दुःखको दस्तावेज

जनकराज सापकोटा

dukheko-europe-dadi-sapkotaनेपालीको दुःखको सीमा कहाँदेखि कहाँसम्म फैलिएको छ? यो प्रश्नको उत्तर सजिलो छैन। विगतमा मलायादेखि फकल्यान्डसम्म पोखिएको नेपालीको दुःखको स्वरूप, शैली र भूगोल फेरिएको छ। फ्रान्सको राजधानी पेरसिमा बस्ने ददि सापकोटाले सुखको खोजीमा युरोप पुगेका नेपालीको कहरको कथा उधिनेका छन्, दुखेको युरोपमा। २१ पुरुष र सात महिला पात्रले युरोप छिर्न, टिक्न र पैसा कमाउन गरेको संघर्षको कथालाई प्रथम पुरुष शैलीमा प्रस्तुत गरिएको छ।

नेपालबाट युरोप छिर्न हिँडेका नेपाली भारत हुँदै मादागास्कर, सेनेगल, घाना, स्लोभाकिया, युक्रेन, चेक रपिब्लिक, चेचेन्यालगायतका मुलुकमा सञ्जाल फिँजाएर बसेका अनेक दलालको चंगुलमा पर्दै र उम्किँदै कसरी युरोप छिर्छन् र त्यहाँको भुक्तमानी भोग्न तयार हुन्छन्? त्यसको स्पष्ट चित्र पुस्तकमा छ। उनले छनोट गरेका प्रतिनिधिपात्रहरूमा नेपालमा ऋणको चंगुलमा परेकाहरू, आफ्नो व्यापार र व्यवसायबाट सन्तुष्ट नभएकाहरू र युरोप छिर्न सके पैसा सोहर्न सकिन्थ्यो भनेर सपना देख्नेहरू छन्। तिनले विभिन्न सामाजिक धरातल, हैसियत, समुदाय र वर्गको प्रतिनिधित्व गर्छन्। तर, सबैको साझा सपना भनेको मनग्य पैसा कमाउने र सन्तानलाई सुख दिने नै छ। हजार हन्डर खाएर अस्ट्रिया, जर्मनी, डेनमार्क, नेदरल्यान्ड्स, पोर्चुगल, फ्रान्स, बेलायत, बेल्जियम, स्पेन, स्वीट् जरल्यान्ड र हंगेरीमा पुगेका २८ प्रतिनिधि नेपालीको दुःखको कथा नै यो पुस्तक हो।

घरखेत बन्धकी राखेर, चर्को ब्याजमा ऋण काढेर, काखे बालक र मायालु पत्नी छाडेर विदेश हानिएकाहरूको दुःख कुनै फिल्मी कथाजस्तो लाग्छ। पासपोर्ट र भिसाबिना एउटा देशबाट अर्को देशको सिमाना काट्दा उनीहरूले बेहोरेको हैरानी र सास्तीको कथाले मुटुमा गाँठो पार्छ। जंगलको बाटो, कैयन् दिनसम्म भोकैभोकै यात्रा, भाषा, संस्कृति र परम्परा नबुझ्दाको सास्ती झेल्न नेपाली कसरी तयार हुन्छन् भन्ने पुस्तक पढेर थाहा लाग्छ। युरोप छिर्ने आशमा कोही सामान लादिएको लरीभित्र गुम्सिएर बस्न तयार हुन्छन्, कोही गधाझैं युक्रेनबाट रुस छिर्नका निम्ति मरुभूमिमा कैयन् दिन हिँड्न तयार हुन्छन्। कोही हिँड्दाहिँड्दैको रेलमा चढ्न तयार हुन्छन् त कोही भूमिगत रेलको टनेलमा ज्यानको बाजी थापेर हिँडिरहेका हुन्छन्। यसरी युरोप पुगेकाहरू सबैको गुनासो भने युरोपमा बोटमै पैसा फल्छ भनेर सोचिएको आफ्नो बुझाइप्रतिको ग्लानिमा केन्दि्रत छ। तिनीहरू नेपाल र्फकन पाए हुन्थ्यो भन्ने कामना पनि गर्छन् तर नेपाल गएर के गर्नु बरू परिवारसँग टाढिएर भए पनि पैसा त धेरथोर कमाइएकै छ नि भनेर चित्त बुझाउँछन्। सान्त्वनाको स-साना त्यान्द्रामा झुन्डिएर बाँचेकाहरूको कथालाई ददिले मन छुने गरी उनीहरूकै भाषा, शैली र लबजमा पस्िकएका छन्।

