कथा : नामै नभएको सम्बन्ध

  • महेन्द्र पौडेल

journalist-mahendra-poudel-11212दीपाजी आफ्नो निमन्त्रणा पत्रलाई हातमा राख्दै त्यसभित्र हातले लेखेको अति सुन्दर र प्यारा शब्दलाई आफ्नो नजरले मनभित्र गम्दै भित्रभित्रैं रोमान्चक हुँदै प्रश्न खडा गर्दै गइन् । उनले धेरै पटक त्यही पत्र पढिन् । त्यहाँ प्यारा शब्दले कोरिएको बिबाहको निमन्त्रणा पत्र थियो ।  र सोचिन विवाहमा सबैजनले मलाई सोध्नेछन् ‘तिमी को हौं ? के सम्बन्ध छ मानवसँग? त्यसबेला म के जवाफ दिउँला? के जवाफ देलान मानवजी ? हामी दुइबीच बनेका सम्बन्धलाई कसरी परिभाषित गर्ने ? सम्बन्धको सम्बन्ध राख्नु त परै जाओस, के नाम दिने ?

बारम्बार उनलाई यी प्रश्नले थिचिरह्यो । फेसबुक, ट्वीटर र अन्य सामाजिक सन्जालमार्फत अकस्मात जोडिएको सम्बन्ध अन्जान, न चिन्नु न जान्नु, त्यहि पनि दिपाजीलाई मानव अति नै प्यारो र आत्मिय लाग्दै गइरहेको थियो । कहिलेकाँही उसको सिधापन, निष्कपट, निश्छल र मिठास बोलीले उनलाई भित्रभित्रै कुत्कुताइरहन्थ्यो र आफैंदेखि उनी भयभित हुन्थिन् तर जब सम्बन्धलाई के नाम दिने भन्ने प्रश्न मनभित्र खट्किन्थ्यो तब उनी शब्दकोषका डायरीहरु पल्टाउँथिन् ‘हजारौं शब्दकोषभित्र पनि उनले मानवलाई दिने नाम पाउँथिनन्, जब नाम नै पाउँथिनन् भने कसरी उसलाई पुकारुँ उनी दोधोरामै गम खान्थिन्’ ।  

वास्तवमा सत्य यो थियो कि उनीहरुले कहिल्यै पनि सम्बन्धलाई फलानो नाउँ दिएर अघि बढौं भन्ने सोच्दै सोचेनन्, यी सम्बन्धहरु त्यतिबेलासम्म पनि जन्मेनन् जतिबेला यात्रामा परेका सयौं कठिनाईका बाबजुद रोकिएको यात्रा र फेरि यात्रा पुनः स्वचालित भै उनको दौडधुपसम्म पनि सम्बन्ध जन्मेन ताकि मानवको कहिल्यै याद गरिएन । मानवले नै यो सम्बन्धलाई ‘एउटा सम्बन्ध’ अर्थात कुनै नाम नभएको सम्बन्ध स्मरण गर्नको लागि राख्ने पहल गरेका हुन सक्लान ।

धेरै सोच विचार गरेपछि दीपाजी धनगढी जाने निश्चित गरिन् । काठमाडौंबाट धेरै टाढा जानु थियो, वस त्यसपछि पैदल यात्रा, त्यो पनि गर्मिमा । मानवले फेसबुकमा विश्वास दिलाई सकेको थियो, ‘तपाईलाई कुनै समस्या आउने छैन’ पाहुनालाई व्यवस्थितरुपमा राख्नका लागि हामीले मौसमको पनि विशेष ख्याल राखेका छौं, मलाई थाहा छ हाम्रा पाहुनाहरुलाई कुनै कष्ट हुनुहुदैंन त्यसमा पनि तपाई विशेष पाहुना हो’ । मानवले भन्यो ।

दीपाजी चुपचाप वसिन् बसको सिटमा । जव उनले जाने नै निश्चय गरेपछि कष्ट र आरामको कुरै भएन । काठमाडौं कलंकीको वस । मोवाइलको घण्टी बज्यो । मानवको फोन थियो । उसले भन्यो ‘तपाई चढेको बस बुटवल वसपार्कभित्रै रोकिने वित्तिकै हाम्रो एकजना मानिस भेट्नुहुन्छ उसको नाम उमेश हो उसले नै तपाईलाई बुटवलवाट धनगढीको यात्राको लागि सहयोग गर्नेछ ।’

