नेपालबारे पश्चिमा राजदूतको नालिबेली

ददि सापकोटा 

un-ambassadeur-se rebifa-michel-jolivetपरराष्ट्र मन्त्रालयका सबै औपचारिकता पूरा गरी नयाँ आवासीय राजदूतको जिम्मेवारी लिएर सगरमाथाको अघिल्तिर कमल फूलझैँ बसेको हिमाली देश पुगें । यस्तो देश जहाँको अधिकांश भूभाग माओवादी गुरिल्लाले ओगटेका थिए । माक्र्सवाद, लेनिनवादको सिद्धान्तअनुसार । माओवादी जनयुद्ध के हो भनेर गहिराइमा बुझ्न मैले तिनका सिद्धान्तकारहरूले लेखेका दस्ताबेज अध्ययन गर्नुपर्थ्यो ।

जिम्मेवारी सम्हालेपछि माओवादी जनयुद्धबारे बुझ्न १० सातासम्म विस्तारमा व्याख्या गरिएका दस्ताबेज हेरेँ । त्यो मेरो यात्राको सबैभन्दा उत्तम बौद्धिक खोज र लगानी थियो ।

काठमाडौंमा आवश्यक सबै चिजले मेरो पद युक्त थियो । सुविधा थिए । मलाई मन पर्ने पृथ्वीको सबैभन्दा सुन्दर हिमाली दृश्य त्यहीँ थियो । जनजातिका प्रस्तर चित्र (मोजाइक), मान्छे मर्दा ओढाउने कात्रो वा लुगा (स्राउड) देखिन्थ्यो । मिलनसार नेपाली, आध्यात्मिक संस्कृति र मलाई स्वागत गरेकामध्ये सबैभन्दा मिलनसार जनता । अवास्तविकजस्तो लाग्ने गुम्बा र चैत्यहरू, मठमन्दिर, हिमाली देवता मेरो पाइला–पाइलामा निगरानी गर्थे । भेटिन्थे ।

मसित काम गर्ने युवा÷युवतीको राम्रो टोली थियो । ती काममा गम्भीर थिए । विशालनगरको म बस्ने ठाउँ पाले, बगैँचा, माली र ड्राइभर, भान्छे गरी सबै कुराले पूर्ण थियो । मन्त्रालयबाट खर्चको व्यवस्था गरिएको थियो । सबै निःशुल्क थियो । मैले आफ्नो खाना खर्च मात्रै तिर्नुपर्थ्यो । आफ्नो रमाइलो, आनन्दका लागि केही निजी खर्च तिरे पुग्थ्यो । एउटा राजदूत घुस्याहा नहुनाका लागि चाहिने सबै वस्तु पर्याप्त थियो । मैले फ्रान्सको गरिमा, छवि र इज्जतलाई राम्रोसित प्रतिनिधित्व गर्नुपर्थ्यो । यताउति कार्यक्रममा प्रतिनिधित्व गर्न जाँदा मासिक एक हजार युरोको बजेट थियो । स्वतन्त्रता दिवस जुलाई १४ का लागि ४ हजार युरोको अलग्गै व्यवस्था थियो । 

म आइपुगेको २४ घन्टापछि मात्रै ओहोदाको प्रमाणपत्र राजासमक्ष बुझाएँ । त्यो मेरो आठौँ पत्र थियो । नेपाली प्रोटोकलले मलाई लिमोजिनमा लगे किनकि त्यो वर्षातको बेला थियो । राजाले उभिएर मेरो प्रमाणपत्र लिए । मैले थालीमा राखेर दुवै हत्केलाले प्रमाणपत्र दिएँ । नेपाली ढाकाटोपी र कुर्तामा सजिएका उनी मीठो अंग्रेजी भाषामा प्रस्तुत भए ।

काठमाडौं एउटा जादूमय सहर हो । अरूलाई मोह गराउने, प्रसन्न पार्ने सहर । हिप्पीहरूका लागि स्वर्गको सहर । विभिन्न जनजातिको आ–आफ्नै पहिचान । जातीय पहिरन । भिन्न सामाजिक अवस्था । धार्मिक रीतिरिवाज र आस्थाअनुसार मौलिकता । यामअनुसारको चाडपर्व, रीति–रिवाज र धर्मावलम्बीहरूको सडकमा भइरहने जात्रा । लोककथा र गाथाहरूले भरिएको ब्रह्माण्ड थियो त्यो, जहाँ विभिन्न रंग देखिन्छ पवित्र चाडपर्वको । पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ र हनुमानढोका जस्ता जीवन्त ठाउँ छन् ।

