उपन्यास अंश : भाँचिएको लौरो (भाग-१७)

रमेश गौतम “पाल्पाली”

ramesh-gautam-palpali-110765980मान्छे जन्मेपछि उसलाई पहिलो त खाने कुराको नै आवश्यकता हुन्छ । बच्चालाई उसकी आमाको दूधले पेट भरिएन भने अन्य उपाय गरेर भए पनि उसलाई खुवाउनै पर्छ । आजकाल बजारमा पौष्टिक आहारहरू भनेर विविध खाद्य पदार्थ प्रशस्तै पाइन्छन् । तर बच्चालाई आमाको दूधमा पाइने खाद्य पदार्थ बराबर अरू हुँदैन । लिनालाई आफू स्वयम् डाक्टर भएकोमा अहम् त थियो । ऊ आफैं डाक्टर पनि हो, तर पहिलो पटक बच्चा पाएकीले उसलाई व्यावहारिक कुराको ज्ञान थिएन । ज्वानोले दूध बढाउँछ भन्ने त सुनेकी थिई । तर दूध बढाउने अरू घरायसी चिज पनि हुन्छन् भन्ने उसलाई थाहा थिएन ।

बिरु धेरै हण्डर खाएको विभिन्न समय र परिस्थतिमा बसेर काम गरेको मानिस हो । उसलाई व्यावहारिक ज्ञान छ । उसले लिनालाई ज्वानोको अतिरिक्त मुङ्रिलो, तिल, गुणजस्ता चिजहरू कर लाएर पटक पटक खुवाउन थाल्यो । एक दुई छाक खाएपछि नै असर देखियो । तेस्रो दिनदेखि त बच्चाले खान नसक्ने गरी दूध आउन थाल्यो ।

तेल लगाउन आउनेलाई बच्चा र सुत्केरीका लुगा धुनुका साथै घरका अन्य काम पनि गर्नेगरी लगाएकोले बिरु अब आवश्यक सर्सामान जुटाउने र पकाउने खुवाउने काममा लाग्यो । घरमा सुत्केरी भएपछि एकजनालाई कामबाट फुर्सत पाउन मुस्किल पर्छ । तर बिरु काम गर्न जान्नेमात्र होइन, कामबाट पछि नहट्ने मानिस । उसले सुत्केरीको राम्रो स्याहार गर्‍यो ।

लिना दुई महिनासम्म अस्पताल र क्लिनिक गइन । सुत्केरी भएको पन्ध्र दिनपछि घरमा आएका बिरामीलाई सम्म जाँच गर्ने गरी । यसो हुँदा बच्चाको स्यहार सुसारमा ऊ आफैं लागि । नोकरी गर्ने मान्छेले सुत्केरी छु भनेर कति दिन बिदा पाउने ? दुई महिनापछि त उसलाई अस्पताल नगइ भएन जानथाली । निजी क्लिनिक भने घरमै बनाई । घरमा मात्र बिरामी जाँच्ने गर्दा केही दिन बिरामी घटे पनि सुस्त सुस्त सबैलाई थाहा हुँदै गयो बिरामी आउन थाले ।

लिना अस्पतालको ड्युटीमा गए पनि अघिपछि त घरमै हुन्थी घरमा आउने बिरामीलाई छमर्को पारेर हेर्थी । बँचेको समयमा छोरो “कुलीन” लाई त हेर्ने गरेकी थिई । क्लिनिकमा बिरामीको चाप बढ्न थालेपछि बिरुलाई घरको कामधामका साथै दिनको करीब १६, १७ घण्टा नाति हेर्ने काम पनि एक्लो उसमा आयो । बच्चा जबसम्म बिछौनामा सुतिरहन्छ तबसम्म उसलाई समाल्न सजिलो हुन्छ । चार–हात खुट्टाले हिड्नथाले पछि बच्चा समाल्ने काम अप्ठारो बन्दैजान्छ । अझ टुकुर–टुकुर हिड्नथालेपछि त झन् गाहारो हुन्छ । बिरुको काम दिन प्रतिदिन कडा हुँदै जानथाल्यो ।

बिरुले छोरा श्रवणको धरालो गर्नुपरेको थिएन । काम गर्ने मान्छे थियो । सामान्य रेखदेख श्रीमती विष्टले गरेकी थिइन् । मौका परे सचिव विष्टले समेत हेरिदिन्थे । साँझ विहानको हेर्विचार सरिताले आफैं गर्थी । उसले धरालो गर्ने भनेको त मनोरञ्जनको लागि छोरासित खेल्ने काम मात्र हुन्थ्यो ।

अहिले ऊ नातिको पूरा धराले मात्र होइन घरको कामदार पनि भएको छ । समय र बर्कतले नभ्याउने काम तोकिएर मात्र भएन सक्नु र भ्याउनु पनि पर्‍यो । घरमा बसेर गर्ने काम जसोतसो गर्दै थियो तर घरबाहिर गएर किनमेल गर्न नातिसित नमिल्ने भयो ।