दिपाजीले केही वोलिनन् । टिकट त उनले पहिलै काटिसकेकी थिइन ।

जब बस बुटवल वसपार्क रोकियो भनेजस्तै भयो । एकजना मानिस वसभित्र छिरेर दीपाजीलाई खोज्न थाल्यो, अन्तत उसले दिपाजीलाई चिन्यो र दीपाजीको झोलालाई तल झार्दै उसले भन्यो– ‘तपाईसँग अरु कुनै टिकट भए दिनुस नत्र यो टिकट राख्नुस्  बुटवल धनगडी चल्ने वसको टिकट थियो त्यो ।

साँझ बुटवलवाट हिडेंको बस विहान पख धनगढी बस स्टेशनमा रोकिनेवित्तिकै एकजना सुन्दर यूवक उनको सिटनेर आयो र उनको खुट्टामा आफ्नो शीर राख्दै बोल्यो ‘म रोशन हुँ’ मेरो बुबाको नाम ‘मानव शर्मा हो’ ।

दीपाजीले भाग्यमानी हुनु भन्दै आशिष दिइन् र युवकको पछाडि लागिन् ।  भुरिगाउँवाट बगनाह जाने कच्ची वाटो थोत्रागाडीहरु चल्ने, वाटो खाल्टा खुल्टीले भरिएका थिए दिपाजीले उक्त युवकसँग कुरा गर्न चाहेकी थिइन तर शुरुवात कसरी गर्ने ?

उनी जुन घर बिबाहको निम्तो मान्न जाँदै थिइन त्यो घरको परिवार, संस्कार र परिस्थितिको केही थाहा थिएन । त्यही वीचमा रोशनले भन्यो ‘म तपाईलाई काकी भन्न सक्छु’ । ‘ओके’ अँ, काकी जन्ती आज बेलुकी आउँदै छ । लोकल जन्ती हुन, समयमा नै आउँनेछन् । मैले सुनेको छु तपाई त भोली नै फर्कदै हुनुहुन्छ रे ? तपाइसँग समय छैन रे? बुबाले भन्नुभएको थियो तपाइको पश्चिम यात्रा पहिलो पल्ट हो रे ? यसकारण तपाई चाँडो भन्दा चाँडो तयार हुनुहोस तपाईलाई मेरो भाई सागरले कर्णाली ब्रिज र बबई योजना देखाउनेछ फेरि तारा तालपनि ।

‘‘हुन्छ’ ।

यति नै भन्न पाइन दीपाजीले । मन त त्यो व्यक्तिप्रति आभार प्रकट गर्न चाहिरहेको थियो । परन्तु उनको चिन्ता गर्ने त्यो युवकलाई धन्यवाद पनि दिन सक्थिन तर उनी केही वोलिनन् । रोशनले भन्यो ‘ मेरा बुबाले तपाईको धेरै प्रशंसा गर्नुहुन्छ र भन्नुहुन्छ तपाई साक्षात देवीको अवतार हो रे !

तर थाहा छैन न तपाई कहिल्यै यसअघि पश्चिम आउनु भयो न हामीलाई काठमाडौं वोलाउनु भयो? तपाईको वारेमा कुरा गरेकाले म सबै काम छोडेर भुरीगाउँ लिन आफैं गएको हुँ’ । उसले आफ्ना कुरा एक सासमा सिध्यायो ।

