अनेकन उपाय लगाएर सोध्यो । अलग्गै टोली खटाएर बयान लियो । र, २४ घण्टापछि निष्कर्ष निकाल्यो, ‘यो जँड्याहा नै हो, जाँडको तालमा मात्रै बोलेको हो । कसुरदार होइन ।’ ठिटो हिजो मंगलबार बिहानै छुटिसक्यो ।
किशोरीहरुमाथि एसिड प्रहार गर्ने व्यक्तिको खोजीका क्रममा हनुमानढोकास्थित अपराध महाशाखाले एसपी मीरा चौधरी र केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले डिएसपी खेम केसीको कमाण्डमा बेग्लाबेग्लै टोली परिचालित गरेको छ । अहिलेसम्म आशंकित व्यक्तिका नाममा दुई सय बढीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दै छाडेको छ । घटनास्थल बसन्तपुरका ठिटाहरुलाई त कत्रो हैरानी छ भने, कपाल पालेका, मुन्द्रा लगाएका, मोडिफाइड बाइक चढ्नेहरु हायलकायल भएका छन् । छिनछिनमै प्रहरीले लान्छ, छाड्छ । घटना भएको दिनदेखि केही युवा बसन्तपुरबाट हराएका रहेछन् । लगाउनुसम्मको जुक्ति लगाएर प्रहरीले तिनलाई ल्यायो । तर, संलग्नता पुष्टि नभएपछि सम्पर्कमा रहने गरी छोड्यो । कतिपय १८ देखि २२–२५ सम्मका युवाहरु हाजिर जमानीमा हनुमानढोका धाउँदैछन् । पीडित किशोरी अध्ययनरत स्कुलका भएजति सहपाठीलाई प्रहरीले बोलाउँदै, सोध्दै, बुझ्दै फिर्ता पठाएको छ ।
रमाइलो कुरा त के भने, काठमाडौंमा एसिडको बिक्री हुने र त्यसको प्रयोग हुने कुनै पनि ठाउँ प्रहरीले बाँकी राखेको छैन । प्रहरीस्रोतका अनुसार, अहिलेसम्म त्यस्ता करिब तीन सय पसल र प्रयोग हुने ठाउँमा सोधपुछ भइसकेको छ । बिक्री हुने ठाउँमा पुगेर प्रहरीले किन्नेको विवरणसमेत अद्यावधिक गरेको छ । कतिपय क्रेतालाई सोधपुछ पनि गरिरहेको स्रोत बताउँछ । प्रहरीले अपराधी पत्ता लगाउने प्रचलित विधिअनुसार, किशोरीहरुको मोबाइल, फेसबुकहरुको पनि जाँच पड्ताल भएको छ । पीडितमध्ये सीमा र संगीताले हालसम्म मोबाइल नम्बर र फेसबुक आइडी उपलब्ध गराएका छैनन् । हेमु मुखर्जीको मोबाइल नम्बर, फेसबुक अकाउण्टबाट प्रहरीले अध्ययन ग¥यो । कल डिटेल्सका आधारमा अनुसन्धान गर्दा घटनासँग सम्बन्धित व्यक्ति कोही पनि पत्ता लागेन ।
फेसबुकका पोस्ट, कमेन्ट, ट्याग र लाइक गरिएका विवरणका आधारमा केही युवामाथि अनुसन्धान ग¥यो । धेरैजसो देखाभेट नभएका साथी भएको पत्ता लाग्यो । पीडितका बाबुआमा नियमित सम्पर्कमा छन् । तर, उनीहरुलाई पनि कोहीमाथि शंका छैन । उनीहरु सरकारी (सामुदायिक) स्कुलमा पढ्छन् । काठमाडौंमा अति निम्न आयस्तरका बालबच्चा पनि आजकल निजी विद्यालयमा भर्ना गर्ने चलन छ । विद्यार्थी अभाव झेलिरहेका ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमा उति धेरै हाइफाइ पाइँदैन । अनुसन्धानरत एक प्रहरी भन्छन्, ‘अरुलाई ताक्दा यिनीहरु घानमा परेजस्तो बुझिन्छ ।’
(हिजो बुधवारको जनआस्थाबाट)




