उपन्यास अंश : भाँचिएको लौरो (भाग– १९)

रमेश गौतम पाल्पाली

ramesh-gautam-palpali-110765980घरभेटीले घर छोडिदिए तला थप्ने थिएँ भनेर भनिसकेको थियो । श्रवणले डेरा खोजौँ भनेको पनि हो । लिनालाई अस्पतालको क्वाटरमा सर्न पाइहालिन्छ कि भन्ने अलिकति आशा थियो । क्वाटरमा सर्न पाइयो भने डेरा खोज्ने झन्झट हुने थिएन भन्ने उसलाई थियो । तर बिरु अपाहिज भएपछि त त्यो पनि हरायो । किन कि श्रवणले पहिले त बाबुलाई छोड्न मानेन अब त झन् मान्ने कुरा पनि भएन । अब त लाजकाजले पनि बिरुको यस्तो अवस्थामा उसलाई एक्लै छोडेर क्वाटरमा जाउँ भन्न सक्ने स्थिति उसमा पनि रहेन । एक त घरभेटीले छोड भनिसक्यो, अर्को मायाँ आएपछि कोठा पनि नपुग्ने भयो । डेरा नखोजी भएन तर डेरा खोज्न जाने को ?

काठमाडौँमा डेरा नपाइने त होइन, तर सस्तो र ठिक्कको डेरा पाउन निकै पापड बेल्नुपर्छ । अहिलेसम्म यस्ता काम बिरुले गरिरहेको थियो । ऊ गर्न नसक्ने भएपछि आपैम्ले नगरे कस्ले गर्ने ? बिदाको दिन पारेर लिना र श्रवण डेरा खोज्न गए तर दिनभरको मेहनतमा पनि भनेजस्तो डेरा पाउन सकेनन् त्यसै पर्केर आए । डेरा कसरी खोज्नसकिन्छ ? भन्ने बारेमा साँझ बिरुसित श्रवणले सल्लाह माग्यो । बिरुले पत्रिका हेरेर दलाललाई फोन गर्न भन्यो । श्रवणले त्यसै गर्‍यो । दलाल मार्फत् अर्को दिनमै डेराको समस्या त टर्‍यो । तर डेडी महङ्गो । त्यसमा पनि पानी बिजुली र सर्सफाइ त अलग्गै तिर्न परिहाल्छ । यो डेरावालाको नियति नै हो ।

बिरुले काम गरेर अरूलाई सहयोग र्ने त कुरै भएन, आफूलाई खान पनि अर्काको मुख ताक्नुपर्ने भएको छ । अल्लि गोडा दरिएपछि चिया पकाउन सम्म त सक्थ्यो होला । अहिले त भर्खर थला परेर उठेकोले त्यो पनि सम्भव छैन । छोराबुहारीले पकाएको खाना नास्ताको त कुरै भएन एक कप चिया पनि उनीहरूले बनाएको बिरुले आजसम्म खाएको छैन । घरको काम गर्ने भनेको मायाँ हो । बिरुले चिया खान मन लागेको बेलामा उसैलाई भन्ने गर्छ । उसले कति बेला समय पाउँछे र चियाखान दिन्छे भनेर पर्खनु उसको नियति हो । कहिले त अरू काम गर्दा गर्दै बिर्सन्छे र ज्या ! मैले त बिर्सेँछु भन्छे । कहिले कहीँ त काम गर्दा गर्दा हैरान हुन्छे । त्यसमाथि कुलीनले दुःख दिएको हुन्छ । त्यस्तो बेला प्यो भने नबिर्से पनि बिर्सेँ भनिदिए भयो, के ठेगान !

लिनाको कोठामा गयो भने कुलीनले कोठाका सामान चलाउने फाल्ने बिगार्ने हुनाले उसले आपूम्सित राख्नै चाहन्न । मायाँलाई बोलाएर लैजान भन्छे । एक दिन बिरुलाई चिया दिन लागेकोले ढिला भयो । भनेको बेलामा मायाँ लिन गइन । उसले सोधी :

“बाबु लिन बोलाएको बेलामा किन नआएको ?”

