लक्ष्मी जयन्ती: नित्यराज पाण्डेले देखेका “महाकवि देवकोटा”

  • डा. लेखनाथ काफ्ले / ताइपेइ, ताइवान 

नित्यराज पाण्डे, रत्ननिधि रेग्मी शुक्राचार्य र धोबीधारा

Dr Lekhnath kafle-taiwan-22121234दुई बर्ष अगाडी नेपाल जादा मेरा मित्र ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ जो महाकवि लक्ष्मीप्रसाद देवकोटाका भक्त नै हुन र उनकै पथमा झ्याउरेमा नेपाली साहित्यको सेवा गरिरहेका छन् संग भेट भयो। उनले प्रस्ताव गरे आज म तपाईंलाई लक्ष्मी प्रसाद देवकोटाको घर र एकजना महत्वपूर्ण व्यक्ति संग भेट गराउदछु।

हामी पुग्यौं धोबीधारा महाकविको पुरानो घर जहाँ उनका छोरा बस्दछन र सामुन्ने थियो महाकवि देवकोटाका साहित्यिक कला संग्रहालय प्रतिष्ठान। सायद हामी बिना कुनै जानकारी त्यहाँ पुगेकोले होला हामीले बोलाउदा घरमा बस्ने कसैले आवाज त दिए तर तल आउने कष्ठ गरेनन। कबिजीको त्यो स्थान हामीहरुको लागि त तिर्थ नै थियो तर सायद हामी जस्ताहरुको भिडले उनीहरुको दैनिकीमा नकारात्मक असर पनि पर्ने संभावना पनि उतिकै थियो। हामीले केही थान फोटो खिच्यौँ र लाग्यौं कविजीका छिमेकी नित्यराज पाण्डेलाई भेट्न जो कविजीका सबै कुराहरुका साक्षी थिए एक छिमेकीको रुपमा, एक प्रशासकको रुपमा र एक साहित्य अनुरागीको रुपमा।

रात परिसकेको थियो, संजोगले त्यो दिन त्यो समयमा त्यो क्षेत्रमा लोडसेडिङ पनि। केही अध्यारा गल्लीहरु पार गरी हामी पुग्यौं नित्यराज पाण्डेको घर मै, कोठा मै। उनी नातिनातिनाहरू संग मधुरो प्रकाशमा कुराकानी मै थिए, जब हामी कोठामा प्रवेश गरेयौ। त्यहाँ पनि हामी हामी बिना कुनै जानकारी पुगेका थियौ। हामी कोठामा पुगे पछि उनले थाहा पाएका थिए हामी प्रवेश गरेको।

चिनापर्चीका सामान्य औपचारिकता र चिया संगै शुरु भए हाम्रा गन्थन। पाण्डे राम्रो अंग्रेजी बोल्दा रहेछन्। बि. स. १९४४ पौष २०, सोमबार नक्शाल, hulakकाठमाडौंमा जन्मेर धोबीधारा, काठमाडौं मै बसोबास गरेका उनले नेपाली भाषामा एम. ए., अंग्रेजी र अर्थशास्त्रमा बि.ए. र जनप्रशासनमा स्नातक तथा संस्कृत भाषा समेत अध्ययन दख्खल हासिल गरी नेपाली प्रशासनमा ४० वर्ष र सहसचिब पदमा मात्रै १७ वर्ष काम गरेको अनुभव गरेका एक कुशल प्रशासक पनि थिए। “महाकवि देवकोटा” पुस्तकका लागि २०१६ मा नेपाली साहित्यको महत्वपूर्ण पुरस्कार मदन पुरस्कार, साहित्य, समाजसेवा र सरकारी सेवाको लागि बिबिध पुरस्कार र सम्मान प्राप्त गरेका उनको सबै भन्दा महत्वपूर्ण कृति “महाकवि देवकोटा” नै हो।

पाण्डेको बारेमा कान्तिपुर (१८ जेठ २०५४) मा यज्ञेश्वर निरौलाले “देशको बिशिष्ठ प्रतिभाहरुको जीवनी लेखेर चिनाउने मोतीराम भट्ट पछि नित्यराज पाण्डे दोश्रो व्यक्ति हुनुहुन्छ। सर्वप्रथम देवकोटालाई चिनाउने वहाँ नै हुनुहुन्छ” भनेर बिस्तृत लेख नै लेखेका छन्। भेट पश्चात उनबाट मैले तीनवटा कृतिहरु (महाकवि देवकोटा, राजीवलोचन जोशी र केदार कल्प र नित्यप्रकास) उपहार स्वरुप प्राप्त गरे। “महाकवि देवकोटा” पाण्डेको महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा कमै मात्रै सतहमा आएका बिशेष जानकारीहरु पाईएकोले, तिनीहरु समस्त पाठकहरुमा उपयोगी हुने हुनाले केही अंशहरु यस लेखमा राखिएको छ। यो लेख मुलत उनकै किताबबाट जीवनी भागको केही अंशहरु जस्ताको तस्तै उतारेर तयार गरिएको हो।

