कथा : घरेलु हिंसा

  • बस्नेत सागर / सिजुवा, मोरङ

basnet-sagarएकजना दुइजना गर्दै एकैछिनमा आँगन भरियो । मान्छेहरुको ताँतीले । आफ्नाहरू पनि आए पराइहरू झन् धेरै आए । जो जो आए मलाइ कर्के नजरले हेर्दै विनितालाई सहानुभूति दिनेहरु नै आए । अधिकारबादी, स्कुलका माष्टर । गाउँका नेता । बुढापाका । बिभिन्न समूह र संस्थाका मान्छे । आमा समुह । सबैखाले आए । मलाई भन्नु नभन्नु भन्नेहरु आए । कोहि बाँधेर घाँस हाल्ने भन्छन । कोहि गुहु-मुत खुवाउनुपर्ने भन्छन ।  हुतिहारा र नामर्दको उपाधि यस्तरी दिए कि यो संसारमा सर्वेसर्वा उनीहरु नै हुन ।  पुरा गाउँ म बिरुद्द खनिएको देख्दा अचम्म लाग्यो ।

हिजो बेलुकी पनि कार्किदाईको भट्टीमा मेरोलागि जे पनि गर्छु भन्ने अधिकारि कान्छो यस्तरी बोल्दै थियो कि मैले उसको सर्वस्व हरण गरेको छु । हुनत यि सबैलाई मैले राम्रैसँग चिनेको छु । मलाइ गुहु-मुत खुवाउन तम्सिने निरौलाको भिमेले अस्तिमात्रै हो,  अंशको निहुँमा बुढो भएको बाउलाई अस्पताल लैजानेगरी कुटेको । थानाको असईसँग खुब उठबस भएर मात्रै केहि भएन ।  हुनत ति निरौला बाजे बिचरा सत्तरी काटेका तिनीसँग के त्यस्तो खास थियो । तिनको पक्षमा कोहि बोलिदियोस ।  बाँधेर घाँस हालिदिउँ भन्ने अधिकारि कान्छो पनि पोहोरको साल विदेशिएको आफ्नै दशदिने दाजुकी स्वास्नीसँग रंगेहात समातिएको हो ।  ति भाउजुकी आँखा धमिलो देख्ने सासु बाहेक कोहि थिएनन घरमा । 

लोग्ने पनि भर्खरै परदेश लागेका ऋण उतार्न पाएको भए फर्किन्थे होला । तर मसिना दुधे लालाबालाको मायाले कागज गरेर छाडिएको हो ।  त्यो घटना लगत्तै कान्छाले यहाँका ति जान्नेसुन्ने भनाउँदालाई एकमहिनासम्म ढुक्कै दारुपानी गरेको पनि कसैको आँखाबाट छिपेको थिएन ।  तर पनि मलाइ पटक्कै पश्चाताप छैन ।  हो म पुरै संसारको अगाडी भन्न सक्छु कि मैले मेरी स्वास्नीलाई हिजो राति निर्घात कुटेको हुँ ।  म मान्छु रक्सीले मातेको थिएँ तर मातेको जोशमा होईन पुरा होसोहवासमा कुटेको हुँ ।

म सानैदेखि बेग्लै खाले मान्छे थिएँ ।  मेरा बालापनका कोहि साथि छैनन् ।  म एक्लै हिड्थे, एक्लै खेल्थें । पढाइमा मलाइ खास रुची थिएन ।  म धेरैजसो स्कुलबाट भागेर हिँड्थें । चार कक्षासम्म कसरि पुगें उतिसाह्रो याद छैन ।  तर त्यसपछिको एकएक घटना याद छ । पढाइमा गतिलो नभएकोले चार कक्षामा म फेल भएँ ।  मेरी बहिनीले मलाइ भेट्टाई । ऊ धेरै तीक्ष्ण दिमागकी थिई ।  त्यसपछि घरमा सधैं मलाइ सिकाउने जिम्मा उसैको भयो ।