“दाइलाई चिया पकाइदिन लागेकी थिएँ, उम्लिन लागेकोले ढिला भयो ।”

“जतिबेला पनि चिया घिचाइरहनु पर्छ ? बिहान एक कप दिउँसो एक कप दिए पुग्छ । हामीले पनि त त्यत्ति खाने हो नि ?” भनेर लिनाले मायाँलाई गाली गरेको बिरुले सुन्यो ।

उसलाई यस घटनाले ज्यादै चोट पर्‍यो । तर पर निर्भरतामा बाँचेको मान्छे उसले के गर्न नै सक्थ्यो र ? यो कुरा छोरालाई भनेर पनि काम छैन । लिनाको अगाडि श्रवणले केही बोल्न सक्दैन । बिरु भित्र भित्र उकुस मुकुस भएर बस्यो । बिरुलाई त्यस दिन खाना खान पनि मन लागेन । सञ्चो छैन, भनेर खाना खाएन । श्रवण राती आयो ।

“खाना सबैले खाइसकेको हो ?” भनेर मायाँसित सोध्यो ।

“दाइले सञ्चो छैन भनेर खानु भएन । मेमसाहले खाएर सुत्नुभएको हो । मायाँले भनी तर श्रवणले त्यसमा कुनै चासो दिएन । आफूले खाना खाएर कोठामा गयो र लिनालाई “बाबाले सञ्चो छैन भनेर खाना पनि खानुभएन छ” भनेर सुनायो । लिनाले झर्केर भनी

“दश पटक चिया खाएपछि खाना खान मन लाग्छ त ?”

श्रवणले श्रीमतीको कुरा सुनेपछि समर्थन पनि गरेन र प्रतिबाद पनि गरेन, आफ्नो बिस्तरामा गएर सुत्यो । अर्को दन पनि श्रवण बाबाको कोठामा गएन । चिया खाएर क्लिनिकमा गयो । उसले बिदाको दिन बाहेक अरू दिन बिहानको खाना घरमा खान्न । क्लिनिकबाट सोभैझै अस्पताल जानछ, त्यहीँ केही खान्छ र साँझ क्लिनिकको काम सकेपछि एकै पटक घर आउँछ । त्यसो भएर दिनभर घरमा के हुन्छ कसो हुन्छ उसलाई थाहा हुँदैन । घरको व्यवस्थापन लिनाको निर्देशनमा चल्छ ।

एक कप चिया खान खोज्दा पनि लिनाले यस्तो वचन लगाई । बिरु त्यस दिन रातभर निदाउन सकेन । उसले आफ्नो अतित सोचेर रात बितायो ।

“संसार कति मतलबी रहेछ । सरिताले छोडेर गएपछि अर्को बिहे गर्नुपर्छ भनेर साथि–भाइ, इष्ट–मित्रहरूले त्यसरी कर गर्दा पनि छोराको लागि भनेर मैले अर्को बिहे गरिन । त्यो छोरो बिरामी हुँदा सरिता र म कति रात जागाराम बस्यौँ । जन्मेदेखि आजसम्म के के गरिन ? त्यसको गुहू–मुत स्यहारिएन कि थाङ्ग्रा धोइएन कि ? अहिलेसम्म पनि मैले त्यसले लगाएको कट्टुसम्म धोएँ । छोराको खुसीको लागि भनेर बुहारी बनाएर यसलाई भित्र्याएँ । कुल–घरान, जात–पात केही खोजिन । मैले सक्दासम्म त्यसका पेण्टी र ब्रा समेत धोएँ । आज एक कप चिया खाँदा पनि मायाँलाई गालि गरेजस्तो गरेर ’जतिबेला पनि चिया घिचाइरहनु पर्छ ?’ भनेर मलाई सुनाई । यसले मलाई भार संझेको त होला ।