तल्लो भैसोल्यादरा देवकोटगढी

देवकोटाहरुको मूल थलो नेपालको सुदुर पश्चिम अछाम घोडासैन नजिकै तल्लो भैसोल्यादरा देवकोटगढी हो। देवकोटाहरु समयक्रमसँगै बिबिध स्थानमा बसाइ सर्ने क्रममा बझाङ आएका र पछि बझाङमा वहाँका पुर्बज दानु पाध्या बझाङको मन्त्री समेत भएका थिए। पछि अन्त हिड्ने क्रममा बिबिन्न स्थान हुदै १८२५ मा नेपाल एकिकरण पश्चात महाकवि भन्दा ४ पुस्ता माथिका पण्डित लक्ष्मीधर र विद्याधर काठमाडौं आएका थिए।

तीर्थमाधवबाट लक्ष्मीप्रसाद

laxmi-2तिलमाधवकी कान्छी पत्नी अमरारज्यलक्ष्मीदेबीबाट बि. स. १९६६ कार्तिक २७ गते शुक्रबार कृष्णपक्ष अमावाश्या तिथि लक्ष्मी पुजाको दिन विशाखा नक्षत्र तुला राशिमा रातको ९ बजेर ५४ मिनेट जादा धोबीधारा टोलको ब्लक न. २१/५४१को घरमा महाकविको जन्म भएको थियो।

महाकविको जन्मपत्रिकामा त्यस स्थानको नाम कौमारी खण्ड जन्म साल १९६५ भनि लेखिएको भए पनि नित्यराज पाण्डेले बिभिन्न अनुशन्धान मार्फत जन्म मिति बि. स. १९६६ नै भएको निश्चित गरेका छन्।

लक्ष्मी पुजाको दिनमा लक्ष्मीको पुजा गरिसकेको केही समयमा जन्मेको कारणले लक्ष्मीको प्रसाद मानि नवजात बालकको नाम लक्ष्मी प्रसाद राखे पनि नक्षत्र अनुसारको वहाँको नाम तीर्थमाधव राखिएको थियो र जन्म पत्रिकामा नाम “ती” मात्र उल्लेख गरिएको थियो। सास्कृतिक नियमअनुसार कविले संकल्प आदि गर्दा तीर्थमाधव नै भनिन्थ्यो र कविको अन्त्य पछि वहाँको श्राद्ध आदि सबै कर्म तीर्थमाधव कै नामबाट गरिन्छ।

छरछिमेकमा उनलाई साइला बाजे वा साहिला दाई भनेर बोलाईन्थ्यो। ४ बर्षको उमेरमा सिकिस्त बिरामी भै सबैले आश मारे पनि पछि निको भएका थिए। उनी कसरी निको भयो भन्ने बारेमा एउटा कथा नै बनेको र त्यो कथा देवकोटा खलकमा अझै पनि चर्तित छ भनिन्छ।

राँचीको बास र अंग्रेजीमा एम. ए. को सपना

suryabikramकविका पिताले उनलाई पण्डित बनाउन चाहन्थे तर घर सल्लाहमा संस्कृत घरमै सिक्न सकिने हुनाले उनलाई अंग्रेजी पढाउनु पर्ने निधो भयो। सात कक्षामा नै उनले टुटफुट अंग्रेजी कबिताहरु लेखेका थिए।

१९८२ मा दश कक्षाको टेस्ट परिक्षामा चौथो भए भने सोहि साल पटना प्रथम श्रेणीमा म्याट्रीकुलेशन पास गरे र १९८३ मा त्रिचन्द्र कलेजमा बिज्ञान पढ्न भर्ना भए। कविको पटना विश्वविद्यालयको सन् १९२७ को दर्ता न. ३१ थियो र उनले बि. स. १९८५ मा आइएस्सीको परिक्षामा दोश्रो श्रेणीमा पास गरे। पछी कविले बिज्ञान छाडी बी. ए. को कक्षा तिर लागे। १९८६ मा पटना विश्वविद्यालयबाट बि. ए. पास गर्ने एक जन मात्र नेपाली थिए।

१९९३ मा पटना विश्वविद्यालयमा अंग्रेजीमा एम. ए. को फारम भरी जोडतोडले पढ्ने गरेकोमा स्वस्थ समेत बिग्रिएकोमा परिवारजनले मानशिक सन्तुलन बिग्रेको भन्दै राँची लगेर ४ महिना राखे, जसले गर्दा उनको अंग्रेजीमा एम. ए. गर्ने इच्छा अधुरै रह्यो। कतिपयले कबि साँच्चिकैdevkota-janmapatrika मानशिक रुपमा असन्तुलित भएको लेखेपनि पाण्डे भने त्यसमा सहमत छैनन।

