युरोपका पत्रकारहरुले केहि कट्टु, डोको र नाम्लो उपहार लिनुपर्ला नी !

FNJ-Europe

ठ्याक्कै दुई वर्ष पुग्न दुई हप्तालाई दुई दिन कम । युरोपमा बसेका नेपाली पत्रकारहरुको संस्था, नेपाल पत्रकार महासंघ युरोप (एफ एन जे युरोप) को पहिलो अधिबेशन भएको । अब दोस्रो अधिबेशन आगामी आइतवार हुँदै छ । काम गर्ने बेला  दुला पसेपनि । अधिबेशन आउनासाथ पदकालागि सतहमा देखिनेको संख्या भने चाख लाग्दो छ । काम गर्ने बेला बेपत्ता झैं भएपनि कुनै न कुनै पदकालागि आफू योग्य भएको दाबी गर्नेहरुको बायोडाटा सतहमा छचल्किएर युरोपदेखि नेपालसम्मकै नेपाली समूदायसम्म पोखिएको छ । त्यसो त, काम नगरेपनि नेपाल पत्रकार महासंघ युरोप प्रतिको चासो यसले देखाउँछ । तर एफ एनजे युरोपका लागि जुन नेत्रित्वको दाबी भैरहेको छ त्यो हेर्दा युरोपका पत्रकारहरुलाई केहि थान कट्टु, डोको र नालोको उपहार पो दिनु पर्ने हो कि ? यसो भन्दा कसैलाई च्वास्स लाग्न सक्छ । तर अहिलेको अवस्थाले त्यहि तितो तथ्यलाई संकेत गर्न खोजिरहेको छ । 

एफ एन जे युरोपमा सबै क्रियाशिल सदस्यहरु छैनन् । पत्रकारितालाई युरोपमा कम्तिमा दोस्रो वा तेस्रो पेशाका रुपमै भएपनि अपनाउनेहरुको संस्था बनाउँ भनेर एफ एन जे युरोप बनाईयो । जुनसुकै बिचार, आस्था, समूदाय र समूहका किन नहोउन् । कम्तिमा पत्रकारिता गर्ने, लेख्ने, पत्रकारितामा क्रियाशिलहरुलाईनै यो संस्थामा आबद्द गर्नुपर्छ भनेर संस्था बनाइयो । तर पहिलो महाधिबेशनमै हुलहुल्लज, राजनितिक कार्यकर्ताको दबाब, समर्थन र तिनैको बुइँ चढेर संस्थालाई भाँड्नेसम्मको हर्कत भएको थियो । तर एफ एन जे युरोपको तदर्थ समितिका सबै मित्र र अधिबेशन आयोजना गर्न साथ र सहयोग दिने  गम्भिर ब्यक्तिहरुको कारणले त्यसो हुन पाएन । अर्थात् यसो भनौं, एफ एनजे युरोपलाई पत्रकारको भन्दापनि गैह्र पत्रकारको नचरी लगाउने, राजनितिक रत्यौली खेल्ने भाँडो  बनाउन खोजियो । त्यसैको प्रतिफल, दुई वर्ष कट्दापनि संस्थाले देखिने, बुझिने र भेटिने केहि काम गर्न सकेन । यसबाट प्रस्ट हुन्छ, कुनै ब्यक्ति संस्थामा बस्नु, पदमा पुग्नुमात्रै ठूलो होइन रहेछ । उसको त्याग, ज्ञान, लगनशिलता, पेशाप्रतिको ज्ञान र लगनशिलता अनि विश्वासमा लिन सक्ने क्षमता हुनुपर्दो रहेछ । पद लिँदैमा सफल हुन सकिने होइन रहेछ । यतिखेर युरोपका कम्तिमा क्रियाशिल पत्रकारहरुलाई यसको महसुस भएको हुनुपर्छ ।

