उपन्यास अंश : भाँचिएको लौरो (भाग – २१)
● रमेश गौतम “पाल्पाली”
बिरु थलिएको वर्षौँ भइसक्यो । ऊ बिरामी भएर सुतेपछि लिनाको आदेशमा मायाँले जे दिन्छे त्यही खाएर बाँचेको छ आजसम्म । ऊ स्वस्थ हुँदा विभिन्न परिकार बनाएर छोराबुहारीलाई खुवाउँथ्यो र आपूम्ले पनि खान्थ्यो । उनीहरूले पनि बूढाले बनाएर दिएको खाने कुरा आनन्द मानेर खान्थे बस्थे । कसरी ख्वायो भनेर सोध्ने कुरा थिएन । अहिले बिरु एक त अपाहिज बिरामी भएर बसेको छ । नयाँ नयाँ परिकारको त कुरै भएन । ऊ सुतेदेखि कुहे–सडेका फलफुल कहिले कहीँ पाएको भए पाए होला नत्र ताजा फलफुल उसले देख्न पाएको छैन ।
मायाँले घरको सबै काम सम्हालेकी छ । त्यसैले ऊ घरकी अभिन्न सदस्य भएकी छ । उसलाई विश्वास र आदर नगरे उनीहरूको घरव्यवहार नै चल्दैन । ऊ छ र कुलीनलाई समालेकी छ, घरको सारा कामधन्दा हेरेकी छ । किन–मेलदेखि खाना बनाउने सबै काम उसैमा निर्भर छ । ऊ नभएको भए यी काम उनीहरू आफाइंले सम्हाल्नुपर्ने थियो । अरू काम जसोतसो चले पनि कुलीनलाई काखि च्यापेर क्लिनिक र अस्पतालको काम त चल्ने नै थिएन । अब त झन् ऊ स्कुल जान थालेको छ । उसलाई खाना खुवाउने, ड्रेस मिलाउने, छोड्न जाने, लिन जाने काम गर्न डाक्टरलाई फुर्सत कहाँ मिल्थ्यो र मायाँ नभए । त्यसै भएर ऊ प्यारी भै ।
घरमा बनेका र बाहिरबाट आएका खानेकुरा, फलफुलहरू उसलाई उपलब्ध हुन्छन्, केही काम नगर्ने बिरुको के काम ? उसलाई किन दिने ? सबैले बलेको आगो न ताप्छन् । पहिलेको गुन र कर्तव्य कसले संझन्छ र ? थुक निलेर बस्नु नै बिरुको नियति बनेको छ अब ।
धेरैजसो शनिबार वा विदाका दिनमा श्रवण क्लिनिक सकेर घरमै आउँथ्यो । श्रवण घरमा हुने दिन सबै जना मिलेर कहिले बिरियानी, कहिले चाउमिन, थुप्पा, कहिले मिट मःमः त कहिले दाल, भात र मासुका विशेष प्रकारका खाने कुरा बनाएर खाने चलन थियो । अघिपछिको भन्दा बिदाका दिनको रौनक नै भिन्न हुन्थ्यो त्यहाँ । खान नपाए पनि विभिन्न थरी खानेकुराको थरी थरी बास्ना बिरुसम्म पनि पुग्थ्यो ।
विशेष चहलपहल पनि हुने । भान्सामा जाने आउने र परिकारहरूका स्वादको वर्णन पनि भैरहेको थियो । सुती सुती पनि यी कुराको जानकारी बिरुले पाउँथ्यो । तर खाने बेलामा भने उसलाई त्यस्ता परिकारहरू दिइँदैनथ्यो । उसको भागमा भने दालको झोल वा तरकारीको झोल मात्र हुन्थ्यो ।