’के छोराले पनि मप्रति त्यस्तै व्यवहार गरेको हो ? नभए त मायाँले सञ्चो भएन भनेर खानुभएन भनेपछि “के भयो, किन खाना खानुभएन ?” भनेर एक आखर सोध्न आउनुपर्ने । आएन त खै ? बुहारीको अगाडि लुरुक्क पर्छ । त्यसले मलाई हेपेर बोल्दा यसो नभनसम्म भन्नुपर्ने । केही बोल्दैन  । यसको मतलब ऊ पनि मप्रति सकारात्मक छैनजस्तो छ । छोरो भनेर तन, मन र धन समेत लगाएर हुर्काएँ, बढाएँ, पढाएँ । आमाको मायाँ समेत उसलाई दिएर स्यहारेको कति चाँडो बिर्सेको श्रवणले । बुहारी त झन् अर्काकी छोरी उसलाई मेरो मायाँ किन लाग्थ्यो ?’ यस्तै गण्टेउना गरेर बिरुले रात छर्लङ्ग पा्यो ।

बिहानको पाँच बजेको सङ्केत घडीले दियो । ऊ उठ्न खोज्यो । हात गोडाले जबाफ दिए उठ्न सकेन । सम्झ्यो, ऊ त अपाङ्ग पो हो भन्ने ।

ऊ सद्दे हुँदा बिहान पाँच बजे नै उठेर छोरा बुहारीलाई चियो समेत खुवाइसक्थ्यो । घरको बडार–कुँडार, सरसफाइ गरेर खाना बनाउने काम पनि उसले एक्लै गर्थ्यो । अहिले ऊ बिरामी छ, अझ अपाङ्ग भएर अरूको सहायतामा बाँच्नुपर्ने भयो । त्यसै भएर त एक कप चिया खानखोज्दा पनि’

’जति बेला पनि चिया घिचाइरहनु पर्छ ?’ भन्ने भनाइ खानुपरेको छ उसलाई । उसले विचार गर्‍यो ।

’अब मलाई किन पाँचै बजे उठ्नुपर्‍यो, के गर्न उठ्ने, कसको लागि उठ्ने ? काम गर्न नसक्ने लङ्गडोलाई जति बेला उठे पनि भयो । जति बेला सुते पनि भयो । एक प्रकारले म अब फुक्का पनि भएँ ।’

यसरी चित्त बुझाएर बिरु सुत्यो । साँच्चै उसलाई आनन्द आयो क्यारे ! रातभर सुत्न नसकेको ऊ अलिे मस्तसङ्ग निदायो । आजकाल सपना नदेखेको धेरै भएको थियो आज बल्ल उसले सपना देख्यो, त्यो पनि उसले जिन्दगीमा नसोचेको सपना :

’ऊ एकदम धनी मानिस रहेछ । उसको ठूलो कम्पाउण्डवाल सहितको चार तले लिफ्ट राखेको घर रहेछ । दश, बाह्र वटा बस रहेछन् । ठूलो व्यापार पनि रहेछ । सयौँ कामदार उसका अगाडि पछाडि हिँड्दा रहेछन् । उसको चक्चकी देखेर  उसका साथि–भाइ, इष्ट–मित्रहरू सबैले उसको हाइ–हाइ मनाउने गर्दारहेछन् । उसकी प्यारी श्रीमती सरिता पनि साथै रहिछ । छोरो श्रवण, बुहारी, नाति सबै उसको आज्ञापालक भएका रे !

फेरि सपनाको दोस्रो रिल घुम्यो– उसका कामदारहरूले बेइमानी गरेछन् । उसको व्यापारमा करोडौँ घाटा परेछ । उसले आफू बसेको घरकम्पाउण्ड धितो राखेर बैँकबाट ऋण लिएको रहेछ । व्याजसमेत चल्न नसकेको हुनाले घर लिलामीमा चढेछ । घरले पनि बैँकको ऋण नउठेर बस पनि लिलामीमा परेछन् । यही बेला कर्मचारीको तलब समेत रोकिएर कर्मचारीले घेराउ गरेका रहेछन् बल्ल बल्ल कर्मचारीको घेरा तोडेर बिरु एउटा गुफामा गएर लुकेको रहेछ । त्यस गुफामा पनि भालु रहेछ रे ! त्यो भालु मान्छेजस्तै बोलेर उसलाई भनेछ :

“बिरे ! तेरा दिन गए अब । तैँले जे जति खानुपर्ने थियो खाइसकिस् । अब त तँलाई खाने पालो हाम्रो हो ।” भनेर उसतिर आउन लागेछ । भालुले आफूलाई आक्रमण गर्न आँटेको देखेर ऊ आत्तिएर जाग्यो । जाग्दा पसिनाले लतपत भएको थियो । भित्तामा टाँगेको घडी हेर्‍योयो, विहानको नौ बजिसकेको रहेछ ।