युरोपका धेरै देशमा नेपाली संघ संस्थाहरु छन् । नेपाली समूदाय, तिनको गतिबिधी र नेपाल सरकारसित सरोकार राख्ने सरकारी र गैह्र सरकारी संघसंस्थाहरु नेपाली पत्रकारका कलमका निशाना बन्छन् । बन्नुपर्छ । राम्रोलाई बाहिर ल्याउने र नराम्रोका पक्षमा द्रिढ्तापूर्वक लाग्नुपर्छ । तर बिडम्बना कस्तो छ भने तिनै संघ संस्थामा जुन पद पाएपनि ज्यान फालेर लिन जाने, आफैं प्रबक्ता बन्ने, आफैंले संस्थाका, कार्यक्रमका बनावटी, फूलबुट्टाले सिँगारेर समाचार नामको बिज्ञापन छाप्ने । चाकरी गर्ने । पत्रकार, नेता, समाजसेवी, नेत्रित्वकर्ता सबै बन्ने । हो यस्तै गैह्र पत्रकारहरुको फेरिपनि बाहुल्यता हुनसक्ने संकेतहरु देखिएका छन् । समाजसेवी, नेता, भात्रि संगठनका कार्यकर्ता, कुनै नेताका प्रवक्ताहरु नेपाली पत्रकारका आस्था, विश्वास र नेत्रित्वका हकदार हुन सक्दैनन् । यो क्रियाशिल पत्रकारहरुले सोच्नुपर्ने देखिन्छ । चितुवा गाउँको छेउसम्म आएर कराउने बेलासम्म गाउँ पस्ने, ढोका थुनेर घरभित्र बस्न सकिन्छ । तर चितुवा हुँ भनेर जब आँगनमै चहार्न खोज्छ तब गाउँलेहरु, हिंसा गर्न आ उने चितुवाका बिरुद्द एकजूट भएर लाग्छन्, लाग्नै पर्छ । गूलाफको फूल हुँ भन्दै लामो समयसम्म चकन्दे झारको अतिक्रमणम  सुगन्ध लुकाएर बस्नुहुन्न ।

सामाजिक, ब्यापारिक संघ संस्थामा आयोजक, प्रचारप्रसार र अनेक पदमा बस्ने । त्यसैमा मिलेर रकम कुम्ल्याउने । वा रकम कुम्ल्याउनेको सारथी बन्ने । सत्य र तथ्य कुरा बाहिरपनि ल्याउन नसक्ने । युरोपमा आफूलाई पत्रकारको कित्तामा राख्नेहरुको हैशियत यस्तोपनि देखिएको छ । नेपाली समाजलाई अगाडि सारेर सामाजिक काम, समाजसेवाका नाममा आफ्नो दुनो सोझ्याउने, सामाजिक सेवालाई ब्यापारको थलो बनाउने र तिनैको पछ्यौरीको फेरो समातेर हिँड्नेहरुले नेपाल पत्रकार महा संघ युरोपको नेत्रित्व गर्न सक्दैनन् । पत्रकार हुनका लागि पत्रकारिता गर्नुपर्छ । यसैमा क्रियाशिल हुनुपर्छ । पत्रकारिता जस्तो जान्दछ यसैमा उसको विश्वास र भरोसा हुनुपर्छ । ब्यापारी, कालोबजारिया तस्कर र नेताका झोलेहरु यसका लागि योग्य छैनन् । यदि फेरिपनि उहि पेरिस अधिबेशनको हर्कतले कोहि आउन खोज्छ भने कलममा विश्वास बोकेर हिँड्नेहरुको कलमको टुप्पो अधिबेशन सक्किएलगत्तैबाट शुरु भैहाल्छ तिनलाई ताकेर सोझिन । यसमा कसैलेपनि भ्रम नपाले हुन्छ । कुनैपनि हर्कतका बिरुद्द चुप लागेर क्रियाशिल पत्रकारहरु बस्ने छैनन् ।