कूटनीतिक जीवन सजिलो छ । नेपालीहरूको विश्वास, मान्यताअनुसार मानिस फेरि–फेरि जन्म लिइरहन्छन् । त्यसका लागि पनि राजदूतले राम्रो कर्म हुनुपर्छ । पुनर्जन्मका लागि राम्रो तयारी हुनुपर्छ । राजदूतलाई सबैतिर स्वागत गरिन्छ तर समस्या के भने मैले एक साँझमा तीन वटाभन्दा बढी निम्ता स्वीकार्न सक्दिनँ । दुईवटा रिसेप्सन र एउटा डिनर । नेपालीका लागि राजदूत पहुँचयोग्य र विशेष हुनुपर्ने । नेपालमा पेरिसमा जस्तो पहिचान लुकाएर बस्नु नपर्ने । पेरिसमा स्थानीय फ्रान्सेलीले राजदूतसित निजीस्तरमा भेटघाट हुँदैन भन्थे । तर, नेपालमा त्यस्तो हुँदैनथ्यो ।

गृहयुद्धले नेपालमा भय र त्रास सिर्जना गरेको थियो । त्यो नेपालीलाई मात्रै थियो । विदेशीका लागि पूर्ण सुरक्षा थियो । त्यो सुनिश्चितता गुरिल्लाहरूले पनि गरेका थिए । उनीहरूको तर्फबाट विदेशीमाथि कुनै आपराधिक गतिविधि भएन । महिनाको एक वा दुईपटक बन्दमा परिरहन्थ्यो । त्यो बेला पर्यटकबाहन बाहेक अरू यातायात बन्द गरिन्थे । गाडीमा भएको सानो झन्डाले मलाई बन्दमा आवत–जावत गर्न बाटो खुल्थ्यो । सहकर्मीहरू साइकलमा आवत–जावत गर्थे । काठमाडौंमा बन्द हुँदा फ्रान्सस्थित मेरो विभागबाट चिन्ता व्यक्त गरिन्थ्यो । माओवादीले बन्द गरेका बेला संकटकालमा पनि उनीहरू चिन्ता व्यक्त गर्थे । मैले माओवादीले काठमाडौंमा हमला गर्दैनन् भनेर विश्वस्त पार्दा पनि भय व्यक्त गर्थे । बन्दका बेला हामीले आह्वानकर्ताले भनेजसरी नै आवत–जावत गर्नुपर्थ्यो । बन्द गम्भीर अवस्थाको देखिएका बेला कार्यालयमै खानपिन आयोजना गर्थ्यौं ।

उनीहरूको विद्वता (डक्ट्रिन) के भने सैनिक होइन कि राजनीतिक विजय हुनुपर्छ । उनीहरूको उद्देश्यमा जनताले साथ दिए देशबाट राजतन्त्र हटाउनका लागि ।

मकवानपुरको चित्लाङ गाउँमा फ्रान्सेली प्रोजेक्ट थियो, बाख्राको चिज उत्पादन गर्ने । म जाँदा स्थानीयले निधारमा रातो टीका लगाइदिए । त्यो टीका बग्दै कमिजसम्म ओरालो लागेको थियो । मलाई आफू हाँस्यास्पद भएजस्तो लाग्यो । तर, त्यसले मेरो खुसी, आनन्द र रमाइलोमा कुनै अड्चन पुर्‍याएन । अप्ठ्यारो बनाएन । म औधी रमाएँ, खुसी भएँ ।

एउटा जोखिम राजदूतका रूपमा के थियो भने आफ्नै कर्मचारीतन्त्र (ब्युरोक्रेसी) को तालिकामा मात्रै सीमित भइन्छ कि ! त्यो घेरा नाघेर स्थानीय जनता, संघ÷संस्थामा पुग्न सकिन्न कि ? किनभने एउटा राजदूतले आफ्नो देशका लागि सबैतिर प्रतिस्पर्धी हुनुपर्थ्यो । च्याम्बर अफ कमर्स, माउन्टेनिरिङ एसोसिएसन, रेडियोलगायत अन्य नेपाली मिडियासँग सम्बन्ध बनाउन र समय दिनुपर्थ्यो । राजनीतिक व्यक्तिसित भेटघाट र वार्ता गरिरहनुपर्थ्यो । त्यस्तै, अन्य संघसंस्था हुन्थे भेट्नु र कार्यक्रममा पुग्नुपर्ने । मानवअधिकारसम्बन्धी भाषण दिएपछि डिनर आयोजना हुन्थ्यो । प्रेस विज्ञप्ति, पर्यटनको विषयमा विज्ञप्ति र कार्यक्रम अनि उद्घाटन । हिमालमा रहेको अस्पताल भ्रमण । त्यसबाहेक बेला–बेला अन्तर्वार्ता दिनुपर्थ्यो मिडियालाई ।

