नेपाल बसेर हिन्द्दू बनेका फ्रान्सेली बाबाले सुनाए पेरिसमा रोचक गफ

shanta-baba-paris

फेसबूकका भैरेलाइ जे खाएपनि चल्ने । लाटो खाना गोरेको जस्तो । तर मलाई पाएसम्म ट्वाक्कटुक्कनै मन पर्ने । तिनै भैरे अर्थात् बिनोद न्यौपानेकी पत्नी शान्तालाई पिरो, च्याप्प जिब्रोमा लाग्ने मगमग बासना आएको । नुन, पिरो, बेसार र अन्य मरमसला झ्याप्प लागेको चाहिने । बिनोद न्यौपानेका जोडी पेरिस घुम्न आएको मेसोमा भेट भयो । त्यहि ट्वाक्क टुक्क परेको खाना खान भनेर मैले भारतीय बस्तिले गोरेलाई च्यापेको ला सापेल लगें । रेस्टुरेन्टको बाहिरै टाँसेको खानाको सूची हेरेर ति जोडी ‘ह्याँ त जेपनि पाइने रैछ त, ए खाने सप्पै पाइने रैछ त’ भन्दै मुस्कुराए । रेस्टुरेन्टको कुनामा पुग्दा एक जना जटाधारी बाबा गोर्खे पाराले भात झ्याम्म झ्याम्म खाँदै रहेछन् । लागि हाल्यो ‘यो गोरेको जातले औंलाले चरप्प चरप्प पारेर भात खान त जान्दैन । यि जटाधारी पक्कै भारत र नेपालतिर धेरै बसेर रैथाने बनेको हुनुपर्छ ।’ तिनै जटाधारी बाबाको छेउमा गएर बसियो । हामीलाई देख्नासाथ उनले कर्के नजर लगाएर सुनाउन खोजे ‘धेरै पिरो छा, एकदम पिरो, खान गाह्रो, धोतीले खुर्सानी धेरै राकेको छा ।’  

दाल, भात, साग, अचार र अन्य मिश्रित तरकारीको अलग अलग राख्ने खाल्डो भएको थालमा झानेका राता खुर्सानी तर्काउँदै उनी भात खाँदै थिए । रमाईलो लाग्यो उनको पारा देखेर । सोधियो ‘नाम के हो ?’

‘शान्त बाबा’ भने ।

‘त्यो त नेपाली नाम भयो । फ्रान्सेली नाम के हो ?’

‘म हिन्दू भैसक्यो । क्रिश्चियन हाइन । मेरो त्यहि नाम हो, आर्को नाम मातलाव छैन ।’

संयोग गज्जबको पर्यो । बिनोद न्यौपानीकि धर्मपत्नीपनि सँगै । ‘उनले भनिन् ‘त्यो त मेरो नाम हो । मेरो नाम शान्ता हो ।’

बाबाले असहमती गरे ‘होइना होइना, केटीको नाम त शान्ती हुन्छ, शान्ता केटा मान्छीको हो ।’ शान्ताले भनिन् ‘होइन शान्तापनि हुन्छ । केटाकेटी दुबैको हुन्छ ।’

shanta-baba-shanta-nyaupane-binod-nyaupane

शान्त बाबा ‘आह् आह्, हु गर्दै थिए पिरोले । तर खाने कुरा लट्पट्याएर खान छोडेकापनि थिएनन् । जुन रेस्टुरेन्टमा उनी खाँदै थिए, पहिलो पटक छिरेका रहेछन् । अरु गोरेले जसरि अलिकति खाएर उनलाई नपुग्ने । गोर्खे पाराले ड्याम्म चुली लगाएर खानुपर्ने । अनि त्यो खण्डे थालको सानो खाल्डोमा चार गाँस जति दिएको भातले के पुगोस ? उनलाइ टन्न थपी थपी खानुपर्ने । तर समस्या जति पटक तरकारी र भात थप्यो उति पटक पैसो तिर्नुपर्दो रहेछ । त्यसरि पैसा थप्नुपर्दा उनका कन्सुलीका रौं तात्दा रहेछन् । ‘धोतीहरु ४२० ।’ उनले भने निकै पटक । ‘आर्को उता पटीको बातोमा इन्दिरा रेस्टुरेन्ट छ, त्यहाँ जति खाएपनि थपी थपी दिन्छ भात, तरकारी, दाल । पैसा लिँदैन । यहाँ जे थपेपनि पैसा लिन्छ । धोतीहरु ठग्छ । धोतीहरु चार सौ बिस ।’ उनी खरर नेपाली बोल्दा रहेछन् ।

नबोलुनपनि किन ? २५ वर्ष लगातार नेपाल बसेका रे । काठमाडौं सिफलमा बसें भन्थे । उनले धर्म बदलेका रैछन् । हिन्दू भएर बसेका । पशुपती जाने गरेका एकाबिहानै । त्यहाँका बाबाहरुसित पलेटी मारेर सुकुलमा बस्यो । गाँजा माड्यो । चिलिमका चिलिम गाँडा उडायो । नेपालीमा गफ हान्यो, झुम बाबा बन्यो । ‘पशुपतीमा पूजा गर्ने, गाँजा खाने, बस्ने, गफ गर्ने ?’ काम के गर्नु भो त भनेर सोध्दा उनले ढुक्कको जवाफ दिए ।

