उपन्यास अंश : भाँचिएको लौरो (भाग २२)

रमेश गौतम पाल्पाली

ramesh-gautam-palpali-110765980श्रवण क्लिनिकबाट आउँदा लिना र कुलीन सुतिसकेका थिए । लुगा फेरेर ऊ भान्सामा गयो । मायाँले खाना ठीक पारेकी थिई । खाँदैतस उसले सोध्योः

“खाना सबैले खाइसकेको हो ?”

“दाइले खानुभएन अरूले खाएको हो ।”

“नखानेलाई के गर्ने त ? कोचाइदिन  भएन केरे ?” भन्दै श्रवण खाना खाएर कोठामा गयो । मायाँ पनि बत्ति निभाएर सुती । बिरुलाई । श्रवणको अलिकति आशा थियो तर अहिलेको कुरा सुन्दा श्रवण पनि उसित अघाइसकेको छ भन्ने बुझ्यो उसले । अब यस संसारमा मेरो कोही रहेन छ जस्तो लाग्यो र ऊ घोप्टो परेर धेरै बेर रोयो ।

बिरुको टेक्ने र समाउने हाँगो भनेका यिनै छोरा र बुहारी थिए । यिनीहरूकै व्यवहार यस्तो भएपछि अब के बाँकी रह्यो र ?

उसले बिचार गर्‍यो “आफ्ना बाबु आमाले छोडेर गए, जन्मस्थान छोडेँ, बाबु आमाले भन्दा बढी मायाँ गर्ने बिष्ट दम्पतिबाट बिछोड हुनुपप्यो । अहिले अपाहिज भएको बेलामा सहारा चाहिने छोरा बुहारीको हो । यिनैले हेला गरेपछि यो अर्धमृत शरीर लिएर बाँच्नुको के अर्थ रह्यो ? यिनीहरूबाट घृणित भएर बाँच्नुभन्दा मर्नु धेरै जाती । सके सडकमा मागेर खाउँला नभए अन्तिम त मर्ने नै हो । अब यस ज्यानको के मायाँ गर्ने ? यो जेलबाट आजै निस्केर जानुपर्छ ।” भन्ने उसले अठोट गर्‍यो ।

सबै सुतेपछि हिम्मत झिकेर उठ्यो । एकजोर लुगा लगाएकै थियो एउटा ओड्नेले आफूलाई बेर्‍यो । बाहिर अँधेरो थियो, सानो लाइट पाकेटमा राखेर लुसुक्क निस्क्यो । सडकमा आयो, कसैले देखेन । ऊ ढुक्क भयो र लुरु लरु बसपार्कतिर लाग्यो । एउटा बस गेट बाहिर आएर यात्रु पर्खिरहेको रहेछ । त्यसैमा चढ्यो । ड्राइभरको बगलको सिट खाली रहेछ । त्यसैमा बस्यो र ड्राइभरलाई सोध्योः

“यो बस कहाँ जाने हो ?”

“विराटनगर जान्छ । तपाइँ कहाँ जाने ?”

बिरुले त्यसै भनिदियोः

“म पनि विराटनगर जाने । तर भाइ मसँग अहिले पैसा छैन । यही एउटा मोबाइल बँचेको छ । यही बेचेर जानु छ, तपाइँ किनिदिनुहुन्छ ?”

“के भयो र, चोरी भयो ?”

“चोरी मात्र होइन बाबु ! म त पूरै लुटिएको हो ।”

कसरी कसले लुटेको होला ? केही थाहा भएन ?”

“भएन बाबु भएन । म बिहोस् थिएँ त्यसैको फाइदा उठाएर लुटे ।”

बास्तवमा बिरु लुटिएकै त हो । पहिले त्यो अवस्थाबाट मेहनत गरेर पढ्यो, जागिर खाएर अफिसरसम्म भयो । बिहे गर्‍यो, जग्गा किनेर घर बनायो । छोरो जन्म्यो र घरबार बेचेर पनि उसको स्याहार–संभार र पढाइ–लेखाइ गराएर डाक्टर बनायो । अहिले आफू अशक्त भएको बेलामा घर छोडेर सडकमा आउनु परेपछि लुटिएको नभनेर के भन्ने ?

“बुबालाई अप्ठेरो परेको रहेछ । भन्न त मेरी बूढीले मोबाइल किनिद्यौ भनेकी थिई । तर कस्तो मोबाइल हो, कति पर्ने हो ?”