शरणार्थीको मान्यता पाउन नेपालीले बोलेका झूट, सहेको हैरानी र जालझेल र तिकडमका अनौठा बान्की हरेक पात्रका कथामा कहीँ न कहीँ कुनै न कुनै रूपमा आएकै छन्। दलालको चंगुलमा परेपछि, विकल्पहीन र घर न घाटको भएपछि जे पनि गरँिदो रहेछ भन्ने अनुभव अधिकांश पात्रको छ। तिनैमध्ये एक हुन्, नेपालबाट फ्रान्स हिँडेका म्याग्दीका शरण पुन, जो सुरुमा दलालको पछि लागेर दिल्ली पुग्छन्। डेढ महिना बस्छन् र तीनमहिने पर्यटक भिसामा डोमिनिकन रपिब्लिका र त्यहाँबाट हाइटी पुग्छन्। युरोप छिर्ने उपाय नभेटेपछि फेरि भारत फर्किन्छन् र फेरि दुबई हुँदै मध्य अमेरिकी राष्ट्र पनामा जान हिँड्छन्। तर, डोमिनिकनमा जेल पर्छन् र पुलिसलाई १ हजार ५ सय डलर घूस बुझाएर उम्किन्छन्। त्यहाँबाट लुक्दै भाग्दै हाइटी पुग्छन्। त्यहाँबाट उनीसहितका केही साथी दलालको भरमा जंगल र मरुभूमिको बाटो हुँदै कोही ग्वाटेमाला पुग्छन्, कोही क्युबा। उनले चाहिँ दिल्ली हुँदै नेपाल जाने टिकट काटे र फ्रान्सको ट्रान्जिट पार गरे। पासपोर्ट च्याते र त्यहीँ शरणार्थी भए। यसरी लाख हन्डर र ठक्कर खाएर घरखेत बेचेको पैसा सबै दलाललाई बुझाएर घर न घाटका भएका नेपालीको हर तरहले युरोपको देशमा ट्रान्जिट पार्छन् र त्यहीँ शरणार्थीको हैसियतमा बस्छन्। पुस्तकमा समेटिएका अधिकांशले यस्तै नियति भोगेका छन्।

युरोप छिरेपछि पनि नेपालीका दुःख सकिँदैनन्। तिनीहरू शरणार्थी क्याम्पमा अनेक झूट बोल्छन्, सयथरी फर्जी कागज तयार पार्छन्। देश फर्काइदेला कि भनेर भागी भागी हिँड्छन्, आफू मर्न तयार रहेको तर देश र्फकन नचाहेको बताउँछन्। बूढी युरोपियनहरूसँग फर्जी बिहे गर्न तयार हुन्छन्। सुख र समृद्धिको खोजीमा नेपालीले उठाएको दुःखको अभेद्य चित्रको सार नै यो पुस्तक हो।

दलालको सयथरी जन्जाल पार गरेर बेल्जियम पुगेकी र एक नेपालीको पाशविक यौन शोषणमा परेर इज्जत र पैसा गुमाएकी रोजी अधिकारीको दुःखको कथा पढ्दा आँसु आउँछ। स्वास्नी फेरी फेरी हिँड्ने श्रीमान् बाट जिन्दगीभर हैरानी र सास्ती खेपेकी र बुढेसकालमा छोराको साथ लागेर बेल्जियम पुगेकी टीका छन्त्यालको कथा र श्रीमान् र श्रीमती दुवै दलालको चंगुलमा परेकी सुमित्रा घिमिरेको सास्तीको वर्णन र उनले जसरी पनि युरोप छिर्न उठाएको जोखिमले सुख र समृद्धिको खोजीमा जस्तोसुकै दुःख उठाउन पुरुषजस्तै महिला पनि तयार रहेछन् भन्ने देखाउँछ।

उस्तैजस्ता लाग्ने तथ्यहरूको पुनरुक्ति र अनावश्यक विवरणले पुस्तकलाई थप राम्रो हुनबाट रोकेको छ। कमजोर सम्पादन कला र घटनाको वर्णन गर्दागर्दै हराउने तथ्यहरू अनि अनावश्यक सन्दर्भका कारण पनि पुस्तक अब्बल हुन सकेको छैन। यति हुँदाहुँदै पनि युरोप छिर्न र त्यहाँ पुगेपछि नेपालीले उठाएको बेचैनीको कथा बुझ्न पुस्तक उपयोगी छ।

(साभार : अंक: ६०३ | २०७१ असार २२ | जुल् ६, २०१४ नेपाल साप्ताहिक)

http://www.ekantipur.com/nepal/article/?id=7127

तपाइँको प्रतिक्रिया