हुनत हाम्रो घरमा सबै पढन्ते छन् । दाजु बाह्र कक्षासम्म कहिल्यै दोश्रो भएन । भाइ एसएलसीमा जिल्लाभरिकै उत्कृष्ट भयो । दिदीको पनि राम्रो थियो । बहिनी त झन् जान्ने थिई । अहिले दाजु मालपोतको अधिकृत छ । दिदी पहाडमा पढाउँछिन । बहिनी अंचल अस्पतालमा नर्स छे । भाइ पढ्न विदेश गएको उतै बसेको छ । म मात्रै हुँ बेकामे। बेकामे मात्रै होईन, मेरो बुबाको नाकको कालो दाग हुँ म ।  दाजु र भाइलाई म देखि शरम लाग्छ । मलाइ आफ्नै सहोदर भन्न पनि हिच्किचाउँछन ।  दिदीसँग त राम्रै थियो मगर जेठाको छोरासँग सुनबर्सी मेलामा हात समाउँदै डुंगामा चढेको कुरा घरमा भनिदिएपछि मलाइ पटक्कै मन पराइनन । मलाइ त्यो जीवने मगर पटक्कै मन पर्दैनथियो । सानैमा स्कुल बाहिर ल्याउने बरफ खोसेर खान्थ्यो । बिचरा त्यो बरफवाला भैया काबु भएको थियो । माग्दा दिएन भने जीवनहरुले खोसेर खाइदिन्थे । अझ पैसा पनि चोरेर लगिदिन्थे । सरहरुलाई भन्दापनि केहि गर्दैनथे । उल्टो हामीले तलाई बेच्न लगाएको हो भन्थे ।

जति उमेर बढ्दै गयो जीवन उतिनै बिग्रिदै गएको थियो ।  झन् पछी बसमा कन्डक्टर काम गर्न थालेदेखि त बेलुकै पिच्छे मातेर हिँड्थ्यो । खोइ दिदीले के देखेर मन पराएकी थिइ । सबैले मलाइ हेला गरेपनि ममीले धेरै माया गर्नुहुन्थ्यो । केहि मिठो खाने बेलामा बुबा त्यो घोसेलाई दिनुपर्दैन भन्नुहुन्थ्यो । तर भाँडा माझिसकेपछी बहिनी र ममीले अरुलाई दिए भन्दा धेरै लुकाएर खुवाउनु हुन्थ्यो । ममीको यो स्नेह र बहिनीको प्रेम पाएर म पुलकित हुन्थें । लाग्थ्यो, यस्तै माया पाउनलाइ अझै अटेरी बनौं, अझ घोसे बनौं ।

मैले व्याकरण कहिल्यै बुझि । नाम-सर्वनाम, क्रिया-विशेषण कहिल्यै आएन । मैले ज्यामिती बुझिन । बिज गणित बुझिन । रसायन बिज्ञान बुझिन । साँच्चै भन्दा मैले स्कुलमा पढाएको केहि बुझिन । अरु सबैले बुझेको कुरा नबुझेपछि म गोज्यांग्रे भएँ । अक्कड़ो र लठुवा भएँ । सरले सोध्दा आएन कति भन्नु बिस्तारै म बोल्नै छाडें । अनि स्कुल र घरमा घुँसघुँसे र घोप्टे भएँ । मलाइ रमाइलो अन्तै थियो । सरले व्याकरण पढ़ाउदा म झ्यालबाट देखिने ट्युवेल हेरिरहन्थे । नाम सर्वनामको व्यख्या गर्दा कसरि पानि निस्केको होला भनेर गमिरहेको हुन्थें । ट्युवेलका जिब्रि, वासर, ह्यान्डल कसले बनायो होला भनेर उद्देलित हुन्थे । घरमा ल्याइएका भित्तेघडी, रेडियो सबै खोलेर हेर्थें म । फेरी फिट गर्दा कति चल्थे कति चल्दैनथे । अलिअलि बनाउन जान्ने भएपछि त घडीको पिन हाल्न देखि एफएम रेडियोको बेन्ड खुस्केको लगाउन पनि लिएर आउँथे छिमेकीहरु । सकेको जानेको गरेर पठाईदिन्थें ।