खानाको स्वाद थाहा पाएका मान्छेलाई बास्नाले सताउँछ । बिरुलाई पनि खानेकुराले कल्पाउँथे । तर मुख फोरेर माग्दैनथ्यो । एक दिन त उसलाई असैह्य भयो र मायाँसित मलाई पनि दुई टुक्रा मासु देउ न मायाँ ” भनेर मुख खोल्यो । मायाँले लिनाको आज्ञा विना दिनसक्ने कुरा थिएन । उसले बिरुको माग लिना समक्ष राखिदिई । लिना रन्किीहाली “यही लोभी बानीले दायाँ हात चल्नै छोड्यो । खुट्टो पनि लङ्गडो भएको छ । अब अर्को हर पनि बसालेर बिछौनामा हग्ने मुत्ने विचार छ कि क्या हो मासु घिचेर ।”
“कुखुराको मासु दुई, चार टुक्रा दिएर के बिग्रेला र” श्रवणले भन्यो ।
“विना काममा दिनभर सुतिरहनेलाई केको मासु खानु प्यो, आफ्नै मासु खाए भयो नि ”
“ल, तिम्रो मर्जी डाक्टरले भनेपछि मैले के भन्ने”
“आफ्ना बाबुलाई घिचाउन मनलागे घिचाए भयो नि, मलाई किन छेड हान्नुपप्यो”
लिनाको यस भनाइको उत्तर श्रवणले दिएन । त्यस दिनको उनीहरूको रमझम पनि खल्लो भयो । उता श्रवण र लिनाको बादविबाद सुनेको बिरु अग्लो छाँगोबाट खसेजस्तो भएर भूइँमा पल्ट्यो । सधै त मायाँले खाना खाएर सके होलान् भन्ने भएपछि जुठा भाँडा लिन जान्थी, तर आज मालिक मालिक्नीको विबाद र बिरुको अवस्था सम्झँदा ऊ पनि त्यसै हताश भई कि क्याहो भाँडा लिन गइन ।
बिरु करीब चार घण्टा पछि बिहोशीबाट व्युँझ्यो तर आँखाले राम्ररी देखिएन । चिम्म गर्यो । घाँटी सुकेर सास फेर्न अप्ठारो भएको रहेछ । पानीको संझना भयो । पानीको बोतल त्यति पर छ कसरी खाने ? फेरि आँखा चिम्लो । सास फेर्न धेरै अप्ठारो भयो । पानी त खानै प्यो । आँखा चिम्लेर लत्री लत्री पानीको बोतलसम्म पुग्यो । बोतलै मुखमा राखेर पानी खायो । पानी खाएपछि केही हल्का भएजस्तो भयो तर उठ्ने साहस भएन फेरि पल्ट्यो ।
करीब आधा घण्टापछि जाग्यो । जिउ चिसो भएको रहेछ, त्यसैले होला अहिले पूरै आँखा खोलिए । वरिपरी हे्यो, ऊ भूइँमै सुतेको रहेछ । बल्ल थाहा पायो । कोठामा चारैतिर हे्यो उठ्न खाज्यो, शरीले साथ दिएन । बल्लबल्ल टाउको खाटमा अड्याएर बस्यो ।
“हरे, म कति अभागी रहेँछु । ईह्वरले मलाई यी नाक र कान किन दिए होलान् ? नाक नभए खाने कुराको बास्ना त थाहा पाउने थिइन । बास्ना थाहा नपाएपछि खानलाई माग्नु नै पर्ने थिएन । लौ, नाक त भयो रे, यी कान फुटेका भए पनि त बुहारीले यसरी निच्याएर गाली गरेको सुन्नुपर्ने थिएन । हे विधाता मलाई किन बहिरो बनाएनौ प्रभु !”
