आफ्नै खुशि र सफलताका दुई खबर बाँडौ ?

(यो ब्लग मेरो आफ्नै बारेमा लेखिएको हो । इच्छा नलागे नपढ्नुहुन म सचेत गराउँछु ।

 nrn-feb_programme_235

साथीहरु, मैले आफ्नो आगामी पुस्तकका बारेमा केहि लेख लेखिसकें । पुस्तक कस्तो हुने हो भन्ने सर्सर्ती तपाईहरुलाई जानकारीपनि भयो । गएका दुई वर्ष त्यहि पुस्तकले गर्दा म अतिनै ब्यस्त भएँ । यति ब्यस्त कि कुनै रात ३ घण्टापनि सुतिएन । चरा, जिवजन्तु, प्रक्रितिको स्वादमा रमाउने मान्छे म यो पुस्तक लेखुन्जेल कम्प्युटरको किरो झैं भएँ । लेख्दालेख्दै त्यहिँ कुर्सीमै ढलुँला जस्तो  हुन्जेल बसिराख्ने । ढाड दुख्दा पेन किलर खाएरपनि टारें । तपाईले यति घण्टा कम्तीमा आराम गर्नुपर्छ भन्ने चिकित्सकको सल्लाहलाई पनि लत्याएर मैले गरेको मेहनतको परिणाम थोरै भएपनि देखिने भयो । त्यो हो मेरो पुस्तक फ्रान्सेली भाषामा पनि निस्कने निर्णय ।

 

अस्ति अर्थात गत सोमबार मेरो छलफल भएको थियो । प्रकाशक र मेरो बिच छलफल हुँदा हुँदै साँझ पर्‍यो । त्यसैले लिखित सहमती गर्न भ्याईएन । तैपनि भरपर्दो मौखिक सहमती भएको छ । केहि दिनभित्रैमा अब लिखित सहमती गरिनेछ । किताबको काम अब भटाभट हुन्छ । फ्रान्सेली बजारमा सकेसम्म छिटो पुर्‍याउने सल्लाह पनि ।

 

 म एउटा नयाँ र युवा लेखक बन्न खोजेको मान्छे । यो भन्दा अगाडि मैले जम्मा एउटा पुस्तक लेखेको थिएँ । दोस्रो पुस्तकनै फ्रान्सेली भाषामा निस्कनु मेरो लागि पक्कैपनि खुशिको कुरा हो । नेपालीले लेखेका पुस्तक फ्रान्सेली भाषामा आधा दर्जनपनि अनुवाद भएका छैनन् । पुस्तक लेखनको शुरुमै मेरो पुस्तक बिदेशी भाषामा निस्कनु त्यो भन्दा विश्वमा ५० करोड जतिले मात्री वा दोस्रो भाषाका रुपमा बोल्ने फ्रान्सेली भाषामा निस्कनु राम्रो उपलब्धिनै मान्नु पर्‍यो । यो सबै नेपालीका लागि खुशिको कुरा हुनुपर्छ जस्तो लाग्छ । किनभने मेरो पुस्तकमा कम्तिमा दुई सय भन्दा बढि विषय समेटिएका छन् । त्यसले पक्कैपनि फ्रान्सेली भाषीहरुबिच नेपाललाई परिचय गराउने छ । र पुस्तक फ्रान्समा मात्रै सिमित नभएर फ्रान्सेली भाषा बोलिने स्विजरल्याण्ड, बेल्जियम, लक्जम्बर्ग लगायतका देशमा पनि पुग्ने संभावना छ ।

 

 यूरोपको ब्यस्त जिवनका बिच पुस्तक लेखन, आफ्नो नुन पानी धान्ने काम र अझ नेपालप्लसलाई जिवन भर्दा म साँच्चिकै थकित हुन्थें । विश्वका थुप्रै मूलुकमा नेपालप्लसले मलाई दिएको चिनारी र यहि ब्लगमार्फत बनेका केहि निकट मित्रहरुसँगको संपर्कले मलाई निरन्तर हौसला थपिरहेको छ । मैले पुस्तक लेख्न थाल्दा देखि आफ्नो पुस्तक लेखनका क्रममा लेखेका ब्लगमा तपाई साथीहरुले जुन हौसला दिनु भो त्यसलेपनि मलाई पुस्तक लेखनमा बुर्लुक्क पार्थ्यो । रिस गर्नेहरुको केहि आलोचना बाहेक मैले खुब सन्तुष्टिपनि लिएँ । फ्रान्सेली बौद्दिक वर्गमा मैले आफ्नो सानो उपस्थिति जनाएँ । नेपाललाई हेर्ने फ्रान्सेली आँखा कस्ता रहेछन् भनेर छाम्ने अवसरपनि पाएँ ।

