र’ बाट पैसा खानेका थप खुलासा
तपाईंहरुले पढिसक्नु भयो, मीनेन्द्र रिजालले कात्तिकको दोस्रो साता ‘र’ प्रमुख प्रभातकुमार सिंहको निवासबाट चुनाव खर्चका निम्ति १० करोड ल्याएर सुशील कोइरालालाई बुझाएको खबर । ‘र’ ले छिमेकी देशहरुमा बेला–बखत यसरी नै पैसाको खोलो बगाउने गरेको लिखितम उसैका पूर्व अफिसरबाट खुलासा भएको छ ।
‘र’ का पूर्व अफिसर आर. के. यादवको ‘मिसन र’ मा उल्लेख गरिएअनुसार, ०६४ सालको संविधानसभा निर्वाचनताका नेपालमा खटाइएका आलोक जोशीले आफू पक्षधरलाई जिताउन निकै ठूलो धनराशि परिचालन गरेका थिए । यहाँसम्म कि उनले नेपाल आएको रकमबाटै भारतको मोहाली र गुडगाउँमा फ्ल्याटसमेत किन्न भ्याए । सोनिया गान्धीको विशेष आशीर्वाद पाएका यिनले ०६४ को चुनावपछि राष्ट्रपति र प्रधानमन्त्री पद बाँडफाँड गर्ने सहमतिको नजिक पुगेका एमाले र माओवादीलाई टाढा पुर्याउनमा विशेष भूमिका खेलेका थिए । घटना कस्तोसम्म भएको थियो भने तालमेल र सहकार्यको टुंगो लगाउन भनी सोमबार बिहान आफ्नो तत्कालीन निवास नयाँबजार पुगेका झलनाथ खनाल र ईश्वर पोखरेललाई बाहिरै कुराएर आलोकसँग प्रचण्डले बेडरुममा विशेष वार्तालाप गरेका थिए ।
त्यसपछि कुरा बिग्रियो र अन्ततः काँग्रेसले राष्ट्रपतिमा बाजी मार्यो । प्रचण्ड प्रधानमन्त्री बने । ‘र’ ले आफ्नो स्वार्थअनुरुप पार्टी र नेता किन्न प्रयोग गर्ने गोप्य कोष दुरुपयोगको आरोपसमेत आलोकमाथि लागेको र सोउपर अनुसन्धान भएको पुस्तकमा उल्लेख छ ।
पञ्जाब, हरियाणा र ब्रसेल्स बस्दासमेत आर्थिक हिनामिना गरेका आलोकका उत्तराधिकारी प्रभातकुमारले ०६४ सालको चुनावमा झैं ७० को चुनावमा काँग्रेस एक्लैलाई १० करोड दिएको बताइन्छ । उक्त रकम अरु क–कसले पाए पुस्तकमा नाम उल्लेख छैन । हुन त ०४८ कै चुनावमा पनि दक्षिणको द्रव्य दमदार रुपमा परिचालित भएको हल्ला चलेकै हो । तर यसप्रति धेरैले चासो देखाएनन् । एमाले फुटेका बेला र महाकाली सन्धिताका पनि यस्तै चर्चा चल्यो । तर, ०६४ को निर्वाचनका लागि नेपाल पठाइएको पैसाको सही ढंगले परिचालन नहुँदा परिणाम आफू अनुकूल आउन नसकेको चाहिँ पुस्तकमा उल्लेख छ । रकम दिनुपर्ने पार्टीहरुलाई कम दिएर त्यसमध्येको हिस्सा हाकिमहरुले चप्काइदिँदा केहीको हार र माओवादीको अप्रत्यासित जीत हुन पुगेको समेत ‘र’ अफिसर यादवको स्वीकारोक्ति छ ।
दक्षिणपरस्त पार्टीलाई सहयोग गर्न पठाइएको पैसाको फर्जी विवरण बनाई आलोक जोशी र उनका सहायक अश्विनीकुमार सक्सेनाले हिनामिना गरेपछि सक्सेनालाई नेपालको कार्यकाल छोट्याई हेडक्वार्टर तानिएको थियो । ‘जोशी र उनका सेकेन्डम्यान आलोक तिवारीले गरेको आर्थिक बद्मासीबारे ‘र’ ले आयोग बनाएरै छानविन गरेको तर त्यो प्रतिवेदन गोपनीयताका कारण गोदाममा थन्कियो ।’ पुस्तकमा भनिएको छ । सोनियाको जोडबलमा सन् २०१० को जुलाईमा सञ्जिवकुमार त्रिपाठी ‘र’ प्रमुख बनेपछि उक्त खुफिया एजेन्सीमा पुनः सक्रियता पाएका आलोक जोशी सन् २०१३ जनवरीमा ‘र’ प्रमुख नै बन्न सफल भएका थिए ।
(बुधवारको जन आस्था साप्ताहिकबाट)