नास्तापानी गरिवरी उनीहरु घुम्न निक्ले, दीपाजी केही वोलिनन् । भुरीगाउँको एउटा सानो रेष्टुरेन्टमा चिया पिउँदै उनले मनमनै सोचिन् यो रोशन कति राम्रो युवक रहेछ । उन्नाइस वीस वर्षका होला, यति जिम्मेवारी छ । पितृभक्त छ । समाजमा युवापीढी विग्रीरहेको अवस्थामा यो बाबु यति छोटो समयमा मेरो मनभित्र राज गरिसक्यो जे होस श्रेय त यसको बाबुलाई जान्छ, मानवजीलाई । ‘गे्रट मानव तिमीले ग्रेट छोरा पाएछौ’ उनीहरु फेरि बगनाह गए । दीपाजी वाथरुम गएर तयार भएर सोफामा वस्दै गरिन् । त्यतिबेला मानव पनि नजिकै आइसकेको थियो । उसले दीपाजीलाई अभिभावन गर्‍यो । रोशनले भन्यो ‘काकीलाई घुमाएर लिएर आएँ तर उहाँलाई ताराताल खुबै मनपर्‍यो रे’ ।

मानवलाई देख्नेवित्तिकै दीपाजीलाई करेन्ट लागेजस्तो भयो । उनी भित्रभित्रै आफैंलाई समाल्दै हात जोडेर उनको अभिवादनको उत्तर दिइन हल्का मुस्कानका साथ । नास्ताको तयारी घरको वाहिर भइरहेको थियो केही व्यक्तिहरु नास्ता खाइसकेका थिए कोही आउने वाला थिए । ?

मानवले दिपाजीलाई अनुरोध गर्दै मानिसहरुले नास्ता खाइरहेको ठाउँतिर इशारा गर्दै लगे ।

मानिसहरु उपस्थित भएर स्वादिष्ट नास्ता खाइरहेका ठाउँमा मानौं अर्को एउटा स्वादिष्ट विशेष व्यन्जन टप्क्यो ।

एकजनाले सोधे ‘यी कौन हुन ?

यिनलाई पहिला त कहिल्यै देखेको थिएन, । मानिसले स्वाद लिन थाले, नयाँ मान्छेको ।

एकापसमा प्रश्नको आदान प्रदान भयो केहीले कानमा खासखुस गर्न थाले । तर उत्तर कसैसँग पनि थिएन । मानवजीको श्रीमती रुपा पनि आइन र उनले आफ्ना नातेदारहरुसँग नास्ताको स्वादवारेमा सोध्दै अघि वढिन् । त्यतिनै बेला एक महिलाले सोधिन ‘उनी को हुन ? हरियो साडीमा सजिएकी सुन्दर महिला  ?’

रुपाले यता उता आँखा दौडाइन । अर्की महिलाले मन्द स्वरमा भनिन् ‘उही के मानवजीसँग वसेकी’ जसलाई मानवजीले स्वयं आफ्नै हातले प्लेटमा खाना राखेर लगेर दिएका थिए’ । रुपाले पनि देखिन ।

चियाको गिलास लिएर उभिरहेको थिए मानव । सौम्य आकृति, भद्र, लगभग उस्तै उमेर । बडो शालिन पाराले नास्ता खाइरहेकी छिन् । को होलान यी महिला ? मानवले कहिल्यै यसको वारेमा बताएको थाहा थिएन । आमन्त्रण गर्ने सूचिमा सबैको नाम पढकी थिइन रुपाले तर अन्जान महिलाको नाम कसैको थिएन , फेरि को रहिछन् यी महिला ?

मनमा तरङ्ग वितरङ्ग उठे । अनेक शंका उपशंकाले रुपाको मन अतालियो, नारी यसैपनि शंकालु हुन्छन् ।

तर अवसर त्यहाँ थिएन आफ्नो श्रीमानसँग सोध्नका लागि । जबकी अधिकाँस नातागोतावीच यही प्रश्न उठिरहेको थियो । ती महिला अरुभन्दा आकर्षण, हरियो सारी, अग्ली थिइन । ती महिलाको विषयमा उनको घरको छतसम्म चर्चा चल्यो । मानिसहरु एकआपसमा सोध्न थाले । दिउँसोको लन्चको समयमा पनि दीपाजी कुराकानीको विषय वनिन । दीपाजीपनि स्वयंम लन्चमा सामेल हुन आइसकेकी थिइन ।

मानवको साली दीपाजीको नजिक गएर सोधिन, ‘तपाई कहाँवाट आउनु भयो’

दोश्रो प्रश्न के सोध्न लागेको थिइन् ‘तपाई मेरो भिनाजुलाई कसरी चिन्नुहुन्छ ?

