बेल्जियममा काम गरेर नेपाल सरकारको तलब र भत्ता

सन्तोष न्यौपाने / बेल्जियम

Belgium_IDबेल्जियममा रहेका प्रकाश पौडेल अहिले आफ्नो दैनिक दिनचर्यामा ब्यस्त छन् । आफ्नै ब्यबसाय गरेका उनी केहि समय अगाडी अन्य धेरै नेपालीहरु जस्तै स्थानीय एक होटेलमा कार्यरत थिए । बिगत १० बर्ष अगाडी यहाँ आइपुगेका पौडेल नेपालमा सानदार सरकारी जागिरमा ब्यस्त थिए ।  अध्यगमन बिभाग काठमाडौँमा नायक सुबा (नासु) मा कार्यरत उनी बेल्जियम आइसकेपछि पनि नेपालको जागिर चलिनैराख्यो ।  उता उनले आफू उपस्थित नभइकनै जागिर पकाए । यता बेल्जियममा भने आफू उपस्थित भएर । बर्ष दिन या ६, ६ महिनामा नेपाल जाँदा आफ्नो तलब सुरक्षित रहन्थ्यो । यसरिनै यहीँ बसिबसि उनले निर्बित्तिभरण पाए । र अहिले उनको यो सुबिधा यथावत नै छ ।

त्यसो त पौडेल मात्रै होइन, बेल्जियममा लगभग आधा दर्जन जति नेपालका निजामती कर्मचारी यहाँको पी आर भैसकेर पनि नेपालको तलब पचाईरहेका छन । बेल्जिक नागरिक भैसक्दा पनि नेपालको पेन्सन तलब टुटेको छैन । कास्कीका कुल बहादुर थापा बेल्जियम आउनु अघि सडक डिभिजन कार्यलय कास्कीमा कार्यरत थिए । यहाँको नागिरक अर्थात बेल्जियमको पासपोर्ट लिईसक्दासम्म पनि उनले नेपालमा तलब लिइरहे ।  र अन्तत नेपालको पेन्सन बेल्जियम बसेर नै मिल्यो ।

त्यसो त, नेपालमा शिक्षक पेशामा आबद्दहरु हालसम्म सो सुबिधा लिरहेका छन ।  चितवनकी गीता पाण्डे अध्ध्यापन गराउँदा गराउँदै बेल्जियम आईन् । पती बेल्जियमको पी आर होल्डर भएकोले पारिवारिक मिलन भिसा अन्तर्गत उनी जागिरको मेलोमेसो मिलाएर आएकि थिईन् ।  तर यहाँ आएपछी पनि उता नेपालको उनको जागिर गएन । केहि समय अगाडी नेपाल गईन् । फेरि चार महिना जति अध्यापन गरिन । चार महिना पढाएपछि उनले नेपालमा पेन्सन थापेर पुन बेल्जियम फर्किईन ।  यहाँ पनि सबै नेपालीहरु जस्तै दैनिक काममा ब्यस्त भएर युरो कमाउन थालिन् ।

त्यसो त नेपाली दुतावास स्थापना हुनुभन्दा अघिदेखि निजामति सेवा र विश्वविध्यालयका प्राध्यापकहरु बेल्जियम सरकारको छात्रवृत्ति कोटामा अध्ययन गर्न आउन थालेका थिए । पछि पनि आउने क्रम जारीरह्यो | यसै क्रममा त्रिभुवन विश्व बिध्यालय क्रितिपुरमा कार्यरत सुरेस भुसाल बेल्जिक नागरिक भैसक्दा पनि पेन्सन भने नेपालबाट लिइनैरहेका छन् ।

‘निजामती कर्मचारी जजसले पी आर लिएर विदेश गएका छन् वा जाने पक्षमा छन् तिनीहरुलाई जागिरबाट बर्खास्त गरिनुपर्छ । जेजति सुबिधा लिईसकेका छन् त्योपनि फिर्ता गर्नुपर्छ । निजामती सेवा ऐन २०४९ अनुसार पढ्न गएर नफर्कने र फर्किएपनि तोकिएको सेवा अवधिसम्म सेवा नगरी फेरी विदेशिने कर्मचारीहरुलाई पनि कारवाही गर्नुपर्छ’ छात्रवृत्ति पाएर बेल्जियममा अध्ययन गरिरहेका निजामती सेवाका अधिकृत हरी राम पाण्डेले भने ‘हरेक कर्मचारीको सबै विवरण निजामती किताब खानामा हुन्छ । त्यसो हुँदा एउटा कमिटि बनाएर  छानबिन गर्योभने त्यस्ता कर्मचारी सजिलै कारवाहीको दायरामा पर्दछन ।’  तलबी छात्रवृत्तिमा आएका उनि भने अबको १८ महिनाको अध्यन पश्चात नेपाल फर्कँदै छन् ।

द्वन्द कालमा देशको बिबिध परिस्थितिको कारण बेल्जियम छिरेका थिए धेरै नेपाली ।  स्थाई बसोबाससँगै धेरै बेल्जिक नागरिक पनि भए ति । नेपालमा निजामती कर्मचारी रहेका उनीहरुको अहिलेसम्म पनि तलब तथा पेन्सन चलिनै रहेको उनीहरु आफैंले यहाँका नेपालीसित बताउने गर्छन् ।

तपाइँको प्रतिक्रिया