उपन्यास अंश : भाँचिएको लौरो (भाग– २३)

रमेश गौतम “पाल्पाली” 

ramesh-gautam-palpali-110765980पाल्पाको दुर्गम गाउँमा जन्मेको, काठमाडौँको ठण्डा ठाउँमा हुर्के– बढेर अधिकांश जिन्दगी बिताएको मान्छे विराटनगरको गर्मी त्यो पनि असारको महिना, त्यसमाथि पाटीको बास र मागेको गास, बिरुको बृद्ध शरीरले धानोस् कसरी ? ऊ थलियो ।

बिरु दिन प्रतिदिन थलिँदे गयो सडकमा जान सकेन । उसंग भएको पैसापनि केही दिनमै सकियो । अब उसको सहारा भनेको मन्दिरमा आउने कसैले दया गरेर दिएको एक, दुई रुपियाँ नै भयो । अब ऊ लगाएका पैला लुगा र च्यादरमा देखिन  थाल्यो । यस्तै अवस्थामा एक  दिन उसको सहयोगी उदित यादवले मन्दिर आएको बेलामा देखेर आश्चर्यचकित भयो र भन्योः

“वीरबहादुर माड्साहब तपाइँ यो हालतमा यहाँ ?”

“तपाइँ को हुनुहुन्छ , मलाई कसरी चिन्नुभयो ?”

“म त्याही हेड असिस्टेण्ट उदित, जसलाई बढुवा गर्न तपाइँले ठूलो सहयोग गर्नुभएको थियो । चिन्नुभएन ?” 

“उदितजी, अब त तपाइँलाई चिने तर अब चिनेको कुरा गरेर मेरो अतित नकोट्याम । मलाई यही हालतमा रहन दिनुस् है !”

“ठीक छ मैले केही सोद्धिन तर तपाइँले मलाई गरेको उपकारको बदलामा मैले केही गर्नुपर्छ । तपाईँ मसंग हिड्नुस् माड्साहब ।”

“मलाई अब माड्साहब नभन्नुस् र यसै हालतमा छोडिदिनुस् ।”

“ठीक छ अब माड्साहब भन्दिन । यहाँ बस्नुभयो भने मजस्तै अरूपनि कोही आउन सक्छ । त्यसै भएर यहाँ बस्न हुन्न मसँग आउनुस् ।”

उदितका कुरा ठीकै लाग्यो र ऊ उसको पछि लाग्यो । उसको घर नजिकै रहेछ । बिरुलाई लगेर बरण्डामा राखेर ऊ भित्र पस्यो । उदितले नयाँ कट्टु–बण्डी र आफ्ना अर्धाना कुर्ता सुरुवाल लिएर बाहिर आएर भन्योः

“ल त्यो बाथरुम हो, नुहाएर यी लुगा फेर्नुस् ।”

बिरु अबोध बालकजस्तै लुरुक्क उठेर बाथरुममा गएर नुहायो र आफ्ना लुगा धोएर बाहिर निस्क्यो । अब ऊ सडकको माग्ने नभएर एउटा भलाद्मी देखियो । उदितले चिया र बिस्कुट ठिक्क पारेर राखेको थियो, दुवैले खाए । अनि उदितले भन्योः

“तपाइँका छोराबुहारीले हेरेनन् तपाइँलाई ?”

“दुनियाँ स्वार्थी हुने रहेछ, म एक्लो भएको छु ।”

“ठीकै छ, मैले बुभेम्ँ । तपाइँको पुरानो घाउ कोट्याउन्न । तपाइँलाई यहाँ पुरानो समाजसेवीका रूपमा परिचय गराउँछु । यहाँ एउटा बृद्धाश्रम छ । त्यहाँको संस्थापकसित मेरो राम्रो सम्बन्ध छ । तपाइँले त्यहाँ सकेको काम गर्नुस् खान बस्न मिल्छ, त्यहाँ बस्नुहुन्छ ?”