किताब लेखेपनि सफल लेखक हुँ भनेर अझैपनि मैले दाबी गर्ने बेला भएको छैन । गर्दिनपनि । लेखक बन्न कै लागि आफ्नो गोजीको पैसा हालेर त म झन् लेख्दै लेख्दिन । त्यस्तो पुस्तक मेरो द्रिष्टिकोणमा पुस्तक नभएर पर्चा कारिता हो । साँच्चै गतिलो पुस्तक लेखेको ठान्ने हो भने आफुले लेखेको पुस्तक कुनै प्रकाशकले छाप्नुपर्छ । बल्ल त्यस्तो किताब लेख्दा मेहनत हुन्छ ।

 अहिले यसो संझिँदा साँच्चै मेहनत गर्‍यो भने त्यसलाई कतै न कतैबाट कदर गर्ने र हौसला दिनेपनि हुने रहेछन् आलोचना मात्रै खेप्नु पर्दो रहेनछ भन्ने लागेको छ । साथीहरु सहयोगिपनि कतिसम्म पाएँ भने एक जना होइन दुई तिन जना फ्रान्सेली लेखक र पत्रकारलेनै पुस्तक तयार भएपछि हामी निशुल्क सम्पादन गरेर सहयोग गरौंला भन्ने बचन दिएका छन् । योपनि मेरो मेहनत,  ईमान्दारिता र मित्रताको परिणाम हो भन्नु पर्‍यो । नत्र यति काम गराउनपनि यूरोपमा हजारौं यूरो लाग्छ ।

 

नेपालमापनि पुस्तकको नेपाली संस्करणकालागि साथी बिनोद ढुंगेलले पुरै जिम्मेवारी लिनु भएको छ । पत्रकारिताको क्षेत्रमा उहाँको नाम स्थापित हो । र मेरो अघिल्लो पुस्तक पन्छी जगतलाई नेपाली मेडियामा राष्ट्रिय चर्चा पाउने अवस्थामा पुर्‍याउनुमा उहाँको ठुलो योगदान छ र थियो । किनभने सन् २००४ मा नेपाली मेडियामा मेरो चरा संबन्धि पुस्तकले जति चर्चा अरु कुनैपनि पुस्तकले पाएन । जबकि नेपालका नाम चलेका लेखकहरुले त्यो वर्ष थुप्रै पुस्तक लेखेका थिए । कामना प्रकाशनमा सँगै कामगर्दा देखिनै उहाँको सम्पादन कलाको म प्रशंसक बनेको हुँ । त्यसैले नेपाली संस्करण त सबै हिसाबले तगडाकासाथ निस्कने नै छ । आजै भएको कुरा अनुसार पुस्तक अब डेढ महिनामा सम्पादन भएर साज सज्जाको काम हुन्छ । अनि प्रकाशक खोजेर दिने हो । मैले भनिसकें अघिल्ला ब्लगमै कि मेरो पुस्तक सित्तै छाप, मलाई एक पैसापनि दिनु पर्दैन, नाफा जति आफै खाउ भन्दै लेखकले पुस्तक लिएर जाँदापनि प्रकाशक नपाइने नेपाली बजारमा मेरो पुस्तक छाप्न थुप्रै तम्सिएकाले हामीलाई प्रकाशकको चिन्ता छैन ।

 