म नौ कक्षामा फेल भएँ । बुबा रिसले आगो हुनुभयो । मलाइ कुट्न खोज्दा रोक्ने हुँदा ममीले पनि बेस्मारी गालि खानु भयो । मलाइ धेरै नराम्रो लाग्यो । त्यो रातभरी म रोएँ ।  हेडसरको छोरा फेल भयो । अब मेरो के इज्जत रहला भनेर खुब सानो मन गर्नुभयो बुबाले पनि । मलाइ ग्लानि महसुस भयो । सरहरुले अनि अरु अरुले पनि भन्थें ‘तँलाई कसरि दिलसरको छोरा भन्नु ? तेरा दाजुभाइ दिदी बहिनी सबै यति जान्ने छन्, त्यहि घरको तँ यस्तो’ भनेर सधैं मेरो गिल्ला गर्थे । बहिनीले पनि जितेर गइ । मलाइ कत्ति दुख लागेन । मेरो बहिनीले धेरै पढोस । राम्रो गरोस भन्ने नै लाग्थ्यो सधैं ।

त्यसपछि कति कति दिन म भोकभोकै हिँड्थें । घरमा ममीले खान त दिनुहुन्थ्यो । तर त्यसबापत ममीले गालि खानु पर्थ्यो ।  बुबाले यसलाई कसैले खान नदिनु भन्नुभएको थियो ।  म भोकै छु भनेर छर छिमेकीलाई पनि थाह हुन्थ्यो । एकजना राई काकीले मलाइ धेरै खुवाउनुभयो । म घरमा पनि मागेर खान्नथिएँ । पकाएर राखेको पनि अरुले नदिए पस्केर खादिनथिएँ । ममी भन्नुहुन्थ्यो ‘मागेर खाने गर्नुपर्छ । आफ्नो घरमा निकालेर खानुपर्छ ।’ तर मलाइ माग्न मुख लाग्दैनथियो । निकाल्न हात लाग्दैनथियो । मेरो दुख कठै भन्ने धेरै छिमेकी थिए । माइलो छोरा भएर वास्ता नभएको भनेर मलाइ सोडा लगाउँथे । तर मलाइ कहिल्यै बुबासँग गुनासो लागेन । मलाइ घरका कसैसँग पनि रिसीइवी थिएन ।  मेरो कारणले बहिनी र ममीले गालि खाँदा धेरै नराम्रो लाग्थ्यो ।  मसँग खर्च नहुँदा बहिनीका पेवा खसी बेचेका र भुमेपाथिका पैसा दिन्थी । उसले कपडा किन्दा सधैं मलाइपनि ल्याइदिन्थि ।  म जहाँ जाँदापनि बहिनी र ममीलाई धेरै सम्झिन्थे । मेरो र बुबाको कहिल्यै राम्रो सम्बन्ध भएन ।

मलाइ पढ्न बसेपछि ज्यादै दिक्दार लाग्थ्यो । हाइ आउँथ्यो । अक्षरहरु हिँड्थे । चित्रहरु बोल्थे । ज्यामितिका कोणहरुले घोच्थे ।  अंग्रेजी किताबमा भएका चित्रहरु अंग्रेजी नै बोल्थे । म बुझ्दिनथिएँ । ज्यामितिका कोण जान्नुभन्दा कन्दंगवा सरको डस्टर खानु सजिलो लाग्थ्यो मलाइ ।  रसायन शास्त्रका फर्मुला सम्झिनुभन्दा पुण्य सरको छडी सहज थियो मलाइ ।  फेरी अर्को सालको ठुलो परिक्षा आइसकेको थियो ।  अब सरहरुले पनि फेरी फेल भईस भने भाइले भेट्छ भनेर डर देखाउँथे । साथिहरु पनि हात धोएरै जिस्काउँथे । मलाइ जाँच दिन मन लागेन ।

