को को पर्ने भए बिप्लवको निशानामा ?

सन्तोष बराइली

Netra_Bikram_Chand

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले भ्रष्टाचारी, सुन तस्करी, भूमाफिया र कालोबजारीलाई कारबाही गर्ने भन्दै आन्तरिक सूचना संकलनलाई तीव्र पारेको छ । चन्दले युवा, मजदुर, विद्यार्थी, शिक्षक सम्मिलित समूह बनाई भ्रष्टहरूको नालिबेली संकलन गर्न आन्तरिक रूपमा खटाइसकेका छन् । ठुल्ठूला भ्रष्ट र तस्कर उपत्यकामै रहेको भन्दै काठमाडौंबाट जनकारबाही सुरु गर्ने गोप्य तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

उसले प्रतितपत्र घोटाला, धमिजाकाण्ड, लाउडा प्रकरण, चाइना साउथवेष्ट, चेज एयर, नेपाल वायु सेवा निगम, माथिल्लो तामाकोशी, कृषि मल, लेबीको चिनी, वन फँडानी, डार्फर काण्ड, अपरकर्णाली, अरुण तेस्रो, मेलम्ची खानेपानीमा भएको अनियमिततामा संलग्नहरूलाई कारबाहीको घोषणा गरेको छ ।

राष्ट्रिय पुँजीलाई धराशायी बनाउन मुख्य भूमिका रहेको बहुराष्ट्रिय कम्पनीलाई पनि विप्लव माओवादीले निशानामा राखेको छ । विप्लव स्वयंले राष्ट्रिय पुँजीपति भन्दै केही ठूला उद्यमी तथा व्यवसायीसँग गोप्य भेटघाटसमेत गरेका छन् । भेटघाटमा उनले राष्ट्रिय पुँजीपतिलाई दलाल पुँजीपतिले विस्थापित गर्दै लगेको अनुभूति भएको बताउँदै काठमाडौंमा गर्न लागिएको जनकारबाहीलाई सहयोग गर्न अनुरोध गरेका छन् । प्रवक्ता खड्गबहादुर विश्वकर्मा भन्छन्, ‘क–कसलाई कारबाही गर्ने टुंगो लागिसकेको छैन । तर उपत्यकाबाटै जनकारबाही सुरु गर्छौं, अनि जिल्लादेखि गाउँसम्म विस्तार गर्छौ ।’

केन्द्रीयस्तरका सबैजसो नेताको उपनामसमेत परिवर्तन गरिसकेको माओवादीले नेताहरूलाई भूमिगत बनाएको छ । ग्रामीण इलाकामा युवादस्तालाई हान्नका लागि प्रशिक्षण तीव्र पारेको छ । साना भ्रष्टाचारीलाई कारबाही गरेर ठूलालाई डर देखाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीले रकम असुलेको प्रमाण फेला पारेको भन्दै भण्डाफोर अभियान सुरु गरिसकेको छ ।

जनआस्थासँगको संक्षिप्त भेटमा विप्लव कड्किए, ‘०४१ सालमा राजाको हुकुमप्रमांगीबाट एकैचोटि उपसचिव भएका लोकमानले सञ्चारसचिव हुँदा युटिएलले तिर्नुपर्ने १९ करोड राजस्व मिनाहा गरिदिए । भन्सार विभागको महानिर्देशक हुँदा ०५९ पुस ९ गते १० किलो सुन, ४ सय १० किलो चाँदी विनाराजस्व भन्सारबाट छुटाइदिए । पूर्वराजा ज्ञानेन्द्रको शाहीकालमा कथित नगरपालिकाको चुनाव र सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाउँदा ठूलै रकम चलखेल गरे ।’

त्यतिबेला उनी मुख्यसचिव थिए । जनआन्दोलन २ जाँचबुझ उच्चस्तरीय आयोगले कार्कीलाई दमनकारी प्रमाणित गर्दै सरकारी सेवामा कहिल्यै पनि प्रवेश गर्न नपाउने गरी दण्ड दिएको थियो । विप्लवले थपे– संसदवादी पार्टीका नेताहरूलाई आमजनताको विरोधको बाबजुद करोडौँ रूपैयाँ बुझाएर कार्की अख्तियार प्रमुख बन्न सफल भएका हुन् । ‘सानालाई पछि, ठूलालाई अघि’ को नाराअन्तर्गत विप्लव माओवादीले जनकारबाही सुरु गर्न लागेको बताइएको छ ।

ग्रामीण इलाकामा भने उसले पहिलेकै जस्तो रक्सी खाने, तास खेल्नेहरूलाई भाटे कारबाही गर्ने योजना बनाएको छ भ्रष्टहरूलाई मोसो दल्ने, जुत्ताको माला लगाएर गाउँ डुलाउने तयारी पनि छ । जनकारबाहीका लागि अन्तरजिल्लाका युवादस्ता प्रयोग गर्ने योजना छ । जस्तोः काठमाडौंमा जनकारबाही गर्न सिन्धुली र सिन्धुलीमा जनकारबाही गर्न काठमाडौंको मजदुर संगठनलाई तयारी अवस्थामा राखेको छ । प्रवक्ता विश्वकर्मा भन्छन्, ‘हाम्रा योद्धा कुनै ड्रेसमा हुँदैनन्, न कसैले चिन्छन्, आउँछन्, हान्छन् र हिँड्छन् । गुरिल्ला शैलीको लडाइँ हुन्छ अब ।’ हान्ने भनिएका युवादस्तालाई विप्लव स्वयंले तालिम दिइरहेका छन् । अहिले जनतामा लोकप्रिय हुने अभियान मात्रै चलाउने तयारी छ ।

तर, काठमाडौंमा गोप्य रूपमा जनकारबाही सुरु गरिसकेको अर्का नेताको दाबी छ । ती नेताले बताएअनुसार हेडक्वार्टरको सबै खर्च एउटा दैनिकका प्रबन्ध–निर्देशकलाई तिराएर जनकारबाही सुरु भइसकेको छ । साहुजीले गोप्य रूपमा खोलिएको हेडक्वार्टरको मासिक भाडा, टेलिफोन र बिजुलीको पैसा तिर्न सुरु गरिसकेका छन् । हेडक्वार्टरका लागि करिब सात लाख रूपैयाँको फर्निचर र कार्पेटसमेत किनिदिएका छन् । कारबाहीबाट जोगिन ठूला भ्रष्ट र तस्करहरुले धमाधम विप्लवलाई भेट्न जान थालेका छन् । तर, धेरैजसोलाई उहाँले भेट्नुभएको छैन, प्रवक्ता विश्वकर्माले भने ।

विप्लवले पछिल्लो समय सेना र प्रहरी पूर्वप्रमुखसँगको भेटघाटलाई समेत तीव्र पारेका छन् । उता, वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका युवालाई समेत भेटेर विदेशमा कमाइने तलब–भत्ता आफूहरूले यहीँ दिने भन्दै आफ्नो पार्टीमा लाग्न प्रेरितसमेत गरिँदैछ ।

(आज बुधवारको जनआस्था साप्ताहिकबाट)

तपाइँको प्रतिक्रिया