१३ भाषाको ज्ञान

महाकविका पिता प. तिलमाधव पनि एक प्रतिष्ठित पण्डित र साहित्यिक व्यक्तित्व थिए। उनले केही स्त्रोत्र लेखेका र छापिएका समेत थिए। १९७६ मा कबि १० बर्षका हुदा पहिलो कबिता लेखेका थिए

घनघोर दुख सागर संसार जान भाई,

नगरे घमण्ड कहिले मर्नु छ हामीलाई।

उनका कबिता कति च्यातिए, कति हराए, ह्कती फालिए तर २५ बर्षको उमेरमा “पुर्णिमाको जलधि” १९९१ मार्ग १५ गते शुक्रबारको गोरखापत्रमा प्रकाशित भयो। त्यतिबेला रचना गोरखापत्रमा प्रकाशित हुनु भनेको ठुलो गौरबको बिषय हुनेगर्दथ्यो। लगतै १९९१ मै “गरिब” कबिता शारदा माशिक पत्रिकामा देखियो। १९९३ सालको कार्तिक महिनामा कविको पहिलो निबन्ध “असार पन्ध्र” शारदामा छापिएको थियो।

१९९५ को गोशाइस्थानको यात्रामा पखाला लागेर धेरै दुख पाए, सहयात्रीले छाडेहिडे तर स्थानीय व्यक्तिले जडीबुटी खुवाएर उपचार गरे। सामाजिक-आर्थिक घटना राखेर गोशाइस्थानको यात्रामा देखिएको भोटको चित्रण र अनुभव झल्काइ झ्याउरे छन्दमा मुनामदन र म्हेन्दु लेखेका हुन। मुनामदन कविले आफुले नै लगानी गरी प्रथम पटक प्रकाशन गरेका थिए। मुनामदनमा कविको घरमा सहयोगीको रुपमा बिरमान तामांगसंगको कुराकानीको पनि प्रशस्तै प्रभाव परेको मानिएको छ।

devkota-english-handwriting

१९९५ मा बालकृष्ण सम संग भएको भेटमा बालकृष्ण समले मुनामदनको प्रशंसा गरेछन र कविले “हजुर संग प्रतिस्पर्धा गरेर हिड्न मन लाग्छ” भनेका थिए।

devkota-nepali-writing१९९६ जेष्ठमा कविको “उनको मने” भन्ने प्रथम कथा शारदामा प्रकाशन भएको थियो। १९९७ मा छापिएको राजकुमार प्रभाकर केटाकेटीहरुलाई कथा भन्दाभन्दै तिनै कथाहरुलाई मिलाएर लेखिएको कृति हो। १९९७ मा स्वास्थ्य कमजोर भए पछी २-३ महिनाका लागि आफ्नो मामा ससुरालीको घर प. न. १ झिल्टुङ गए। त्यहाँको पहाडी जीवन, त्रिशुली र कोल्पु नदीको रमणीयताको प्रेरणाले कुन्जनी रचना गरे। कुन्जनी उनले एक दिनमै लेखेका थिए। मुनामदन, कुन्जनी र म्हेन्दु झ्याउरे लयमा लेखिएका कृतिहरु हुन।

१९९८ मा शिव प्रताप शमसेर थापाले भू. पू. प्रधानमन्त्री जुद्दशमसेरको शिकार डायरी लेख्न ३-४ महिना कविलाई आफ्नै घरमा राखी नेपालको भौगोलिक बर्णनसाथ जुद्दशमसेरको १९९०-१९९७ सम्मको चितवन, नयाँ मुलुक, मोरंग, महोत्तरी, सर्लाही, अमलेखगन्ज आदि स्थानको शिकार र तत्कालिन भारतको भाईसराय समेत १ पालि सम्मिलित भएको शिकार बर्णन कविले अंग्रेजीमा गरेका थिए। पछी यो संशोधन सहित ई. ए. स्मिथिजको जिम्मा लगाइयो। पछि स्मिथिजको नामबाट नेपाल शिकार-बर्णन किताब (Big Game Shooting in Nepal) १९९९ सालमा निस्कियो र पुस्तक अनुवाद गरेबापत कविको नाम पनि उल्लेख गरिएको छ, यो काम गरेबापत कविले रु. ४०० पाएका थिए।

२००२ सालमा तीन महिनामा ५५७ पृष्ठको शाकुन्तल महाकाब्य र १० दिनमा सुलोचना महाकाब्य लेखेका थिए।

amar-rajya-laxmi-deviराजा महेन्द्रको २०१२ को भारत भ्रमणको भ्रमणवर्णनको केही अंश पनि कविले अंग्रेजीमा अनुवाद गरेका थिए।