तर यहीवीचमा स्वयं मानव उपस्थित भैदिहाले । उनले आफ्नो सालीलाई कोही विशेष नातेदारको खानपानको विषयमा ध्यान दिन लगाए ।

घरको एउटा कोठामा आराम गर्दैगर्दा दीपाजीको मन धेरै विषयमा सोचमग्न भइरहेको थियो ।

धेरै वर्ष पहिले अर्थात पच्चिस वर्ष पहिला घटेको घटनाको दृष्य उनको मानसपटलमा आइरहेको थियो । काठमाण्डौंबाट नारायणगढको यात्रामा श्रीमान श्रीमती र दुई साना छोराछोरी सँगैं थिए । केहीबेरमा गाडी त्रिशुलीमा खस्यो । श्रीमानको टाउकोमा चोट लाग्यो । उहाँको होस आएन । डाक्टरसँगको कुराकानी । बेहाल बिहोस दीपाजीले डाक्टरसँग गरेको हार गुहार र माग । रुवाई, बेसहारा । एकलो उभिएकी दीपाजीसँग जोडिएका साना साना वच्चाहरु । आफना, पराई कोही थिएनन् । निर्णय लिनु थियो दीपाजीले । सबैकुरा गइसकेको थियो । सबैकुरा भैसकेको थियो । जो वचेको थियो त्यो थियो केवल माग । दीपाजीले त्यो वस्तु दिन स्वीकार गरिन्, जो उनको थियो । डाक्टरको सुझाव । फेरि मृत्युको नजिक गएको व्यक्ति जीवित हुने भयो । इत्यादि रिलझैं घुमे विगत ।

यी सबै दृष्यहरु उनको स्मृतिमा जीवित थियो जुन इतिहास भैसकेका थिए । तर पनि कहिलेकाँही जीवन्त हुन्थे यी कुराहरु तैपनि दीपाजीले दृढ बनेर निश्चय गर्दै फेरि यादहरु उनको नजरवाट हटाउँदै लगिन् । जुन बित्यो, र बित्यो स्मृति ।

विवाहको समय छ शुभ कार्यको अवसर छ ।

जुन युवतीको विवाह थियो उसको लागि पनि राम्रो सोच्नु उनको कर्तव्य वन्यो । किनकी अवसर र समयको माग पनि यही नै थियो ।

जन्ती ढोकानेरै आइपुग्न लागे स्वागतमा उभिएका महिला पुरुषहरु दीपाजीलाई तेश्रो नजरले हेर्न थाले । प्रश्न केवल उही नै थियो ‘को महिला हुन यिनी ? के सम्बन्ध छ मानवजीसँग ?

मानवजीले ढोकाकै सामुन्ने आफ्नो सम्धीसँग दिपाजीको परिचय गराए सँगसँगै उनका दुवै सालीहरु आफ्ना श्रीमानसँगै उभिएका थिए, जसलाई उनले परिचय गराएनन । यो खबर त्यो भीडमा सबैतिर फैलियो ।

जन्ती र भोजन पश्चात विवाहको सबै कार्यक्रम पूरा हुँदै थियो । मानवजीलाई पंडितजीले मण्डपमा कन्यादानको लागि बोलाए । जहाँ रुपा पहिलेदेखि बसिसकेकी थिइन ।

मण्डपमा वस्नुअघि मानवले चारैतिर आँखा घुमाए । उनको दृष्टिको नजिक त्यो चेहेरा आएन जसलाई उनी खोजिरहेका थिए । उनको आसपास बरु उनकी वहिनी र सालिहरु थिए । उनीहरुले कुरो बुझि हाले । दुइ साली र एक वहिनी एकै साथ बोले ‘त्यहाँ छिन् तपाईकी विशेष पाहुना ।’

देखिन रुपाले पनि । अनि उनलाई तानेर भनिन अव वस्नुस । एकाग्र भएर कन्यादान गर्नुस । बस्नुस ।

मानवले चर्को स्वरले बोलाए ‘दीपाजी यता आउनुस् । मण्डपमा वस्नुस । मेरी छोरीलाई तपाईवाट विशेष आर्शिवाद चाहियो ।’

