नयाँ वर्ष लागेछ

-दिलिप योन्जन-

 

dilipa-yonjon-usa-6677

मिठा सपनामा डुब्दा डुब्दै

 

सुख र शान्ति खोज्दा खोज्दै

 

कुन बाटो कता जाउँ हेर्दा हेर्दै

 

मन भरिको सवाल र जबाफको युद्धले

 

एक पना बेदना, बिरह र गीत

 

लेख्दा लेख्दै गन्तब्य भुलिएछ

 

न त हिँडेर उदेश्य भेटियो

 

न त खोजेर केही नै पाइयो

 

आफ्नै ब्यथा, कथा अनि पीडा

 

त्यही घर, भित्ता अनि फुटेको सिसा

 

हेर्दै बसियो, गर्न केहि सकिएन

 

घाम छिरेको छ, पानीले भिजेको छ

 

दिन दिन भन्दा भन्दै महिना बितेछ

 

महिना गन्दै हिजो बेलुकी लडेको

 

बिहान उठ्नै नपाई ओछ्यान मै

 

नयाँ बर्ष लगेछ

 

 

त्यो दिन कहिले आउला भनी

 

मेहेनतको पसिना बगाएर

 

शिखर चुम्ने आसै आसमा

 

दिन रात, रात दिन गरी

 

परिबर्तन आउने बिश्वासमा

 

मैनवती भै अन्धकारमा बले

 

न त कसैले देख्यो ढुख

 

न त कसैले सोध्यो पीडा

 

उकुस मुकुस उत्साही भाबनाहरु

 

लह-लह फुल्न नपाउँदै

 

मन भित्र भित्रै ओइलिएर

 

झर्न नपाउँदै फेरि फुल्ने आसमा

 

नयाँ पालुवा भै फेरि पलाउन खोजे

 

उमेर नपुगेर दिन गन्दै बस्दा

 

नयाँ बर्ष लागेछ ।

 

 

चाड पर्व लाग्यो

 

रमाउने रमाइरहेछ

 

हराउने हराइ नै रहेछ

 

हुनेलाई छँदैछ

 

नहुने खोज्दैछ

 

भएर पनि हराए जस्तो

 

सबै चिज छैन सस्तो

 

सबै फोस्रो खाली खाली जस्तो

 

देखिने लाज छोप्नलाई

 

खाली हात साहुको आस

 

दुईको चार, चारको आठ

 

जता टेके नि अभावै अभाव

 

यता नि भिर, उता हेरे तीर

 

खेत नि छैन, बारी नि बगायो

 

अब त त्यो पनि हरायो

 

जाने ठाउँ खोज्दा खोज्दै

 

मुल बाटो र चोर बाटो हेर्दा हेर्दै

 

नयाँ बर्ष लागेछ।

 

 

खेत बारीमा अन्न पाक्ला

 

अभाबको सागरमा मुना पलाउला

 

एक गाँस भए पनि सँगिनीसँग हाँसेर

 

भत्किएको भित्ता टालेर

 

मक्किएको खम्बा फेरेर

 

खुल्ला आकासमा सेउला हालेर

 

हावा हुरी नआउन्जेल सम्ममा

 

नयाँ डोब र किल्ला गाडेर

 

पहरोमा टहरो हालुँला

 

फाटेको चोली च्यातिएको फरिया

 

त्यो नाग्गेभुन्तेलाई भोटो

 

खुशीले आत्मा छल्किन्छ, पोखिन्छ

 

पसाइसकेको धान

 

फलिसकेको मकै

 

असिना पानीले कुट्नै कुटेछ

 

भत्केको कर्म, हारेको भाग्य

 

पुरिएको डोब र भत्किएको किल्ला

 

च्यातिएको मन सिउँदा सिउादै

 

नयाँ बर्ष लागेछ

 

 

जाडोमा कक्रिन्दै रात रातभरि

 

गर्मीमा पाक्दै दिन दिनभरि

 

माघको जाडो साट्नलाई

 

खुल्ला अकास, त्यो पेटी

 

बिहानीको शितसँगै बिउँझेको निद्रा

 

रात भर छट्पटिँदा देखेको सपनी

 

महलको सिसाहरुमा देखिने नांगो जबानी

 

साहुको आठ, बारा, बीसको काहानी

 

दुर्भाग्यको रेखा मेटिएला कि भनी

 

बुढि आमा अनि बाबुको सपना

 

एउटा पेटिकोट र अर्को इस्टकोट फेर्न

 

एकादेशको कथा झैं भा छ

 

फाटेको छ, च्यातेको छ देख्दैछु

 

कति हाँस्छ खिसी गरेर

 

कति रुन्छ आफ्नै दु:ख सम्झेर

 

कोही भन्छ शत्रुलाई पनि यस्तो नपरोस्

 

आमाको आशिर्वाद

 

बाबुको हाकिम हुने बरदान

 

सँगिनीको दुखेर भिजेको आत्मा

 

अभाबले पोलेको दुधे बालक

 

सोच्दा सोच्दै, हिँड्दा हिँड्दै

 

नयाँ बर्ष लागेछ

 

अस्टिन, टेक्सास, अमेरिका 

तपाइँको प्रतिक्रिया