“मागेर खानुभन्दा त्यहाँ बस्न पाए राम्रै होला ।”

तपाइँले मलाई जति ऋण लाउनुभएको छ त्यसको केही अंश भए पनि तिर्न पाउनेछु । ल हिड्नुस् ।” भनेर उदितले बिरुलाई बृद्धाश्रममा लिएर गयो । त्यहाँ पुगेर व्यवस्थापक धर्मवीर सित बिरुको परिचय गराउँदै उसले भन्योः

“यहाँको नाम ’वीरबहादुर मगर’ यहाँको घर पाल्पा, कार्यस्थल काठमाडौँ । पेशा समाजसेवा । तर आज उहाँ आश्रय विहीन हुनुहुन्छ । कारण उहाँको उमेर र उहाँसँग भएको पैसा सकिनु । उहाँसित भएको पचासौँ लाखको सारा संपत्ति समाज सेवामा बगाउनुभयो । अहिले उहाँसित केही छैन । पहिले जस्तो दौडधूप पनि गर्न सक्नुहुन्न । सत्समाथि प्यारालाइसेस भएर एउटा हात चल्दैन  भने गोडा पनि कम्जोर छ ।

समाजले उहाँको पहिलेको उपकार बिस्र्यो । अहिले उहाँ एक्लो हुनुहुन्छ तर कामचोर र बेइमान हुनुहुन्न । सकेको काम इमानदारी साथ गर्नुहुन्छ । उहाँ हाल केही बिरामी र कमजोर हुनुहुन्छ । उहाँलाई तङ्ग्रिन केही दिन लाग्छ । उहाँलाई हजुर्ले आश्रय दिनुपर्‍यो ।”

“उदितजी तपाइँले उहाँको यत्रो प्रशंसा सहितको सिफारिस गरेपछि उहाँले आश्रय पाउनुभयो ढुक्क हुनुहोस् ।”

“धन्यबाद” भनेर उदित फर्क्यो बिरु त्यहीँ बस्यो ।

उता मन्दिरको साथी क–ले भन्योः

“बाहिर पानी पर्लाजस्तो छ । राती भइसक्यो बिरु आउनु भएन । बिरामी हुनुहुन्थ्यो केही भयो कि ?”

“भलाद्मी हुनुहुन्थ्यो, हुरी बनेर आउनुभायो बतास बनेर जानुभयो ।”ख–ले भन्यो र दुवै सुते ।

बिरु घाँस काट्ने, गोबर फाल्ने, भाँडा माझ्ने, भात पकाउनेदेखि कार्यालयका कामहरूमा समेत अनुभवी थियो । त्यस कारण कुनै पनि काम उसका लागि दुरुह थिएन तर उसको शरीरले साथ नदिएकोले पहिलेजस्तो काम गर्न सक्ने स्थिति थिएन । तैपनि जे सक्यो त्यो काम गर्‍यो ।

बृद्धाश्रममा पाँच÷सातवटा गाई पालिएका थिए । तिनको रेख–देख, हुहुन–बान र सर्सफाइको काम गर्ने मान्छे थियो । खाना पकाउने पनि अलग्गै मान्छे तोकिएको थियो । तिनीहरूको व्यवस्थापन र सञ्चालनमा बिरुको सल्लाह–सुझाबले राम्रो असर प्यो । आय–व्यय सम्बन्धी हिसाब–किताबमा पनि धर्मवीरलाई धेरै मद्दत पुग्यो । आएको १५÷२० दिनमै उसको व्यवहार र शीप देखेर उसलाई मन नपराउने कोही भएन । यस्तो अलराउण्ड च्याम्पियन पाएर धर्मवीर त झन् बढी खुसी भए । उनले एक दिन उसलाई कार्यालयमा बोलाएर भने :

“वीरबहादुरजी, तपाइँ अब यस बृद्धाश्रमको सहायक मैनेजर । आवश्यक परेको बेलामा त अरू काम पनि हेर्न परिहाल्छ । तर मुख्य काम व्यवस्थापन हेर्ने ।”

“मलाई दर्जा किन चाहियो र सर ! यो अपाङ्गले के काम गर्न सक्छ र उही मुखैको भर त हो नि ।”

“त्यही मुखले व्यवस्था गर्न सक्ने भएर त सहायक व्यवस्थापक भनेको हो । हुन त तपाइँमा मुख्य व्यवस्थापक हुने योग्यता रहेछ । तर तपाइँलाई यो पद दिउँ भने म कहाँ जाने ? मेरो पनि अब जाने ठाउँ छैन । त्यसैले सहायक व्यवस्थपक भएर लेखा र व्यवस्थपन तपाइँले हेर्ने । मैले बारितर खटन–पटन र जनसम्पर्क हेर्छु ।”