’के हो यस्तो सपना । कहिले कहीँ त समनामा देखेको कुरा साँचो हुन्छ भन्छन् । तर म त करोडौँको मालिक कहिले पनि भइन । हो, चालीस पचास लाखको मालिकसम्म म पनि भएको थिएँ । अहिले म साँच्चै ओडारमा बस्ने लायक भएको छु । छोरा बुहारीले हेरेनन् भने भिखमङ्गा भएर पाटीको बास भइहाल्छ मेरो । बुहारीको रबैया हेर्दा उसले मलाई कति दिन हेर्ली र ? बुहारी नभए छोरालेसम्म त हेर्नेथियो कि । बुहारीका कारणले ऊ अहिले पनि बोल्न सक्दैन । भोली बुहारीले भनी भने मलाई खान–बस्न पनि नदिने हुन् कि ! त्यस बेला मेरो बास ओडार नभएर के हुन्छ ?”

बिरुले यस्तै तर्कना गर्दै थियो मायाँले चिया ल्याएर राखी । उसले सधै जस्तो आज पनि चिया राखेर टेबिल उसको नजिक सर्काएर गई । चिया खाँदा खाँदै पशुपतिमा देखेको घटना सम्झ्यो । त्यस दिन छोरालाई कलेजमा भेटेर पशुपतितिर घुम्न गएको थियो । पशुपति मन्दिरको ढोका अगाडि हुँदै बृद्धाश्रम अगाडिबाट वनकालीतिर जाँदै थियो । त्यहाँ बृद्धबृद्धाहरूले घाम तापिरहेका थिए ।

उसले उँभिएर तिनीहरूलाई हेर्‍योयो । छोराले हेरेन भने मेरो हालत पनि भोली यस्तै हुने हो कि ? शङ्का गर्‍यो । त्यहाँबाट ऊ तल घाटमा गयो । त्यहाँ एउटा बेवारिसे लास मुखमात्र छोपेको देख्यो । अलि वर बसेका दुई जनाले कुरा गरेको सुन्यो । पहिलो व्यक्तिले दोस्रोलाई सोधेको थियो :

“यो लास कसको रहेछ ? वरिपरी कोही पनि छैनन् ।”

दोस्रोः “यो यहीँ यतै पागलजस्तो भएर हिड्ने मान्छेको लास हो । उसका छोराहरू पनि छन् तर उनीहरू कोही पनि लास बुझ्न नआएकोले पशुपति विकास कोषले बेवारिसी रूपमा उठाएर ल्याएको हो ।”

“यसका छोराले के गर्छन् नि ?”

“कोही विदेशमा छन् रे,  एउटा त यहीँ ठेक्कापट्टाको काम गरेर हिँड्छ भन्छन् ।”

“यहाँ भएको छोराले जिउँदो छँदासम्म त हेरेन, के मरेपछि बाबुको लास बुझ्न पनि आएन ?”

“आजको मान्छेलाई पैसा भए पुग्छ । मायाँ, दया, धर्म, संस्कृति, कर्तव्य र नैतिकता, इमानदारिता जस्ता कुरा बिर्सेजस्तो छ ।” मान्छेले छोराछोरीका लागि जिउधन लगाएर हुर्काउनु बढाउनु पनि बेकार रहेछ ।”

यिनीहरूको कुरा सुनेर बिरुलाई आफैंमा घटेजस्तो लाग्यो । उसको मन विचलित भयो । त्यसपछि ऊ आफैं सम्हालिएर अनावश्यक चिन्ता लिएर भौँतारिएकोमा आफैंलाई दोषी ठानेर डेरामा फर्केको थियो । उसले आफ्नो छोरालाई दोषी ठहर्‍याउन सकेको थिएन । अहिले पनि छोरामा भरोसा गर्दैछ । अपाहिज बिरुको लागि बाध्यता पनि त छ ।

द्रष्टव्यः यसपछि क्रमशः बीसौँ भाग आउनेछ

तपाइँको प्रतिक्रिया