कबि शिरोमणि लेखनाथ पौड्यालले तरुण तपसीका लागि भूमिका लेख्न अनुरोध गरे पनि कविले समय अभावले लेखेनन तर पछि एउटा समिक्षात्मक लेख “तरुण तपसी-प्रदक्षिणा” भने लेखेका थिए।

२०१४ अषाढ ९ गते स्थापना भएको नेपाल एकेडमीमा कविको ठुलो देन छ, उनी स्थापना काल देखी नै सदस्य रहे।

कविलाई १३ भाषा संस्कृत, नेपाली, अंग्रेजी, हिन्दी, नेवारी, बंगाली, उर्दु, फ्रेन्च, जर्मन, चिनिया, तिब्बती, इटाली र रुसी भाषाको ज्ञान थियो। कविको घरमा सहयोगीको रुपमा बिरमान तामांग पनि थिए, उनी संगै कविले तामांग भाषा सिकेका थिए। कविले एकै समय नेपाली र अंग्रेजीमा कलम चलाउथे।

ट्युसन, पुस्तक लेखक देखि प्राध्यापक सम्म

धेरै जसो बिषयमा बि. ए. सम्मकालाई दैनिक १५ घण्टासम्म ट्युसन पढाउनु नै कविको अर्थोपार्जनको मुख्य साधन थियो। कविको साहित्यिक गुणले गर्दा २००० साल भाद्र ११ गते ३४ बर्षको उमेरमा नेपाली भाषानुवाद परिषदमा नेपाली पुस्तक लेखकमा मासिक ७० रु. पाउने गरी जागिर पाएका थिए।

२००२ सालमा एक दिन पानी परेको दिन छाता ओढी कार्यालय आउदा तत्कालै सम र अन्य कर्मचारीले कविलाई केही बोल्न भनेछन, कविले पनि आफ्नो हातमा भएको छाताको बारेमा नै १.५ घण्टा बक्तब्य दिएछन। अनि त सबै चकित भएछन। त्यस्तै एक दिन समितिमा ल्याइएको अनारको बिषयमा कविलाई बोल्न लगाउदा श्रोताहरुले कार्यालय समय सकिसकेको पत्ता न पाउदा पालेले “अब अड्डा बन्द गरु की” भन्नु परेको थियो।

कविको बिलक्षण प्रतिभा देखेर २००३ साल अषाढमा सरकारले त्रिचन्द्र कलेजमा अंग्रेजी र नेपालीको प्रोफेसरमा नियुक्ति दियो। उनको तलब दर्शनभेट रकम ५० काटी गरी ९५.७३ रुपैया मासिक हुन्थ्यो। बि. ए. मात्रै पास गरेका मान्छे त्रिचन्द्र कलेजमा प्रोफेसरमा नियुक्ति हुनु त्यतिबेला ठुलो कुरो थियो।

कबि मासुका निकै पारखी थिए, उनलाई थोरै मासुले हुदैनथ्यो र चुरोट उनको सबै भन्दा नजिकको साथी थियो। तास्कन्दमा रहदा चुरोट अति नै पिउन थाले पछि साथै रहेका कबि माधब घिमिरेले “तपाईंको स्वस्थ बिग्रेको देखेर मैले चुरोट खान छोडे, तपाईं पनि नखानुस” भन्नु परेको थियो तर पनि उनले जीवनको चरमसीमा सम्म पनि चुरोट छाडेनन्। कविलाई निद्रा खुब पर्दथ्यो। त्यसैले उनी समय पाउन साथ मस्तसंग सुत्दथे।

कविलाई पासा खेल्नु अर्को मन पर्ने बानि थियो। पासा खेल्न थाले पछि रातका रात पासा खेल्ने बानि थियो। जुवाकै खेलको आधारमा १६ पृष्ठको “जुवा” निबन्ध लेखेका थिए।

राणा र बनारस

राणा शासन विरोधी आन्दोलनमा सहभागी हुन कबि कांग्रेसमा सम्मिलित भएको र बनारस पुगेको (२००४ साल श्रावण ३ गते) थाहा पाए पछि कविको जागिर त गयो नै आर्थिक अवस्था त नाजुक नै भयो। घर, संपत्ति सरकारले रोक्का गरिदियो। माहिला छोरा कृष्णप्रसाद टाइफाइडले २००४ आश्विन २० मा मृत्यु हुदा राणाका डरले इस्टमित्रहरु, छिमेकी र नातेदारहरु समेत टाढा भएकोले दिनभरी छोराको लाश उठाउँने मान्छे समेत नपाएर बेलुका ४ बजे कुनै एकजना दयालुको सहयोगमा अन्तिम संस्कार गर्नु परेको थियो।

पछि आफै बेसरी थालिए पछि र बज्यै (कबिकी श्रीमती मनदेबी देवकोटा) ले सडकमा मागेर जीविका चलाउनुपर्ने पर्ने भएको अवस्था थाहा पाएपछि नेपाल सरकारले नै कविलाई नेपाल झिकाउन उनका भाईलाई बनारस पठाएको थियो।