“हुन्छ, सरले भन्नहुन्छ भने तयारै छु । एउटा कुरा के भने मलाई ’वीरबहादुर’ भनेर छवटा अक्षर उच्चरण गर्न अप्ठारो हुन्छ । मलाई कसैले ’बिरे’ र कसैले ’बिरु’ भन्ने गर्थे । सरले पनि त्यही दुई अक्षरको नाम मध्ये जे सजिलो हुन्छ त्यही भन्नुभए हुन्छ ।”

“बिरे, त कसरी भनौँ र ? अब बिरु भनेर संबोधन गर्नेगर्छु ।”

बिरुले व्यवस्थापन समालेको केही वर्षमै बृद्ध–बृद्धाको संख्या झण्डै दोब्बर भएको थियो भने आर्थिक सुधार र संस्थाको प्रगति पनि त्यस्तै किसिमले बढेको थियो । गौशालामा गाईको संख्या त तेब्बर भएको थियो । बृद्धाश्रमलाई चाहिने भन्दा बढी भएको दुग्धपदार्थबाट मासिक लाखौँ रुपियाँ वचत हुन थाल्यो । यसले गर्दा बृद्धाश्रममा त बिरुको हाइ–हाइ हुने नै भयो साथै यस आश्रमलाई सहयोग गर्ने र यसको हितैषीका मुखबाट पनि बिरुको नाम र प्रशंसाका शब्द उच्चारण हुनथालेका थिए ।

धेरै चलेपछि फलामका मेशिन त कहिले कहीँ बिगे्रर मर्मत गर्नुपर्ने हुन्छ । झन् मन्छेको जिउ न हो सधै एकनासले चलिरहन सकदैन । बिरु एक पटक निकै बिरामी पर्‍यो । ज्वरो, दम, खोकी सबैले एकै पटक गाँज्यो, कत्ति गरे पनि सञ्चो भएन ।

एक दिन उदित घुम्दै बृद्धाश्रममा आएको थियो बिरुको अवस्था चिन्ताजनक देखेर धर्मलाई भन्योः

“अहिले राम्रो डाक्टर सरकारी अस्पतालमा आएका छन्रे । उहाँलाई एक पटक त्यहीँ लैजाउँ न ।”

सरुवा भएर आएको डाक्टर बिरुकै छोरो श्रवण थियो तर यो डाक्टर उसको छोरो हो भन्ने उदित र धर्म दुवैलाई थाहा थिएन ।

“हुन्छ त लैजाउँ” भनेर धर्म र उदित भएर अस्पताल लगे । अस्पताल पुग्दा बिरु बिहोस् भयो ।

भित्र श्रवण र अर्को एक सहायक डाक्टरले बिरामी जाँच्दै पठाउँदै गरेका थिए । बाहिर आएका बिरामी मध्ये एक जना बिहोस् भयो भन्ने भएपछि श्रवण बाहिर आएर हेर्दा ऊ छाँगाबाट खसेजस्तो भयो । उसले तत्काल शैयामा लगेर स्लाइन र अक्सिजन दियो तर बेकार भयो । अन्तिम अवस्थामा भेटाएको बाबुलाई बँचाउन सकेन । उसका आखामा आँसु देखिए तर ऊ चुपचाप उँभियो । धर्म र उदितले एकै पटक सोधेः

“उहाँलाई कस्तो छ अब डाक्टर साहब ?”

“म असफल भए । उहाँको अन्तिम संस्कार गरौँ दागबत्ति मैले दिन्छु” भन्यो । त्यसभन्दा अरू परिचय दिएन । दाहसंस्कार पछि अस्पतालमा आएर जागिरबाट राजिनामा लेखेर सहायक डाक्टरलाई दियो र आफू काठमाडौँ फक्र्यो ।  काठमाडौ आएर तेह्र दिनसम्म शोक मनाएर बस्यो तर लिनालाई यो घटनाबारे केही भनेन ।

(द्रष्टव्यः यस पछि क्रमशः अन्तिम भाग २४ आउनेछ)

तपाइँको प्रतिक्रिया