दोस्रो महाधिबेशनको सँघारमै आएर बेल्जियममा नेत्रित्वको दाबी गर्नेहरुले दुई पटक सम्म हाकाहाकी छलफलको आयोजना गरेका छन्, त्यहाँका राजनितिक दलका स्थानिय नेता, भात्रि संगठनहरुलाई राखेर । एफ एन जे युरोपको महाधिवेशन कसले गर्ने हो ? राजनितिक दलका नेताले ? कि पत्रकारहरुले । आफ्नै सहयात्री, पत्रकारहरुसित एक बचन सोध्न र सल्लाह गर्न नसक्ने तर राजनितिक दलका स्थानिय नेता बोलाएर छलफल गर्ने ? ‘लौ न मिलाएर जानुपर्यो’ भनेर हार गुहार पार्टीका नेतासित गर्ने ? पार्टीका नेतासित हार गुहार मागेर पत्रकारको नेता बन्ने ? पत्रकारहरुसित छलफल गर्न नसक्ने तर राजनितिक आड र भरोसा खोज्नेहरुलाई लाज लाग्दैन नेपाल पत्रकार महासंघमा आबद्द छु, म पत्रकार हुँ, म नेत्रित्वमा बस्छु भन्नकालागि ? जोसुकै नेत्रित्वमा आ ओस अवश्यपनि यि विषयहरु सार्वजनिक हुनेनै छन् । यतिबिघ्न सर्वाङ्ग नांगो हुनेहरुलाई क्रियाशिल पत्रकार साथीहरु मिलेर केहि थान कट्टु उपहार दिनु नपरोस् ‘तिमी यति बिघ्न नांगियौ, सर्वाङ्गै नांगियौ ल यि कट्टु लगाउ’ भन्दै । राजनितिक पार्टीका यति बिघ्न भरिया बन्नु छ भने तिमीहरु तिनैका प्रबक्ता बन, दलमा बस, चुनाव लड । किन पत्रकारको संस्थातिरपनि आँखा लगाउने ? राजनितिक दल, ब्यापारी, तस्करहरुको समर्थन र आडमा एफ एन जे युरोपको नेत्रित्व गर्न खोज्ने कुन सपना हो ? कि एफ एन जे युरोपलाई तस्करहरुको नचरी लगाउने थलो बनाउने हो ? कि ब्यापारिक बिज्ञापनहरुलाई समाचारको भाषामा ब्यापारिकरण गर्न हो ?

अधिबेशनको पूर्व सन्ध्यामा युरोपमा नेपालीहरुलाई आफ्ना ब्यापारिक संस्थामा काम लगाएर एक पेट राम्रोसित खान सम्म नदिने, नैतिक रुपमा पतन भएकाहरुले खर्च हालेर पत्रकार भनिएका केहि मित्रहरु अधिबेशनमा आउँदै छन् भन्ने खबरहरु आएका छन् । यो सत्य नहोस् भन्ने कामना गरौं । तर यदि यो साँचो हो भने ति ठगरुले भाडा, सवारी साधन र बसोबास, खानपिनको ब्यवस्था गरेर भेडाबाख्रा झैं अधिबेशनमा ओसारिन केहि पत्रकार मित्रहरुले गर्धन सुम्पेका छन् । यिनको नैतिक पतन त यसैपनि त्यो स्विकार्दासाथै भएकै छ । पत्रकारको संस्थालाई भाँड्न दानापानीको पोजदिने ठगहरुलेपनि कुनै न कुनै मूल्य चुकाउनुपर्ने छ ।

साथीहरु होस पुर्याउँ, अफ्गानिस्तानमा फ्रान्सेली पत्रकार मारिए ।  अमेरिकी पत्रकार सिरियामा मारिए । त्यहाँ न फ्रान्सेली ग्रिहमन्त्री परे । न अमेरिकी राष्ट्रपती बाराक ओबामा परे । परे, पत्रकारनै परे । ज्यान कलम चलाएबापतै गयो । त्यहि हो पत्रकारिता । त्यसैले एफ एन जे युरोप पत्रकारकै हुनुपर्छ । यो संस्थाको खाँचोपनि पत्रकारहरुकै लागि हो । त्यसैले एक पटक सोचौं, सर्वाङ्ग नांगिएर अरुले दिएको कट्टुले छोप्नुपर्ने अवस्था नआओस् । राजनितिक दलका भरिया बनेर देख्नेले केहि थान डोको र नाम्लो उपहार लिनु नपरोस् ।

तपाइँको प्रतिक्रिया