“यो राम्रो मोबाइल हो बाबु । यसमा धेरै फङ्सन छन् । मैले एघार हजारमा किनेको हो । तपाइँले दया गरेर जति दिने हो दिनुस् मैले के भनौँ ?” मोबाइल हेरेर ड्राइभरले भन्यो :

“मसित पनि पैसा छैन बुबा, ताइँलाई खाना ख्वाउँदे विराटनर पु्याउँछु र दुई हजार दिन्छु हुन्छ ?”

“हुन्छ बाबु हुन्छ । म उँधो लागेको मान्छेलाई धेरै किन चाहियो ?”

“मोबाइल चोरीको त होइन ?”

“म चोरजस्तो लाग्छु र बाबु ? तपाइँलाई शङ्का लागे त्यसैमा हेर्नुस् मेरो नाम, फोटो र मेरी श्रीमती सरिताको फोटो समेत छ ।”

बाटोमा केहीबेर जाम भयो, केहिबेर गाडी बिग्रेर विराटनगर पुग्दा रातको बाह्र बज्न लागेको थियो । एक त बिरु विराटनगर गएको पहिलो पटक थियो, दोस्रो लोडसेडिङले जताततै अन्धकार भएकोले गाडीबाट बाहिर निस्केर उसले केही भिउ पाउन सकेन । फेरि गाडीमै फर्केर ड्राइभरलाई भन्योः

“ड्राइभर बाबु, तपाइँले गाडी कहाँ राख्नुहुन्छ ?”

“गाडी त यहीँ रहन्छ ।”

“आज राती भयो, मलाई यही गाडि भित्रै बस्न दिनुस् है । भोली उज्यालो भएपछि म गइहाल्छु ।” “हुन्छ बुबा, मजाले सुत्नुस् गाडीमा । ऊ हाम्रो त्यो भाइ पनि यही सुत्छन् । म भने घर जान्छु ।”

बिरु एक बोतल पानी लिएर गाडीमा पस्यो । कति वर्षपछि ड्राइभरको स्टाफ बनेर आज दिउँसो उसले हेटौँडामा टन्न मासु र भात खाएको थियो । अहिले उसलाई खास भोक पनि थिएन । दुई जनाको सिटलाई एक्लौटी बनाएर ढल्क्यो गाडी भित्र । ’भोलिदेखि कस्तोमा परिने हो आजलाई ईश्वरले राम्रै व्यवस्था थरिदिए ।’ भन्दै आँखा चिम्ल्यो ।

गएको रात डेरामा बिताएको भए पनि मनमा चलेका अनेक तरङ्गले निदाउन सकेको थिएन । दिनभर पनि गाडीको घर्घर र मान्छेको बक्बक्ले सुत्न सक्ने कुरा भएन । गाडीमा ढल्केपछि ऊ बिहान छ बजेसम्म मस्त निदाएछ । यो निद उसको धेरै दिन पछिको हो भने पनि हुन्छ । काठमाडौँ छोडेपछि एक छाक भए पनि भरपेट् खान पनि पायो र ५ घण्टा जति मस्तसँग सुत्न पनि सक्यो ।

उता घरमा बिहान चिया लिएर मायाँ बिरुको कोठामा जाँदा ऊ थिएन । बाथरुमतिर गएका होलान् भनेर चिया टेबिलमा राखेर ऊ फर्की । खाना तयार भएपछि खाना लिएर जाँदा पनि बिरु थिएन, चिया टेबिलमा त्यसै थियो । मायाँले आएर लिनालाई भनी ।

“सुति सुति खान पाइएको छ । यहाँ छोडेर कहाँ जान्छन् बूढा । यतै कतै होलान् अहिले आइहाल्छन्, भनी । लिनाले आपूम्ले खाएर अस्पताल गई । साँझ आउँदा बिरामी आएर लाइनमा बसिसकेका थिए । ऊ सोझै क्लिनिकमा पसी । श्रवण बिहानै उठेर क्लिनिक गएको रातीमात्र आयो । लिना क्लिनिकबाट निस्कनु र श्रवण आउनु सँगै भयो । खाने बेलामा बिरु नआएको कुरा मायाँले भनी । खाना खाएर श्रववणले चिनेजानेको ठाउँमा फोन गर्‍यो पत्तो लागेन ।

“भन्दै नभनी बाबा कहाँ जानुभएछ त ?”

