मेरो देश,तिमी र म

-गणेश खड्का “प्रतिक्षा”

 

ganesh-khadka1

पल्किएँ भन्थ्यौ तिमी

भ्रमणवर्षताका मेरो देश घुम्न आउँदा

सल्किएँ भन्थ्यौ तिमी

सनक्क माछापुच्छ्रेले

आँखा सन्काइदिँदा

मस्किएँ भन्थ्यौ तिमी

हिमाल टल्काउँदै दाँतमा

तिम्रो बिदाईको बेला

सगरमाथाले जब

सी यु एगेन भनिदिँदा

जुधाएर आँखा

निर्मिमेष मेरा आँखामा

खोलेकी थियौ कण्ठ कोकिल

माया लायो रे तिमीलाई

मेरो देशले- मैले जस्तै,

साँच्चै, पल्किएकी थियौ तिमी

इलामको चियामा

घान्द्रुकको गुन्द्रुकमा

र मलेखुको माछामा

साँच्चै, सल्किएकी थियौ तिमी

ह्यार्तुङ्गको केशमा

फेवाको ओँठमा

डाँफेको वैंशमा

अनि

मसक्क मस्किएकी पनि थियौ तिमी

हाक्पारेमा, साकेलामा र रोधीमा

मकालुसँग,कन्चनजंघासँग र अन्नपूर्णसँग

कति स्पर्शहरु स्खलित बने होलान्

मनमैथुन बनेर कति सपनाहरुमा

हिमालमा अनुदित तिम्रा दन्तलहर

सूनमा रुपान्तरित तिम्रा केशरासी

टपक्क टिपेर एक थूङ्गा लालिगुराँस

शिरमा सजाएथ्यौ तिमीले

परिभाषित बन्न

गुराँस फुलेर ढकमक्क

राताम्मे मेरो पहाड जस्तै

फूलेथें म उसैगरी गर्वले

गुराँस जस्तै-पहाड जस्तै

हुन सक्छ तिम्रो स्पर्शले पनि

तिमीले मन पराइदिएको

म र मेरो देश ,

ताजै छ सम्झनापटमा अझै

दिल खोलेर भनेकी तिमीले

मलाई छोएर कसम खाएकी तिमीले

तिमी फेरी फर्केर आउनेछ्यौ

मेरो देश भ्रमण गर्न

पत्रहरु लेखिनेछन्

ई-मेलहरु पठाइनेछन्,

तिमी हिँडेपछि –

भ्रमणवर्ष पछि –

मेरो देशले थुप्रै

युद्द वर्षहरु खेप्यो

तर तिमी आइनौ

मेरो देशले थुप्रै

क्रान्तिवर्षहरु झेल्यो

र कटायो धेरै

हत्या वर्षहरु

आतंक वर्षहरु

अपहरण वर्षहरु

तोड्फोड वर्षहरु

हड्ताल वर्षहरु

र अनेकौं बन्द वर्षहरु

फेरी तिमी आइनौ

सपना जस्तो धमिलो

तिम्रो पुनरागमन खोई…?

कहाँ पत्र, ई-मेल ?

शायद, तिमी यतिबेला

स्वछन्द-स्वतन्त्र

अर्को भ्रमणवर्ष-शान्तिवर्ष

मनाउँदै हौली कहिं-कतै

यतिबेला-

मेरा खुट्टाहरु बन्दी भएका छन्

छाडा स्वतन्त्रताले

मेरो साँचो स्वतन्त्रता कैदी भएकोछ

औसत दिनैपिच्छे बन्द हुने

मेरो देशको अस्मिता जस्तै

अहिले-

तिमी हुन नसकेको म



म हुन नसकेकी तिमी

विपरित ध्रुवबाट

भूगोलको फरक सिमारेखाबाट

गरिरहेछौं शायद

विवश दृष्‍टिगोचर

आ-आफ्नै आँखाले

मेरो देशको मनोदशा ।

 

तिवारी भञ्ज्याङ-४, भोजपुर

हाल: भिक्टोरिया, सिसेल्स

तपाइँको प्रतिक्रिया