उपन्यास अंश : भाँचिएको लौरो (भाग–२०)
● रमेश गौतम “पाल्पाली”
अर्को दिन साँझ क्लिनिकबाट फर्केपछि श्रवणले भन्यो :
“बाबा, हिँजो म क्लिनिकबाट फर्किँदा अलि अबेला भएको थियो । तपार्इँ निदाएजस्तो लागेर उठाइन । बिहान पनि अलि हतार थियो चाँडै गएँ । तपाइँले सञ्चो छैन भनेर हिँजो नखाइकन सुत्नुभएको रहेछ । आज कस्तो छ ? हिँजो के भएको थियो ?”
“खास केही होइन बाबु, टाउको गरौँजस्तो भएको थियो । दिउँसो एक कप चिया घिचेको थिएँ त्यसै भएर खान मन लागेन ।”
लिनासित बाबाले खाना खानुभएको रहेनछ, भनेर श्रवणले भन्दा उसले “दश पटक चिया घिचेपछि खाना खान मन लाग्छ त ?” भनेकी थिई । बाबाले नखानुको कारण उसले बुझ्यो । तर के गर्ने ? बाबाको पक्ष लिएर श्रीमतीसित झगडा गर्न पनि ऊ सक्दैनथ्यो । त्यसैले बाबालाई भन्यो :
“यस्ता सानातिना कुरा लिएर टेन्सन लिन हुन्न । मैले लिनालाई सम्झाउँछु ।” भनेर ऊ आफ्नो कोठामा गयो ।
श्रवणको कुरा पत्याउने कि नपत्याउने बिरु असमञ्जसमा पर्यो । नपत्याउने हो भने छोरो हो, उसैको सहारामा बस्नुपरेको छ । के छ, कसो छ भनेर सोध्ने यो घरमा अरू कोही छैन उही एउटा हो । पत्याउँ भने लिनाको ज्यादतीमा खुलेर बोलेको आजसम्म थाहा छैन । श्रवणको दोधारे व्यवहार देखेर उसले खुट्याउनै सकेन । तैपनि ’लिनालाई संझाउँछु’ भनेर गएकोमा उसलाई छोराप्रति भरोसा नगरी भएन । लिनाले चियाका बारेमा गरेको व्यवहार पछि अरू दुर्वाच्य बोलेकी थिइन । त्यसैले उसले त्यो कुरा बिर्सँदै गयो र उसका दिन भित्र, बाहिर र बरण्डा यही चारदिवारी भित्र बित्तै गए ।
बिरुले आफू स्वस्थ हुँदै एक, दुइ वटा पत्रिका लिने गरेको थियो । तिनै पत्रिकामा अल्झेर उसले धेरै समय बिताउने गरेको छ । बिहानको पत्रिका तानेर सुतिसुति पत्रिका पढ्न थाल्यो । हेर्दै जाँदा उसका आँखा एउटा शीर्षकमा गएर रोकिए । त्यसको शीर्षक थियो “करोडपति छोराकी आमा बृद्धाश्रममा रुँदै ।”
उसले त्यस शीर्षकको विषयबस्तु पढ्न थाल्यो । त्यसमा लेखिएको थियो :
“पढ्दा झट्ट कसैलाई पत्यार लाग्दैन । तर कुरा यथार्थ हो । यो संबाददाता पशुपति बृद्धाश्रममा पुग्दा एक जना अशक्त बृद्धा र पशुपति बृद्धाश्रमका कर्मचारीका बीचमा यस्ता कुरा भइरहेका थिए :
“बाबु अब म कति दिन बाँचुला र, केही दिनको लागि मलाई यहीँ आश्रय दिनुस् ।”
“तपाइँको घर कहाँ हो आमा ?”
“अब मेरो घर कहाँ हो भनौँ बाबु ! मेरो पुरानो घर वीरगञ्ज थियो । अब कहीँ छैन ।”
“जग्गा जमिन पनि हुँदो हो । अनि त्यो घर जग्गजमिन के भयो त ?”
“थियो बाबु थियो । छ बिगाहा खेत थियो । शहरमा घर थियो । श्रीमान्ले राम्रो व्यवस्था गरेर छोड्नुभएको हो । दिन लागेपछि के गर्ने बाबु, अहिले म मागेर खाने भएँ ।”
“कसरी दिन लागे आमा ? त्यत्रो सम्पत्ति त्यत्तिकै त हराएन होला नि ? त्यो पनि नगद भए त हराउन पनि सक्थ्यो, तर जग्गाजमिन, घरबार त त्यसै हराउँदैन नि । को भयो भन्नुस् न । भनेपछि पो थाहा हुन्छ त ।”
“के भनौँ बाबु , छारछोरी अलच्छिना र आफू सोझो भएपछि आफूले दुःख पाइँदोरहेछ ।”
“तपाइँका छोराछोरी कति छन्, कहाँ छन् ? के गर्छन् , सबै भन्नुस्न ।”
“एउटी छोरी थिई, दुइटा छोरा थिए । तिनैले गर्दा म बूढीलाई मागेर खाने गराए ।”
“किन ? के के भएको थियो भन्नुस्त ।”
“जग्गा जमिन, घर सबै मेरै नाममा थियो । छोराछोरी सबैको व्यादान भएर सबैतिर नाति नातिना छन् । छोरीको पनि राम्रो व्यवस्था छ । ज्वाइँले जागिर खान्छन् । तर जति भए पनि मान्छेलाई धनको लालच हुँदोरहेछ । छोरीले तपाइँसित भएको जमिनबाट मलाई पनि दुई बिगाहा दिनुपर्छ । नदिए म अदालत गएर पनि लडेर लिन्छु, भन्दै दिनदिनै आएर धम्काउन थाली । ’लौ त मोर् तँ पनि आफ्नै छोरी होस्’ भनेर त्यसको नाममा र दुई भाइ छोरहरूको नाममा दुई,दुई बिगाहा खेत बाँडिदिएँ । मेरो नाममा वीरगञ्जको घर राखेँ ।”
“वीरगञ्जको घरबाट तपाइँको निर्बाह भएन त ?”