दीपाजी भित्रैबाट काँप्न थालिन । अनुहार फुरुङ्ग भयो, चेहेरा बदलियो । वाहिरवाट नातागोताको तीर चलिरहेको छ । उनी विचलित भइसकेकी त थिइन, थिइन तर पनि आफ्नो स्थानमा उभिएर उनी बोलिन ‘तपाई त्यहिँबाट आफ्नो छोरीको कन्यादान दिनुस । मलाई यहीँ ठिक छ । यहीँ वस्छु । म विधुवा हुँ । मेरो श्रीमान हुनुहुन्न । समाजले यस्तो महिलाको सौभाग्य मान्दैन । मैले हृदयवाट तपाइकी छोरीलाई आर्शिवाद दिन चाहान्छु । यसकारण टाढा वसिरहेकी छु । तपाई आफ्नो पवित्र काम पूरा गर्नुस् । मेरो चिन्ता छोड्दिनुस्, भन्दै उनी वसिन् ।’

‘म मान्दिन यस्तो समाजको विधानको । मेरो परिवारको लागि मेरो छोरीको लागि तपाईको भन्दा शुभ आर्शिवाद अरु कसको होला र ? तपाईको कृपा विना न म हुन्थें न मेरी छोरी आउनुस् मेरो पुकार सुनेर तपाइले मेरो छोरीलाई कन्यादन दिनुस् ।’ मानवले बोले । अब पंडितलाई भने टेन्सन हुन थाल्यो । अब पंडित बोल्न थाले ‘ मानवजी तपाईको पाहुनाले ठिकै भन्नुभएको छ । तपाई कन्यादान गर्नुस् । तपाई आफ्नो श्रीमतीको साथ वस्नुस् ।

मानव फेरि बोल्न थाले ‘तपाई सबैजना आज बिहानदेखि दीपाजीको परिचय जान्नका लागि उत्सुक हुनुहुन्छ । तपाईहरुसामु तरह तरहका प्रश्नले घेरिए होलान । अनेक अड्कलबाजी चले होलान् । कार्यव्यस्तताका कारण म केही भन्न नसकेको हुन सक्छु । जबतक मैले तपाईहरुको प्रश्न र उनको परिचय नदिँदासम्म तपाईहरुको ध्यान विवाह मण्डप विवाह कार्यक्रममा नहुन सक्छ । त्यसैले सुन्नुहोस, मानव बोल्दै गए धारा प्रवाह ।

जुनकुरा मानवले त्यहाँ सुनाए । त्यो सुनेर उपस्थित पाहुनाहरुको प्रश्नमा वुझो त लाग्यो उनीहरु सबै दीपाजी प्रति नतमस्तक भए । सबै अवाक भए ।

मानवको धारा प्रवाह रोकिएन उनी बोल्दै गए ‘पच्चिसवर्ष पहिला एक दुर्घटनामा दीपाजीको श्रीमान पर्नुभयो । उनको मस्तिष्कले काम गर्न छोड्यो । जुन अस्पतालमा उनलाई ल्याइएको थियो । त्यही अस्पतालको एउटा बेडमा म पनि कम्मरको अपरेशन गरेर बेडमा लडिरहेको थिएँ । मेरो मुटुले काम गर्न छोडिसकेको अवस्था हुन लागेको थियो । डाक्टरहरुले निर्णय लिएका थिए यदि कसैको मुटु प्रत्यारोपण हुनसक्छ भने…।

आँखा दान, किड्नी दानजस्ता जस्तै अरु दानहरु मध्ये हृदय दान त्यतिबेला हुन्छ जब धड्कन धड्कीरहेको हुन्छ । जबसम्म मुटु धड्की रहन्छ तबसम्म मानिस जिउँदै हुन्छ भलै जिउँदो मानिसको हृदय कसैले पनि दान गर्दैन ।

दीपाजीको श्रीमानको पनि मुटु धड्कीरहेको थियो । मस्तिष्कले काम गर्न बन्द गरिसकेको थियो । डाक्टरले दीपाजीसँग अनुरोध गरेछन् । तपाईको श्रीमानलाई अब हामी बचाउन सक्दैनौं । तर तपाईको सहमति हुन्छ भने तपाईको श्रीमानको मुटु यदि कसैको शरीरमा प्रत्यारोपित गरियो भने कसैको जिन्दगी बच्छ ।