डा. के. आइ. सिंह नेपाल फर्के पछिको पहिलो आमसभाको सभापति कबि नै भएका थिए। २०१४ सालमा डा. के. आइ. सिंहको छोटो समयको मन्त्रिमन्डलमा कबि शिक्षा तथा स्वायत्त शासन मन्त्री पनि बने। त्रिभुवन बिश्वबिध्यालय स्थापना हुनु र विद्यालय तहमा नेपाली भाषाको अध्यापन हुनुमा कबि कै ठुलो हात छ।

विदेश र बेइमानी

२०१० श्रावण १४ गते कबि चौधौं विश्व युवक महोत्सवमा भाग लिन स्विट्जरल्यान्ड गए, त्यहाँबाट हंगेरी र रोमानियाको राजधानी बुखारेस्ट पुगे। बुखारेस्टमा २० दिन बसी भाद्र ८ गते रुसको राजधानी मास्को पुगेर २ दिन घुमे। त्यसपछि त्यहीबाट उनी आश्विन १५ गतेको चिनिया राष्ट्रिय दिवस मनाउन चीन पुगे। चिनिया रेडियोमा पनि कविले बोले। २०१५ साल आश्विनमा कविलाई अफ्रोएसियाली लेखक सम्भेलनमा भागलिन ताशकन्दबाट निमन्त्रणा आयो। बज्यैले कविको स्वस्थ असाध्यै नराम्रो रहेकोले नजान वा हेरबिचारको लागि आफु पनि संगै जाने कुरा बताएपछी ताशकन्दबाट दुवै जनाको लागि व्यवस्था भएको थियो। तर पछि घर ब्यबहार चलाउनका लागि ब्यबस्था गर्न र राहदानी बनाउन समय अभावले धौ भए पछि दिल्लीबाट झटाझट जेट चढी आश्विन ११ गते उजबेकिस्तानको राजधानी ताशकन्द बज्यैका पुगेका थिए।

कविले ताशकन्दमा सुनाउन एकै पृष्ठमा एकातिर नेपाली र अर्को कुनामा अंग्रेजीमा कबिता लेखेका थिए। ताशकन्दमा कविको कबिता, विचार र प्रतिवेदनलाई उच्च मूल्यांकन गरियो। पत्रकार माझ कविको छबि केन्द्र मै रह्यो।

तर त्यहाँ कबि बिरामी परे र उनी मास्को अस्पतालमा २८ दिन बस्नु पर्‍यो। उक्त सम्भेलनमा कविले नेपालको गौरब र नेपाली साहित्यिकको रुप संसार समक्ष झल्काउए। अन्य देशका मानिसहरु नेपाली र अंग्रेजी साहित्यिकमा कविको दखल देखेर चकित भए। तर काठमाडौंमा कबिका विरोधीहरुले सोधपुछ नगरी तास्कन्द गएको भनि पोल लगाएर एकेडेमीबाट आउने मासिक तलब नै रोकिदिए।

कबि सिकिस्त बिरामी भएर पैसाको अभाव झेल्दै गर्दा पनि एकेडेमीबाट आउने मासिक तलब आएन तर कविका बिरोधीहरुले लगाइएको आरोप झुठ रहेछ भन्ने प्रामाणित भए पछि ८ महिना मध्ये सात महिनाको तलब पाए। एक महिनाको तलब चाहिँ अनुमतिबिना ताशकन्द गए बापत कविलाई अनुशासनमा राख्न भनि रोकेरै राखियो।

गरिबी र विषका कुरा

laxmi-prasad-lekhnath-paudyal-balkrishna-samसारै दुख परेको बखत कविले बज्यैलाई “छोराछोरीलाई समाजको जिम्मा लगाएर छोडिदिउ, तिमी र म सुत्ने बखतमा बिष खाएर संसार त्यागौं” भनि बारम्बार भन्ने गर्दथे। उनी संग एक पटक राम्रो धोति समेत नभएकोले “लगौटी मात्र लागाएर निर्लज्ज भै बाहुनिका अगाडी म भात खान्न, म मुर्दा हु” भनेर ३ घण्टा सम्म खाना नखाई बसेका थिए।

ताशकन्दबाट फर्के पछी उनलाई पेटको क्यान्सरले झन च्याप्यो। नेपालको उपचारले नसकिने भए पछी कलकत्ता जाने योजना बन्यो तर पैसा थिएन। पछि बिभिन्न संघ सस्था र व्यक्तिहरुले स्वस्फूर्त रुपमा चन्दा र आर्थिक सहयोग गरेका थिए। अन्त्यमा उनी कलकत्ता जाने भए र उता जानु अघिल्लो दिन २०१६/३/५ मा जनसमूहलाई धन्यवाद दिंदै प्रकाशित वक्तव्य यस्तो थियो;