मानिसले मिहनत गरेर पनि भाग्यलाई परिवर्तन गर्न नसक्ने नै रहेछ । त्यसैले होला मान्छेहरू भाग्यबादी बन्ने गरेको । भाग्यलाई धिक्कार्नुभन्दा कर्म गरेर देखाउनुपर्छ, भन्ने मेरो सिद्धान्त काम लागेन । मैले जति गरे पनि आखिर आएर भाग्यमै भर पर्नुपप्यो । मेरा बाबु–आमाले कहिल्यै सुखको अनुभव गर्न पाएनन् । मैले पढेर भाग्य नै बदल्छु भन्ने लाग्थ्यो । त्यत्रो मिहनत गरेँ के काम लाग्यो खै, मैले पढ्छु भन्दा आमाले त भन्थिन् :
“कसरी पढ्छस् बाबै तैले ? छोड्दे भाग्यमा नभएको कुरा संझेर किन टाउको दुखाउनु ?” भनेर । आमाले भाग्यको कुरा गर्दा मैले भनेको थिएँ :
पढ्न पनि भाग्यमा हुनुपर्छ र ? केही नहुने, कोही नहुनेले पनि पढ्छन् रे, माड्साबले त भनेको । मलाई त जसरी भए पनि पढ्न मन लागेको छ । पढेपछि ठूलो मान्छे भइन्छ रे ! मैले पढ्न पाको भए पैसा कमाइहाल्थेँ । बालाई जोत्न पनि पर्ने थिएन ।”
आमाले भने विश्वास नलागेर भनेकी थिइन्ः
“होला, खै तेरो भाग्यमा पढ्न लेखेको छ छैन मलाई त थाहा छैन । तैँले कहिले पढ्ने, कसरी पढ्ने र कहिले पैसा कमाएर साउको ऋण तिर्छस् र तेरा बाको हलो छुट्ला ? मलाई त पत्यार लाग्दैन ।”
“मेरी आमा अनपढ् भाग्यवादी भए पनि उनलाई परिस्थिति थाहा रहेछ क्यारे ? मैले बाबाको रिन तिरेर उनलाई हलो जोत्न नपर्ने बनाउन नपाउँदै उनी गए । उनलाई ऋणमुक्त बनाउन पाइन ।
मैले पढ्न त पढेँ । पैसा पनि कमाएकै हो । त्यसको उपभोग भने मैले राम्रो गर्न पाइन । बरु त्यसको उपभोग त्यही छोराले गर्यो । मैले अर्काको भाँडा माझेर पढेँ त्यसले होस्टलमा बसेर आराम साथ पढ्यो । के यो पनि भाग्यले नै पारेको हो त ? म गरिब, अभागी बाबु–आमाबाट जन्मेको भएर अभागी भएको हो कि ? हुन त श्रवण पनि मेरै कुलमा मेरै छोरो भएर जन्मेको हो । अहिलेसम्म मभन्दा ऊ धेरै माग्यमानी छ । उसलाई आजसम्म कुनै दुःख परेको छैन । सायद अब के हुने हो ? रोग त्यसलाई पनि लाग्न सक्छ । स्वास्नी त्यस्ती स्वार्थी छ । त्यसलाई पनि रोग लाग्यो भने उसले मलाई जस्तै गराउन सक्छे । पछिको कुरा कसले भन्न सक्छ ?” यस्तै सोच्दा सोच्दै ऊ कति बेला निदायो थाहा भएन । जाग्दा अँधेरो भइसकेको थियो । त्यसै बेला मायाँ भित्र पसेर बत्ति बाली ।
“दाइ त अँध्यारोमा भूइँमै बस्नुभएको रहेछ । भात पनि खानुभएको रहेनछ ।” भन्दै थाल कचौरा लिएर बाहिर निस्कन लागेकी मायाँलाई बिरुले भन्यो :
“मलाई अहिलेपनि खान मन छैन । खाना नल्याए है ।”
“अलि अलि खाना पनि नखाए त झन् गलिन्छ नि दाइ !”
“अब के नगल्नु छ र ? मन लागे भोली खाउँला । आज नल्याए ।” ऊ मुख ढाकेर सुत्यो । मायाँ बाहिर निस्की ।
(द्रष्टव्यः यस पछि क्रमशः भाग २२ आउने छ ।)




