उपन्यास अंश : भाँचिएको लौरो (भाग –१६)

रमेश गौतम “पाल्पाली”

ramesh-gautam-palpali-110765980लिना आएपछि यो डेरा साघुँरो हुँदै गयो । दुवै जना डाक्टर भएपछि बिरामीहरू सोध–पुछको लागि पनि आक्कल–झुक्कल घरमा आउन लागे । बेडरूममा बिरामी लैजान पनि भएन । बाहिर राखेर कुरा गर्नु पनि नराम्रो । त्यसो हुनाले एउटा ठूलै कम्पाउण्ड सहितको घर भाडामा लिए । यसमा भने बेडरूम तीन वटा, किचन, बैठक र एउटा बिरामी हेर्ने कोठा समेतको सुविधा थियो । बाहिर गाडी राख्ने ठाउँ पनि थियो । अब भने साँच्चै डाक्टर बस्नेजस्तो घर भयो उनीहरूको ।

उनीहरूको बसाइ त राम्रो भयो तर काम गर्ने भने कसले ? दुवैजना डाक्टर भएपछि समय पाउन मुस्किल पर्छ । कहिले नाइट ड्युटी त कहिले इमर्जेन्सी कल । आफ्नो प्राइभेट क्लिनिकमा साँझ विहान जानै प्यो । अझ भएन घरमा बसेको बेलामा पनि बिरामी आउने । बिरामीको सेवा गर्नु एक त डाक्टरको कर्तव्य हो भने अर्को उनीहरूको आम्दानीको स्रोत पनि हो । यतिविधि काम गनुपर्ने डाक्टरले घरको काम कसरी गर्न भ्याउने ?

घरमा बस्ने बिरु हो, उनीहरूको व्यस्तता देखिसकेपछि ऊ कसरी बस्न सक्थ्यो । ऊ काम साँचेर बस्नसक्ने मान्छे पनि होइन । आफैं काम गर्न तम्सिन्छ । विहान उनीहरू क्लिनिकमा जान्छन् भात खाने बेलामा आउँछन् । बिरुले नपकाउने हो भने के खाँदा हुन् ? स्थिरले खान त फुर्सत छैन, हतार हतार एक गास खाएर जान्छन् । आएर पकाएर खालान् भनेर बसेर पनि भएन । खाना त बनायो लौ, भाँडा पनि त माझ्नुप्यो । यो काम पनि बिरुकै थाप्लोमा छ । यत्ति मात्र होइन सिङ्गो कम्पाउण्ड सहितको घर बडार–कुडार, किन–मेल, लुगा–लत्ता धोउ, सुकाउ, उठाउ इत्यादि काम पनि सबै उसकै टाउकोमा पर्नगयो ।

बिरु एक्लो थियो आफ्नो मात्र काम हुन्थ्यो हल्का थियो । छोरो होस्टलबाट आयो त्यसका लुगा–फाटा, स्यहार–संभार दोब्बर काम भयो । अब बुहारी आई काम तेब्बरमात्र होइन, चौबर भयो । किन कि एक जनामात्र हुँदा फोहोरो कम हुन्छ, खानाको पदार्थ कम हुन्छ र पाउनापाछो कम हुन्छन् । मान्छे बड्दै गएपछि कामको बोझ डबलिँदै जान्छ । त्यसमाथि पनि बुहारीले सुरु सुरुमा त आफ्ना लुगा आपैम् धुन्थी, आपूम्ले खाएका भाँडा आपैम् माझ्थी अब त नभ्याएको निहुँमा सुस्त सुस्त भाँडा लुगा पनि त्यसै रहन थाले । पहिले पहिले त बिरुले भाँडासम्म माझे पनि बुहारीका लुगा धोएन, तर साँझ आएर बुहारीले भनीः

