शुभकामना नयाँ वर्ष

विद्या सापकोटा

 

काकाकुल झै तिर्खाएको शहर

 

लोडसेडिङले छपक्क छोपिएको बस्ति

 

सुनुवाइ कुर्दै छ देश, मध्यरातमा

 

अव विहानीको जगमगाउदो किरण बनेर आओस नयाँ वर्ष ।।

 

 

रेडियो खोल्दानखोल्दै झट्ट सुन्छु

 

कर्णालीमा भोकमरी

 

खान नपाएर को मृत्यु

 

यो कर्णाली पनि नेपाल मै पर्छ

 

भौगोलिकताको वोधवीच समृद्धी लिएर आओस नयाँ वर्ष ।।

 

 

पत्रिका हातमा

 

प्रेमको डोरीमा बाधिएर

 

साइँली पुतली पुगेछन् बम्बै

 

विश्वास समर्पणको पाठ सिकाउन आओस नयाँ वर्ष ।।

 

 

विदेशिएको छोराको चिठी वाच्न

 

पल्लो गाँउ पुगेका कान्छा बा

 

गाँउगाँउमा सिमांकन, अपहरणमा परे रे

 

वैमनस्यताको घाउ मेट्दै

 

शिक्षा सद्भावरुपि मलाम बनेर आओस् नयाँ वर्ष।।

 

 

श्रृखलाबद्ध पिडादायी समाचार,

 

वेरोजगारको भारी थाम्न नसकेर

 

हर्केले यो रे आत्महत्या

 

श्यामे रामे खाडिमा विचल्ली

 

मारिएछ माइलो, लाश अझै वेपत्ता

 

रोईरहेकि काइली आमा

 

प्रसन वेदनामा छटपटिइरहेकी चमेली दिदी 

 

सिन्दुर पुछिएकी माइली भाउजु

 

पिडा क्रन्दन हैन, शुभसंकेत बोकेर आओस नयाँ वर्ष।।

 

 

आलिशान महलभित्र भागवण्डारत

 

अंकल आन्टिको लागि मात्र हैन

 

त्यो हिमचुचुरामा सपना खोज्दै

 

यार्सागुम्बा टिप्न दौडेका कलिला फुलमायाहरु

 

जीउनैको लागि जीवनको सम्झौता गदै

 

पहाड फोर्दै गरेका हरिमान दाइहरु

 

चौरी भेडाहरुको वथानमा हराएका हिमाली काकाहरु

 

बन्द स्कुल, चर्खाका कातिदै गरेका लखन भाइहरु

 

भारी पर्खेर चोकमा उभिइरहेका धनजितेहरु

 

सबै सबैको लागि हाँसोको मुहान बनेर आओस् नयाँ वर्ष ।।

 

 

बन्दी बनेका विवश आवाजहरु

 

मारमा परेका दिनहिन शरिरहरु

 

निराशाले खुम्चिएका युवा मनहरु

 

आधार गुमाएका भविष्यहरु

 

छिचिएका, चेपिएका, पिल्सिएका

 

समग्र मनहरुका वीच, गोला बारुद हैन

 

प्रेम, सद्भाव, आशा विश्वासको पाठ लिएर आओस नयाँ वर्ष ।।

 

शान्तिको दिप सल्काउँदै उज्यालोको लालि लिपेर आओस नयाँ वर्ष ।।

 

शान्तिको दिप सल्काउँदै उज्यालो लालि लिपेर आओस नयाँ वर्ष।।

 

 

[email protected]

“Happy New Year-2066”

 

कल्याणपुर , नुवाकोट

 

हाल : शंकरदेव कलेज, काठमाडौं

 

 

तपाइँको प्रतिक्रिया