कथा : मन्त्रीहरुको परीक्षा !

  • गौतम “उदय”/ अमेरिका

udaya-gautam-usaएक जोडी भर्खर बिबाहित लोग्नेस्वास्नी टाढाको खेतमा मेलोको झन्डै मध्यतिर थिए ।

“ए बाबु, तीर्खाले घाँटी सुकेर प्याक-प्याक भो, अलिकति पानी खान दिनुस् न ।” लट्ठी टेक्दै बिस्तारै बाटो काट्दै गरेकी बुढी आमाले ठिंग उभिएर घाँटीबाट बल्लतल्ल सास पुर्याउंदै टुक्रे र धोद्रे श्वरमा याचना गरिन ।

“लौनु हजुर आमा, पानी ।” लोग्नेचाहिंले सान्सानो लोटाभरि पानी टक्र्याए । बुढीमाउले किक्ली-किक्ली पार्दै एकै सासमा सकिन र सकेको बलले दुई तीनपल्ट आ….. गरिन् ।  “ठुलो धर्म गर्नुभयो बाबु, पानी खान दिएर । भोकले नि त्यस्तै भाउन्न बनाएर डंग्रंङ  ढल्छु कि जस्तै भा छ । खाने कुरा पनि केही छ कि बाबुसंग ।” पानी खाँदा बढेको सास केही मथ्थर पार्दै थपिन ।

“बिचरा ! ल लिनुस् ।  यो सप्पै खानुस्“ भन्दै आफूलाई ल्याएको अर्नी सबै दिए । “आहा, कति मिठो रैछ नि !” “आसिकै लागोस । मनले चिताएको सबै पुगोस् । यस्ता दयालु मान्छे पनि पाइँदा रहेछन यो पृथ्वीमा । कस्तो साइतले हिडिएछ आज । गासको बिचबिचमा यस्तै फत्फताउँदै सप्पै सकिन र खुसी हुँदै डकारिन ।

देब्रे कुममा भिरेको पन्तरो काखी मुनिबाट अघिल्तिर ल्याइन र खोतलखातल पार्दापार्दै एउटा सानो बाक्सा निकालिन । “साह्रै गुन लायौ बाबु, लौ यो तिमीलाई बाटाहिड्ने बुढी आमाको चिनो ।” भन्दै ऊ तिर तेर्छ्याइन ।

“के हो हजुर आमा यो ? के छ यसमा ” ती युबकले सोधे ।

“बाबु यो जादुको बक्सा हो । तिमीलाई मन लागेको जे माग यसको शक्तिले गर्दा भन्नेबित्तिकै त्यो कुरा तिमी भा ठाँ आइपुग्छ । तर जे मागे पनि तिन्टा इच्छासम्म मात्रै पुरा हुन्छन नि  !” बुढीले अर्थ्याइन् ।

“तिन्टा कुरा जे चिताए पनि पुग्छन, हजुर आमा ?” ती युवकले एकदम अचम्म पर्दै सोधे ।

“अँ तिन्टा मात्रै । त्यही भएर जे पायो त्यही माग्न हुन्न । राम्रो सोंचेर विचार पुर्याएर मात्रै माग्नु पर्छ ।” बाक्सा थमाइन र “ल त बाबु म जान्छु” भन्दै बाटो लागिन् ।

ती जोडी पनि मेलो सकेर साँझपख घरतर्फ लागे । घर पुग्दा थकाइले लखतरान, र भोकले चुर थिए ।

“आज एकदमै मिठो खाना खान पाऊँ परमेश्वर !” बुढी आमाले दिएको बाकसको नजिकै गएर हात जोडेर बिन्ती गरिन श्रीमतीचाहिंले । नभन्दै ढान्…टा…णा… गर्दै, हेर्दै मुख रसाउने बास्नादार खानेकुरा अगाडि आएर टक्रियो । दुबैले रमाईरमाई खान थाले ।