“म पेटको रोगले अतिग्रस्त भएको बेलामा बिशेष बिद्ध्यार्थी र साहित्यिक बन्धुहरुले जो म उपर हार्दिक सहानुभूति राखेर अर्थको  र अरु सहायता गरें प्रयास गर्नु भयो त्यसकालागी म हार्दिक कृतज्ञता ज्ञापन गर्न उत्कष्टित छु। बिशेष कलामन्दिरका सदस्यहरुले स्वविवेकले आमजनताबाट हिजो जो करिब ९० रु. चन्दा दिनुभयो त्यो मैले सहस्र सम्झी स्वीकार गरे। त्यस्तै कान्तिपुर नगरपालिकाका अध्यक्ष र सदस्यहरुले जो ५०० भा. रु. प्रदान गर्नु भयो त्यसका लागि उहाँहरु प्रति र मेरो दशाले मन दुखेका जनता प्रति पनि हार्दिक कृतज्ञता अभिव्यक्त गर्दछु। त्यस्तै नेपाल-भारत मैत्री संघले मेरो उपचारार्थ ५०० भा. रु. प्रदान गरेकोमा म सो संस्था र त्यसको अध्यक्षप्रति मेरो धन्यवाद छ। बिध्यार्थीबर्गले बिशेष गरी मेरो अस्वस्थतामा चिन्तित भएकोमा र सहायता nitya-raj-ratna-nidhiगर्न परिश्रम गरेकोमा म अतिशय ऋणी छु। विद्यार्थीबृन्दमा परेको चेतनाको तिब्रता बढेको देखेर खुब हर्षित पनि भए। आमजनताबाट चन्दा माग्ने काम स्थगित गरिदिनोस भनि मैले सबै वर्गसंग प्राथना गरेको छु। किनभने राष्ट्रपिता श्री ५ बाट मलाई अस्ति बेलुका मेरो बिन्तीपत्रको प्रतिउत्तरमा उपचारार्थ २००० भा. रु. बक्सेको छ। माननीय मन्त्री गणेशमान ज्युले पनि स्वंय आज वा भोलि कलकत्ता उढेर जानु, पछिलाई नपुगेको हामी जसरी पनि तपाईंले लेखि पठाए पुर्‍याइदिउला भनि आश्वासन दिएकोले म यथासम्भव भोलि सम्ममा कलकत्ता उड्ने चाँजो मिलाईरहेको छु। जय नेपाल।”

कविका सहयोगी एकेडमिका सदस्यहरुले पनि कविलाई प्रत्येक सदस्यको १५ दिनको तलब कविका निम्ति प्रदान गर्दा ३१५० रु. जम्मा भएको थियो। श्री ५ इश्वरीराज्यलक्ष्मीबाट ५००० रु. कविलाई सहयोग प्राप्त भएको थियो।

कलकत्तामा उनलाई एस. एस. के. एम. अस्पातलमा भर्ना गरिएको थियो। केही दिनको उपचार पछि उनी नेपाल फर्की शान्त भवनमा भर्ना भए। क्यान्सरको पीडाले ग्रस्त भए पछी कविले अस्पतालमा ईश्वरको सम्झनामा भक्तिरसको “प्रलय बेदना” कबिता लेखेका थिए। कबिताको अन्तिम दुई लाईन,

अब यसलाई केही छैन गयो कहाँ यो पुग्यो कहाँ

केवल बिषको थोपा पिउदै अझ जल्दै छ बसी यहाँ।

devkota-wifeकविको अन्तिम समय तिर भेट्न आउने व्यक्ति संग “मेरो मित्र हुनुहुन्छ भने मलाई पोटासियम साइनाइड, ओपिएट आदि बिष दिनुहोस” भनि हृदयविदारक स्वरले कराउथे। उनले भन्थे “क्यान्सरको बिरामीलाई निको पार्नु भन्दा बिष दिनु धेरै असल” साथै, “म स्वर्ग भन्दा ठुलो ठाउँमा जन्मे तर आज यहीको आकास कराही घोप्टे झैँ अन्धकार पार्न लागिरहेछ” भन्थे।

२०१६ भाद्र १६ गते कविले “म खुब बाँचे तीन हप्ता नत्र भने त्यस अगाडि नै…” भनि आफ्नो अन्तिम समय आएको बताएका थिए। कविलाई मृत्युको त्रास थिएन त्यसैले कविले भेट्न जानेहरुलाई “मृत्यु पछी के हुन्छ? म अनुशन्धान गर्छु” भन्दथे।

भाद्र १९ दिउसो कविले उपचारमा संलग्न डा. मिलरलाई दिन अंग्रेजीमा इश्वर प्रति” र भाद्र २१ साँझ ६ बजे अर्को अंग्रेजी कबिता “Promothean pain I bear with tear on tear”  लेखेर दिए। यो कबिता नै कविको अन्तिम कबिता हो।