पच्चिस वर्ष नेपाल बसेका । भक्तपुरमा माटोको काम गरेका रे अलिअलि । काम सोध्दा चाहिँ उहि ‘पशुपती जाने, पूजा गर्ने, गाँजा खाने, गफ गर्ने, बस्ने’ भने ।

‘काम नगरि कसरि बस्नु भो त ? पैसा कहाँबाट आयो ?’ हामीले सोध्यौं । उनले भने ‘पैसा धेरै लाग्दैन नेपाल बस्न । सस्तो छ । अलिअलि भएपछि पुगिहाल्छ । दाल भात खाने, गफ गर्ने बस्ने ।’

‘तर अहिले महँगो भयो, जेपनि महँगो छ ।’ तत्काल अघिल्ला कुरा सच्याए ।

त्यत्रो लमो समय नेपाल बसेकालाई के थाह नहोला त नेपालको ? हाम्रा पार्टीका आन्द्राभुँडीपनि उनले केलाएका रहेछन् । ‘नेपालमा धेरै ठग्छ । घूस धेरै खान्छ । माओवादीपनि घूस धेरै खान्छ ।’

binod-nyaupane-shanta-baba-paris

पिरोले रन्थनिएका बाबा गफ रसिला सुनाउँदै थिए । बिच बिचमा बाबाका गफ अझै आउन् भनेर जग हालिदिने, उचाल्ने शान्ता मेडम, दीपक जी र म छँदै थियौं । उनी हामी हाँसेर मुर्छा परेको देखेपछि झन झन सुनाउँथे । ‘माओवादी पैले त यिस्तो थिएन, अहिले खत्तम भयो, घूस खान्छ, घूस नभै काम गर्दिन । नेपालमा जोपनि घूस खान्छ, घूस नभइ कोहिपनि काम गर्दैन । धेरै महँगो भयो । नुन एक किलोको साठी रुपियाँ । चिनी महँगो छ, नुन महँगो छ, सप्पै महँगो छ’ उनले नुनको भाउ सायद हिमाली भागतिरको भनेका होलान् ।’

घूस फ्रान्समापनि दह्रो सित चल्छ भन्ने उनले सुनाए । नेपालबाट यता आएपछि नगरपालिका कार्यालयमा बस्ने ठाउँको आबेदन दिन गएछन् । भन्नासाथ अपार्टमेन्ट दिन नसकेपछि मेयर कार्यालयले उनलाई होटेलमा बस्ने ठाउँ दियो अल्पकालकालागि । अनि फेरि मेयर कार्यालयमा धाएको धाइ गर्दा रहेछन् उनी अपार्टमेन्ट देउ भनेर । सामाजिक अपार्टमेन्टकालागि कुर्नु पर्ने । किनभने त्यस्तो अपार्टमेन्ट माग्ने मानिसहरुको संख्या ज्यादै धेरै हुने । तर त्यस्ता अपार्टमेन्ट दिने मेयर कार्यालयका अधिकारीहरुले घूस खाँदा रहेछन् । ‘यहाँपनि घूस खान्छ । धेरै खान्छ घूस । पाँच छ हजार घूस दियो भने छिटो छिटो पाउँछ अपार्टमेन्ट । नत्र हस हस भन्छ, भोली भोली, पछि पछी भन्छ दिँदैन । के गर्ने जतापनि घूस खान्छ ।’

हामीहरु कता, कहाँ बस्छौं, के काम गर्छौं चासो राखे । धोतीहरु धोतीहरु भन्दै खुब रिसाए पटक पटक । ‘धोतीहरुले नेपाललाईपनि दुख दिएको छ । यतापनि ठग्छ, धोती चार सौ बिस भन्दै सरापे । अनि केहि बेरमा ‘ल अब म जान्छु सोसल अफिसमा, फेरि भेटौंला’ भन्दै बाटो लागे ।

हामी केहि बेर उनैका गफ गरेर फेरि हाँसियो । माछाको रातो न रातो लेदो सहितको तरकारी सहित भात र परौठा खाइयो । शान्दा मेडमले बेलुकाको लागि भन्दै समोसा र निम्सि सिम्की किनेर झोला भरि बोक्नु भो । आइफल टावर परिक्रमा गरेर छुट्टियौं । आज बिहान फेरि आइफल टावार जाने कुरो गरेरा जोडी त गएनछन् । किन ? उँभो र उँधो भो रे बिनोदजीलाई । त्यो इन्डियन रेस्टुरेन्टबाट किनेको समोसा र निम्कि सिम्किलो झोलापनि खोल्दै नखोली हुत्याएछन् । घुम्न आएका बुढाबुढी पेट छाम्ने, चर्पीतिर पालै पालो दुगुर्ने गर्दै हैरान । बिहान बिनोदजीले भने ‘म त मर्न लागें नी ददी जी त्यो धोती खानाले । बाबाले त भन्या थियो नी धोती ४२० भनेर, जान्या रैछ हाम्ले भन्दा त्यो बाबाले ।’

तपाइँको प्रतिक्रिया