“वा, क्या दामी !, उंमम… ! यसैसित अलिकति वाइन पनि खानपाए त क्या मजा आउंथ्यो है बुढी ।” मुख कुच्च्याउँदै, आँखीभौं तन्काउन्दै, र मुन्टो हल्लाउंदै भने श्रीमतीको सक्कलमा सक्कल ठोकाएर । श्रीमतीले तु मन्जुर गरिन् । अनि उनले बाक्सातर्फ हात जोडेर पसारे र “लौ परमेश्वरी, खतरा मिठो वाइन आइज” भने । टाङ्ग्राङ्… टुङ्ग्रुङ्…गर्दै आएर एक बोतल वाइन टेबुलमा ठडियो । टिल परुन्जेल दन्काए जोईपोइले नै ।

खाली बोतल हेर्दै श्रीमतीलाई सोधे ती युवकले “अरु केके चिताएको पुग्छ यो बाकसले भन त भन बुढी ? भोलि पनि यस्तै मिठो खानेकुरा खान पाइयोस भनेर मागौं ?’ ।

“पख है पख बुढा, जे पायो त्यही मगौला नि फेरि । अब एउटा भन्दा बढी कुरा मागेर पाइन्न । अन्तिम एउटामात्रै बाँकी छ । “चिताएको तिन्टा कुरा भन्दा बढी पाइन्न भनेको बिर्स्यौ तिम्ले ?” श्रीमतीले दाहिने हत्केलो हल्लाउंदै भनिन् ।

“अँ त नि सांचै ! ठिक भनिस् बुढी । बेलैमा सम्झाइस् । याँ सुन, भोलि यो बक्सा लेर राजा काँ जानु पर्यो र सप्पै कुरा भन्न पर्यो ।”

“ ल तेइ गर्नु पर्यो ।” श्रीमतीलाई पनि ठिक लाग्यो श्रीमानको कुरा ।

भोलिपल्ट ब्यानै त्यो बक्सा लिएर श्रीमानश्रीमती नै राजा काहाँ गए, र सप्पै कुरा सुनाए ।  कुरा सुनेपछि राजाले आफ्ना तीनजना मन्त्रीलाई पनि त्यहीं बोलाए र के कुरा माग्दा ठिक हुन्छ भनी पालैपालो तिनैजना मन्त्रीहरुसंग उनीहरुको राय मागे ।

आफ्नो विचार पहिले राख्ने मन्त्रीले यसरी राय ब्यक्त गर्यो “ सरकार ! देशमा अनिकाल छ, जनता खान नपाएर मरिरहेका छन् । प्रसस्त अन्नपात पाइयोस् भनेर माग्नु बेस हुन्छ ।”

“तिम्रो के राय छ यसबारेमा ?” राजाले अर्को मन्त्रीलाई सोधे ।

“सरकार ! अन्नपात भन्दा त धेरै भन्दा धेरै पैसा माग्नु पर्छ । पैसा छयालब्याल भएपछि जनताले जे चाहियो तेइ किन्न पाउँछन्” दोश्रो मन्त्रीको विचार आयो ।

राजाले तेश्रो मन्त्रीलाई पनि त्यसरी नै सोधे ।

“अन्नपात अथवा धन माग्ने मूर्ख्याइं गर्नु हुन्न सरकार ! एकदम महत्वपूर्ण अर्कै कुरा माग्नु पर्छ” उसले आत्मविश्वासकासाथ भन्यो ।

“के हो त त्यो कुरा ?” राजाले फेरि सोधे ।

“हामीले ________ माग्नु पर्छ सरकार ! त्यसो गरियो भने देशमा अन्नपात, द्रब्य, रोजगारी, बिकास केहीको पनि कहिलै अभाब हुँदैन सरकार !!” ती मन्त्रीले आफ्नो राय राजामा जाहेर गरे ।

“आहा ! कस्तो राम्रो विचार । हो त्यसै गर्नु पर्छ” राजा लगायत सबैले ताली पड्काएर उक्त बिचारलाई समर्थन गरे । त्यसपछि त्यो देशमा अनन्तकालसम्म पनि कहिलै कुनै कुराको अभाब हुन पाएन ।

(उक्त मन्त्रीले के कुरा मागे होला ? हाम्रा मन्त्रीज्यूहरु अथवा तपाईं पाठकज्यूहरुको राय प्रतिक्रियामा प्राप्त भएपछि मिलेन भने बताइने छ यो कथा मैले अर्कै भाषाबाट साभार गरेको हुँ )

तपाइँको प्रतिक्रिया