जीवनका अन्तिम दिनहरु

devkota-at-pashupatiकविको शरीरमा रगतको कमी हुदै जादा युबक पद्मनाथ देवकोटा र भोलामानसिंहले रगत प्रदान गर्नु भयो तर डा. मिलरले कविको अन्त्य नजिकछ भन्ने संकेत गरे पछि भने कविले मानव रक्त नलिने अटोट गरे र २०१६/५/२६ शुक्रबार हालखबर पत्रिकालाई यस्तो पत्र पठाए,

श्री संपादकज्यू

हालखवर, काठमाण्डौं, नेपाल।

महाशय,

तपाईंले शुरुदेखि अहिलस सम्म मेरो उपर देखाउनुभएको सहानुभूतिका निमित्त म तपाईंलाई धन्यवाद नदिई रहन सक्तिन। अब म मानवरक्तले जीवन ८/१० दिन लम्ब्याउन अतिबेदना सम्झंछु। मलाई दिईने रगत अरु कुनै बाँच्न सक्ने रोगीलाई दिएमा त्यसको सदुपयोग हुनेछ। दुई साहसी युबक भतिजा पद्मनाथ देवकोटा र भोलामानसिंहले मलाई रक्त प्रदान गरी दुईचार दिनदेखि आजसम्म जिलाए। उनीहरु चिरायु हुन। अब म मानवरक्त लिन्न र दिन चाहने व्यक्तिलाई धन्यवाद दिन्छु।

भवदीय

लक्ष्मीप्रसाद देवकोटा

शान्तभवन

२६/५/२०१६

devkota-newspaper-comment

२९ गते अन्तिम दिन बिहान कविले श्रीमतीलाई सोधे “बज्यै ! तिमीसंग अब कति पैसा छ?” बज्यैले “बुबाहजुर ! १०० – २०० छ” भनिछन। अनि कविले “म तीन चार दिन बाँचे भने तिनीले खान दिन सक्दिनौ। यति भए मेरो अन्तिम संस्कार गर्न पुगीहाल्छ, भैगो” भनेका थिए। त्यही बिहान मन्त्री गणेशमान सिंह भेट्न जानुभएको थियो। कविले उनीसँग “म माटोमा मिले पनि नयाँ नेपालको निर्माण होस, प्रजातन्त्र फलोस-फुलोस, मर्न नपाओस भनेका थिए भने अति पीडाले गर्दा गणेशमान सिंह संग “मलाई ५ ग्रेन मर्फिन, ३ ग्रेन सुत्ने औषधी दिइयोस् र घर बेचेर पनि मेरो ऋण तिरियोस” भनेका थिए।

कविले सारा जनता सम्झेर “म मा कसै प्रति रिसराग, असन्तोष छैन। प्रत्येक नेपाली र बिश्वका प्रत्येक मानव मेरा आजन्म मित्र हुन। सबैबाट मैले जीवनपर्यन्त सहानुभूति र सहायता पाए, हालमा पनि पाउदैछु। यसका निमित्त सबैमा मेरो हार्दिक धन्यवाद छ। अन्तिम नमस्कार टक्र्याएको छु” भन्दै हिन्दु आदर्श अनुसार अन्तिम संस्कार होस भन्ने भावना व्यक्त गरेका थिए।

अन्तिम स्वास गन्दै गर्दा पनि मृत्यु हुनु भन्दा २ घण्टा अगाडी सम्म पनि उनीमा चेनता थियो। कबि गते अनुसार ४९ बर्ष १० महिना ३ दिन र तिथि अनुसार ४९ बर्ष १० महिना १३ दिन पुगी भाद्र शुल्क त्रयोदशी तिथिमा पशुपति आर्यघाटमा २०१६/५/२९ सोमबार साँझ ६ बजेर १० मिनेटमा कबि सारा देशवासीलाई रुवाएर पंचतत्वमा मिले। पशुपतिको भस्मेश्वरमा राति १ बजे कविको अन्तिम संस्कार भयो।

devkota-smiling“उदेश्य के लिनु ? उडी छुनु चन्द्र एक” लेखेका कविले मृत्युको दिन बिहान २/४२ मा नै मानव इतिहासमै पहिलो पल्ट सोभियत रकेट चन्द्रमामा पुगेको खबर पाएका थिए।

कविको मृत्युमा राजा महेन्द्रले पनि एक गहिरो र मर्मस्पर्शी सन्देश दिएका थिए। त्यस्तै गरी प्रधानमन्त्री बिपी कोइरालाले पनि एक छोटो तर भाबुक मन्तव्य दिएका थिए।

सरकारले ऋण तिर्न २२,००० रु, अन्त्यष्ठी गर्न ३,००० र दुई छोरा बालिग नभएसम्म मासिक १००/१०० का दरले भत्ता दिएको थियो।