“छोडिद्यौ, कुचाले गर्ने बतासले लग्यो, ठिकै भयो ।” भन्दै लिना बिस्तरामा गई श्रवणले पनि त्यसभन्दा बढी चासो राखेन ।

उज्यालो भइसकेपछि पनि बसलाई घरजस्तो बनाएर बस्ने कुरा थिएन । बिरु बसबाट निस्केर बाहिर आयो । संगैको ट्वाइलेटमा पसेर नित्यकर्म सकेपछि चिया पसलमा गएर एक कप चिया खायो ।

बिरु विराटनगरमा पहिलो पटक आएकोले उसलाई चिनेजानेको र इष्ट–मित्र कोही थिएन । त्यसैले कसैसित भेट होला र बेलिबिस्तार गर्नुपर्ला भन्ने पनि थिएन । आजसम्म जे जस्तो भए पनि इज्जत गुमाएर सडकमा हात फैलाउन परेको थिएन । मोबाइल बेचेको दुई हजार छँदासम्म त हात फैलाउन नपर्ला । तर साँझदेखि टाउको लुकाउने ठाउँ भने कहाँ पाइने हो ? यसैको लागि ऊ बजार र गल्लीमा कुनै पाटी–पौवा वा मन्दिर छन् कि भनेर खोज्दै हिड्यो ।

नथाक्दासम्म घुम्यो तर थात्थलोको व्यवस्था भने हुन सकेन । साँझ फेरि बसपार्कै गयो । संयोगले उही बस पालो नआएकोले त्यहीँ रहेछ । कण्डक्टरसित भन्योः

“म त आज पनि यही बसमा बास बस्न आएँ भाइ ।”

“बस्नुस् बुबा, म पनि एक्लै छु सँगै बसौँला ।” भनेर कण्ढक्टर ट्वाइलेट गयो । बिरु बस भित्र पस्यो । कण्डक्टर आएपछि उसले सोध्योः

“यो बस यहाँ कतिसम्म बस्छ भाइ ?”

“पालो नआएर नगएको हो । भोलि साँझ नाइट भएर काठमाडौँतिर लागिन्छ ।”

“भोलिदेखि त बसको बास पनि नहुने भयो ।” निराशाको सास फे्यो उसले ।

अर्को दिन बिहान उठोर ऊ फेरि बासको खोजीमा हिँड्यो । हेर्दै जाँदा उसका आँखा एउटा मन्दिरको कुनामा परे । त्यहाँ दुई जना बृद्ध मैलो च्यादर ओडेर बसेका थिए । बिरु त्यहाँ गएर सोध्योः

“यहाँहरूको घर कहाँ होला ?”

त्यस मध्ये ’क’ ले भन्यो :

“हाम्रो घर यही हो । दिउँसो सडकमा बस्छौँ साँझ आएर झरीबादलबाट टाउको लुकाउँछौँ ।”

“तपाइँहरू दुई जना हुनुहुँदो रहेछ । के मलाई पनि साँझको साथि बनाउन सक्नुहुन्छ ?”

“साथि बनाउन त सक्थ्यौँ तर तपाइँ घरानियाँ जस्तो देखिनुहुन्छु । हाम्रो साथि कसरी बन्नुहोला ?”

“तपाइँहरूले मेरा सुकिला लुगा देखेर होला, दुई,चार दिनमा मैला भएपछि म पनि तपाइँ जस्तै देखिन्छु ।”

“त्यसो भए बस्नुस्, दुई जना थियौँ तीन जना हुन्छौँ ।” साथि ’ख’ ले भन्यो ।

बिरुले हिँजो केही नखाइ बसमा सुतेको थियो । बिहान पनि केही खाएको थिएन ।  अहिले उसलाई भोक लागेजस्तो भयो । उसले साथिहरूलाई सोध्यो :

“मैले त हिँजोदेखि केही खाएको छैन । भोक लागेको छ । तपाइँहरूले केही खानुभएको हो होइन ?”

“हामीले बिहान अलिकति चना र चिउरा खाएका थियौँ । हिँजो दाता मिलेनन् ।” ’क’ले भन्यो ।

“मसित केही पैसा छ । जाउँ केही खाउँला ।” ’क’ र ’ख’ दुवै साथि बिरुको पछि लागे । बाहिर गएर चना, चिउरा र समोसा गरेर पेटभरी जस्तै खाए । बिरुले पैसा दियो । तीनै जना फर्केर मन्दिरमा आए पछि ’क’ले भन्यो :

“साथी ! हामी बिहान बेलुका यही मन्दिरमा बसेर भक्तजनसित हात थाप्छौँ र दिउँसो आ–आफ्ना अड्डामा जने गरेका छौँ । तपाइ के गर्नुहुन्छ ?”

“मैले पनि एउटा अड्डा त बनाउनै पर्ला । म अड्डा खोज्न जान्छु । तपाइँहरू पनि आ–आफ्ना अड्डामा जानुस् । साँझ यही पाटीमा भेटौँला ।” भनेर बिरु हिँड्यो ।

(द्रष्टव्यः यस पछि क्रमशः भाग २३ आउने छ ।)

तपाइँको प्रतिक्रिया