फ्रान्सेली झाँक्रीको चर्तिकला

Charmon-french

फ्रान्सको सार्बोनिय गाउँमा बस्छन् यि फ्रान्सेली झाँक्री । नाम के हो थाह छैन । भन्दैनन् । ‘म झाँक्री हो’ भनेरै चिनाउँछन् । हातमा ढोल, टाउकामा चराका प्वाँख । झ्याङ्ल्याङ्ग कपाल । लामा न लामा । दारी झुस्स । भुइँमा असरल्ल पारेका चराका जुल्फी, ठोंड र जरिबुटीहरु । ‘ठूलो हलमा कार्यक्रम भैरहेका बेला माईकबाट कसैले भन्यो ‘ल झाँक्री बस्दै छन्, सहभागि हुन जानुस्, ग्रह दशा दूर गरिदिने रे सबैको, झाँक्रीले ।’ हलमा भएका सबै गुरुरु बाहिर निस्किए । चौरमा एक जना फ्रान्सेली झाँक्री र अर्का भारतीय झाँक्रीको हालत त्यस्तो रहेछ । 

दुई जना झाँक्री मिलेर ढोल बजाउन थाले । केहि बेरमा गोलाकारमा बस्न निर्देशन दिए । सबैले त्यसै गरे । झाँक्रीले ग्रह दश हटाउँछ भन्ने विश्वास कतिलाई थियो होला ? तर त्यहाँ सार्बोनिय नगरका मेयरपनि उपस्थित भए । उनलाईपनि आफ्ना ग्रह दश हटाउन मन लागेछ । झाँक्रीले गोलाकारमा बसेका सबैलाई एक अर्काको पाखुरामा जोडेर साङ्लो जस्तो बन्न निर्देशन दिए । सबैले त्यसैगरे । अनि के के हो गीत भट्याउन थाले । सबैले भट्याए । गीत भट्याउँदै गोलाकारमा नाच्नुपर्ने वा घुम्नुपर्ने थियो । सबैले घुमे । मेयर त झन रमाईला रहेछन् । उनलेपनि मज्जाले घुमे, रमाए ।

त्यसपछि काठका कोइलामा आगो झोसे झाँक्रीले । घ्यु र वासना आउने धुलो हालेर फुक्न थाले । केहिबेरमा आगो पुत्ताउन थाल्यो । गोलाकारमा बसेका मानिसहरुको अगाडि लैजाँदै त्यो पुत्ताएको आगो सुँघाइदिने, हम्किनेले धुवाँ सोझ्याएर अनुहारमा धुपक्कै सुँघाईदिने गर्थ थाले । एकैछिनमा आकाशनै कुइरिमण्डल पो भयो । मानिसहरु झाँक्रीको धुवाँ सुँघ्न नजिक नजिक पो आउन थाले । झाँक्रीले धुवाँ सुँघाउँदै जाँदा मन्त्र जस्तो तर नबुझिने केहि शब्दहरु भट्याउँथे । त्यसैका तालमा मानिसहरु हो हो हो गर्दै नाच्थे, घुम्थे । मेयरपनि खुब रमाईरमाई घुमे, धुवाँ सुँघे ।

केहि बेरमा अर्का झाँक्रीसितै उनले सानो कपडाको झोली खोले । मुजुरको प्वाँख । बिभिन्न रुख र वनस्पतीका जरा । अनेक खालका जरिबुटीको पसारो पारे । अनि खोकी, सर्दी, जिउ दुखेकोमा यो यो खानु पर्छ । यसरि खानुपर्छ । भूत, प्रेत, पिचास, डंकीनी संकीनी भगाउन यस्तो खालको माला लाउनुपर्छ भनेर देखाउँदै थिए । किन्नेले किनिरहेकापनि थिए । सानो एउटा लुर्कनको १० युरो । अनि ति फ्रान्सेली झाँक्री चाहिँ आफूले केहि नेपालमा सिकेको । केहि भारतीय झाँक्रीबाट सिकेको । र अझैपनि सिक्दै रहेको बताउँदै थिए । फ्रान्सेली झाँक्री सायद पहिलो पटक भेटेकाले होला, फ्रान्सेलीहरुले निकै चासो राखेका थिए ।

झाँक्रीहरुको यो कला र अक्किल देखेर अचम्म लाग्यो । धामी झाँक्रीको झारफुकमा विश्वाश गर्ने फ्रान्सेली सायद कम होलान् । तर तिनको चर्तिकला, अक्किल, तरिका र कला हेर्न धेरै लालायित हुन्छन् । जान्न र बुझ्न चाहन्छन् । पत्याउन् वा नपत्याउन् यसले धेरै पर्यटकलाई आकर्षित गर्दो रहेछ । अबुझ, अक्किल नभएका, आफ्नो संस्क्रिति र रिथिस्थितीलाई कसरि प्रवर्धन गर्ने, सदुपयोग गरेर आर्थिक लाभ लिने भन्ने नजान्ने अदूरदर्शीहरु ‘ह्या यस्तो अन्धविश्वाशको के कुरा गर्ने ?” भनेर पन्छिएलान् । तर दूरदर्शी, आर्थिक लाभ लिन जानेका, बुझेकाहरुले ‘झाँक्रीहरुले यसो गर्थे, गर्छन्’ भनेर देखाएरपनि आर्थिक लाभ लिने कोसिस गर्छन् । सायद जान्नेको पिठोपनि बिक्छ, नजान्नेको चामलपनि बिक्दैन भनेको यसैभएर हो कि !

तपाइँको प्रतिक्रिया