कविका किताब

devkota-last-stageकविलाई होहल्ला र कोलाहल वा केटाकेटीहरुको उफ्राई वा बुइ चढाईले पनि लेख्न केही फरक पर्दैनथ्यो। उनले एक डोका रचना ने. भा. प्र. समितिलाई हस्तान्तरण गरेका थिए भने एक डोका जति घरमै रहेका थिए। कविले कम्तिमा पनि १०० वटा किताब लेखेको अनुमान छ।

उनका रचनाहरु कति हराए, कति जले, कति चुरोट संगै सल्किए। बज्यैले पनि “डोको न डालोको काम गरी न पेट भर्ने, न काम टर्ने के लेखिरहेको” भनेर बेलाबेलामा करकर गर्दथिन र झर्को मानेर यताउता फालिदिन्थिन।

कबिता माग्न आउनेलाई आफुले भन्ने र लेख्नेलाई कलमले लेख्न लगाउथे। त्यसो गर्दा उनी थाक्दैनथिए तर लेख्ने थाकेर आफै अब पुग्यो भन्दै जान्थे। त्यस्ता रचनाहरु कहाँ छन, को संग छन् तिनको कुनै गन्ति नै छैन।

उनी संग सिसाकलम तास्ने साधन कहिल्लै हुदैनथ्यो, त्यसैले चुलेसी वा नङ वा दाँतले सिसाकलम तास्ने गर्दथे।

कविले १९९१ – २०१६ सम्म २५ बर्ष साहित्यको सेवा गरे। त्यो २५ बर्षमा १०० बर्षमा बिभिन्न कविहरुले पनि गर्न नसकेको साहित्यको बिकाश भयो।

कबि लक्ष्मी प्रसाद देवकोटा नोबेल पुरस्कारका भागि समेत थिए तर त्यसको पहल कहिल्लै गरिएन। त्यसैले कहिँ कसैले भनेका थिए कबि लक्ष्मी प्रसाद देवकोटा गलत भूगोलमा जन्मे।

र अन्तमा

महाकबि लक्ष्मी प्रसाद देवकोटा बारेमा धेरैले आ-आफ्नो व्यक्तिगत बिचारलाई प्रधान बनाएर बिबिध लेखहरु सयौको संख्यामा लेखेहोलान, कसैले उनी व्यवस्थापनमा कमजोर भएको हुनाले पैसा बचाउन सकेनन भनेर लेखे, कसैले कम्न्युष्ट देखे, कसैले कांग्रेस, कसैले उनले राजाको प्रशंसा गरेको देखे, कसैले आस्तिक, कसैले नास्तिक। सबैले आ-आफ्नो सीमाबाट उनलाई हेरे, तर उनी तिनीहरुले भने जस्ता एकै किसिमका थिएनन। उनी बहुआयामिक, बहुप्रतिभाशाली एक असामान्य मानव थिए जसलाई तत्कालिन समयले चिनेन। नित्यराज पाण्डेले लेखेको किताबमा कविका भित्रिकुराहरु गहनताकासाथ जीवन्तरुपमा प्रस्तुत भएका छन्। सायद त्यसैले होला, २०१६ सालको मदन पुरस्कार समेत प्राप्त गरेको थियो। तर एउटा बिडम्बना महाकबि लक्ष्मी प्रसाद देवकोटाले मदन पुरस्कार पाएनन तर उनी बितेको वर्ष नै उनकै बारेमा नित्यराज पाण्डेले लेखेको किताब “महाकबि देवकोटा” ले उक्त पुरस्कार प्राप्त गरे। महाकबि लक्ष्मी प्रसाद देवकोटाको जीवनीलाई जान्न र राम्ररी बुझ्न यो किताब पढ्नु जति जरुरी छ त्यति नै यो किताबको प्रचार प्रसार गर्नु पनि। नित्यराज पाण्डे संग अझै पनि पुस्तकमा नपरेका कतिपय तथ्य र बिबिध जानकारी रहेछन् त्यो कुरा मैले छोटो कुराकानी र भेटमा बुझे। बाहिर सतहमा नआएका महाकबि लक्ष्मी प्रसाद देवकोटा बारेका तथ्यहरु र नित्यराज पाण्डे कै बारेमा पनि थप जान्नको लागि उपयुक्त समयको प्रतिक्षामा छु। कहिले आउला त्यो दिन?   

सन्दर्भ सामाग्रीहरु

  • नित्यराज पाण्डे, २०६६, महाकबि देवकोटा, साझा प्रकाशन, नेपाल।
  • Yadav Kharel, 2064, Laxmi Prasad Devkota, The Great Poet, Nepal Culture Association, Nepal
  • विभिन्न वेबसाइट र पत्रपत्रिकाहरु

तपाइँको प्रतिक्रिया