उपन्यास अंश : भाँचिएको लौरो (भाग २४, अन्तिम)
● रमेश गौतम “पाल्पाली”
सरकारी जागिरबाट अलग भए पनि सिनियर भइससकेको डाक्टरलाई काम र पैसामा फरक पर्दैन । पैसाको दृष्टिले अझ बढी कमाउन सक्छ । उसको क्लिनिक नै राम्रो चलिसकेको थियो । त्यस माथि आजकाल यसरी खुलेका प्राइभेट अस्पतालमा उसले चाहने हो भने कामको कमी हुँदैन । तर श्रवणले काम प्रति त्यति रूची दिएको थिएन । उसको मिजास र व्यवहार पनि एकतमासको भएको थियो । लिनाले एक, दुई पटक सोधी पनि तर उसले ’केही भएको छैन’भनेर टारिदिन्थ्यो ।
यता बिरु आफूम् साधारण अधिकृत भएर त छोरालाई डाक्टर बनाएको थियो भने श्रवण र लिना दुवै डाक्टर हुनेले छोरालाई डाक्टर बनाउनु ठूलो कुरा थिएन । तर कुलीनले डाक्टर नबनेर केमिष्ट बन्ने इच्छा राखेको थियो । उसले बाहिर जानलाई काम सहितको छात्रवृत्ति खोजिरहेको थियो । ’बहिनी गएर नफर्कने भई । तँ पनि बाहिर गएपछि आउन्नस् नजा ।’भनेर लिनाले कति पटक संझाइसकी तर उसको भनाइ थियोः
“के गर्ने मामु ! कलेज युनिभर्सिटीमा आधाजसो हड्ताल र तालाबन्दी हुन्छ । परीक्षा भएको दुई, तीन वर्ष नतिजा निस्कन्न, कहिले पढाइ पूरा हुने ? फेरि पढेर पनि के गर्ने ? रोजगारी त यहाँ पाउन सकिन्न ।”
कुलीनकी बहिनी रोजीले पनि त्यसै भन्थी । “म त यहाँ पढ्दिन, साथिहरू अस्ट्रेलिया गए म पनि त्यहीँ पढ्न जान्छु ।”भनेर जिद्दि गरेर गएकी हो । उनीहरूलाई नपुग्दो केही थिएन श्रवण र लिनाले रोजीको इच्छ पूरा गरिदिएका थिए । उसले पी।आर। पाएको नेपाली केटो रोजी । ऊ यता आउँदिन उतै बसी । कुलीनले पनि अनलाइनमा जब खोजिरहेको छ कुन दिन हिँड्छ ।
अर्कोतिर बिरु छँदै श्रवणले घडेरिको जोहो गरिसकेको थियो । अहिले घर बनाउन थालेका छन् । घरको खास रेखदेख लिनाले गर्नेगरेकी थिई । हालसम्म घरको दोस्रो तला ढलान भएको थियो । उसलाई नपुग्दो पनि केही थिएन । आफूले चाहे अनुसारको सुविधा सम्पन्न घर बनाउँछु भन्ने उसको सोचाइ थियो ।
“फुलेजस्तो फल्दैन, सोचेजस्तो पुग्दैन ।“भन्ने उखान छ । डाक्टर लिनाको बारेमा पनि त्यस्तै भयो । दोस्रो तलाको छतमा आजै गारो उठाउन सुरु भएको थियो । कम्मरसम्मको गारो भर्खर उठाएर डकर्मीले अर्को तर्फ सुरु गर्नलाई नापजाँच गर्दै थियो । लिनाले लगाइसकेको गारेमा अडेस लाएर डकर्मीको काम हेर्दै थिई । भर्खर लगाएको चार इन्चको गारो सेट भएको थिएन उसको भार थाम्न सकेन घरक्क गयो । गारो जानु के थियो, गारोसित लिना पनि गई । तल इँटाको थुप्रो थियो लिनाको टाउको त्यही इँटामा बज्र्यो र छिया छिया भयो । डकर्मीले तुरुन्तै टेक्सीमा राखेर अस्पताल त लग्यो तर उसको इहलीला भने बाटोमै सकिएको थियो कसले बचाउने ?