एकदिन गोठधुपको दिन थियो बुबाहरु सबै जानुभएको थियो बहिनी र म थियौं घरमा । भाइ साथीकोमा पढ्न गएको थियो ।  मैले बहिनीलाई तीनसय रुपियाँ मागें । बहिनीले ‘किन’ भनेर सोधी मलाइ । ‘काम परेको छ दे न’ भनेर रुनै खोजें । बिचरा भर्खर १५ बर्ष लागेकी थिई । खै के सोची । ल्याएर दिई ।  म एकैछिनमा आउँछु भनेर हिडें । ‘बुबाहरु भन्दा अघि आइज है । नत्र मलाइ मार्नु हुन्छ बुबाले’ भनि ।  चोकमा निस्केँ, मलाई के गरौँ के गरौँ भएको थियो । घर छाड्ने निश्चय गरिसकेको थिएँ । उर्लाबारी जाने बस आयो । म चुपचाप चढें ।

उर्लाबारी पुगेपछि छक्क परें केहि सोच्नै सकिनँ । साँझ पर्न लागेको थियो । एउटा होटेलमा मालपुवा खाँदै बसेको थिएँ । एउटा पन्जाबी ट्रक आएर रोकियो । उसले त्यहाँ खाना खायो ।  म अघिदेखि उसैलाई हेरेर बसिराखेको थिएँ । उसले पनि मलाइ नियाल्दैथियो ।  धेरै बेर हेरेको देखेर सोध्यो, ‘के हो भाइ घर कहाँ हो ?’ मैले आत्तिएर भनें ‘मलाई गाडी बनाउन सिक्न मन छ, एउटा ग्यारेजमा लगिदिनोस’ ।  छक्क परेर फेरी सोध्यो ‘घर कहाँ हो ?’ मैले भनें ‘मेरो घर छैन ।’ ‘बिरगंजमा साथीको ग्यारेज छ जान्छौ ?’ मैले टाउको हल्लाएँ । धेरै कुराकानी पछी भोलिपल्ट हामि पुग्यौ बिरगंज ।  बाटोभरि मैले उसलाई ढाँटें, उसले मजत्रै छोरा भएको, घर धनकुटा र लिम्बू थर भएको बतायो ।  उसैले भनेर मलाइ दुइछाक खाना सहित बस्ने ठाउँ दिने शर्तमा त्यहाँ सिक्ने मौका मिल्यो ।

एकरात सपनामा रुँदैरुँदै काँडाघारीमा हिड्दैगर्नु भएको ममीलाई देखें । आधारातमै ब्युँझिएँ । कस्तो नरमाइलो लाग्यो । यत्रो दिनसम्म के के बित्यो होला । कति रुनुभयो होला जस्तो लाग्यो । अनि बहिनीलाई पनि सम्झें । उसलाई झुठ बोलेर आएकोमा पछुतो लाग्यो । सम्झिन त सधैं सम्झिन्थे ममी र बहिनीलाई । तर आज मन आत्तियो । जुरुक्क उठें घर गैहालूं जस्तो लाग्यो । यो डेढ बर्षमा मैले केहि खबर पनि पठाएको थिईन । एकबर्षदेखि मलाइ तलब पनि दिन थालेको थियो । तलब पाउने बेला पनि भैसकेको थियो । तर किन किन यसपाली तलबको माया लागेन ।