एक दिन घरमा तर्कारी थिएन, नातिलाई लिनासित छोडेर किन्न जान पनि बिरामीको भिड् देखेकोले भन्न मन लागेन उसलाई । घरमा जे थियो त्यही बनायो । साँझ छोरो फर्किने र बुहारी क्लिनिकबाट निस्कने सँगै भयो । बिरुले कुलीनलाई सुताउँदै थियो । भान्सामा आउँदा सबै एकै पटक आए । त्यहाँ आएपछि बिरुले भन्यो :

“आज कुलीन दिउँसो धेरैबेर सुतेन, अहिले बल्ल सुत्यो । घरमा तर्कारी थिएन लिन जान पनि पाइएन । आज त दाल र भात मात्र पकाएको छु । यसैमा निर्बाह गर्नुपर्ने भएको छ ।”

“हुन्छ नि बाबा, हामीले नभ्याएका बेला पहिले पनि यसैगरी निर्बाह गरेका थियौँ । आज एक छाकलाई पनि निर्बाह भइहाल्छ ।” श्रवणले भन्यो । तर लिनाले नाक चेप्र्याएर भनी :

“मैले त यसरी खाएकी छैन । दालसित मात्र यस्तो खाना कसरी खाने ?”

“तिमीकहाँ बिरामीको भिड भइरह्यो, नातिलाई त्यसै छोड्न सकिन । तर्कारी किन्ने मौकै मिलेन । भोली केही गर्न सकिन्छ कि ? हेरौँला ।”

“केही न केही तर्कारी नजिकै पनि पाइन्थ्यो होला, बाबुलाई लिएर गएको भए पनि विग्रने थिएन ।”

“बाहिर धूलो, धुवाँमा यो सानो बच्चालाई लिएर जान पनि मन लागेन । यसलाई बोकेर कहाँ कहाँ जाने ? काखमा राखेर हिड्न पनि सकिन्न । लडिन्छ कि भन्ने डर लाग्छ ।”

“हजुर्लाई कुलीन बढी भयो ।”

“लिना ! के भनेको तिमीले ? एक दिन तर्कारी नभएर के विग्रेको छ र ?”

श्रवणले ससुरा बुहारीको बीचमा पसेर कुरा मिलाउने प्रयास गर्‍यो । तर लिनाले मुख विच्काएर बसी । ऊ आधा भात खाएर उठी । अरू दिन जुठोभाँडो गर्न बिरुलाई सघाउँथी, तर आज आफूले खाएका भाँडामात्र माझेर कोठामा पसी । लिनाले बाबाप्रति गरेको व्यवहारले श्रवणले कुरा बुझ्यो ऊ बाबासित सन्तुष्ट छैन । उसले बाबालाई नोकर सरह व्यवहार गरी भन्ने पनि बुझ्यो । लिनाले एक दिन भनेकी पनि थिई “हामी भाग्यमानी रहेछौँ इमानदार नोकर पाएका छौँ” भनेर । तर बाबाको पक्ष लिएर बढी बोल्न भने सकेन । किन कि भोली आफ्नो जीवन उसैसित बिताउनुपर्ने छ भन्ने संझेर ऊ चुप रह्यो ।

यस घटनाले बिरु मर्माहत भयो । उसले खाना त खायो तर खाएको स्वाद पाएन । उठेर भान्सा सफा गर्‍यो, भाँडाकुडा सफा गरेर थन्क्यायो र कोठामा पस्यो । तर आज उसलाई सुत्न मन लागेन, धेरै बेर टोलाएर बस्यो ।

बिरुको मन आज अतिततिर फर्क्यो । उसले आफ्ना स्वर्गबासी बाबु आमालाई संझ्यो । त्यहाँको अवस्था, उनीहरूको अवसान, तानसेनको बसाइ, बुटवल आएको र विष्टजीसित काठमाडौं आएकोले नै आजको स्थितिमा आइपुगेको हो ऊ । नभए कहाँ भाँडा माझेर बस्ने थियो होला । न त उसले पढ्न पाउँथ्यो, न सरितासित बिहे हुनेथियो,  न श्रवणले नै जन्म पाउँथ्यो । जे भए पनि छोरो त आफ्नै हो । उसले अप्ठारो परेको बेलामा त कसो नहेर्ला ? उसको मनमा आशा पलायो । यो सबै हुनुमा उसले विष्टजीलाई नै कारक मान्यो । त्यसैले उनीप्रति मनैमन कृतज्ञता जाहेर गर्‍यो । यसबाट उसलाई सान्त्वना मिल्यो र ऊ सुत्ने प्रयासमा लाग्यो ।

आज बिस्तराले नै घोँचेजस्तो भयो । कोल्टे फेर्‍यो । यता फर्क्यो उत फर्क्यो तै पनि उसलाई निदै लागेन । बिहानीपख निद आउलाजस्तो भएको थियो तर अब त उठ्ने बेला भइसकेको छ के सुत्नु ? उठेर बाहिर आयो ।

(द्रष्टव्यः यो भाँचिएको लौरो उपन्यासको यस पछि क्रमशः  भाग १८ आउने छ ।

तपाइँको प्रतिक्रिया