म भएकै बेला फ्रान्सेली राजदूतावासको वेबसाइट बनाएँ । जसमा प्राप्त भएसम्मका अधिकतम सूचना, जानकारी राखियो । अहिले महिनाको १० हजारले भ्रमण गर्छन् दूतावासको वेबसाइट । यो धेरैका लागि सूचनाको महœवपूर्ण भण्डार सावित भएको छ । तर, दुःखको कुरा के भने हाम्रो काम र प्रभावकारिताका लागि हरेक वर्ष बजेट घट्दो छ ।

चितवनको जंगलमा हरेक वर्ष पोलो खेल हुन्थ्यो । त्यहाँ जाँदा हात्ती चढेर गैँडा र अन्य जनावर हेर्न पाइन्थ्यो । हात्तीमाथि चढेर घोचाजस्ता लौराले तलको बल हान्थ्यौँ । फुटबलजसरी पोलमा छिराउने त्यो हात्ती पोलो खेल्न फुटबल खेल्दा लगाउनेजस्तो जर्सी लगाएर खेलियो । तर, म्याच हारियो । फ्रान्सेलीको गोल गन्ती गर्नेमा मिस नेपाल थिइन् ।

जनवरी २००५ मा गृहयुद्ध उचाइमा पुग्यो । हामीले हाम्रो व्यवस्था गरेका थियौँ । पर्यटक आवत–जावतका लागि र तिनको सुरक्षा पनि मिलाएका थियौँ । तर, पर्यटकले भने जनयुद्ध कर तिर्नुपर्थ्यो माओवादीलाई । केही पर्यटक त्यो कर तिर्नुपर्दा बेखुसी हुन्थे ।

काठमाडौं भूकम्पीय जोखिम भएको सहर हो । सिमेन्ट र इँटाले बनेका, माटोको गाह्रो लगाइएका, अग्ला न अग्ला घर जोखिममा छन् । यदि, भुइँचालो रातको समयमा गयो भने लाखौँ मानिस मर्नेछन् । पुल भत्किनेछन् । विमानस्थल र बाटोघाटो बन्द हुनेछ । बिजुली काटिनेछ । पानी हुन्न । यहाँ ओहोरदोहोर गर्ने माध्यम हुन्न । यदि, त्यस्तो अवस्था भयो भने आफ्ना सामान झोलामा कोचेर भारततिर पैदल जानुको विकल्प रहने छैन ।

(मिसेल जोलिभे नेपालका निम्ति राजदूत थिए, फ्रान्सका तर्फबाट । माओवादी शान्ति वार्ताको मेलोमेसो चल्दै गर्दा पश्चिमेली राजदूतमध्ये सबैभन्दा पहिले प्रचण्ड र बाबुरामलाई जनआस्था सम्पादक किशोर श्रेष्ठमार्फत भक्तपुरमा भेट्ने पहिलो उच्च कूटनीतिज्ञका रूपमा उनलाई चिनिन्छ । पश्चिमेली परराष्ट्र मन्त्रालयबाट नेपालमा आफ्ना नागरिकलाई भ्रमण नगर्न सूचना जारी भइरहेका बेला पहाडी र तराई क्षेत्र विनाकुनै सुरक्षा घुमेर सुरक्षा छ, घुम्न सकिन्छ भन्ने सन्देश दिने जोलिभे सबैतिर निकै चर्चामा थिए । त्यसबेला उनको क्रियाकलापबाट स्वयं फ्रान्सको परराष्ट्र मन्त्रालयले समेत आलोचना गरेको हालै प्रकाशित पुस्तक ‘उन् आम्बासाद स बिफ (एक राजदूत विद्रोह गर्छन्) बाट बुझिन्छ । बुरुन्डी, न्युजिल्यान्ड, कम्बोडिया, ब्राजिललगायत दर्जनौँ मुलुकमा कूटनीतिज्ञ भएर गएका उनले पुस्तकमा ३६ पेज नेपालबारे खर्चेका छन् । आफ्नो सबैभन्दा रमाइलो र सम्झनायोग्य क्षण नेपालमा बिताएको उल्लेख गरेका छन् । यो अंश त्यसैको एक भाग हो)

(२०७० जेठ ७ गते बुधवारको जनआस्था साप्ताहिकमा प्रकाशित)

तपाइँको प्रतिक्रिया