“आज मैले नुहाएका लुगा धुन नभ्याएर त्यसै छोडेर गएकी थिएँ बाबाले पखालेर सुकाइदिनुहुन्छ कि भनेको त्यसै रहेछन् ।” भनेर श्रवणसित दुखेसो पोख्न थाली । बिरुले सुनिहाल्यो । हो त नि, छोराका लुगा धोइन्छ भने बुहारी पनि त छोरी सरह त हो नि । भनेर कुर्ता–सुर्बाल, पाइण्ट–कमेज, र ज्याकेट स्वेटर धोइदिन थाल्यो । यसरी काम गर्दा बिरुलाई कतिबेलै पनि फुर्सत हुन छाड्यो । विहानदेखि साँझसम्म नै भ्याइ–नभ्याइ उसलाई भयो ।

मान्छे सधै एकै नास कहाँ हुन्छ र ? बिरु दिन प्रतिदिन बूढो हुँदै गएको थियो । पहिलेजस्तो काम गर्न कहाँ सकिन्छ र ? उसको स्वास्थ्यले पनि काम गर्न अप्ठारो पार्न थालेको छ । कहिले रुघाखोकी त कहिले दमले उसलाई सताउन थालेको छ आजकाल । पहिलेदेखि काम गर्ने बानी परेको हुनाले लत्रिपत्री अहिलेसम्म धानिराखेको छ । ज्यान अशक्त हुँदै जाने काम बढ्दै जाने । बुहारीले अब त झन् ब्रा, प्याण्टी, मोजाजस्ता नुहाएका भित्री लुगा पनि धुन छोडी । त्यो पनि बिरुकै कामभित्र पर्न थाल्यो ।

बिरुलाई श्रीमतीले छोडेर गए पनि छोरो थियो । छोरालाई श्रीमतीले चाहे अनुसार डाक्टर बनायो । बुहारी पनि डाक्टर नै पायो । हो, उसको मर्यादा त बढ्यो छोरा बुहारी दुवै डाक्टर छन् । यो पनि कम खुसीको कुरा होइन । घर बेचेर छोरालाई पढाउनुपरे पनि पढेर सकेपछि छोराले झुपुडीबाट उठाएर अहिले बङ्गलामा राखेको छ । यत्रो काम गर्नुपर्दा पनि उसले हरेस खाएन । अब हेर्न बाँकी एउटा नाति थियो । आज ईश्वरले त्यो इच्छा पनि पूरा गरिदिए ।

बुहारीले अस्पतालमा नाति जन्माई । यति भएपछि बिरुको वंशमा एउटा हाँगो पलायो । छोराको जायजन्म देख्न पाइएन भन्ने उसलाई भएन । सरिता भइदिएको भए आज कति खुसियाली मनाउने थिई । के गर्नु ! दैवलाई त्यो सह्य भएन । ऊ असमयमै गई । सुख–दुःख, हर्ष–विष्मात जे भए पनि बिरु एक्लैले व्यहोर्नुपरेको छ । नाति जन्मे वापत् आजको खुसियाली उसले एक्लै मनायो । उसलाई साथ दिने सहयोगी कोही भएन ।

आज विहानैदेखि श्रवणलाई अस्पतालको कामले पूम्र्सत मिलेन । लिनाको डिस्चार्जको काम जसो–तासो मिलाएर ऊ अस्पतालकै काममा लाग्यो । बिरुले लिनालाई टेक्सीमा राखेर जतनसाथ घर (डेरा)मा ल्यायो । गाडीबाट उत्रेपछि पहिले बच्चालाई भित्र राख्यो र बाहिर आएर बुहारीलाई सहारा दिएर भित्र लगेर सुतायो ।

नाति जन्मेको खुसियालीमा बिरुले काम बढेको पत्तो नै पाएन । अस्पतालमा राम्रोसङ्ग खान नपाएकी सुत्केरी बुहारीलाई उसले खाजा र ज्वानोको झोल बनाएर खान दियो । अनि बच्चालाई आमाको दूधले नपुगेजस्तो लागेर बट्टाको दूध बनाएर आपैम् ख्वायो । बनाएर दूध बोतलबाट बच्चालाई ख्वाएको देखेर लिनाले सोधी :

“बाबा, घरमा ज्वानो, दूध, यो बोतल केही थिएन । कहाँबाट ल्याउनुभयो नि ?”

