पूराण पढेर समाजसेवा गर्दै ढकाल

  • गोपाल पोखरेल / उदयपुर

ganesh guru

आबश्यकता धेरै भएपनि सरकारी सहयोग न्यून छ । गाउँलेसँग धन भएपनि मन छैन । आबश्यकता जसरी पनि पूरा गर्नु छ । यस्तो बेलामा के गर्ने होला ? गाउँलेले अहिले एउटा बिकल्प निकालेका छन्, त्यो हो, धार्मिक अनुष्ठानको आयोजना गर्ने र दानको माध्यमबाट समाजका आबश्यकता पूरा गर्ने ।

उदयपुरको त्रियुगा नगरपालिका २ का गणेश उपमन्यु ढकाल धार्मिक अनुष्ठानमा प्रबचन गरेर गाउँलेका आबश्यकता पूरा गरिदिने मध्येका एक हुन् । बिगत ९ बर्षदेखि श्रीमद् भागवत, देवी भागवत, हरिबंश र शिव पूराण पढेर ढकालले बिभिन्न जिल्लामा ४० करोड रुपैयाँ भन्दा बढीको मठमन्दिर, बिद्यालय, धर्मशाला, आश्रमलगायतका भौतिक संरचनाको आबश्यकता पूरा गरिदिएका छन् । 

“ हालसम्म ९० ओटा श्रीमद् भागवत, देवी भागवत, हरिबंश र शिव पूराण धार्मिक अनुष्ठानमा सहभागी भएँ ” उनले भने,“ जसबाट संकलन भएको करीव ४० करोड रुपैयाँले दुई दर्जन बढी मन्दिर, दर्जन बढी बिद्यालय र क्याम्पस तथा आश्रम र धर्मशाला निर्माण भए । ” कतिपय स्थानमा स्वास्थ्य चौकी भवन र धाम निर्माण हुनुका साथै एम्बुलेन्स खरिद गरेर गाउँलेले सेवा लिइरहेको उनले बताए ।

ढकालले उदयपुरका साथै खोटाङ, ओखलढुंगा, सिरहा, सप्तरी, सिन्धुली, रौतहट, मोरङलगायतका जिल्लामा पुगेर धार्मिक प्रबचन गरिसकेका छन् । बैदिक सनातन धर्म र संस्कृतिको संरक्षण हुनुका साथै समुदायका सामाजिक आबश्यकता पूरा गर्न आफुले यो काम गरिरहेको उनी बताउँछन् ।

ढकालले श्रीमद् भागवत पूराण पढेर संकलन भएको ४० लाख रुपैयाँले रौतहट जिल्लाको कनकपुर सिम्टी गाविसमा रहेको निमाबि बिद्यालयमा भवन निर्माण गरिएको छ । सिन्धुली जिल्लाको डकाहा सिर्थौली गाविसस्थित कमलामाई नदीको तटमा ३० लाख रुपैयाँ बराबरको शिब मन्दिर निर्माण भएको छ । उदयपुरकै त्रियुगा नगरपालिका र आसपासका क्षेत्रमा आधादर्जन मन्दिर र बिद्यालय तथा क्याम्पस भवन निर्माण भएका छन् ।

“ अहिले बिभिन्न स्थानमा ७ ओटा मन्दिर, ३ ओटा धर्मशाला र बिद्यालयका भवन निर्माण भइरहेका छन् ” ढकाल भन्छन्,“ उदयपुरको तपेश्वरी गाविसस्थित भागलपुरमा एम्बुलेन्स खरिद गरिएको छ । ” स्थानीय समुदाय मिलेर लगाउने धार्मिक अनुष्ठानमा प्रबचन गरेबापत आफुले उनीहरुकै इच्छाअनुसारको पारिश्रमिक पाउने ढकाल बताउँछन् ।

“ बिद्यालयको भवन भत्केपछि दुई बर्ष अघि बिद्यालय परिसरमै ढकाल गुरुलाई डाकेर श्रीमद् भागवत सप्ताह पूराणको आयोजना ग¥यौं” त्रियुगा नगरपालिका ७ असारीका केदार थापा भन्छन्,“ त्यहाँबाट संकलित २२ लाख दानको रकमले बिद्यालय भवन निर्माण गरियो ।” ब्यक्तिगतरुपमा चन्दा माग्दा मानिसले बिश्वास नगर्ने र आबश्यक रकम संकलन नहुने भएकाले पूराण नै लगाउनु परेको थापाको भनाई छ ।

“ गाउँमा एउटा शिब मन्दिर निर्माण गर्न चन्दा संकलन गर्ने बिषयमा गाउँलेले खासै वास्ता गरेनन्” हडिया गाविस २ ज्यामिरेका राजन अधिकारी भन्छन्,“तर, सप्ताह पूराणको आयोजना गरेपछि भनेजति रकम संकलन भएर मन्दिरसमेत बनाइसक्यौं । ”

तपाइँको प्रतिक्रिया