मैले तलब केही खर्च नगरी राखेको थिएँ । पैसा भएको झोला बोकें र बाहिर निस्किएँ । निस्पट्ट अध्यारो थियो ।  परपर कुकुर भुकेको सुनिन्थ्यो ।  मलाई यो मध्यरात हो भन्ने पनि याद भएन ।  बेस्मारी जाडो थियो । हिँडेको हिँड्यै चोकमा निस्किएँ । घडी हेरें तिन बजेको रहेछ ।  काठमाडौं जाने डे गाडी भेटिने सम्भावना थियो ।  डे बस चढेर पथलैयासम्म पुगें । काठमाडौंबाट आउने नाईट बस भेट्ने आशा थिएन । तर मेरो सुभदिन जाममा फँसेको गाडी भेटें । कतिखेर निदाएँ कुन्नि । ब्युझिँदा म इटहरीमा थिएँ ।  बेग्लै खुसि थियो मनमा । हतार पनि उत्तिकै लागेको थियो ।  घरमा पुग्दा मध्येदिन भएको थियो । ममिमात्रै हुनुहुन्थ्यो । शुरुमा गालि गर्नुभयो । अनि रुनुभयो । मलाइ छेउमा राखेर सुम्सुम्याउनु भयो ।  म पनि ममी संगै रोएँ ।  म फेल हुन्छु र भाइसँग पढ्नुपर्छ । अनि फेरी बुबाले कराउनुहुन्छ भनेर ममीले बुझ्नुभएको रहेछ ।

बुबाले मैले सोचेजति गालि गर्नुभएन । धेरै गल्नुभएछ ।  दाजुले बरु हप्कायो । ‘फेरी पढ’ भन्यो । मैले बुबालाई ‘ग्यारेजको सबै काम सिकेको छु । एउटा ग्यारेज खोलौं’ भनेर बिन्ति गरें । तर बुबाले मलाइ बिश्वास गर्नुभएन ।  भन्नुभयो ‘नजानेको काममा हात नहालेकै राम्रो ।’ मलाइ बेकार बस्न पनि मन लागेन । फर्केर जान पनि | कान्छा काकाको ट्याक्टर थियो । काकालाई भनेर त्यहि चलाउन थालें ।  बुबा र काकाको राम्रै सम्बन्ध थियो । मन खुसि नभएपनि बुबाले मलाई केहि भन्न सक्नुभएन । घरको खाएर, घरमै बसेर पनि मैले राम्रै पैसा कमाउन थालें ।

बिचबिचमा लेवरको काम पनि गर्दा अनि बाटोमा कसैका सानातिना सामान ओसारिदिँदा पनि पैसै आउँथ्यो । त्यो साहुजीलाई बुझाउनु पर्दैनथियो । यतिकै एकबर्ष बित्यो बहिनीले पनि प्लस टु सकेर बिराटनगरमा स्टाफ नर्स पढ्न थालिसकेकी थिइ । दाजुभाउजुसँग बिराटनगरमै बस्थि । दिदी पनि बिहे गरेर तरहरा पुगिसकेकी थिई । एकाएक मेरो बिहेको कुरो चल्यो ।  छिमेकी गाउँबाट हाम्रो नजिकैको स्कुलमा पढ्न आउने बिनितासँग ।  झट्ट हेर्दा खास राम्री नभएपनि पढाइमा जेहेन्दार थिई । छात्रवृति पाएर प्लस टु पढेकी मेरो बहिनीसँगै । पढ्ने रहर हुँदाहुँदै घरको स्थिति खास राम्रो नभएर बिहे गर्न बाध्य थिइ । उसको बिहेमा एउटा  शर्त थियो, बिहेपछी पढ्न पाउनुपर्ने ।  बुबालाई पनि छोराले नपढेपनि पढ्ने बुहारी पाउँदा राहत मिलेको थियो ।  म केहि बोल्न सकिनँ । बहिनीले भनेपछि नाइँ भन्न मन लागेन र बिहे भयो ।