अर्को खुशिको खबर के भने म शुरुदेखिनै वातावरण, बन्यजन्तु र प्रक्रितिमा रमाएको । मुख्य विषयपनि मेरो त्यहि थियो पत्रकारितामा । म आफैं पत्रकार भएर पनि चरा संबन्धि अरु पत्रकारको समाचारको स्रोत बन्ने गर्थें । त्यसैले, मलाई नेपालमा धेरैले चरा पत्रकार भनेर पनि चिन्थे । तर मैले बिद्दालय स्तरमा बाहेक औपचारिक रुपमा विज्ञान विषय पढेको थिईन । यहाँ आएरपनि म धेरै समय त्यसैमा संलग्न भएँ । अलि समयपछि म टाढिएँ पूर्णकालिन कामबाट । तैपनि विविध काम छोडिन । फ्रान्सेली वातावरणवादी, चराविद र प्रक्रितिमा चासो राख्नेसित म एटलान्टिक महासागरको थुप्रै किनारै किनारमा टेन्टमा सुतेर चरा हेर्दै हिँडेको छु । थुप्रै पटक तालको छेउ, जंगलमा राती सुतेको छु । त्यहि संगतले मलाई इन्फरमेसन सेन्टर फर द एन्भाइरोमेन्ट भन्ने संस्थामा संलग्न गरायो । त्यसकालागि थुप्रै काम गरियो । हुँदा हुँदा त्यहि संस्थाको केहि अघि भएको साधारण सभाले मलाई कोषाध्यक्षमा चुन्यो । तर पुस्तक लेख्दैछु भन्ने जानेरै साथीहरुले मलाई गएका दुई वर्ष धेरै भार दिएनन् । होइन हामी वातावरणमा लागेकाले त त्यहि विषयको पो लेख्नु पर्ने पुस्तक भन्दै अर्कै विषयमा हात हालेको भनेर दुखेसो गर्ने बरु थिए ।

 

हामीले गत वर्षदेखि वालवालिकाका लागि प्रक्रितिमा चासो जगाउने खेलको विकास गरेर यूरोपभरि फैलाउने कोसिस गरेका थियौं । सकिएको थिएन । त्यसको लागि केहि रकम चाहिन्थ्यो । अनेक कोसिस गरियो तर पाइएको थिएन । तर हिजो थाह पाएँ यूरोपेली परिषदले कम्तिमा ४० हजार यूरो दिने निर्णय गरेछ । यो पनि खुशिको खबर होइन त ?

 

यो खेल विकास गर्ने वा कस्तो खेल बनाउने भनेर फूल, अन्य किरा, चरा आदिको फोटो खिच्ने, छान्ने, विषय रोज्ने र टेबलमा बसेर काम गर्नेमा म पनि एक प्रमुख थिएँ । आज त्यो काम पनि सफल भएको सुन्दा असाध्यै खुशि लागेको छ । नेपालको चर्चा होस भनेर मैले त्यो खेलमा सकेसम्म नेपालका केहि चरा, जिवजन्तु राख्ने। नसके पनि कम्तिमा नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुरको फोटो भएपनि राख्न्ने कोसिस गर्ने सोचमा छु । त्यति गर्न सकेपनि फ्रान्सेली वालवालिकालाई नेपाल भन्ने थाह हुने थियो सानैदेखि । अब हामीले त्यसलाई यूरोपभरि त्यो नसके कम्तिमा फ्रान्सभरि फैलाउनुपर्ने छ ।

 

 

जे होस, यो ज्ञान, सिप र सम्पर्कले एक दिन नेपालकालागि पनि केहि गर्न सकिन्छ भन्नेमा म ढुक्क छु । यिनै साथीहरुको सल्लाह र सहयोगले पनि त्यो संभव तुल्याउन सकिएला एक दिन भन्ने लागेको छ । साथीहरुले सुम्पेको संस्थाको नयाँ जिम्मेवारी पुरा गर्न सकिन भने के होला भनेर ढुकढुकी पनि भइरहेको छ ।

 

 

दोस्रो किताब त सकियो नै। अब भने अर्को पिरलो थपिएको छ-अब कुन चाहिँ विषयको, कस्तो पुस्तक लेखौं त ? चराकै विषयमा लेखौं कि ? अन्य जिवजन्तुको जिवनका बारेमा अलि रोचकता थपेर लेखौं कि ? उपन्यास लेखनतिर पो लागौं कि ? निर्णय गर्न भने मुस्किल परिराखेको छ ।

 

(अन्तिम जानकारिपनि दिउँ कि ? फोटो राखेरै लेख्नुपर्छ आफ्नो ब्लगमा भन्ने मानसिकतामा म थिईन। त्यसैले कति कार्यक्रममा जाँदापनि मैले आफ्नो फोटो राख्ने चाख गरिन। तर कतिपय पाठकहरुले ब्लगमा यो को रहेछ भनेर चिन्न फोटो खोजि गर्ने रहेछन् । खुब जिज्ञासा रहेछ धेरैलाई नै को रहेछ जान्ने। र करिब डेढ दर्जन जति पाठक साथीहरुको ‘लौ न आफ्नो फोटो राखेर केहि लेख्नुस’ भन्ने आग्रह आएपछि आज फोटो राखेरै लेखेको हुँ-ददि, नेपालप्लस)

 

तपाइँको प्रतिक्रिया