जीवन के हो ? (रुसी लोक कथा)
एउटा सम्पन्न व्यापारी एकपटक आफ्नो जीवनभरको कमाइ स्वर्ण सिक्का बोकेर कतै गइरहेको थियो । ऊ जंगलको बीचमा एक्लै हिँडिरहेको थियो ।
आफ्नो जीवनभरको कमाइ बोकेर हिँडेका कारण उसका मनमा अनेक सपना,कल्पना र तर्कना खेलिरहेका थिए । त्यत्तिकैमा उसको अगाडिएउटा बाघ आयो । अब पर्यो आपत । भाग्ने बाटो कतै थिएन । उही मान्छे हिँड्न सकिने मूलबाटो मात्र । उसले सम्पत्तिको पोको बोकेर आफूलाई सोझो बाटोतिरै दौडाउने प्रयास गर्यो । तर अहँ, ऊ भाग्न सकेन । बाटो निकै साँघुरो भएका कारण भाग्न नसकेपछि ऊ पोको फ्याँकेर आएकै बाटोतिर फकिन थाल्यो ।
पोको फ्याँकेर भागेको उसलाई बाघले लखेटिरह्यो । केही उपाय नलागेपछि अन्त्यमा ऊ ज्यान बचाउनका लागि एउटा इनारमा हामफाल्यो । तर तल इनारमा एउटा गोही सुतिरहेको देखेर ऊ फेरि इनारको किनारमा दुई हात राखेर तुर्लुङ्ग झुण्डियो । त्यति गरेर पनि उसले सुख पपाएन । बाघले माथिबाट उसमाथि आक्रमण गर्न खोजिरहेको थियो । त्यही आपतको समयमा उसले त्यहाँ इनार छेडेर आएको रुखको मोटो जरो भेट्टायो । त्यो इनार प्वाल पारेर भित्र पसेको रहेछ । ऊ अब सुरक्षित हुनका लागि त्यही जरामा केही बेर झुण्डिएर बाँच्नुपर्ने अवस्थामा पुग्यो ।
माथि बाघ र तल गोही अझै उसको शिकार गर्न कुरिरहेका थिए । तत्काल केही समयका लागि भने ऊ सुरक्षित थियो । ऊ बेलाबेला माथि र तल दुबैतिर हेर्थ्यो । बाघ र गोही पुरानै अवस्थामा देख्थ्यो र जीवनको अन्त्य हुने भयले डराइरहन्थ्यो । ठीक त्यहिबेला रुखको जरामा भित्र पट्टिबाट एउटा मुसाले कोतर्न थाल्यो । अर्थात् अब त्यो जरो पनि धेरैबेर झुण्डिन योग्य थिएन ।
ठीक त्यहीबेला माथि रुखमा रहेको माहुरीको चाकामा एउटा मलसाँप्रोले आक्रमण गर्यो । चाकामा गरिएको आक्रमणका कारण माथिबाट इनारमा महका थोपा तप्प तप्प खस्न थाले । उसले सकिनसकी टाउको घुमाएर महका थोपा आफ्नो मुखमा पार्ने प्रयास गरिरहेको थियो । ऊ मानिसको वास्तविक जीवन बाँचिरहेको थियो ।
भाव प्रस्तुति : पदम गौतम