बिहेको केहिदिन देखिनै मलाइ काममा जान दिईन । विनिताले ‘बुबासँग सल्लाह गरेर आफ्नै ट्याक्टर किनौं’ भनि ।  मसँग कुरा नजम्ने भएर उसैले कुरा गरि । बुबाले पनि अलिकति खेत राखेर कृषि बिकास बैंकदेखि ट्याक्टर लिन सहमत हुनुभयो ।  पढेकी, बोलाइली, फरासिली भएकोले सबैको मनमा बसेकी थिइ बिनिता ।  म पनि आफ्नै गाडी चलाउन पाएर मक्ख । बिनिता अब पहिलाको जस्तो रहिन । ममीसँग मनमुटाव भईराख्थ्यो ।  साथि भएपनि बहिनीसँग पनि सम्बन्ध चिंसिदै गयो । मेरो मन दुख्ला भनेर कहिलेकाहीँ आउने बिचरा बहिनी पनि सहिदिन्थी । दिनभरी म घरमा नहुने भएर खास मलाइ थाह पनि हुँदैनथियो । खाना खाएर म निदाईहाल्थें । तर बुबाले प्रशस्तै उचाल्नु भएको थियो । बुबाको आड पाएर भुइँ न भाँडामा भएकी थिइ ।  दिनभरिको गाडीको थर्काई र धपेडीले बिस्तारै मलाई गलाउँदै लग्यो । बिस्तारै म रक्सीको अम्मली बन्दै जान थालें ।  हुँदाहुँदा नखाइकन भोलिपल्ट उठ्न नसक्ने हुनथालें । चिसांग खोलाको बालुवा र माथि केराबारी छेउ पुगेर ढुंगा ल्याउनु पनि उत्तिकै गाह्रो काम थियो । फेरी ट्याक्टरको सिट ।

विनिताले स्नातक राम्रैसँग सिध्याई । यतिबेलासम्म हाम्रो एउटा छोरी र अर्को बच्चा पेटमा थियो । धनकुटामा एम एडको लागि भर्ना भएर घरै बसेर ऊ पढ्न लागेकी थिइ ।  छोरो जन्मेर एकबर्षको भएपछी गाउँकै स्कुलमा बुबाले भनसुन गरेर राहतमा पढाउनपनि थालेकी थिइ । उसलाई जागिर दिलाएबापत संचालक समितिको अध्यक्षको खेतमा आफ्नै डिजल हालेर पचास घण्टा लेवलिंग गरिदिनु पर्यो मैले ।

तर मेरी विनिता दिनदिनै फेरिदै जान थालि । महिला अधिकार, बचत समूह, बुहारी समाज र अरु के के संस्थाको प्रतिनिधि हुँदै तालिम र गोष्ठीमा दगुर्न थालि ।  ममीलाई नातिनातिना स्याहार्न हम्मेहम्मे पर्न थालेको मैले महसुस गरेको थिएँ ।  एकदुई पल्ट बिनितालाई सम्झाउन पनि खोजें । तर सामाजिक उत्तरदायित्व, महिला अधिकार र के के भन्दै अब चुल्होचौको गरेर बस्न नसक्ने बताउन थालेकी थिइ ।  एकाएक शाकाहारी भई । आध्यात्मिक र धार्मिक दर्शनका कुरा गरेर मलाई पनि माछामासु नखाने सल्लाह दिनथाली ।  उसका थाल बटुका छुट्टिए ।  हाम्रो बिछ्यौना अलग्गिए ।  मैले कमाएर ल्याएको राखनधरण सबै उसैले गर्थी ।

एकदिन दाजु आयो । अंशबण्डाको कुरा निकाल्यो ।  बुबाले सजिलै ‘तँ तेरो भाग लिएर जा । अब कान्छो पनि आउँदैन होला । हामि माइलो र विनितासँग बस्छौं’ भन्नुभयो | विनिताले कुरा भुईमा झर्न नपाउदै ‘म कसैलाई पाल्न सक्दिनँ’ भनि । मैले कत्ति सम्झाउन खोजें । तर मेरो केहि सुनिन ।  बुबाले पनि फकाउनु भयो तर ऊ डेग चलिन ।  आखिरमा मैले त्यत्रो मिहेनत गरेको सबै पानीमा गयो ।  ट्याक्टर किनेको भन्दा बढी दाम घाटामा गयो ।

