साउदी प्रहरीले दूतावासका कर्मचारीलाई समेत पक्रिए
साउदी अरबको दमाममा आज ३६औं हप्तामा सञ्चालित पासपोर्ट सहजिकरणमा साउदी प्रहरीले हस्तक्षेप गरेका छन । बिहान ९।३० मा आएका ती प्रहरीहरूले सेवाग्रही नेपालीहरूलाई कुपन बांड्दै पुराना पासपोर्ट र कागजातहरू संकलन गर्दै गर्दा स्वयमसेवक तथा एनआरएनए एलसिसी दमामका अध्यक्ष बिल्टु मुखियालाई पक्रेर प्रहरीको भ्यानमा कोचे । लगत्तै अपार्टमेन्टमा रहेको कार्यकक्ष (भाडामा लिइएको कोठा)मै पुगेर नेपाली दूतावासका पुर्बी क्षेत्रका स्थानिय कर्मचारी हरि घिमिरेलाई पनि पक्रिएर भ्यानमा राखे । उक्त अपार्टमेन्टमै पासपोर्ट फारम भर्दै रहनुभएका स्वयमसेवक द्वय सत्य के।सी। र कमल थापालाई पनि पक्रिनका लागि प्रहरीले इकामा माग्दै थिए । प्रहरीले यो धरपकड गर्दै गर्दा अन्य स्वयमसेवकहरू मोहन के।सी।, बालकृष्ण पंगेनी र भोला पौडेल पनि घटनास्थलमै मौजुद हुनुहुन्थ्यो भने धरम के।सी। अपार्टमेन्ट प्रबेश गर्दै हुनुहुन्थ्यो ।
पक्राउपछि के भयो ?
प्रहरी कार्यालयमा सोधिएछ – “यसरी काम गर्ने स्वीकृति कहां छ ? बिना स्वीकृति किन यसरी काम गरेको?” अनि भनेछन – “यस्तो काम गर्नु अघि हाम्रो परराष्ट्र मन्त्रालयसंग वार्ता र सहमति गर, सहमति पश्चात निश्चित स्थान र समय तोकेर यो भन्दा राम्रो ठाउंमा कामगर, सिटी सेन्टरमा भिड नजुटाऊ, यही रूपमा अब काम नगर”। यति भनेपछि करीब १ घण्टामा दुबैजनालाई रिहा गरे ।
आज शंकर श्रेष्ठले भरिल्याएका अलहासाका ५ जनाको र कमल थापाले भरेका १ जना गरी ६ जना मात्रको काम भयो दमाममा भने दिउंसो २ बजेसम्म १५० जना भन्दा बढीलाई बनिआएका म्र्प् पासपोर्ट सोही स्थानबाट बांडियो ।
आज अरू दिनभन्दा निकै बढी थियो दमाममा सेवाग्रही नेपालीहरूको भिड, नयां बनाउने भन्दा बनेका पासपोर्टहरू बुझिलिन आउनेहरूको संख्या बढी थियो । त्यही भिड नै प्रहरीको ध्यानाकर्षण र पक्राउको प्रमुख कारण रहेको धेरैको बुझाई छ ।
घटनाबारे पल पलको जानकारी लिनुभएका दूतावासका नियोग उप प्रमुख तथा एनआरएन फोकल प्वाइन्ट हरिश्चन्द्र घिमिरेज्युले “अब कसरी काम गर्ने?” भन्ने मेरो सोधाईमा “हामी अब कुटनैतिक पहल गर्छौं र उत्पन्न समस्याको निकास खोज्छौं” भन्नुभयो ।
(एन आर एन साउदी अरेबियाबाट)