यस घटनाले कुलीनलाई भन्दा पनि श्रववणलाई बढी चोट प्यो । जसको लागि त्यस्तो द्यौता समानको बाबुलाई त्याग्यो आज त्यसैले यस्तो मझधारमा लगेर छोडी । उसको लागि न लिना रही न बाबु रह्यो । बाबुप्रति मायाँ–मोह हुँदा हुँदै पनि स्वास्नीकै कारणले बाबुलाई पर्गेल्यो । दैवले अन्तिम अवस्थामा भेट त गरायो तर आफै डाक्टर भएर पनि बँचाएर बाबासित क्षमा माग्नेसम्म मौका मिलेन । आखिर के काम लाग्यो बाबुको त्यो दुर्गति पारेर ? श्रवणले जब यी कुरा संझन्छ अनि होस् गुमाउँछ । दिनमा दुई पटक तीन पटक समम ऊ बिहोस् हुनथाल्यो । श्रवणको यस्तो अवस्था देखेर मायाँले भनीः
“डाक्टर साहब ! लिना डाक्टर साहबले असमयमै छोडेर जानुभयो । दुःख लाग्ने नै भयो तर समालिनु पर्छ । यसरी हरेस् खाएर कसरी काम चल्छ ? जाने गए पनि बाँच्नेले व्यवहार छोड्न पनि त मिल्दैन नि !”
“मायाँ ! मलाई लिनाले बीचधारमा ल्याएर छोडिदिई । त्यसले गर्दा बाबाले घर छोड्नुप्यो र त्यही नै उहाँको काल बन्यो । उहाँसित क्षमा माग्न पनि पाइन ।”
“दाइलाई त लिना डाक्टर साहबले कुकुरलाई भन्दा पनि बढी हेला गर्नुभयो । यसमा मेरो पनि सारै चित्त दुखेको छ । तपाइँले पनि उहाँलाई साथ दिनुभयो ।”
“मायाँ ! मलाई लिना मरेको भन्दा पनि बाबाप्रति गरेको अपराधबोधले सताएको छ । म अपराधी हुँ । घरव्यवहार बिग्रला भनेर खुलेर बाबाको समर्थन गरिन । यही मेरो गल्ती भयो र यसैले मलाई पोलेको छ ।”
“त्यसै भएर पनि तपाइँले यसरी हरेस् खाएर हुन्न । तपाइँसङ्ग सम्पत्ति छ । सक्नुहुन्छ भने बाबाको निम्ति केही गर्नुस् ।”मायाँको कुराले श्रवण केही सचेत भयो ।
कुलीनले अमेरिकाको एउटा कलेजमा कामको साथै पढ्नको लागि आवेदन दिएको थियो । उताबाट स्वीकृतिपत्र समेत आएको थियो । तर बाबुको यस्तो हालत देखेर ऊ जानसकेको थिएन । स्वीकृति आइसकेको छ भन्ने श्रवणलाई पनि थाहा थियो । आफ्नो मानसिक तनाबका कारणले जा, भन्न सकेको थिएन । उसको पनि भविष्यको कुरा थियो । आफ्नो लागि रोकेर पनि के गर्ने ? अन्त्यमा ’हुन्छ जा’भनेर कुलीनलाई स्वीकृति दियो ।
“बाबा ! मैले त अमेरिकाको टिकट लिएर आएँ ।”
“मलाई यस्तो अवस्थामा छोडेर जान लागिस्, सम्पर्क गर्दै गरेस् है ।”
“के गर्ने र बाबा ! पढाइ सुरु हुनलाग्यो । हजुर्ले आफ्नो स्वास्थ्यको ख्याल गरेर बस्नुहोला । मैले बेला–बेलामा सम्पर्क गर्छु ।”भनेर ऊ हिँड्यो । कुलीन हिडेपछि श्रवण क्लिनिक जान पनि छोड्यो । अर्धपागल जस्तो भएर हिड्न थाल्यो । उसलाई देख्ने मध्ये एक जनाले भने :
“पाप धुरीबाट कराउँछ भन्छन् साँच्चै रहेछ । स्वास्नीको कुरामा लागेर त्यस्तो द्यौता जस्तो बाबुलाई गरेको अत्याचार अहिले आफैंमा आइलाग्यो ।”अर्काले थपेः
“बिचरो बिरु, सहारा चाहिने बेलामा बेसहारा भएर हिँडे, मरे–बाँचेको पनि थाहा भएन । संसार यस्तै रहेछ, भोली हाम्रा सन्तान पनि यस्तै कुपुत भएर निस्कने हुन् कि कसले जानेको छ र ?”
२०६९ मघ १३ गते
ॐ ॐ ॐ