मैले यो चारबर्षमा धेरै काम गरेको थिएँ । हिसाब सबै उसैले राखेकी थिइ । तर हिसाबले नोक्सान देखायो ।  घरमा चलाउँदै गरेका भाँडाकुँडा भाउजु र विनिताले होडबाजी गरेर छानें । मैले जिन्दगीमा धेरै दुखहरु भुक्तान गरेको छु । तर त्यो अंशबण्डाको दृश्यजति नराम्रो मलाइ केहि लागेन । हामि बच्चैदेखि त्यहि घरमा काम गर्ने पसिना बगाउनेलाई केहि वास्ता हुँदैन । तर चारदिन अघि आउनेले कस्तरी घरका सामान छानीछानी लैजान्छन ।  छोरीलाई अन्माएर लोग्नेको घर पठाउदा डाँको छोडेर रोएको देखेको थिएँ । तर बुबाममीसँग छुट्टेको दिन मलाइ पनि कहालिँदै रुन मन लाग्यो ।  छोराहरुलाई घरखेत, धान चामल र भाँडाकुँडा भाग लगाएर दिने बुबाममिको साँझमा खाना पकाउने भाँडासमेत रहेन ।  ममीले दुईजनाको लागि दशजनालाई पुग्ने ठुलो भाँडामा भात पकाएको देखेर मेरो मन अमिलियो ।  छोरामान्छेको लागि त्यो जस्तो दुखद समय अरु शायदै हुन्छ होला ।  ऋण तिर्नलाई मेरो मुटुको टुक्रा ट्याक्टर पनि बेचिने भयो । त्यो दिन त म नराम्ररी लुटिएँ ।  तोकिएको दाम तिर्ने क्षमता मसँग थिएन ।

केहिदिन बुबाघरमै बसेर हामीले घर बनायौं । ऋण तिर्नलाई अलिकति सगोलको जग्गा बेचेका थियौं । बाँचेको पैसा सबैलाई भाग लगाईएको थियो ।  त्यहि पैसाले घर बनायौं । नपुगेको पैसा विनिताले माइतबाट ल्याई ।  घर तैयार भएपछी दिदीले,  ममीले दिएको भन्दै धेरै सामान ल्याई विनिताले । पछी थाह भयो, सगोलको पैसा लुकाएर कतै घडेरी पनि जोडेकी रैछे । विनितासँग मेरो सम्बन्ध बिग्रियो । उसले बिस्तारै मलाइ घरमा पस्न पनि दिन छाडी । माछामासु, जाँडरक्सि खानेलाई घरमा पस्न नदिने भन्थी ।  छोराछोरीलाइ उही प्यारी थिई । मसँग केहि हुँदैनथियो । सबै किनिदिने उही ।  अफिसको काम भन्दै दुईतिन दिनसम्म हराउन थालि । स्याहार्न भ्याईएन भनेर छोराछोरी पनि माइतमा पुर्याई ।  पहिले सगोलमा हुँदा बुबाको आड पाएर मलाइ गन्नै छाडेकी थिइ ।