डाक्टरको सुझाव सुनेर दीपाजीप्रति के वित्यो मलाई थाहा भएन । अरु कसैले जान्ने कोशीस पनि गरेनन् होला । तर दीपाजीले डाक्टरहरुलाई अनुमति दिइसक्नुृ भएछ । जुन मुटु विगत पच्चिसवर्षदेखि मेरो शरीरमा धड्कीरहेको छ । अर्थात मेरो मुटुमा धड्की रहेको छ ।’

मानव रुदै भन्न थाले ‘विगत पच्चिसवर्षवाट अहिलेसम्म मैले यिनलाई धन्यवाद दिन सकिरहेको छैन । यिनको श्रीमानको मुटु म भित्र छ । यिनले न मलाई त्यतिबेला देखिन र जानिन् न आजपनि र मैले पनि । यिनले कहिल्यै मलाई खोज्ने कोशीस पनि गरिनन् । यिनको श्रीमानको मुटु डाक्टरहरुले कसलाई प्रत्यारोपण गरे यिनले जान्ने चेष्टा पनि गरिनन् । तर म धेरै विखलवन्दमा थिएँ । टेन्सनमा थिएँ । जसले जीवन दिएको थियो उसलाई आभार प्रकट गर्न सकेको थिइन । दुइवर्ष अघि काठमाडौं गए उही डाक्टरसँग मिल्न गए । मेरो दुर्भाग्य त्यतिबेला पनि यिनीसँग भेट हुन सकेन । डाक्टरवाट यिनको नाम खोजेँ । नाम जाने । जब फेसबुक र ट्वीटर सामाजिक सन्जालको जमाना आयो तब यिनको नाम डाक्टरसँग मागेर फेसबुक र ट्वीटरमा खोज्न थाले । मोवाइल नम्बर मागेँ । आफ्नो परिचय दिएँ । आफ्नै हातले लेखेर छोरीको विवाहमा आउन आमन्त्रित गरेँ ।

यिनी छोरीको विवाहमा आइन मैले पनि यिनलाई आज विहान मात्र देखेँको हुँ । पंडितजी हाम्रो परिवारको लागि यिनी भन्दा ठुलो भगवान को होला र ? तपाई आफैं सोच्नुस् । मेरो विवाह मेरो वच्चा हुनका लागि पनि पछाडि यिनकै हात छ । म छुर पो सबै छन’ मानव भावुक भए उनको आँखामा वलिन्द्रधारामा आशु वग्न बगिरह्यो, रुपाको सुक्सुकाउन थालिन । रुवावासीले मण्डपमा आँशुको भेल बग्न थाल्यो, दुइछोरीले बुबालाई अंकमाल गर्न लागे ।

त्यहाँ भएका पाहुनाहरु रुन थाले सबैका आँखामा आँशु आउन थाल्यो । रुपा सिधै मण्डपबाट उठेर दीपाजीको नजिक गइन ।

उनको खुट्टा छुँदै हात समातेर मण्डपतीर ल्याइन् । महिलाहरु एकभएर आँशु पुछ्दै एकैश्वरमा गीत गुन्जायमान हुन थाल्यो ।

सम्बन्धको नाम दिन जरुरी छैन । तर त्यो घरको प्राङ्गण अनेकौं सम्बन्धले भरिएको थियो आज । जो सँग कुनै सम्बन्ध थिएन, जोसँग कुनै सम्बन्ध गाँसिएको थिएन, जुन कुनै नाम नभएको सम्बन्ध रहेको दीपाजी हरेक सम्बन्धबीच, हरेक सम्बन्धभन्दा माथी हुन पुगिन् । नामै नभएको सम्बन्ध रह्यो दीपाजी र मानवजीबीचको सम्बन्ध । मनुष्य मनुष्यबीच सम्बन्ध गाँस्न र सम्बन्धको नाम दिन जरुरी छैन । नामै नभएको सम्बन्ध भयो त के भयो ?

 

तपाइँको प्रतिक्रिया