“कहाँ नि बाबु, त्यो घर छँदासम्म दुवै छोरा बुहारी र नाति नातिना सबै सँगै थिए । एक दिन साँझको खाना खाएर बसेको बेलामा दुवै छोराले भने :”
“आमा, हामीले एउटा ठूलो व्यापार गर्न आँटेका छौँ । त्यो सफल भयो भने करोडौँ फइदा हुन्छ । अहिले हामीसित पैसा भएन । आखिर हजुरलाई पछि पनि हामीले नै पाल्ने हो । यो घर हाम्रै हुने हो क्यारे, अहिले हामीलाई अप्ठेरो परेको छ । यो घर बैँकमा धितो राखेर अलिकति पैसा झिक्नुपप्यो” भने । बुहारीहरूले पनि–
“हो त नि आखिर हजुरलाई हामीहरूले नै पाल्नुपर्छ । अहिले उहाँहरूलाई अप्ठेरो परेको बेलामा धितो राखेर के नै बिग्रन्छ र ? बेचिहाल्ने होइन क्यारे ।” भने ।
“म सोझी बूढी । ‘हुन्छ त’ भनेर सही गरिदिएँ । आखिर त्यो पैसा लिएर उनीहरूले आ–आफ्ना घर बनाएछन् । बैँकले घर लिलाम गरेर मलाई बाहिर धपायो ।”
“छोराहरूले पालेनन् त ?”
“त्यस पछि म जेठो छोराकहाँ गएँ । छोराले बस्नुस् आमा, सकेको गर्नुस्, बस्नुस् खानुस् केको चिन्ता छ र ?” भन्यो । राम्रै भन्यो भनेर बसेँ । तर बुहारीले मलाई आफ्नै दाइजोमा आएकी नोकर्नीलाई झैं दल्न थाली । आफूले सिन्को नभाँच्ने घरको सबै काम मैले गर्नुपर्ने । समयमा काम नसके मलाई जगल्ट्याउन समेत थाली । त्यसको दिनदिनैको पिटाइखाएर म कसरी बसुँ बाबु, कसरी बसुँ ?” ती बृद्ध आमा रोएको देखेर त्यहाँ उँभिएका सबैले आँसु थाम्न सकेका थिएनन् । अनि कर्मचारीले फेरी सोधेः
“त्यसो भएपछि सरासर यहाँ आउनुभएको हो ?”
“होइन बाबु, त्यसपछि कान्छो छोराकहाँ गएँ । कान्छो छोरो विदेश गएको रहेछ । बुहारीले भित्रै पस्न दिइन ।”
“अनि अंश लिने छोरीकहाँ जनुभएन त आमा ?”
“गएँ बाबु, छोरीकहाँ पनि गएँ । छोरीले के गर्ने र आमा ! मैले त तपाइँलाई राख्ने थिएँ । ज्वाइका बाउआमा पनि यहीँ थेँचिएका छन् । तिनैका टेन्सनले ज्वाइँ आफैं दिक्क भएका छन् । एक, दुई दिन बस्नुस्, धेरै दिन त कसरी राखुँ र आमा !” भनेर छोरीले पनि पन्छाउन खोजी ।”
“छोराहरूले पालेनन् त ।
मेरै अंश खाइदिने छोराले त पालेनन् भने त्यसरी पन्छाउन खोजेपछि छोरीकहाँ कसरी टाँसिएर बसुँ ? यो संसारमा मेरो कोही रहेनछ, मलाई बास दिनुस् बाबु । यहाँ आएपछि बस्न पाइन्छ भनेर आएको हो । यहाँ पनि बस्न पाइन्न भने अब मर्नु बाहेक अर्को उपाय मसित छैन । तपाइँ जे भन्नुहुन्छ त्यही गर्छु ।” भनेर करोडपति छोराकी आमाले रोएर गरेको कारुणिक कथाले ढुङ्गो पनि पग्लेला जस्तो लाग्थ्यो ।
पत्रिकाको समाचार पढेर फेरि एकपटक बिरु बिचलित भयो । “कस्तो दारुण कथा, मान्छे कतिसम्म तल झर्न सक्दोरहेछ । आफूलाई जन्मदिने आमालाई पनि मान्छेले यसरी पर्गेल्न सक्दोरहेछ । केही नभएको गरिब परिवार भए पनि अर्को कुरा, अंशबण्डा गरेर आफ्नो हक लिनु, फेरि फस्लाङ्फुस्लुङ् पारेर करोडौँको घरबास पनि हत्याउनु अनि बूढी आमालाई त्यस्तो बिचल्लीमा पार्नसक्ने मान्छेरूपी जनाबरै रहेछन् ।”
त्यस कथाले बिरुका आँखा रसाए, उसले अरू केही पढ्न सकेन । पत्रिका फालेर बाहिर बरण्डामा निस्क्यो । बरण्डामा पनि मन स्थिर भएन । अनि धुपीको फेद मुनी गएर बस्यो । त्यहाँ एक्छिन् बसेर नयाँ हावा पेटमा घुचेटो । यसबाट केही राहत मिलेजस्तो भयो । भित्र गएर बिस्तरामा पल्ट्यो ।
द्रष्टव्यः– यस पछि क्रमशः भाग २१ आउनेछ ।