मलाइ विदेश पठाउन धेरै कोसिस गरि । तर मैले फेरी काकाकै ट्याक्टर चलाउन थालें ।  ऊ स्कुलकी मिस भएर सबैले उसकै कुरा सुन्न थालेका थिए ।  म पहिलेदेखि नै बोल्न नसक्ने । चित्त दुख्दा एकान्तमा एक्लै रुन्थें ।  एकदिन खोइ के को सम्मेलनमा गएकी । तिन दिनपछि आइ ।  मलाइ अलिक चित्त दुखेको थियो ।  आएपछि मैले उसलाई हप्कीदप्की गर्न खोजें । लोग्ने हुनको हक र दम्भ देखाएँ ।  उल्टो ‘अबदेखि घरमा नपस्नु, मैले माइतीको पैसा ल्याएर बनाएको घर हो यो । कसैको हली जड्याहालाइ बस्न बनाइदिएको होईन’ भनि ।  ममीले पनि नजिकैको घरबाट सुन्नुभएछ । ममी पनि आउनुभयो । सम्झाउन लाग्नु भयो । रोई कराई गरेर गुहार मागी । छेउछाउका छिमेकि आए । ‘भोलि भेला बस्ने’ भनेर गए ।

भोलिपल्ट भेलामा आमा समूह, महिलावादीहरुले उसको धर्मकर्ममा खलल पुर्याएको, बुहारीलाई कजाउन खोजेको आरोप लगायो ममी र मलाइ । यो घरमा बस्ने भए जाँडरक्सि खान नपाइने फैसला गरे । त्यहाँदेखी म ममीसँगै मुलघरमा बस्न थालें । अंशमा पाएको थोरै जमिन बाहेक केहि थिएन मेरो ।  कहिलेकाही छोराछोरी भेट्न जान्थें ।

एकदिन बिहानै ढुंगा ओसार्न चुरे गएको थिएँ । फिर्न अलिक ढिलो भयो । गाडी घरमै राखेर भोलिमात्रै लैजाने बिचार गरेर घरमै पसें ।  मुलघरको आँगनबाट मेरो घर मजैले देखिन्थ्यो । मैले गाडी आँगनमा ल्याउदा ल्याउदै मेरो आँगनबाट दुईटा बाइक निस्किए ।  अझै मान्छे बोल्दै गरेको सुनिन्थ्यो ।  के रहेछ । को रहेछ भनेर चाबी थुतेर सिधै मेरो घरतिर सोझिएँ । मुलघरको आँगन काट्दाकाट्दै अर्को पनि बाईक रोडमा उक्लिएर दक्षिण बतासियो ।

बाहिर बिनिता उभिएकी थिइ । मलाई रोक्नलाई हातमा समातेर तान्दै थिई । म नरोकीई सरासर भित्र टिभी कोठामा पसें ।  त्यहाको बातावरण देखेर मेरो जिउमा काँडा उम्रिए । मैले सबै अन्धकार देखें ।  सयओटा फुस्रे कमिलाले टोकेजस्तो भयो ।  त्यहाँ खसीको सेकुवा, कुखुराको साप्रा र वियरको बोतल छरपष्ट थिए ।  मेरो शरीर काँप्यो । आवेशमा सोधें के हो यो ? उसले नडराई जवाफ दिई । शिक्षा सेवा आयोग पास भएर यहि स्कुलमा स्थायी भएँ अनि सरहरुलाई पार्टी  ……………….. मैले सबै सुन्नै सकिन, आजसम्म जानेर झिङ्गो पनि नमारेको मलाइ आज आफ्नै स्वास्नी मार्न मन लाग्यो ।  विनिताको चुल्ठो समातें । भित्तामा झुण्ड्याएको पेटी झिकें । अनि बर्साउन थालें ।  ममीले थाह पाएर आउनुभयो । मलाइ छुट्याउनु भयो । तैपनि बीचबिचमा ममीको पकड खुस्काउदै लात्ताले भकुरें ।

महिलावादीहरुको दबावमा असईले पक्राउ गरि जिल्लामा ल्याएको छ । अहिले खोरमा थुनिराखेको छ ।  म माथिको घरेलु हिंसाको मुद्दा लागेको छ । मलाइ कत्तिपनि बिस्मात छैन मेरो कर्मप्रति । कानुन अनुसारको सजायँ स्वीकार छ ।

तपाइँको प्रतिक्रिया