“लिना, तिम्री सासू छैनन्, उनी भएको भए आज कति खुसी हुने थिइन् र यी चीजहरू अस्पतालमै पुगिसकेका हुन्थे । के गर्नु ! मैले अस्पतालमा पु्याउन सकिन । उनी छैननन् भनेर त्यसै बस्न भएन क्यारे । उनी नभए पनि उनको समेत काम मैले गरेको देखेकी छौ । यो सबै उनकै सङ्गतले गर्दा म पनि सुत्केरी र बच्चाको हेर्चाह गर्नसक्ने भएको छु ।

“घर व्यवहारमा त हजुर्लाई कसले भेटाउन सक्छ र ?” प्रकटमा भनी । अनि मनमन भनी :

‘काम गर्ने मान्छे त पक्का पाएकी छु ।’

बिरुले घरको सबै काम गरे पनि बुहारीलाई तेल लगाउने काम गर्ने कुरा भएन । त्यसैले बुहारीलाई भन्यो :

“नाति सुतेको छ, तिमी अब एक्छिन् आराम गर । मैले बजारबाट ल्याउनुपर्ने सामान पनि ल्याउँछु । साथै तिमीलाई तेल लाउने, लुगा धुने मान्छे कोही पाइन्छ कि बुझेर पनि आउँछु ।” भनेर ऊ बाहिर गयो । यसै बीचमा श्रवण पनि आयो । उसले आउनासाथ आफ्नो कोठामा लिनाको र उसको बिछौना अलग अलग मिलाएर लगाइएको देखेर बाबाको प्रशंसा गर्‍यो :

“ल हेर, बाबाले त हाम्रो बिस्तरा पनि मिलाइदिनुभएको रहेछ । यो सानो पलङ कहाँबाट ल्याउनुभएछ । घरमा त थिएन ।”

“त्यत्तिमात्र कहाँ हो र, मेरो लागि खाने कुराको व्यवस्था, हाम्रो छोराको लागि दूध, दूधखाने बोतल आदि सबै व्यवस्था गरिसक्नुभएको रहेछ ।”

“अहिले कता जानुभयो त ?”

“घरलाई चाहिने सामान पनि ल्याउँछु, तेल घस्ने मान्छे पाइन्छ कि बुझेर पनि आउँछु भनेर जानुभएको छ ।”

“बाबाले कति काम गर्नुहुन्छ हो कि ?”

“हामी त भाग्मानी नै रहेछौँ श्रवण, विना पैसामा यस्तो काम गर्ने र विश्वासिलो मान्छे पायौँ ।”

“धत् लाटी बाबालाई पनि त्यस्तो भन्ने हो ।”

“भने पनि नभने पनि आखिर काम बाबाले गर्नुभएकै छ ।”

“बाबाले यसरी काम गरिदिएकोले हामीलाई सजिलो भएको छ । त्यस कारण बाबाप्रति कृतज्ञ बन्नु पर्छ ।”

“कृतज्ञ त हामी भएकै छौँ  नि । यही काम गरे बापत् घरको मालिक बनाएर खाने–बस्ने व्यवस्था गरेकै छौँ । योभन्दा बढी कृतज्ञ के बन्ने हो ?”

“खाने–बस्ने व्यवस्था त बाबाले काम नगरेको भए पनि गर्नै पर्ने थियो नि ।”

“पथ्र्यो होला ।” भनेर लिनाले मुख विगारी । उसको आसय बुझेर श्रवणले कुरा अन्तै घुमायो ।

द्रष्टव्यः यस पछि क्रमशः भाग सत्र १७ आउने छ । प्रतीक्षा गर्नुहुन पाठक वर्गमा अनुरोध छ ।

तपाइँको प्रतिक्रिया