भूगोल
–महर्जन, अमन
भन्न त सबै प्रिथ्वी गोल छ नै भन्छन्
त्यसैले होला मान्छे भन्नेहरु सुखको खोजीमै बिलाउँछन्
सदा बिचरित मनहरु यदी ताँतीमै टुंगिन्छन् भने कसले पो
सोच्छ र आज, को पराई कुन आफन्त
यो धर्तीको भार तिर्ने क्रममै पराधिनमा भासिएका जिवित लासहरु
आशाकै त्यान्द्रोमा जिवन बाँचेका आत्माहरु, निराशामै होमिएकाहरु
कहिले पो विश्राम पा उने हुन् कहिले पो एक मुठी हाँसोमा जिउने हुन्
कहिले बिजय, कहिले पराजयको मट्यांग्रोमा कहिले पो परेवा उड्ने हो यो आकाशमा
मरिरहेछन् दिन प्रतिदिन लालावालाहरु त्यसै त्यसै कुनै न कुनै बहानाहरुमा
न देशले गती लिए न जनताले अघि बढ्ने जमर्को गरे
यो ढक्कन बिनाको टोकरीमा थुप्रिएका गँगटाहरु
माथि उठ्न दिने कसैलेकसैलाई कुरै भएन
झन सतीले सरापेको देशमा ठिक र बेठिक बुझ्ने
कुनै साहसी मानव देखिने छाँटै छैन
आफैं नियम बनाउने, आफैं बिगार्ने, आफैं बोल्ने अनि आफैं सराप्ने
यो अचम्मको अनकन्टार भूगोल
गोलै भए त दिन र रात, सुख र दुख हुनुपर्ने हो
तर अभावमाथि बिस्पात थोपरिने
बिस्मातमाथि भूकम्प मच्चिने यो भूगोल
विश्रामको पर्खाईमै आफ्नो अस्तित्व मेटिने
यो कस्तो देश, अनि यो कस्तो भूगोल





